आइतबार, २५ जनवरी २०२६

उज्यालो नेपालका १५ केन्द्रीय सदस्यले त्यागे पार्टी, रविले रास्वपा भित्र्याउन गरे अस्वीकार

News Image
• • •

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा)का १५ जना केन्द्रीय सदस्यहरूले पार्टी त्यागेको औपचारिक घोषणा गरेका छन्। 

रास्वपा र उज्यालो नेपालको एकता भंग भएकोप्रति असन्तुष्ट नेताहरूले पार्टी छोडेको घोषणा गरेका हुन्। कुलमानको कारण पार्टी एकता भाडिएको निष्कर्षमा पुगेका यी नेताहरू उनीसँग असन्तुष्ट थिए।

नेताहरूले एउटा हस्ताक्षररहित विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यसलाई कुनै दलप्रति समर्थन वा विरोधका रूपमा नभई नागरिक चेतना र साझा हितको अभ्यासका रूपमा बुझिदिन अनुरोध गर्दछौं।’

पार्टी छोड्नेमा डा. बिशाल कुमार भण्डारी, डा. अभिसेकराज सिंह, डा.घनश्याम पाण्डे, डा. सागर ढकाल, विशाल गैरे, सरला लामिछाने, सुजन श्रेष्ठ, कुशुम घिमिरे, क्षितिज भण्डारी, मीनराज आचार्य, रजिया बुनु, निर्देश सिलवाल, देवेन्द्र श्रेष्ठ र संजिव भट्टराई छन्।

यी नेताहरू रास्वपामा समायोजनको प्रयासमा रहेको बुझिएको छ। रास्वपाका एक नेताका अनुसार केही नेताहरूले केन्द्रीय समितिमा समायोजनका लागि उपसभापति डा. स्वर्णिम वाग्लेलेलाई नामसमेत टिपाएको खुलेको छ।

वाग्लेले नेताहरूको प्रस्ताव सभापति रवि लामिछानेलाई बुझाएका थिए तर, रविले प्रस्ताव अस्वीकार गरेको ती नेताले बताए। प्रस्ताव अस्वीकृत भएपछि ती नेताहरू बिना हैसियत रास्वपामा समाहित हुने कि अन्य वैकल्पिक शक्तिमा एकाकार हुने भन्ने अन्यौलमा परेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!