शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्।
सोमबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट उच्च स्रोतले बतायो।
आजै बस्ने मन्त्रिपरिषद बैठकले उनको राजीनामा स्वीकृत गर्ने सम्भावना रहेको स्रोतले बतायो।
शिक्षकहरूको माग सम्बोधनमा प्रधानमन्त्री केपी शर्मा ओली अनुदार देखिएको र शिक्षा विधेयक पारित गराउँन असहयोग गरेको भन्दै उनी असन्तुष्ट थिइन्।
भिडियो-
000
प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन आह्वान गरेका छन्।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले शिक्षकहरूलाई वार्तामा आउन आह्वान गरेका हुन्।
शिक्षकहरूकाे सम्भव मागहरू सबै पूरा गर्ने आश्वासन दिँदै वार्तामा बस्न, आन्दोलन टुंग्याउन र विद्यालय फर्किन उनको आग्रह थियो।
000
अबदेखि निजामती कर्मचारीले अवकाशपछि दोहोरो सुविधा नपाउने भएका छन्।
सोमबार प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा पास हुने चरणमा रहेको निजामती सेवा विधेयकले यस्तो व्यवस्था गर्न लागेको हो।
विगतमा निजामती कर्मचारीले अवकाशपछि पेन्सन पनि पाउने र वृद्धभत्ता पनि पाउँदै आएका थिए। तर अब पेन्सन मात्र पाउने गरी ऐन बन्न लागेको हो।
000
काठमाडौँको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि अनुसन्धान थालेको छ।
शंकास्पद आर्थिक कारोबारका विषयमा उनीमाथि अनुसन्धान अगाडि बढाइएकाे हाे।
प्रसाईंको खातामा अस्वाभाविक शंकास्पद आर्थिक कारोबार देखिएपछि राष्ट्र बैंकले अनुसन्धानका लागि सीआईबीलाई पत्राचार गरेको थियो। सोही पत्रका आधारमा सीआईबीले अनुसन्धान गरिरहेको छ।
000
नेकपा एमालेका सांसद रघुजी पन्तले संसदीय समितिको बैठकमा प्रेसलाई प्रवेश निषेध गर्न प्रस्ताव गरेका छन्।
संसदीय समितिका काम कारवाहीबारे जनतामा भ्रम फैलाउने खालका अपुष्ट र निराधार सामग्री प्रकाशन–प्रसारण भएको भन्दै उनले प्रेसलाई समिति बैठकमा प्रवेश निषेध गर्नुपर्ने प्रस्ताव राखेका हुन्।
संसदीय समितिको फाइनल रिपोर्ट र निर्णयमात्र प्रेसलाई जानकारी दिनुपर्ने उनकाे सुझाव थियाे।
000
रवि लामिछानेलाई रिहा गर्नुपर्ने माग राखी दायर भएको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्ने भएको छ।
न्यायाधीश हरि फुयाँलको इजलासमा परेको निवेदन हेर्न नमिल्ने भएको हो। सर्वोच्च अदालतले मंगलबारका लागि निवेदनको पेशी तोकिसकेको छ।
सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका लामिछानेलाई गैरकानुनी थुनामा राखेको दाबी गर्दै उनका तर्फबाट श्रीमती निकिता पौडेलले आइतबार निवेदन दर्ता गराएकी थिइन्।
000
नेकपा एमालेका नेता योगेश भट्टराईले पोखरा र भैरहवा विमानस्थलमा आफूले गरेको हस्ताक्षरले राज्यलाई भएको नोक्सानीको प्रमाण देखाउन चुनौती दिएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत उनले प्रमाण देखाउन चुनौती दिएका हुन्।
आफूले गल्ती गर्ने र अर्कोलाई आरोप लगाउने चलनबारे आफू जानकार रहेको बताउँदै आफूमाथि औंला उठाउनेहरू नै दोषी हुनसक्ने याेगेश आरोप छ।
000
पोप फ्रान्सिसको अठासी वर्षको उमेरमा निधन भएको छ।
क्याथोलिक चर्चका प्रमुख समेत रहेका फ्रान्सिसको भ्याटिकनको कासा सान्ता मार्ताको निवासमा सोमबार निधन भएको हाे।
विगत केही महिनादेखि निमोनिया र रक्तअल्पताबाट पीडित उनमा पछिल्लो समय फोक्सोको संक्रमण पनि देखिएको थियो।
उनी इतिहासकै पहिलो ल्याटिन अमेरिकी पोप हुन्।