२२ वर्षअघि टोले केटाहरूकाे ‘ग्याङ’ले चुरोट तानिरहेकाे देख्दा प्रज्वलकाे मनमा प्रश्न उठ्थ्याे। ती दाइहरूले चुराेट किन खाएकाे हाेला?
सानैदेखि नक्कल गर्नमा माहिर थिए उनी। अरूले नयाँ काम गरेको देख्नसाथ गरिहाल्नुपर्ने। त्यही देखासिकीले प्रज्वल १४ वर्षकाे उमेरमा चुराेट उडाउने भए। उनलाई अझै याद छ, जिन्दगीमा पहिलाेपटक उनले चुराेट तानेकाे दिन।
त्याे दिन।
स्कुल छुट्टी थियो। घरमा कोही थिएनन्। त्यही मौकामा प्रज्वलले घर नजिकको नाङ्गलाे पसलबाट एउटा चुरोट र चकलेट किनेर ल्याए। घरको छतमा पुगे अनि चुरोट सल्काएर ‘बङ्गबङ्गी’ उठाउन थाले। त्यही पनि डराइ–डराइ। कसैले देख्न हाे कि?
‘कहिल्यै चुरोट खाएको थिइनँ। खाँदा के हुन्छ भनेर पनि थाहा थिएन तर मनमा डर थियो’, चुरोट तान्दाको पहिलो अनुभव सुनाउँदै उनले भने, ‘चुरोट त मलाई टेस्टलेस लाग्यो।’
भलै, उनलालाई चुरोटको स्वाद मनपरेकाे थिएन तर साथीहरूको अगाडि ‘हिरो’ बन्नका लागि उनले चुरोट उडाइरहे। स्वाङ पारिरहे।
‘चुरोट खाँदा हिरो देखिन्छजस्तो लाग्थ्यो। त्यसैले चुरोटको टेस्ट मिठो नलागे पनि तानिरहें। मैले चुरोट तानेको देख्दा साथीहरूले पनि प्रंशसा गर्थे’, उनी फुर्किदै झनै चुरोटको धुँवा गोलो–गोलो बनाएर आकाशतिर उडाउँथे।
चुरोट तान्न थालेको केही महिनामा प्रज्वल ‘खुङ्खार–चुरोटे’ भइसकेका थिए। अब उनी चुरोटभन्दा एक–स्टेप अगाडि बढ्न चाहन्थे। उनले ‘गाँजा’ चाख्ने पनि सोच बनाए। त्यो ‘आइडिया’ भने उनलाई घरको छतबाट फुरेकाे थियाे।
पशुपतिको छेउमा थियो प्रज्वलको घर। त्यही घरको छतबाट उनी मन्दिरमा चिलिम तानिरहेका मानिसहरू देख्थे। त्यसपछि उनकाे मनमा कुरा खेल्नथाल्याे, ‘गाँजा खाँदा चाहिँ कस्तो हुन्छ होला?’
भोलिपल्ट बिहान।
गाँजा खोज्न उनी पशुपतिको वनकाली पुगे। त्यहाँबाट उनले गाँजाको पात टिपेर ल्याए। अनि चुरोटमा मिसाएर ताने। त्यो पहिलोपटक तानेको गाँजाको एक ‘पप’ले उनलाई ‘ट्रिट’ दियो। उनलाई गाँजाले आकाशमा उडाइरहेकाे महसुस गरायो।
त्यसपछि गाँजामा पल्किन थाले प्रज्वल।
‘त्यतिबेला गाँजा जताजतै प्रशस्तै पाइन्थ्यो। पशुपतिमा डिलरहरू घुमिरहन्थे। त्यसैले त्यो समय गाँजा पाउनु कुनै ठुलो काम थिएन’, बिएल नेपाली सेवालाई उनी सुनाउँछन्, ‘तर गाँजा तान्दा रमाइलो लाग्थ्यो।’
प्रज्वलको लागि डोज बनिसकेको थियो गाँजा। बरू, खाना नखाइ दिन कटाउन सक्ने भइसकेका थिए उनी तर गाँजा नतानेको दिनै हुँदैन थियो। त्यतिधेरै गाँजाको ‘एडिग’ थिए प्रज्वल।
कक्षा– १० मा पढिरहँदा त उनले गाँजाको धुँवा उडाउनमा ‘पिएचडी’ गरिसकेको थिए। १६ वर्षको उमेरमा उनी गाँजा तान्न सिपालु भए। ‘मैले गाँजा तानेको सबै मनपराउँथे, जे–होस् म राम्रोसँग गाँजा खाने भइसकेको थिएँ’, दुई दशकअघिको कुरा सम्झदै उनले भने।
गाँजा तान्न थालेको वर्ष दिनपछि उनले ‘ट्याबलेट’ पनि खान थाले। ‘पेन किल्लर’ र शरीर झुलाउने ‘पिल्स’ लिन्थे प्रज्वल अनि दिनभरि ‘झ्याप’मा हुन्थे। ‘त्यसैमा त थियो मज्जा। सम्झँदा पनि जिउ सिरिङ्ग हुन्छ’, उनले बताए।
उनले गाँजा र गोटी खाइरहेको कुरा परिवारमा सबैलाई थाहा थियो। त्यसैले प्रज्वललाई पढाउनका लागि भारत पठाउने कुरा भयो। उनलाई घर छाड्ने त रहर थिएन तर बुबा-आमाको अगाडि उनको केही सीप लागेन। नचाहँदा–नचाहँदै उनी सन् २००३ मा भारत हानिए।
‘मेरो आफन्ती दाइ इण्डियामा पढेर आउनुभएको थियो। म धेरै बिग्रिए भनेर मेरो बुबा-आमासँग मिलेर मलाई दाइले भारत पठाइदिनुभयो’, उनले सुनाए।
छोरा सुध्रिन्छ कि भनेर बा-आमाले प्रज्वललाई आफूबाट टाढा पठाए। तर ‘नशा’ गर्ने मान्छेलाई ठाउँले पनि कहाँ रोक्न सक्थ्यो र? उनी भारत पुगेर झनै ‘गजडिया’ भए।
‘ट्याबलेट’बाट ‘ब्राउन सुगर’मा पुगे।
‘मैले उता मजस्तै साथीहरू भेट्टाएँ। हामी मिलेर नशा गथ्यौं। मैले उनीहरूबाट नै ब्राउन सुगर खान सिकेको थिएँ’, उनी भन्छन्, ‘मलाई त्यो धेरै मन पर्यो। म पूरै सन्तुष्ट भएँ।’
जसोतसो उनले पाँच वर्ष भारतमा बिताए। विज्ञान विषयमा ‘स्नातक तह’को अध्ययन पूरा गरे। त्यही पनि ‘झ्याप’कै भरमा। ‘मैले कसरी ब्याचरलर पास गरेँ त्यो त मलाई थाहै छैन। तर, कलेज लाइफ मेरो झ्याप भएरै बित्थ्यो’, उनी भन्छन्, ‘धन्न! फेल चाहिँ भइनँ।’
सन् २००८ मा स्वदेश फर्किएका प्रज्वलले पैसा कमाउने सोच बनाए। उनले एक ‘कल सेन्टर’मा काम गर्न थाले। महिनाको पाँच हजार रुपैयाँमा। त्यही तलबले डोज पुर्याइरहेका थिए उनले।
तर, धेरै समय काममा टिक्न सकेनन् प्रज्वल।
नशाका ‘एडिग’ भइसकेका उनी कहाँ अरूको ‘कमाण्ड’मा बसिरहन सक्थे र? वर्ष दिन नपुग्दै कामबाट बाहिरिए।
‘हामी एडिगहरू अरूको इसारामा बस्न सक्दैनौं। कसैले हामीलाई कमाण्ड दिएको हामी सहन सक्दैनौं’, उनी भन्छन्, ‘तलबले डोज मज्जाले पुगिरहेको थियो। तर, काम गर्न नसकेपछि निस्किएँ।’
कल सेन्टरको काम छाडेपछि एक डोजको लागि छटपट्टिन थाले प्रज्वल। त्यसपछि उनले घरमा बुबा-आमाले राखेको पैसा चोर्न थाले। घरको सरसामान बेचेर ‘ड्रग्स’को डोज पुर्याउन थाले।
हुन त त्यो बेला दुई–तीन सय रुपैयाँ पनि पाइने गथ्यो–ड्रग्स। तर, त्यति पैसाको लागि पनि उनले घरै फोड्नुपथ्यो।
छोराको त्यो अवस्था देखेर दिनरात रुन्थे बुबा-आमा। कयौंपटक सम्झाउने कोसिस गरे। तर, बा-आमाको कुरा कहिल्यै सुनेनन् प्रज्वलले।
‘उहाँहरू बोल्दा मलाई झर्को लाग्थ्यो। किनकि म मेरो संसारमा खुसी थिएँ। मलाई कसैको कुरा सुन्न मनै लाग्दैन थियो’, उनी भन्छन्, ‘तर, अहिले सम्झँदा मलाई दु:ख लाग्छ।’
दिनदिनै ड्रग्समा फसिरहेका छोरालाई बुबा-आमा सुधार्न चाहन्थे। त्यसैले उनलाई सुधार केन्द्र राख्ने निर्णय गरे। बा-आमालाई सुधार केन्द्रको सुझाव टोलका तिनै दाइहरूले दिएका थिए। जसले कुलतको बाटो त्यागेर नयाँ जीवनलाई अपनाएका थिए।
बुबा-आमाले सुधार केन्द्रमा भर्ना गरिरहँदा रमाइरहेका थिए प्रज्वल। उनलाई लागिरहेको थियो, ‘होस्टलजस्तै होला रिहाब सेन्टर। आफूले जे चाह्यो त्यही गर्न पाउने। पूरै फ्रिडम हुने।’ त्यही आशमा उनी सन् २००९मा ‘चोबार’को एक ‘रिहाब सेन्टर’मा बस्न थाले।
तर, उनले सोचेजस्तो थिएन रिहाब।
‘मेरो लागि जेलजस्तो थियो रिहाब। मैले चाहेको जस्तो केही गर्न पाइनँ। मैले नशालाई हात पनि लगाउन पाइनँ’, उनले भने।
पहिलोटक सुधार गृहमा बस्दा मरेतूल्य भयो प्रज्वललाई। उठ्नेबित्तिकै गोटी च्याप्ने उनको दिनको सुरुआत चियाबाट हुन्थ्यो। तर, ड्रग्सले भरिएको उनकाे शरीर कहाँ मान्थ्यो चिया र खानाले। उनलाई त मात्र नशा चाहिएकाे थियाे।
नशा नपाएका उनको शरीर थरथरी कापिरहन्थ्यो। ड्रग्सको डोज नपाएर छटपट्याउँदै उनी बेहोस हुन्थे। भोकै बस्थे दिनभरि टोलाइरहन्थे। तीन साता उनले आँखा बन्द नगरिकन नै बिताए।
‘नशाको सिकले मलाई धेरै सतायो। रातभरि सुत्न दिएन। जिउभरि किराहरू हिँडिरहेको जस्तो लाग्थ्यो। म अत्तालिएर कराउँथेँ, रुन्थेँ’, नशाको सिकनेसले उनलाई बौलाह बनायाे।
नशाको तलतलले आफूलाई चोट पुर्याएका प्रज्वलले रिहाबमा तीन महिना बिताए। तर, पनि सुध्रिन सकेनन्। किनकि नशा त्याग्न चाहदैन थिए उनी। नशा त उनको जिन्दगी बनिसकेको थियो। उनको ‘डाइट’ थियो शरीर झुलाइदिने त्यो नशा।
सुधार गृहबाट घर फर्किएपछि उनी ड्रग्समात्र नभई ‘सिरिन्ज’को खोजीमा पनि भौतारिन थाले। सुधार केन्द्र बसेर उनले सिरिन्जबारे थाहा पाए। ‘रिहाबमा सबै जनाले सिरिन्जको कुरा गरिरहन्थे। त्यसैले मैले पनि सिकेको थिएँ’, रिहाब बसेर झनै बिग्रिएका थिए प्रज्वल।
शरीरमा सिरिन्ज खोप्ने चक्करमा उनले कयौंको हातबाट कुटाइ खाए। त्यसको कुनै यकिन छैन उनीसँग। तर, पिटाइ खाएको उनलाई याद छ। ‘साथीभाइसँग बाँकी मागेर सिरिन्ज हाल्थेँ तर पैसा फिर्ता गर्दिन थिएँ। त्यसैले कुटाइ खाएँ’, उनी भन्छन्, ‘म सिरिन्जको पनि एडिग भइसकेको थिएँ।’
एकदिन सिरिन्जको खोजीमा सडक-सडक भौतारिँदै गरेका प्रज्वललाई प्रहरीले समात्यो। अनि चौकी लगेर सोध्न थाल्यो, ‘तँ जेलमा बस्छस् कि सुधार केन्द्र बसेर सुध्रिन्छस?’ प्रज्वलले रिहाब सेन्टर रोजे।
अनि भैँसीपाटीको सुधार गृहमा दोस्रोपटक भर्ना भए।
‘सुरुमा म पुलिसले मलाई किन समात्यो भनेर कन्फ्यूजमा थिएँ। तर, पछि थाहा भयो रिहाबका मान्छे मेरो पछि लागेका रहिछन्। तिनै मान्छेले पुलिसलाई मेरो एडिक्शनको बारेमा जानकारी दिएका रहिछन्’, दोस्रो पटकको सुधार गृह व्यापारको लागि खेलेको बताउँदै उनले भने, ‘मैले सुध्रिन्छु भन्नेबित्तिकै मलाई त्यही रिहाबले भैँसीपाटी पुर्यायो।’
त्योबेला रिहाबका मानिसहरू नै लागुऔषध प्रयोगकर्ताहरूको खोजीमा डुलिरहन्थे। आफ्नो व्यापारको लागि। तर, ‘डिल्लरहरू’लाई भने पुलिसले जेलभित्र थुनेर राख्थ्यो। खानेभन्दा बेच्नेलाई सजाय हुन्थ्यो त्याे समय।
दोस्रोपटक रिहाब सेन्टर (सुधार केन्द्र) पुगेका उनले पहिलोचोटिभन्दा धेरै पीडा सहनुपर्यो। त्यहाँ भोगेको पीडाका कारण उनले शरीरमा सिरिन्ज हाल्न त छोडे तर सकेनन् ब्राउन सुगरलाई छोड्न।
‘त्यो रिहाबमा मैले चार महिना कसरी बिताएँ, मलाईमात्र थाहा छ’, त्यहाँ बस्दा भाेगेकाे पीडा सम्झँनसमेत चाहदैनन् प्रज्वल।
भैँसीपाटीको सुधार गृहमा चार महिना बसेर निस्किएका उनले एक ‘फिल्म’ कम्पनीमा काम गर्न थाले। अन्तर्वार्ता दिएर छनाेट भएका प्रज्वलको तलब सुविधा पनि राम्रै थियो। त्यही काम गरेर उनले आफूलाई पालिरहेका थिए।
काम गर्न थालेपछि उनको डोज पनि बढिरहेको थियो। ओभरडोज लिन थालिसकेका उनी भन्छन्, ‘आफ्नो कमाइ भएपछि खर्च पनि उत्तिकै हुँदो रहिछ। झनै म ओभरडोज युजर भएँ।’
काठमाडौंबाट विराटनगर
एक समय जति नशा गर्नेहरूको बिगबिगी बढिरहेको थियो, त्यतिनै प्रहरीहरू पनि सक्रिय हुँदै थिए। दिनप्रति लागूऔषध प्रयोगकर्ताहरूलाई जेलमा थुनिरहेका थिए प्रहरीहरू। त्यही डरका कारण उनले काठमाडौँ छाडे अनि विराटनगर पुगे।
‘साथीहरू पक्रिन थालेपछि मनमा डर पस्यो। तर, नखाइकन पनि बस्न सक्दिनँ थिएँ। त्यसैले भागेर विराटनगर पुगेँ। बोर्डरनजिक भएकोले होला मलाई खानुमा पनि कुनै समस्या थिएन’, उनी भन्छन्, ‘लुकेरै मैले विराटनगरमा डेढ महिना बिताएँ।’
डेढ महिना विराटनगरको बसाइँपछि उनी काठमाडौं फर्किए। तर, घर पुग्नुको सट्टा उनी बल्खुको ‘फ्रिडम रिहाबिलिटेशन सेन्टर’ पुगे। त्यही पनि सिधैं विमानस्थलबाट।
‘म उता हुँदा मेरो परिवारले रिहाबसँग कुरा मिलाइसकेको रहिछ। मेरो झोला पनि रिहाबमा लगिसकेको रहिछ। एयरपोर्टबाट मलाई सिधैं रिहाबमा लगियो’, एयरपोर्टमा आफूसँग भएको घटनाले अझै दंग पर्छन् प्रज्वल।
तेस्रोपटक रिहाब पुगेका प्रज्वलले पाँच महिना फ्रिडममा बिताए। उही पुरानै पीडा सहेर। तीन पटकसम्म सुधार गृह बसेका उनले मनमनै सोच्न थाले, ‘अब म सुध्रिनुपर्छ।’
रिहाबबाट निस्किएपछि उनले घरबाटै धाउन थालेका थिए, रिहाब सेन्टर। उनमा सुधार पनि हुँदै थियो। त्यही बिचमा उनले विवाह पनि गरिसकेका थिए अनि ‘अनलाइन’बाट काम पनि गरिरहेका थिए। खुसीका साथ बितिरहेको थिए, प्रज्वलका दिनहरू। उनमा आत्मविश्वास पलाउन थाल्यो, ‘अब म सुध्रिएँ। सुधार गृह ध्याउदिनँ।’
तर, ऊभित्रको त्यो आत्मविश्वास धेरै दिन टिक्न सकेन।
उनी फेरि ब्राउन सुगरको एडिग भए। ‘मलाई लागेको थियो कि म सुध्रिएँ तर म गलत रहिछु। रिहाब नजानु नै मेरो जिन्दगीको सबैभन्दा ठुलो मिस्टेक भयो’, आफूसँग गुनासो गर्छन् उनी।
डेढ वर्षसम्म उनले कुनै नशाको सेवन गरेनन्। तर, १७ महिनापछि उनी फेरि त्यही दलदलमा खस्किँदै गए। ब्राउन सुगरको त्यो टेस्टमा फसिसकेका प्रज्वल फेरि डोजको खोजीमा भौतारिन थाले।
तर, यो पटक भने उनको मनमा ‘आत्मग्लानी’ भइरहेको थियो। उनलाई छोरीको मायाले पिरोलिरहेको थियो। आफ्नो जिन्दगी देखेर धिकारिरहन्थे प्रज्वल। ‘मेरी सानी छोरीलाई देख्दा मलाई दु:ख लाग्थ्यो। किन म बिग्रिरहेको छु भनेर रिस उठ्थ्यो’, उनी भन्छन्, ‘त्यसपछि मैले छोरीको लागि सुध्रिन्छु भनेर आफैंसँग वाचा गरेँ।’
छोरीलाई गुमाउने डरले फ्रिडम रिहाबको ढोका ढकढकाउन थाले प्रज्वल। अब उनलाई जसरी भएपनि कुलतको त्यो दलदलबाट निस्किनु थियो। ‘मलाई मेरो भन्दा धेरै छोरीको माया थियो। उसलाई गुमाउने डरले मलाई सुध्रिने बनायो’, छाेरीलाई सम्झिएर खुसी हुन्छन् प्रज्वल।
गत असारदेखि रिहाब सेन्टरमा बस्न थालेका प्रज्वल अहिले सुध्रिरहेका छन्। उनी ६ महिनादेखि रिकबर भइरहेका छन्।
दुई दशकसम्म नशामा बाँचेका प्रज्वललाई अहिलेपनि नशाकाे त्याे तलतलले सताइरहेकाे छ तर अब उनी छोरीको लागि बाँच्न चाहन्छन्। भन्छन्, ‘अब पनि म सुध्रिन सकिनँ भने कहिल्यै उठ्न सक्दिनँ।’
छोरीको मायाले गर्दा सुध्रिरहेका प्रज्वललाई अहिले एउटै कुराले पिरोलिरहेको छ, ‘यदी मैले त्योबेला नशाको सेवन नगरेको भए आज म अर्के प्रज्वल हुन्थेँ। मेराे जीवनशैली नै फरक हुन्थ्यो। यसरी सुधार केन्द्रको चक्कर काटिरहनु पर्दैन थियो।’