जित्न सकिन्छ जिन्दगीको ‘नशा’ पनि… (भिडियो)

जीवन  बाँच्ने  एउटा बाहाना  न  हो आदत। तर यो जब ‘लत’ बन्छ अनि साँच्चै जिन्दगी कठीन भइदिन्छ। 

चुरोटको एक सर्कोमा बेरिदैं सुरु हुने आजका युवाको त्यहीँ आदत विस्तारै कुलतको भंयकर जन्जिरमा बाँधिन पुग्छ, जसबाट स्वतन्त्र हुन सारा सपनाहरू कुर्बान भइदिन्छन्। 

दुर्व्यसन अर्थात् लागुऔषध आजको युवा पुस्ताका लागि भविष्यको एउटा त्यस्तो तगारो बनिरहेको छ, जसलाई छिचोल्न उसको सिङ्गो जिन्दगी कम भइदिन्छ।

कोही बुझेर त कोही अन्जानमै फसिरहेका छन्, ‘एडिक्शन’को दुनियाँमा।

सारा संसारभरि भाइरससरी फैलिरहेको लागुऔषधले हरेक–दिन कयौंको ज्यान निलिरहेको छ।

नेपाल पनि लागु औषधको एउटा त्यस्तो अन्तर्राष्ट्रिय ‘ट्रान्जिट’ हो जहाँ चुरोटदेखि कोकिनसम्मको डिलर छ।

क्षणभरको रमाइलोबाट सुरु हुने कुलतको यात्राले अन्तत: जिन्दगीलाई एउटा त्यस्तो भाषमा लगिदिन्छ जहाँबाट निस्किन साह्रै गाह्रो हुन्छ।

तर दुर्व्यसन अपराध होइन, यो एउटा बिमारमात्रै हो जसलाई हाम्रै इच्छाशक्ति अनि आत्मबलले नै जित्न सकिन्छ। त्यसका लागि जीवनमा त्यस्ता बाटाहरू चाहिन्छ, जहाँ आशाका उज्याला किरणहरूलाई  पछ्याउन सकियोस्।

बिएल नेपाली सेवाले कुलतको दलदलबाट आफूलाई उम्काएकामात्रै होइन अहिले त्यही कुलतको बाटो छेकिबसेका त्यस्ता धेरै पात्रहरूको कथा पस्किसकेको छ। जसले  कैयौँ जिन्दगीलाई त्यो अँध्यारोबाट उज्यालोतिर लगिरहेका छन्।

चिया पसलमा उपरखुट्टी लगाएर चुरोट तानिरहेकाहरूलाई देखेर पहिलोपटक चुरोटको सर्को तानेका थिए, १३ वर्षीय क्षितिज श्रेष्ठले। तर त्यो चुरोटको लत कहिले ड्रग्ससम्म पुग्यो, उसलाई नै पत्तो भएन।

कुलतमा भासिएका क्षितिजको आर्मी बन्ने सपना मात्र तुहिएन, परिवारसँग सम्बन्ध पनि बिग्रदै गयो।

अन्ततः उनी सुधार केन्द्रमा पुगे। यहाँ पुगेपछि  पनि उनलाई सुध्रिन्छु भन्ने सोचै थिएन तर चार महिनासम्म परिवारसँगको बिछोडले उनलाई नयाँ जिवन दियो। अहिले १२ वर्षदेखि नशामुक्त छन्, क्षितिज। र, अहिले आफ्नै ‘कन्ट्रोल एडिक्शन नेपाल’ संस्थाबाट कुलतमा फसेका युवाहरूलाई सुधारिरहेका छन्।


सुध्रिनसक्छ ‘एडिक्ट’ जिन्दगी पनि, जसरी आश्रय सुध्रिए (भिडियाेसहित)


पढाइमा माहिर थिए, आश्रय मानन्धर। स्कुलमा सधैं पहिलो नम्बरमै आउने आश्रयले इन्जिनियर बन्ने सपना बुनेका थिए।

तर उनको एक गल्तीले सबै सपना क्षणभरमै सेलाए।

कुनैबेला समाजको लागि आँखाको तारा रहेका आश्रय एकाएक कंसिर बने। १३ वर्षको उमेरमा उनी चुरोट र गाँजा तान्ने भए। त्यसपछि त उनलाई पढाइभन्दा ठुलो नशा नै लाग्न थाल्यो। यतिसम्म कि कलेजमा बजेको ‘राष्ट्रिय’ गीतमै नाच्ने र औषधिलाई ‘डोज’को रुपमा प्रयोग गरिदिन्थे। 

तर ढिलै भएपनि आश्रय ‘‘मार्ग दशर्क सुधार केन्द्र’मा बसेर सुध्रिए। ७ वर्षपछि कुलतको दलदलबाट उस्किएका आश्रय अब यूरोप जाने तरखरमा छन्।

टोलका ‘सिनियर’ दाइहरूले मान्छेलाई कुटेको देख्दा र ‘बुङ्बुङ्ती’ चुरोट उडाएको देखेर आकर्षित भएका थिए १३ वर्षका ज्योति लामा। त्योबेला उनले ती दाइहरूलाई ‘हिरो’ नै सम्झिन्थे। त्यही हिरोपन्तीलाई पछ्याउँदा–पछ्याउँदै उनले चुरोट तान्ने थाले।

चुरोटको त्यही सर्को उनको जिन्दगीको एउटा यस्तो भंयकर बाटो बनिदियो जहाँबाट उनी बालबाल उम्किए।

ड्रग्सले उनको भोक र निन्द्रा हरायो। उनलाई निदाउनका लागि पनि ड्रग्स नै चाहिन्थ्यो। कयौं पटक त उनले आत्महत्या गर्ने सोच पनि बनाए तर सकेनन्। उनलाई लाग्थ्यो ‘मरेपछि त ड्रग्स पाइँदैन’।

झण्डै दुई दशक ड्रग्सको जीन्दगी बिताएका ज्योतिले एकदिन अचानक सुध्रिने अठोट गरे। त्यसपछि उनी गोकर्णेश्वरको ‘विस्डम फाउण्डेशन’मा बस्न थाले। विस्डमबाट सुध्रिएका ज्योति अहिले त्यही संस्था हाँकिरहेका छन्।

ड्रग्सलाई जीन्दगी बाँच्ने बुटी बनाइसकेका दिनेश केसीलाई आमाले त्यो कुलतबाट उकास्न हजार प्रयास गरिन्। आजीवन उनले छोराको स्याहार गरिन् तर छोरा सुध्रार्न सकिनन्।

छोरालाई सुधार्न खोजेकी आमा आफै यो संसारबाट बिदा भइन्।

क्यान्सरले बितेकी आमाको शव आँखै अगाडि देख्दा पनि दिनेशको आँखाबाट एक थोपा आँसु खसेन। घरको दैलो अगाडि सेतो कपडा ओढ्याएर आमालाई सुताएको देख्दा उनलाई त लागि रहेको थियो आमाले नाटक गर्दैछिन्। केही छिनमै उठ्छिन्। सेतो कपडाले ओढ्याइरहेको आमाको शव देखेर उनलाई  लागिरहेको थियो, ‘आमाले नाटक गर्दैछिन्’।

आर्यघाटको त्यो किनारामा आमाको ज्यान जलिरहेको थियो तर दिनेश भने नशाको धुनमा रमाइरहेका थिए। ‘नशा’को धुँवाले धामिलिएका दिनेशलाई त्यो पुत्ताइरहेको चिताले कत्ति पनि गिज्याएन बरू, उनी थप डोज खोजिरहेका थिए। साथीको संगतमा लागेर चुरोट हुँदैन ड्रग्स खान थालेका दिनेश ड्रिलर समेत भए।


‘नसा’ले बर्वाद जीवनहरू ब्यूँझाउँदैछन् राजु (भिडियोसहित)


सीमानामा गएर उनी पाँच सयको ड्रग्स किन्थे अनि काठमाडौं पाँच हजार रुपैयाँमा बेच्थे।

तर यो क्षणभरको खुसी न थियो कतिन्जेल टिक्थ्यो र! 

दिनरात उनलाई आफूले गरेको गल्ती र आमाको यादले तड्पाउन थाल्यो। धेरै रोए। त्यसपछि सुधार केन्द्र खोज्दै उनी ‘फ्रिडम फाउण्डेशन’ पुगे। त्यहिँबाट उनले नयाँ जीवनको सुरुवात गरे।

तीन वर्षदेखि नशामुक्त भएका दिनेश अहिले संस्थाका विश्वासिला पात्र भएका छन्। र, आफूजस्तै अरूलाई पनि सुध्रिनमा सहयोग गरिरहेका छन्।

‘नशा’एउटा त्यस्तो जेल हो जहाँबाट निस्किनका लागि आफैंलाई लाग्नुपर्छ कि त्यहीँभित्रै बन्द छु तर यो त्यस्तो एउटा जेल हो जसको चाँबी आफैंभित्र हुन्छ।

याे पनि...











प्रकाशित मिति: : 2024-06-27 16:00:00

प्रतिकृया दिनुहोस्