
छाउ हुनु- लाज होइन। यो त सृष्टिको अनुपम चक्र हो, जीवनको निरन्तरता हो, मातृत्वको पहिलो सर्त हो। तर विडम्बना! यत्रो वैज्ञानिक युगमा पनि हाम्रो समाजको सोच अँध्यारो युगमै अल्झिएको छ, विशेष गरी कर्णाली र सुदूरपश्चिममा।
जहाँ आज पनि रजस्वला हुदा नारीलाई ‘छोइछिटो’को नाममा अछुत बनाइन्छ। अनि धकेलिन्छ- घरको ओछ्यानबाट गोठको नाङ्गो भुइँमा।
यही हो छाउपडी- एउटी नारीका लागि चार दिनको जेल, जहाँ न कानुन लाग्छ, न करुणा। कसैले सोच्न सकेका छन् त? त्यो चिसो गोठभित्र जाडोले काँपिरहेकी किशोरीको काँपाइ केवल शरीरको हो?- होइन, त्यो त आत्माको काँपाइ हो।
सर्पको सिकार मात्र होइन- समाजको संकीर्ण सोच र संस्कारको नाममा थोपरिएको अन्याय सहिरहेकी हुन्छिन् ती छोरीहरू। कतिपय बलात्कारको शिकार हुन्छिन्- तर समाज चुप लाग्छ। किनभने ‘ऊ छाउ भएकी’ हो। के यही हो हाम्रो धर्म? के यही हो हामीले देवीको रूपमा पूजा गर्ने नारीको मूल्य?
‘के काठमाडौंका देउता रिसाउँदैनन्?’ ‘के सुदूरका देउता र राजधानीका देउता फरक हुन्?’- यस्ता प्रश्नहरू आज युगले सोधिरहेको छ। यदि देउता रिसाउँछन् भने, किन मेडिकल साइन्सले यो भ्रमलाई अस्वीकार गर्छ? किन विज्ञान मौन छैन?
सत्य के हो भने- देउता रिसाउँदैनन्, रिसाउने त हाम्रो संकीर्ण सोच हो। रजस्वला हुदा नारी अपवित्र होइन- अपवित्र त हामी बनाएको दृष्टिकोण हो।
नारी- सृष्टिको मूल हुन्। ऊ हाँस्दा घर हाँस्छ, ऊ रुँदा आकाश रोइरहन्छ। तर महिनावारी भयो भनेर- ऊ घरको आँगनमा पाइला राख्न पनि पाउदिन। माया होइन, बहिष्कार पाउछ। ओछ्यान होइन, गोठ पाउछ।
साच्चै भन्नुपर्दा- महिनावारीको बेला नारीले झन् विशेष स्याहार पाउनुपर्छ। साफ, सुरक्षित स्थानमा आराम गर्न पाउनु पर्छ। पोषणयुक्त खाना, सान्त्वना र माया पाउनु पर्छ। तर हाम्रो समाजले के गर्छ? ऊ थकित छ भने गोठमा पठाउँछ। ऊ दुखेको छ भने पापिनी ठान्छ। ऊ एक्लो छ भने चुप लाग्छ।
अब यो लाजमर्दो परम्परा तोड्ने बेला आयो। छाउपडी अब ‘संस्कार’ होइन- संस्कारको नाममा लाञ्छना थोपर्ने सामाजिक अपराध हो। हामी बोल्नुपर्छ- क्रान्तिको भाषामा, करुणाको भाषामा, परिवर्तनको भाषामा। अब छाउपडीको अन्त्य नारामा होइन- व्यवहारमा होस्। नारी गोठमा होइन- सम्मानको सिंहासनमा बसुन्।
आज- संविधान छ, मौलिक हक छन्, मानव अधिकारको घोषणापत्रमा हामी हस्ताक्षरकर्ता छौं। तर, न्यायालयले कुप्रथा मानेको, संहिताले अपराध ठानेको यो छाउपडी- अझै पनि गोठको अँध्यारोबाट मुक्त हुन सकेको छैन। यो केवल विकृति होइन- यो त लाजमर्दो वास्तविकता हो- त्यही देशको, जसले महिलाको सशक्तिकरणको गीत गाइरहेको छ।
भर्खरै मात्र कञ्चनपुरको चिसो गोठमा फेरि एक महिलाले सर्पको डसाइबाट अकाल मै ज्यान गुमाउनु पर्यो- यो सारै दुःखद हो। यस्ता कैयौं घटना र अकालमै ज्यान गुमाएका दर्दनाक तथ्यहरू छन्। त्यति मात्र होइन, छाउपडी गोठमा बस्दा हत्या, हिंसा र बलात्कारका घटना पनि धेरै भइरहेका हुन्छन्।
यस्तो हुदा पनि संसद मौन छ। राज्य नपुगेको सालिकझैं उभिएको छ। के यस्ता मुद्दा उठाउन दुःख भोगेको त्यहाँ कै महिला सांसदकै आँशु कुर्नुपर्ने हो?
रजस्वला हुनु अपराध होइन। तर समाजले त्यसलाई लाज, पाप र अपवित्रताको संज्ञा दिएको छ। यो विषय पुरुषको होइन भनेर टार्न मिल्दैन। यो सबैको- राज्यको, संसदको, समाजको उत्तरदायित्व हो। हामी तपाईंलाई संसदमा ‘हो भने हो, हैन भने हैन’ भन्न पठाएका हौं- तररर ताली बजाउन होइन। प्रतिनिधित्वको अर्थ चुप लाग्नु होइन- आवाज उठाउनु हो, अन्यायविरुद्ध लड्नु हो।
गोठ भत्काउने कानुन त आयो- तर गोठजस्तो सोच कहिले भत्किन्छ? महिलाको रगत अपवित्र भनेर भन्ने समाज- कसरी सभ्य हो भन्न सक्छ? अब पनि बोलिएन भने- कहिले बोल्ने? अब पनि चुप लाग्ने हो भने- कति छोरीहरू चिसो गोठमा चिसिँदै जानेछन्?
अब मौनता होइन- परिवर्तन चाहिन्छ। अब चुपचाप होइन- आवाज चाहिन्छ। अब छाउपडी अन्त्य गरौं- एकपटक होइन, सदाका लागि। नारी अब गोठमा होइन- घरको केन्द्रमा, समाजको अग्रस्थानमा, न्यायको मेरुदण्डमा बस्नुपर्छ।
१ .
२ .
३ .
४ .
५ .