जनताको ठूलो बलिदानीपूर्ण आन्दोलनबाट आएको लोकतन्त्र, गणतन्त्र हुँदै अहिले दलतन्त्रमा परिणत भएको छ । दलतन्त्रभन्दा पनि अब त यो गुटतन्त्र हुँदै नेतातन्त्रमै पुगिसकेको छ भन्दा पनि हुन्छ । साँच्चै भन्ने हो भने यो प्राविधिक रूपमा निर्वाचित राजतन्त्रभन्दा खासै भिन्न छैन।
यसमा भएको भिन्नता भनेको दलका मुखियाहरू दरबारमा जन्मेका छैनन् र उनीहरू नाम मात्रको भए पनि महाधिवेशन गरेर निर्वाचित मुखियाका रूपमा छानिएका छन् । यो क्रम पुराना देउवा, ओली, प्रचण्ड, नेपाल, यादव मात्र हैन, नयाँ लामिछाने, राउत, चौधरीहरूमा पनि लागु भएकै छ । यो हेर्दा यी सबैलाई शंखमुलतिरका एउटै ड्याङका मुला भन्दा फरक पर्दैन ।
पहिला पुरानाको कुरा गरौँ, सुरुमा यिनीहरूको ल्याकत मात्र नभएको हो वा काम गर्ने ढंग नपुगेको हो कि जस्तो लाग्थ्यो तर समयक्रममा समस्या त्यतिमा मात्र सीमित रहेन, यिनीहरूको नियतमाथि नै प्रश्न गर्नुपर्ने अवस्था सिर्जना हुन भयो । यस क्रममा पटक पटक सत्तामा पुगेर पनि असफल भइरहेका यिनीहरूले आफ्नो असफलता त स्विकारेनन् नै, आफूले मात्र नेपाल र नेपालीको भाग्य बनाइदिने डिङ हाँक्दै सत्तामा पुग्ने प्रपञ्च पनि गरिरहे । तर, जति पटक सत्तामा पुगे पनि उनीहरूले उम्दा काम केही गरेनन्, बरु उल्टै आफ्नो थप अयोग्यता र नालायकीपन मात्र प्रमाणित गरे । अब त यस्तो लाग्छ कि यिनीहरू साँच्चैका धुन्धुकारि हुन् जो लोकतन्त्र नमासेसम्म यस्तै कुकर्म गर्न अभिसप्त छन् ।
नयाँको कुरा गर्दा पात्र फेरिए पनि प्रवृत्तिगत रूपमा उनीहरू पुरानैका हुबहु फोटोकपी नै हुन् । अझ यिनीहरूको कतिपय कोणबाट पुरानासँग तुलना गर्न पनि मिल्दैन । जस्तो कि पहिलाकासँग केही राजनीतिक इतिहास त थियो, त्यसप्रतिको जिम्मेवारीसँग जोडेर प्रश्न गर्ने ठाउँ पनि हुन्थ्यो । तर ,नयाँसँग त त्यो पनि छैन । उनीहरू पुरानाप्रतिको वितृष्णाका मतपेटिकाबाट उठेका ‘बुख्याच्या’ मात्र हुन् । अर्थात्, अर्को शव्दमा भन्ने हो भने पुरानाका वितृष्णाको चिहानबाट उठेका ‘नो भोट’ हुन् । छोटो समयमै उनीहरूले देखाएको चरम सत्तालिप्सा र राजनीतिक केटाकेटीपन हेर्दा त यिनीहरू टाढासम्म पुग्ने राजनीतिक मनुवा हुन् भन्ने कुनै ठाउँ नै देखिन्न ।
नयाँ हुन् वा पुराना यी सबैका मुखियालाई यो रूपमा प्रस्तुत गर्न दलका दोस्रो वा तेस्रो पुस्ताका नेता– कार्यकर्ताको पनि उत्तिकै जिम्मेवारी छ । आखिर उनीहरूकै टाउको गनेर त उनीहरू आआफ्नो दलको सर्वोच्च प्राधिकरमा पुगेका हुन् । यद्यपि पछिल्लो पुस्तालाई त्यसमा लज्जबोध भएको छैन । उनीहरू त अघिल्लो पुस्ताले देला र शीर्ष नेतृत्वमा पुगौला भन्ने आसमा एक किसिमको दास मनोवृत्तिले भरिएको तोरीलाउरे पुस्ता सावित भएको छ । लोकतन्त्रको भविष्यलाई लिएर यति ठूलो प्रश्न उठिरहेको बेला पनि यो पुस्ताले कुनै पनि किसिमको परिणाममुखी हस्तक्षेप गर्न सकेको छैन ।
हुँदाहुँदा त यस्तो स्थिति नै आइसकेको छ कि अब यी दलहरूमा कुनै पाइन भएको युवा पनि बाँकी छ भन्न पनि गाहो छ । आफ्नो दलको नेतृत्वलाई सफल बनाउने नाममा आफै संस्थापन हुन पुगेको यो पुस्ता अघिल्लो पुस्तासँगै सती गइरहेको छ ।
प्रश्न नेता र कार्यकर्ताको मात्र पनि हैन, जनताको पनि हो । नेपाली जनता चार वर्ष अनेक कुरा गर्छन् तर जब मतदान गरेर जनार्दन हुनुपर्ने दिन आउँछ, सारा विवेक गुमाएर पुरानै नालायकहरूलाई पुनः विजयको माला पहिराउँछन् । नत्र २०४८ सालदेखि लगातार देउवालाई दार्चुलाका जनताले किन जिताइरहन्छन् ?
२०६४ लाई छोडेर ओलीलाई किन झापाली जनताले जिताइरहन्छन् ? एउटै निर्वाचन क्षेत्रका राजा देउवा र ओलीको कुरा मात्रै हैन, निर्वाचन क्षेत्र चाहर्दै हिँड्ने प्रचण्डले त जुन निर्वाचन क्षेत्रमा गए पनि जितिरहेकै छन् । किन चलिरहेको छ यो जीतको अनवरत सिलसिला ? कारण स्पष्ट छ, नेपाली जनता जनार्दन हुन नसकेर यसैका लागि अभिसप्त भएका छन् । आवधिक निर्वाचनमा आफ्नो मतको शक्ति नबुझ्ने जनताले योभन्दा भिन्न भुक्तमान पाउनुपर्ने कारण पनि केही हुन्न ।
प्रश्न पुरानालाई पटकपटक जिताउनेमा मात्र सीमित छैन, नयाँलाई पनि त्यसरी नै जिताउने क्रम सुरु भएकोमा पनि छ । नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक भएका र परिवन्दले अमेरिका छोडेर नेपाल फर्केका रवि लामिछानेलाई एकपटक हैन, दुईपटक जिताए जनताले । त्यो पनि सम्भवतः देशकै सबैभन्दा बढी सचेत मतदाता रहेको चितवनका वालिग जनताले ।
ल पहिलोपटक त नयाँ हुन्, केही गर्लान् कि भन्ने आशा पनि थियो होला । दोस्रोपटक त उनी नेपाली नागरिकतामाथि जालसाजी गरेबापत सजाय पाएपछि उपचुनावमा गएका थिए । यसपटक जनताबाट सजाय पाउँन लायक उनी झन् ठूलो बहुमतका साथ जिते । त्यसपछि उनले गृहमन्त्री हुन के के गरे त्यो त सबै सामु घाम जतिकै छर्लङ्ग छ।
अहिले त उनी सहकारी प्रकरणमा एक संगठित ठगको अभियोगमा सांसद पदबाटै निलम्बित छन् । यसको अर्थ हो, चितवन–२ का जनता अहिले आफ्नो प्रतिनिधि नै निलम्बित भएको अवस्थामा छन् । यसअघि सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेको बेला त उनीहरू जनप्रतिनिधिविहीन नै भएका थिए ।
यति हुँदाहुँदै पनि रविको राजनीतिक चटकको पूरै पर्दा उघ्रिसकेको छैन । २०८४ को आमचुनावमा चिवन– २का जनताले फेरि उनैलाई जिताए भने पनि अचम्म नमाने हुन्छ । तर, त्यतिबेलासम्म रविका बाँकी सबै कर्तुत पनि उद्घाटन हुँदै जाँदा उनको राजनीतिक भविष्यमा पूर्णविराम नलाग्ला भन्न सकिन्न ।
सहकारी प्रकरणले नै पनि उनलाई नेपालको ‘लालु’ बनाउन सक्छ । अहिले उनी मुख पनि खोल्न नसक्ने गुप्तबासको अवस्थामा पुगेका छन् । सधैँ बोलिरहनुपर्ने रविजस्तो बोलक्कड मान्छे, यति लामो समयसम्म चुप लाग्नु भनेको आफैमा गतिलो सजाय हो ।
यो त लोकतन्त्रका नाममा मञ्चन भइरहेको पछिल्लो परिदृश्य र तिनका मूलपात्रहरूको चर्तिकलाको कुरा भयो । अब एकैक्षण ज्ञानेन्द्र शाहको कुरा गरौँ । अहिले उनलाई दुवै कित्ताकाले मिलेर चर्चाको शिखरमा चढाएका छन् । तर, बुझ्नुपर्ने कुरा के हो भने नेपालमा राजतन्त्रको चिहानमा गणतन्त्र आएको हो । त्यतिबेलाका राजा ज्ञानेन्द्रले खुशीले नारायणहिटी छोडेका हैनन्, केही सिप नलागेर आत्मसमर्पण गरेका हुन् । उनले शान्तिपूर्वक एक नागरिक भएर बस्ने कबुल गरेका हुन् ।
त्यतिबेला पनि उनले निर्मल निवास हुँदाहुँदै बस्न र भोगचलन गर्नका लागि नागार्जुन दरबारमा मागेका थिए। आफ्नो सम्पति र व्यापारको सुरक्षा मागेका थिए । त्यतिमात्र हैन, सरकारी सुरक्षा दस्ता पनि मागेकै हुन् । शरणको मरण नगर्ने नेपालीको सनातन भएकाले तत्कालीन सरकारले उनका सारा माग पूरा गरिदियो । परिणामतः न उनी देशबाट निकाला गरिए, न उनलाई मारियो नै । यो एक किसिमको अलिखित सम्झौताको पालना थियो ।
यसरी सम्झौता गरेर राजाबाट पूर्वराजा भएका ज्ञानेन्द्र त्यो सम्झौता बिर्सेर केही वर्षपछि नै चलमलाउन थाले । विभिन्न दिवशमा सन्देश दिने क्रम सुरु भयो । सुरुमा मन्दिर घुम्न निस्कन थालेका उनी बिस्तारै राजनीतिक अभिप्रायले देश दौडाहामै निस्कन थाले ।
यही बीचमा ‘राजा आऊ : देश बचाऊ’ भन्ने एक किसिमको दस्ता नै बन्यो । छिमेकको भारतमा हिन्दूवादी भारतीय जनता पार्टी सत्तारूढ भएकाले त्यो कार्ड खेल्न पनि उनले नेपाल–भारत ओहोर–दोहोर गरिरहे । त्यस क्रममा उनले आफूलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको विशेष सूचीमा चढाउँन पनि भ्याए ।
लोकतन्त्र ज्ञानेन्द्रको चाहना वा ‘राजा आऊ’ भनेर भट्याउनेहरूको इच्छाले नै जाने हैन। यो जाने भनेको लोकतन्त्रबाहकहरूको नालायकीपन र गैरजिम्मेवारीले मात्र हो। यतिबेला ओली-देउबा हल बाँधेर नालायकीपनको सत्ता-रथ हाँकिरहेछन्। कतै त्यही रथ त ज्ञानेन्द्रको सवारी चलाउन सहयोगी भैरहेको छैन?, शंकाको सुई उतैतिर तेर्सिएको छ।
अब प्रश्न उठ्छ, के ज्ञानेन्द्र यतिले मात्र यहाँ आइपुगेका हुन् त ? हैन, त्यसको अर्को पाटो पनि छ । त्यो भनेको राजालाई निस्फिक्री शक्तिको समानान्तर अभ्यास गर्न दिइएको छुट र राजाको झड्केलो राजनीतिक सन्तान राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मलजल हाल्ने काम हो । एक किसिमको आफ्नै खुट्टामा बन्चरो हाल्ने काम गणतन्त्रका तीन दल कांग्रेस, माओवादी र एमालेले निरन्तर गरिरहे । त्यसमा पनि एमाले अझ त्यसमा पनि पार्टी मुखिया ओलीको त सर्वथा ठूलो भूमिका छ ।
ओलीले २०७४ को चुनावमा होस् वा २०७९ को चुनावमा झापा–५ मा राप्रपाको मतले आफ्नो जीत सुनिश्चित गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई झापा– ३ मा विजयी गराइ रहे । उनले एमालेलाई झापा ३ मा अनुपस्थित गराएर लिङ्देनलाई स्थापित मात्र गराएनन्, राप्रपासँग तालमेल गरेर संसदमा पनि गतिलै संख्यामा पुर्याइदिए । त्यति मात्र हैन, कमल थापालाई त मकवानपुर २ मा एमालेको चुनाव चिन्ह सूर्य दिएर उम्मेदवार नै बनाइ दिए ।
यसरी ओलीले दूध खुवाएर हुर्काएपछि लिङ्देन र उनी अध्यक्ष भएको दल राप्रपा ‘राजा आऊ : देश बचाऊ’ भन्ने अभियान चलाउने स्थितिमा पुग्यो । ओलीको कुकर्म यतिमा मात्र पनि सिमीत रहेन, अहिले राजा आउने तिथिमिति तोक्ने डा. जगमान गुरूङलाई त नेपाल प्रज्ञाप्रतिष्ठानको प्राज्ञ सदस्य हुँदै कुलपति नै बनाए । उनले एमालेमा भित्राएर नेपालगञ्जको मेयर बनाएका धवल शम्शेरलाई पछि तालमेल गरेर सांसद बनाइदिए । अहिले उनै राजा ल्याउने अभियानका अगुवा छन् । मधेस प्रदेशको प्रमुख बनाएका राजेश अहिराज सल्लाहकार छन् । यी सबै पृष्ठभूमी हेर्दा बयलगाडापथका पथिक ओली सुझबुझका साथ आजको दिन ल्याउन राजा र राजावादीहरूलाई मलजल गरिरहेका त थिएनन् ? भन्ने प्रश्न उठ्न सक्छ । अहिलेसम्म उनले गरेका यी सारा कुकर्मका लागि कुनै पश्चाताप नगरेबाट पनि यो प्रश्न उठाउने ठाउँ रहन्छ ।
हुन त ओलीमाथि तेर्स्याइएको यो प्रश्न केहीका लागि षडयन्त्रको सिद्धान्त पनि लाग्न सक्छ तर ओलीको पृष्ठभूमी र परपीडक चरित्रलाई हेर्ने हो भने यसलाई असम्भव भनेर दरकिनारा गर्नुपर्ने कारण भेटिन्न । अझ अहिले त उनी राजावादी देउवासँगै लपक्कै मिलेका छन् । उनीहरूको यो पछिल्लो गठजोडको ‘गम’ पनि कतै ज्ञानेन्द्रको सवारी चलाउन त भएको थिएन ? त्यस कोणबाट प्रश्न उठाउने ठाउँ पनि ओलीले नै दिएका छन् ।
यसको पछाडि अर्को एउटा कारण पनि हेर्नुपर्ने हुन्छ । त्यो के भने देउवा र ओली गणतन्त्रका लागि पटक्कै तयार थिएनन् । उनीहरू त तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र एमाले महासचिव माधव नेपालको निर्णयमा घिसारिएर गणतन्त्रमा आएका थिए । अहिले पनि बेलाबेला उनीहरूको मुखबाट गणतन्त्रलाई माओवादीको एजेन्डा गभनेर अमिलो डकारिरहेका हुन्छन् ।
यो राजनीतिक कटु सत्यलाई हेर्ने हो भने ओली– देउवालाई पूरै विश्वास गर्न सकिन्न । अझ, ओली र देउवा प्रधानमन्त्री भएको समयलाई हेर्ने हो भने उनीहरूकै पालामा ज्ञानेन्द्र सम्झौता विपरीत राजनीतिक अभिष्टको गतिविधिमा घनिभूत रूपमा संलग्न भएको देखिन्छ । त्यसैको पछिल्लो परिणाम हो, फागुन ७ गतेको ज्ञानेन्द्र-सन्देश । एक किसिमको विद्रोहकै भाषामा आएको उनको त्यही सन्देशलाई शिरोधार्य गरेर राजावादीले पछिल्लो प्रदर्शन गरेका हुन् ।
यो प्रदर्शनपछि गणतन्त्रवादी कित्तामा जुन किसिमको बेचैन देखिएको छ र दलका मुखियाहरू जुन भाषा र शैलीमा बरबराउन थालेका छन्, त्यो त झन् सर्वथा लाजमर्दो विषय हो। पहिला आफैँ गणतन्त्रलाई यति रक्षात्मक स्थितिमा पु¥याउने अनि अहिले रक्षा गर्ने नाममा यति तल्लो स्तरमा ओर्लने यो आफैँमा एक किसिमको चरम पाखण्डपन हो । अर्काे कोणबाट भन्ने हो भने यो ‘टाउको दुखेको दबाइ नाइटो मुनि लगाई’ भनेजस्तै हो ।
नेपाली जनताले अझै पनि लोकतन्त्रको विकल्प खोजेका छैनन् । उनीहरू लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्छ भन्ने कहिल्यै विश्वास गर्दैनन् । उनीहरूले चाहेको भनेको नेतातन्त्र, गुटतन्त्र र दलतन्त्र हैन, लोकतन्त्र हो । गफतन्त्र हैन, कामतन्त्र हो । भ्रष्टाचार हैन, सुशासन हो । एक समुन्नत र समृद्ध नेपाल हो । त्यसका लागि अहिलको राजनीतिक दलको मूल नेतृत्व साधक छैन, बाधक बनेको छ ।
यसको केही गर्ने ल्याकत पनि छैन र नियत पनि साफ छैन । त्यसैले अहिलेको चुरो कुरो भनेको अहिलेको मूलनेतृत्वले विदा भएर मार्गप्रशस्त गर्नु नै हो । यदि उनीहरू त्यसका लागि तयार हुँदैनन् भने पनि दलहरूले त्यसको विकल्प खोज्नुपर्छ । त्यसो गरियो भने मूल प्रश्नको सम्बोधन हुन्छ । त्यसपछि समयक्रममा बाँकी प्रश्नहरू सजिलै हल हुँदै जान्छन् । तर, त्यसो गरिएन र पञ्चहरूको जस्तो प्रतिकारकै शैलीमा जाने स्यालहुइँया गरियो भने मुख्य दलका मूल नाइकेहरू त सकिन्छन् नै, तिनलाई बोक्ने दल हुँदै अन्ततः लोकतन्त्र पनि सकिन बेर लाग्दैन ।
लोकतन्त्र ज्ञानेन्द्रको चाहनाले जाने हैन न ‘राजा आऊ : देश बचाऊ’ भनेर भट्याउनेहरूको ईच्छाले नै जान्छ । यो जाने भनेको लोकतन्त्रका बाहकहरूको नालायकीपन र गैरजिम्मेवारीले मात्र हो । यतिबेला बयलगाडे ओली अर्का ज्ञानेन्द्रपथी देउवासँग हल बाँधेर त्यही चरम नलायकीपनको प्रदर्शन गरिरहेका छन् भने युवा भनिने तोरीलाहुरे पुस्ता बाटोछेउमा उभिएर ताली बजाउँदै रमिता हेरिरहेको छ । इतिहासकै सर्वथा यो नाजुक दृश्य अरू केही समय लम्बिने हो भने लोकतन्त्र जान पनि सक्छ । त्यसपछि के आउँछ ?, त्यो त अहिले नै भन्न सकिन्न । त्यो हेर्न कम्तीमा पनि बाँच्नैपर्छ– समयले ऐना देखाइहाल्छ ।