राजावादीविरुद्ध कडा प्रतिकार गर्ने नेविसंघको चेतावनी
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले चैत्र १५ गते भएको अराजक गतिविधि, लुटपाट र हत्या, हिंसाजस्ता क्रूरतापूर्ण घटनाले राजावादीहरूको निरंकुश, अत्याचारी, सामन्ती सोच र शैली पुनः उजागर गरेको उल्लेख गरेको छ। संघका अध्यक्ष डुजाङ शेर्पाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै संघले अराजक गतिविधि, लुटपाट, सार्वजनिक तथा नीजि सम्पत्तिमा तोडफोड, व्यवसायीहरू माथिको नियोजित आक्रमण, स्वतन्त्र पत्रकारिताको मर्मलाई कुल्चिँदै गरिएको हत्या, हिंसा जस्ता क्रूरतापूर्ण घटनाले राजावादीहरूको निरंकुश शैली पुनः उजागर गरेको उल्लेख गरेका हुन्। ‘नेपालको संविधानले लोकतान्त्रिक प्रणालीलाई आत्मसात गर्दै हरेक नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता, सभासम्मेलन गर्ने, राजनीतिक संघसंस्था खोल्न पाउने तथा शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्न पाउने अधिकार सुनिश्चित गरेको छ। तर काठमाडौमा अनियन्त्रित भीडद्वारा गरिएको अराजक गतिविधि, लुटपाट, सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, व्यवसायीहरू माथिको नियोजित आक्रमण, स्वतन्य पत्रकारिताको मर्मलाई कुल्चिदै गरिएको हत्या, हिंसा जस्ता क्रूरतापूर्ण घटनाले राजाबादीहरूको निरंकुश, अत्याचारी, सामन्ती सोच र शैली पुनःउजागर गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।
बिएल संवाददाता - काठमाडौं