शुक्रबार, ०३ अप्रिल २०२६

एमाले सचिवालय बैठकअघि रणनीति बनाउन जुट्यो विष्णु समूह

News Image
• • •

एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले सदनमा व्यक्त गरेका धारणाले पार्टीभित्र तरंग पैदा गरेको छ।

नेपाली सेनादेखि कर्मचारीतन्त्रसम्म लक्षित गर्दै उनले दिएका अभिव्यक्तिप्रति पार्टी पदाधिकारीहरू नै असन्तुष्ट बनेका छन्। असन्तुष्ट पदाधिकारीहरूले आकस्मित सचिवालय बैठक नै बोलाएका छन्। भोलिको सचिवालय बैठकमा बादलका अभिव्यक्तिबारे छलफल केन्द्रीत हुने बताइएको छ।

सचिवालय बैठकअघि उपाध्यक्ष विष्णु पौडेल समूह रणनीति बनाउन जुटेको छ। पौडेलसहित उपाध्यक्ष गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ, उपमहासचिव योगेश भट्टराई लगायत नेताहरू आन्तरिक छलफलमा जुटेको एक नेताले बताए।

दलको नेता छान्नेदेखि संसदमा भाषणको ड्राफ्टसम्म टिचिङकै निर्देशनमा भइरहेको भन्दै नेताहरू असन्तुष्ट बनेका छन्। जेनजी आन्दोलनमा गैरकानुनी दमन गरेको कसुरमा ज्यानसम्बन्धी मुद्धा खेपेका अध्यक्ष केपी ओली प्रहरी हिरासतमा छन्। स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित टिचिङ अस्पताल भर्ना भएका ओलीले त्यहीबाटै महासचिव शंकर पोखरेलमार्फत पार्टीमा रबैया चलाइरहेको नेताहरूको आरोप छ।

बिहीबारको संसद बैठकमा बादलको सम्बोधनको ड्राफ्ट नै टिचिङद्वारा निर्देशित महासचिव पोखरेलले लेखिदिएको नेताहरूको दाबी छ। संसदीय दलको नेता चुन्न पनि टिचिङकै निर्देशनमा महासचिवले भूमिका खेलेकाे भन्दै नेताहरू असन्तुष्ट छन्।

पौडेल समूहका एक केन्द्रीय सदस्यले भने, ‘बादल कमरेडले कुनै नयाँ कुरा भनेका होइनन्। हिजोका दिनदेखि अध्यक्ष, महासचिव र विष्णु रिमाललगायतले जे कुरा बोलिरहेका थिए त्यसैको निरन्तरता दिएका हुन्। तर, संसदमै आधिकारिक रुपमा दर्ज गरेपछि पदाधिकारीहरूले आपत्ति जनाउनुभएको हो। शुक्रवारको बैठकमा छिनोफानो गर्ने नेताज्यूहरूको तयारी छ।’

पहिलो दिनमा शालीनतापूर्वक कुरा राख्नुपर्नेमा पुरानै ढर्राको राजनीतिले पार्टीलाई झन् क्षति पुग्नेतर्फ विष्णु समूहका नेताहरूले चेतावनी दिएका छन्। जेनजी आन्दोलनका समयमा सेनाको सुरक्षा घेराबाट बाहिर निस्कने बित्तिकै उपाध्यक्ष पौडेलले माफीसमेत मागेको प्रसंग उप्काउँदै नेताहरूले जनमतको अपमान गर्ने नेतृत्वको दुस्साहसले पार्टी झन् अप्ठेरोमा पर्नसक्नेतर्फ नेताहरू सचेत छन्।

यता नेताहरू संसदीय दलको नेता नै परिवर्तन गर्नेसम्मको रणनीति बनाइरहँदा पार्टीका युवाहरू पनि नेतृत्वको परिवर्तनलाई बल पुग्ने गरी सडकमै छन्। युवा नेता सुहाङ नेम्वाङलाई प्रस्तावक र समर्थकसमेत नपाउने गरी उम्मेदवारीबाट वञ्चित गराएपछि अनेरास्ववियुका असन्तुष्ट नेता कार्यकर्ताले विरोध जनाइरहेका छन्।

उपाध्यक्ष पौडेलले भोलिको सचिवालय बैठकमा बादलका अभिव्यक्तिबारे गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने बताएका छन्।

उनले भनेका छन्, ‘प्रतिनिधि सभाको आजको बैठकमा नेकपा एमालेको दल नेताको हैसियतले मा. रामबहादुर थापाले व्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत छन्। यस सम्बन्धमा भोलि आयोजना गरिएको केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु।’

उपमहासचिव योगेश भट्टराईले बादललाई काउन्टर दिँदै नेपाली सेना लगायतका सुरक्षा अंगहरू, न्यायलय लगायतका संवैधानिक अंगहरू र कर्मचारीतन्त्रप्रति पार्टीको कुनै पनि बैरभाव नभएको र त्यसप्रति हाम्रो पार्टीको सम्मान र विश्वास रहिरहने बताएका छन्।

उनले भनेका छन्, ‘जनताको बहुदलीय जनवाद नेकपा एमालेको सिद्धान्त हो। प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने र शान्तिपूर्ण तथा वैधानिक बाटोबाट नेपाली समाजको प्रगतिशील रूपान्तरण गरी समाजवादको आधार तयार गर्ने जबजको मान्यता हो। जनताले प्रकट गरेको जनमतलाई सम्मान गर्नु र पराजयको ठोस समीक्षा गरी कमजोरीलाई सच्याएर पुनः जनविश्वास आर्जन गर्ने बाटोमा जानु जबजको मर्म हो। यो व्यवस्था ल्याउनमा मुख्य भूमिका खेलेको र संविधान निर्माणमा नेतृत्वकर्ता दल नेकपा एमाले आज सरकारको विपक्षी दल हो तर राज्य पक्षीय दल हो। नेपाली सेना लगायतका सुरक्षा अंगहरू, न्यायलय लगायतका संवैधानिक अंगहरू र कर्मचारीतन्त्रप्रति हाम्रो पार्टीको कुनै पनि बैरभाव छैन त्यसप्रति हाम्रो पार्टीको सम्मान र बिश्वास रहिरहने छ। संसद वा सड़क, सत्ता पक्ष वा प्रतिपक्ष कुनै पनि भूमिकामा पार्टीको यो धारणा यथावत रहने छ।’

अन्य पदाधिकारीहरूले पनि बादलको अभिव्यक्तिप्रति चर्को असन्तुष्टि जनाएका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!