सृष्टी चलाउने पाठेघरको घाउ !

सन्दर्भः विश्व महिला स्वास्थ्य दिवस

दिपा धिताल

काठमाडौँ
Break n Links
Break n Links

पहाडी जिल्लाको एउटा दुर्गम गाउँ। रिता (नाम पविर्तन)। १४ बर्षको उमेरमा प्रेम विवाह गरिन। बिहे गरेर अर्काको घरमा गए पछि सोचे जस्तो भएन। १६ बर्षमा पहिलो बच्चा जन्माए पछि लगातार रुपमा ९ वटा बच्चा जन्मीए। अहिले ५९ बर्ष पुगेकि उनले आफ्नो जीबनकालमा अहिले सम्म कुनै औषधि खाएकि छैनन्। 

रिताले बर्षेनि ९ वटा बच्चा जन्माए पनि अहिले ६ वटा सन्तान मात्र जिबित छन। ३ सन्तान स्वास्थ्य सस्थाको दैलो समेत देख्न नपाएर मरे। उनले ९ बच्चा जन्माउदा न आफुले कुनै खोप लगाइन न त बच्चा जन्मिए पछि कुनै खोप लगाए। खोपको नाम सम्म सुनिनन्। 

कहिले काहिका बिरामीमा घरेलु उपचार गरेर निको हुन बाध्य उनलाई केहि बर्ष अगाडि देखि सेतो पानि बग्ने समस्या सुरु भयो। अन्य बिरामीमा स्वास्थ्य चौकि नगएकि उनि सेतोपानी बग्ने समस्यामा त झन के जान्थीन। सहेर बसिन। 

अलि समय पछि सेतोपानी संगै रगत पनि बग्न थाले पछि जीबन नारकिय बन्न थाल्यो। सहनै नसक्ने भएपछि बल्ल बल्ल नजिकैको स्वास्थ्य संस्थामा गएर उपचार गरिन तर त्यहाँको उपचारले निको भएन। 

अहिलेको समस्यामा घर परिवारले उपचार गर्न चासो दिदैनन् उनि संग आफै उपचार गर्न जाने पैसा छैन। आर्थिक अबस्था कमजोर भएका कारण उनि अब मर्ने त होला भन्ने जीबन संग माया मारेर बसेको छिन्। 

सोहि गाउँकि ४७ बर्षिया अर्कि एक महिला लामो समयदेखि पाठेघर खस्ने समस्याले ग्रसित छिन। उनि पनि १४÷१५ बर्षको उमेरमा बिहे गरेकि उनले बर्षौते ५ छोरी जन्माउछिन। छोरी मात्र जन्मे पछि परिवारको तिरस्कारमा परिन। सानो उमेरमा धेरै बच्चा जन्माउनु र  परिवारको अपहेला पछि उनि शारीरिक र मानसिक रुपमा अस्वस्थ बनिन्। 

तेस्रो बच्चा जन्मेको ६ दिनमा पानीको गाग्री बोकेर घरमा ल्याउदा योनिबाट केहि आए जस्तो भएको थियो। त्यो बेला वास्ता भएन। बिस्तारै अफ्ठेरो हुदै गयो। पाठेघर यौनी बाहिरै झुण्डीयो। दैनिकी काम गर्न समस्या हुन थाले पछि उनि नजिकैको अस्पताल गएर जांच गरिन। 

स्वास्थ्यकर्मीले ठुलो अस्पताल जान भनेका छन तर आर्थिक समस्याका कारण उपचार गराउन सकेकी छैनन्। झरेको पाठेघरमा घाउ समेत देखिन थाले पछि उनलाई बाँच्नै दिक्क लाग्यो। 

गतिलो उपचारको अभावमा लामो समय देखि पाठेघरको समस्या बोकेर गुजारा चलाइरहेका माथिका पात्रहरुलाई गाउँमा आएको महिला स्वास्थ्य शिविरमा स्वास्थ्यकर्मीले पाठेघर अड्याउन रिङ्ग राखि दिएपछि धेरै सजिलो हुन्छ। 

तर दुर्भाग्य नजिकमा डाक्टर तथा तालिम प्राप्त स्वास्थ्यकर्मी नहुदा उनिहरूले अर्को बर्ष खसेको रिङ फेर्न वर्ष दिन सम्म कुर्नु पर्छ। फेरि रिङ्ग खस्यो वा कुनै कारण फेर्नु पर्ने भयो भने अर्को शिविर कुर्न नपरोस भन्ने महिलाहरुको चाहाना हुन्छ। 

महिलाको पाठेघरको समस्यामा न घर परिवार संबेदनसिल छ, न त सरकार। सृष्टि चलाउने पाठेघरको उपचार गर्न समेत सर्बसुलभ स्थानमा उपचार सेवा नपाउदा दुर्गमका महिलाहरुको स्वास्थ्य समस्या निकै जटिल बनिरहेको छ।

महिला स्वस्थ रहे मात्र समाज स्वस्थ हुनसक्छ। महिला र किशोरी यौन तथा प्रजनन स्वास्थ्य सुनिश्चित गर्न संसार भरकै अधिकारर्मीहरुले आफ्नो आवाज बलियो बनाउन मे २८ लाई अन्तराष्ट्रिय महिला स्वास्थ्य अधिकार दिवसको रुपमा मनाउदै आईरहेका छन्। सन् १९८७, मे २८ मा यो दिवसको सुरुवात संगै, महिलाको स्वास्थ्य संग सरोकार राख्ने संस्थाहरुले वार्षिक अभियानको रुपमा यो दिवस मनाउँदै आईरहेका छन्।

हरेक वर्ष मे २८ मा, विश्वभर विश्व महिला स्वास्थ्य दिवस मनाइन्छ। यो दिन महिला र लैंगिक विविधता भएका व्यक्तिहरूका यौन र प्रजनन स्वास्थ्य अधिकारका लागि जारी संघर्षको स्मरण हो। सन् १९८७ मा विमेन्स ग्लोबल नेटवर्क फर रिप्रोडक्टिव राइट्स ध्न्ल्च्च् द्वारा सुरु गरिएको यो अभियान आजसम्म पनि स्वास्थ्य समानता, न्याय, र शारीरिक स्वायत्तताको पक्षमा एक सशक्त आवाज बन्न पुगेको छ।

सार्वजनिक स्वास्थ्यका धेरै क्षेत्रहरूमा प्रगति भए तापनि, आज पनि लाखौँ महिला र किशोरीहरू महत्वपूर्ण यौन तथा प्रजनन स्वास्थ्य सेवा (जस्तै गर्भनिरोधक सेवा, सुरक्षित गर्भपतन, मातृ स्वास्थ्य सेवा, र यौन शिक्षा) बाट वञ्चित छन्। 

यो दिवसले यस्ता समस्याहरूलाई उजागर गर्दै यौन तथा प्रजनन स्वास्थ्य अधिकारहरू कुनै विकल्प होइन, मानव अधिकारकै मूल हिस्सा हुन् भन्ने सन्देश दिन्छ। साथै, सरकार, समाज र समुदायलाई यी अधिकारहरू सुनिश्चित गर्न आग्रह गर्दछ। 

महिलाहरुको स्वास्थ्य प्रति लक्षित “मेरो शरीर, मेरो अधिकार” नारा तब मात्र सार्थक हुन्छ जब महिलामाथि भएको संरचनात्मक विभेद र असमान शक्ति सम्बन्धको कारण उत्पन्न भएको लैंगिक हिंसा अन्त्य हुन्छ। तब एउटी महिलाले आफ्नो शरीरमाथि आफ्नो नियन्त्रण कायम गर्न सक्छन्।

विश्व महिला स्वास्थ्य दिवस केवल एक औपचारिकता होइन, यो कार्यको आव्हान हो। यो दिन अन्तर्राष्ट्रिय नीतिगत सुधारदेखि स्थानीय स्तरमा जनचेतना अभिवृद्धिसम्मका गतिविधिहरूलाई प्रेरित गर्छ। संस्थाहरू, स्वास्थ्यकर्मीहरू, शिक्षकहरू र सर्वसाधारणले सार्वजनिक बहसहरू आयोजना गर्ने, शैक्षिक सामग्री वितरण गर्ने, अग्रपंक्तिका सेवा प्रदायकहरूको समर्थन गर्ने र सरकारहरूलाई जवाफदेही बनाउने जस्ता कामहरू गर्छन्।

हरेक वर्ष मे २८ लाई सम्झँदा, स्वास्थ्य न्याय प्रतिको हाम्रो यात्राले मानव मर्यादा, सूचित सहमति, र समानतामा आधारित हुनुपर्छ भन्ने कुरा अझ स्पष्ट हुन्छ। प्रजनन स्वास्थ्य केवल महिलाको मुद्दा होइन, यो सार्वजनिक स्वास्थ्य, सामाजिक न्याय र मानव अधिकारको विषय हो। 

महिलाको आफ्नो शरीरमाथि आफ्नो नियन्त्रण कायम गर्न सक्ने वातावरण भए मात्र महिलाहरु स्वस्थ रहन सक्छन्। महिलाहरुको लागि विशेष गरेर यौन तथा प्रजनन स्वास्थ्य अधिकारको अवस्था जस्तो हुनु पर्ने त्यस्तो छैन।

प्रजनन स्वास्थ्य निरपेक्ष विषय नभई जीवनका धेरै विषयसँग जोडिएको बहुआयामिक तथा नैसर्गिक अधिकारको विषय भएको हुनाले कुनै पनि संकट वा संक्रमणको कारण प्रजनन स्वास्थ्य सेवाबाट बञ्चित हुनुहुन्न भन्ने मान्यता नै यसको बलियो पक्ष हो। त्यसैले सरकारले यसलाई प्राथमिकता दिन सकेन भन्ने यसबाट हुने क्षति अपूरणीय हुनेछ।

विगतमा कोभिडको सक्रमणबाट होस वा सुरक्षित प्रजनन नभएर होस् नेपालमा महिला मृत्युदर दिनदिन बढ्दै गइरहेको छ। नेपालको परिवेशमा हेर्ने हो भने स्वास्थ्य सेवाहरु देशका मुख्य मुख्य सहरमा मात्र सीमित हुँदा विभिन्न महिला स्वास्थ्यका कारण रोगहरु पालिराख्न बाध्य छन्।

त्यसकारण सरकारी तवरबाटै दुर्गम क्षेत्रमा स्वास्थ्य क्षेत्रमा बढी भन्दा बढी बजेट विनियोजन गर्नुपर्दछ। त्यस्तै निजी क्षेत्रका अस्पतालहरुलाई पनि सरकारले सहुलियत दिएर भए पनि दुर्गम जनताको आर्थिक पहुँच पुग्ने मापदण्डमा सेवा विस्तार गर्न प्रेरित गर्नुपर्दछ। 

मानब सृष्टि चलाउने महिलाको स्वास्थ्य राम्रो भयो भने मात्र मानब स्वास्थ्य राम्रो हुने कुरालाइ ध्यानमा राखेर स्वास्थ्यका क्षेत्रमा अलि बढि संबेदनसिल भएर  नितिगत मात्र होइन ब्यबहारगतरुपमा सेवा बिस्तार गर्न एकदमै जरुरी देखिन्छ। त्यसो त तिन पत्रका सरकारले अबका दिनमा यस्ता गम्भिर बिषयमा आफ्ना भुमिका महिला मैत्री बनाउनै पर्छ।   

र आज विश्व महिला स्वास्थ्य दिवसको अवसरमा नेपाल लगायत विश्वभर मनाईरहेको छ। यो दिबशले महिलाको स्वास्थ्थयका सवालललाइ सर्बसुलभ र सबैको पहंच सम्म सेवा बिस्तार होस, कुनै पनि महिला उपचार नपाएर मर्न नपरोस विश्व महिला स्वास्थ्य दिवसको अबसरमा शुभकामना। 

प्रकाशित मिति: : 2025-05-28 07:38:00

प्रतिकृया दिनुहोस्