सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारीहरूविरुद्धको निर्णय असार १८ गते तोकिएको छ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा रहेको उक्त मुद्दामा आज फैसला आउने भनिए पनि निर्णय सुनाउने मिति सरेको हो।
चार वर्षअघि केपी शर्मा ओली नै प्रधानमन्त्री छँदा दुईपटक गरी ५२ जनालाई अख्तियारसहित विभिन्न संवैधानिक आयोगमा नियुक्त गरिएको थियो।
ती नियुक्ति गैरकानुनी रहेको दाबी गरी अधिवक्ता ओमप्रकाश अर्यालसहितले २०७७ पुस १ गते पहिलो रिट निवेदन दायर गरेका थिए।
000
प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ।
प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक पनि स्थगित भएकाे हाे।
भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न समिति गठन हुनुपर्ने भन्दै विपक्षीका सांसदहरूले जेठ १३ गतेदेखि सदनमा अवरोध गरिरहेका छन्।
000
काठमाडौँ महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको सामाखुसी करिडोरअन्तर्गतको ढल निर्माणको ठेक्कामा अनियमितता भएको भन्दै बुधबार उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
परियारविरुद्ध ४ करोड ३१ लाख ७२ हजार २ सय सतासी रुपैयाँ बिगो माग गरिएको छ। उनी हाल सूचना तथा प्रशारण विभागका महानिर्देशक छन्।
000
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काजमा रहेका र सरुवा भई रमाना हुन बाँकी कर्मचारीलाई खटाइएको स्थानमा तीन दिनभित्र हाजिर हुन पत्राचार गरेको छ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलको सक्रियतामा मन्त्रालयले काज फिर्ता र रमाना हुन बाँकी कर्मचारीलाई खटाइएको स्थानमा हाजिर हुन भनेको हो।
मन्त्रालयले उक्त निर्णय कार्यान्वयन नगर्ने कार्यालय प्रमुखबाट काजमा रहेका र रमाना हुन बाँकी कर्मचारीले भुक्तानी लिएको तलबभत्ता लगायतका सेवा सुविधा बापतको रकम असुल गरी विभागीय कारबाही समेत हुने पत्रमा छ।
000
आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको छ।
मंगलबार स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई १६ रनले पराजित गरेकाे हाे।
याेसँगै नेपालले नेदरल्याण्ड्समाथि दाेस्राे पटक जित निकालेकाे हाे।