सर्वोच्च अदालतले चार जना भुटानी शरणार्थीलाई वैशाख ११ गते अदालतमा उपस्थित गराउन र त्यसबेलासम्म डिपोर्ट नगर्न अन्तरिम आदेश दिएको छ।
२० दिनदेखि झापा काँकडभिट्टा प्रहरीको थुनामा रहेका भुटानी शरणार्थीहरूलाई थुनामुक्त गर्न माग गर्दै शरणार्थी नारायणकुमार सुवेदीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट बुधबार दायर गरेका थिए।
उनको रिटमाथि सुनुवाइ गर्दै बिहीबार सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो।
चैत १५ मा अमेरिकाले डिपोर्ट गरेर भुटान पुर्याएका १२ जना शरणार्थीलाई भुटानले नेपालतिरै पठाइदिएको थियो।
कागजात खोसेर भुटानले नेपाल पठाएका उनीहरू अवैध रूपमा नेपाल प्रवेश गरेको अभियोगमा थुनामा छन्।
भिडियो-
000
ललिता निवास जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र रविन शर्माले दायर गरेको रिटमाथि आज प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, टेकप्रसाद ढुंगाना र नित्यानन्द पाण्डेको पूर्ण इजलासमा सुनुवाइ भएको थियो।
दुवै पक्षको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।
000
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वैशाख ७ गते पार्टीले निषेधित क्षेत्रमा गएर प्रदर्शन गर्ने बताएका छन्।
बिहीबार बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको बताएका हुन्।
सरकारले नागरिक अधिकारलाई संकुचित बनाइरहेकाे बताउँदै त्यसविरुद्ध निषेधित क्षेत्रमै गएर प्रदर्शन गर्ने निर्णय गरिएकाे उनकाे भनाइ थियाे।
000
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसका मन्त्रीहरूसँग काम गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाह्रो परेको भए आफ्नै टिम बनाउन सुझाव दिएका छन्।
उनले प्रधानमन्त्री ओलीलाई काम गर्न गाह्रो परेको भए आफ्नै पार्टीबाट मात्रै मन्त्री रहने गरी टिम बनाउने विकल्पमा जान सुझाव दिएका हुन्।
ओली नेतृत्वको सरकारलाई कायमै राख्ने पक्षमा कांग्रेस रहेको बताउँदै
अहिलेकाे कार्यशैली बदल्नुपर्नेमा उनकाे जाेड थियाे।
000
सरकारले आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरणसम्बन्धी ऐन २६ वर्षपछि लागु गरेकाे छ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलद्वारा पेस गरिएको प्रस्ताव यही वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकबाट पारित भएपछि ऐन कार्यान्वयनमा आएको हो।
ऐन कार्यान्वयनमा आएसँगै स्वास्थ्य मन्त्रालयले यसअघिको अनुसन्धानमा बालबालिकामा अधिक रुपमा पाइएको आयोडिन र त्यसबाट सिर्जित स्वास्थ्य समस्या समाधानमा काम अघि बढाउन कानुनी बाटो खुला गरेको छ।
000
उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोगको आरोपबाट रामबहादुर बम्जनलाई सफाइ दिएको छ।
जिल्ला अदालत सर्लाहीको फैसला उल्ट्याउँदै न्यायाधीशहरू खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले बम्जनलाई सफाइ दिएको हो।
जिल्ला अदालत सर्लाहीले १७ असार, २०८१ मा बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो।
000
राष्ट्रिय परीक्षा बोर्डले आन्दोलनरत शिक्षक महासंघ, विद्यालयका प्रधानाध्यापक लगायतलाई माध्यमिक शिक्षा परीक्षा (एसईई)को उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशन एवम् कक्षा १२ को परीक्षा सञ्चालनमा सहयोग गर्न पुनः आग्रह गरेको छ।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले विज्ञप्ति जारी गर्दै महासंघको नेतृत्वमा भइरहेको आन्दोलनमा सहभागी शिक्षकहरूलाई आग्रह गरेका हुन्।
शिक्षकहरुको आफ्ना पेसागत हकहित र सुरक्षा साथै विद्यार्थीको अध्ययन र भविष्य सँगसँगै जानुपर्ने विषय भएको उल्लेख गर्दै बोर्डले यस्तो अपील गरेको हो।
000
नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार एकैपटक ३ हजार ६०० रुपैयाँले सुनकाे मूल्य बढेकाे हाे।
याेसँगै सुनकाे मूल्य ताेलामा १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ। याे भनेकाे सुनकाे मूल्य अहिलेसम्मकै उच्च हाे।