बिहिबार, २४ जुलाई २०२५

ओलीकाे ‘सांसद बन्ने प्रस्ताव’ उषाकिरणले गरेकी थिइन् अस्वीकार

News Image
• • •

प्रायजसो ‘लो प्रोफाइल’मा बस्न रुचाउने मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीको एउटा फेसबुक स्टाटसले यतिबेला एमालेको राजनीतिक वृत्तमा हलचल मच्चाएको छ।

जननेता स्वर्गीय मदन भण्डारी र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकी जेठी सुपुत्री उषाकिरण पार्टी काम सँगसँगै सामाजिक र शैक्षिक क्षेत्रको समृद्धिका लागि अग्रसर युवा नेतृ हुन्। अहिले मदन भण्डारीको नाममा स्थापित मदन भण्डारी फाउन्डेसनसहित विभिन्न संस्थाको नेतृत्व उनैले गर्छिन्।

उनी एमालेको जिम्मेवारीमा कम र एमाले सम्वद्ध अन्य बौद्धिक जमघटमा धेरैजसो उपस्थिति जनाउँछिन्। तिनै उषाकिरण एमाले अध्यक्ष केपी ओली हाबी भएको केन्द्रीय कमिटीको निर्णय र ओली प्रवृत्तिको विरुद्धमा पहिलोपटक सार्वजनिक रुपमै खुलेकी छन्।

उनले यो निर्णयमा पुग्न ओलीले गरेका तिकडम र निर्णयबाट आफू अचम्मित नभएको बताइन्। उनले पुष्पलालको परिवारको उदाहरण दिँदै आफूहरूलाई पनि अहिले एमालेमा नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पुर्‍याइएको गुनासो गरिन्।

उनले भनेकी छन्, ‘मलाई उहिले लाग्थ्यो किन पुष्पलालको परिवार नेकपा एमालेमा नैतिक समर्थन गर्न पनि देखिने गरी प्रस्तुत हुँदैन? हामीलाई त आमाले राजनीति गर्न मन छैन भनेपनि- सधैं देखिने गरी पार्टीको समर्थनमा उभिनु, नैतिक समर्थन गर्नु, टाढा नजानु भन्नुहुन्छ र सोही अनुरुप कोशिस गरियो। तर विगतको एक महिनादेखि मलाई ज्ञान भयो नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पुर्‍याउने रहेछन्।’

आफ्नी आमासमेत रहेकी पूर्वराष्ट्रपति भण्डारीको आगामी राजनीतिक यात्रा रोक्ने र पार्टी संगठित सदस्यता खोस्ने एमाले केन्द्रीय कमिटीको निर्णयपछि उषाकिरणले गरेको टिप्पणी ओलीइतर समूहका लागि नयाँ मसला बनेको छ। 

एमाले स्रोतका अनुसार विद्या भण्डारीलाई एमालेको नेतृत्वमा देख्न चाहने कतिपय नेताहरूले विद्या, ओली र उषाकिरणसँग सम्बन्धित एउटा पुरानो प्रसंगलाई उप्काइरहेका छन्।

भण्डारीनिकट एक पोलिटब्यूरो सदस्यले ओली र महासचिव शंकर पोखरेलले उषाकिरणलाई राष्ट्रियसभा सदस्य बन्नका लागि पटकपटक प्रस्ताव गर्दापनि भण्डारी परिवारले अस्वीकार गरेको खुलासा गरेका छन्।

ती सदस्यले भने, ‘अध्यक्ष ओली र महासचिव पोखरेलले विद्या भण्डारीलाई पदलोलुपताकै कारण एमालेको अध्यक्ष हुन खोजेको आरोप लगाउन खोजेका छन्, यसमा कुनै सत्यता छैन। किनभने कमरेड उषाकिरणलाई ओली र शंकरले गुरु बरालमार्फत राष्ट्रियसभाकाे सदस्य बन्नका लागि धेरैपटक प्रस्ताव गर्नुभएको थियो। तर उषाकिरणले राष्ट्रियसभामा पार्टीमा योगदान गरेको कोही सदस्य जानुपर्छ, हाम्रो परिवारले यसबाट फाइदा लिनुहुँदैन, नेताले टिपेकै भरमा जानुहुँदैन, सकेछु भने पार्टीमा योगदान गरेको आधारमा त्यो तहमा पुगेपछि म आफैं बन्नेछु, भनेपछि ओलीले अञ्जान शाक्यलाई बनाउनुभएको कुरा त छर्लङ्गै छ नि।’

उबेला उषाकिरणले अहिले आफू मदन भण्डारी फाउन्डेसनको जिम्मेवारीमा रहेकाले पार्टीको अन्य जिम्मेवारी र राजकीय पदमा नजाने स्पष्ट पारेकी थिइन्। उषाकिरणको त्यो निर्णयमा विद्याको पनि सहमति थियो।

‘एमालेभित्र आफ्नो लाइन क्लियर गर्न उषाकिरणमार्फत भण्डारी परिवारलाई उपयोग गर्ने ओली-शंकर नीति रहेछ। भण्डारी परिवारले नबुझी त्यो गरेको भन्ने लाग्दैन। त्यसैपनि उषाकिरण कुनै पदमा आसक्ति राख्नेमा पर्नुहुन्छ। उहाँ आउँदा आफ्नै काम र योगदानले आउनुहुन्छ,’ ती नेताले भने।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!