शिक्षामन्त्रीको राजीनामाप्रति शेखर कोइरालाको गम्भीर चासो

फाइल तस्बिर
फाइल तस्बिर

प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा र शिक्षकहरूको आन्दोलनबारे चासो व्यक्त गरेका छन्। 

स्वास्थ्यका कारण केही दिनदेखि घरमै आराम गरिरहेका कोइरालाले मंगलबार बिहान शिक्षक महासंघका प्रतिनिधिहरूसँग पनि कुराकानी गरेका थिए।

शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले डा. कोइरालासँग कुरा गर्दै शिक्षामन्त्रीको राजीनामा आफूहरूको माग नभएको र शिक्षा ऐन जारी नहुँदासम्म आफूहरू नफर्किने बताएका थिए। त्यसक्रममा घिमिरेले शिक्षामन्त्री शिक्षकहरूका मागप्रति सकारात्मक भएको भन्दै प्रधानमन्त्री ओलीकै बद्नियतका कारण शिक्षामन्त्रीको राजीनामा आएको हुनसक्ने कोइरालासँग भनेका थिए। त्यस्तै घिमिरेले तत्काल ऐन जारी गर्ने वातावरण मिलाउनका लागि कोइरालाको साथ पनि मागेका थिए। 

त्यसक्रममा कोइरालाले शिक्षकहरूका जायज मागहरूप्रति आफू सधै सकारात्मक भएको भन्दै शिक्षकहरूमा समस्या समाधान गर्न सरकार र पार्टीको ध्यानाकर्षण गरिरहेको बताएका थिए। 

नेपाली कांग्रेस शिक्षा विभाग प्रमुख नैनसिंह महरले पनि यस बिषयमा कोइरालाले चासो व्यक्त गरेको बताए। 
‘उहाँसँग सामान्य कुराकानी भएको थियो। अहिलेको जल्दोबल्दो विषयमा चासो त राखिहाल्नुहुन्छ नि!’ महरले भने। 

२१ दिनदेखि देशभरका सरकारी विद्यालयमा शैक्षिक हड्ताल गरेर शिक्षकहरू काठमाडौंका सडकमै छन्। यहीबीचमा शिक्षामन्त्री विद्या भट्टराईले पनि राजीनामा दिएपछि अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यापक आलोचना भइरहेको छ। यद्यपि ओलीले ‘आफैले बनाएको मन्त्रीलाई हटाउने’ काम नगरेको भन्दै मिडियाले हल्ला फैलाएको आरोप लगाएका छन्। र विद्या भट्टराईले स्वास्थ्यका कारण राजीनामा दिएको दाबी पनि गरेका छन्। 

शिक्षकहरूले भने मंगलबार पनि आन्दोलन जारी राखेका छन्। राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षामा सहभागी भइदिन आग्रह गरे पनि शिक्षकहरूले आफूहरूले त्यसमा सहयोग नगर्ने चेतावनी दिएका छन्। 

अहिलेसम्म एईईसीका उत्तरपुस्तिकाहरूसमेत जाँचिएका छैनन्। शिक्षकहरूको आन्दोलनका कारण वैशाख १ गतेदेखि नै सुरु भएको राष्ट्रिय भर्ना अभियान पनि प्रभावित भएको छ। 

यसअघि नै नेपाली कांग्रेसका नेता कोइरालाले शिक्षकहरूका माग पूरा गरी उनीहरूलाई काममा फर्काउने वातावरण मिलाउन सरकारलाई आग्रह गरेका थिए। 

शिक्षामन्त्रीको राजीनामापछि शिक्षा क्षेत्रमा झन अन्योल उत्पन्न भएको भन्दै कोइरालाले लाखौं विद्यार्थीको भविष्यप्रति पनि चिन्ता व्यक्त गरेका थिए।

प्रकाशित मिति: : 2025-04-22 17:54:00

प्रतिकृया दिनुहोस्