फेरि पक्रिइन् अमला, विपिनकाे हालत के छ? (भिडियाे–समाचार)

जिल्ला अदालत काठमाडौंले २ लाख धरौटीमा रिहा गर्न आदेश दिएपनि अमला रोका फेरि पक्राउ परेकी छन्। 

६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी उनी सोमबार अदालतको आदेशअनुसार २ लाख धरौटी बुझाएर रिहा भएपनि लगत्तै पक्राउ परेकी हुन्। 

सम्पत्ति शुद्धीकरण मुद्दामा पनि उनीविरुद्ध अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएकाे छ। 

000

बाल मन्दिर नक्सालको जग्गा हिनामिना प्रकरणका प्रतिवादी तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएकाे छ। 

सोमबार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले थुनछेक बहसपछि श्रेष्ठसँग धरौटी माग गर्ने आदेश गरेको हो। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानपछि गएको वैशाख २४ गते १७ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता भएको थियो।

000

विशेष अदालतबाट सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका कांग्रेस नेता गणेश लामालाई सर्वोच्च अदालतले सफाइ दिएकाे छ। 

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले लामालाई सफाइ दिएको हो।

उनीमाथि १ करोड ४० लाख ५० हजार रुपैयाँ बराबरको रकम विभिन्न आपराधिक क्रियाकलापबाट कमाएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा २०७० जेठ ५ मा मुद्दा दायर गरेको थियाे।

२०७५ साउन २४ गते लामा विशेष अदालतबाट दोषी ठहर भएका थिए।

000

परराष्ट्रमन्त्री आरजु राणाले प्यालेस्टाइनको हमास समूहले बन्दी बनाएर राखेको भनिएका नेपाली नागरिक विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात रहेको बताएकी छन्। 

सोमबारको प्रतिनिधिसभा बैठकमा बाेल्दै उनले विपिन जोशीबारे यस्ताे बताएकी हुन्। 

नेपाल सरकार–विपिन जाेशीकाे रिहाइका लागि प्रयासरत रहेको उनकाे भनाइ थियाे। 

000

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले केपी ओली नेतृत्वको सरकारलाई दिइएको समर्थनबारे पुनर्विचार गरी निर्णय गर्न संसदीय दललाई निर्देशन दिएको छ।

पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा असार ७ र ८ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्ताे निर्णय गरेकाे हाे। 

ओली नेतृत्वको सरकार देशमा भ्रष्टाचार नियन्त्रण गर्न, सुशासन कायम गर्न, संविधान संशोधन गर्न पूर्णतः असफल भएको बैठककाे निष्कर्ष थियाे। 

000

अभिनेता अनमोल केसीसहित चलचित्र  ‘फर्की फर्की’को टिमविरुद्ध मुद्दा दायर भएको छ। 

उनीहरूविरुद्ध कलाकार नरेन्द्रबहादुर श्रेष्ठले जिल्ला अदालत काठमाडौँमा सोमबार मुद्दा दायर गरेका हुन्। 

श्रेष्ठले  दायर रिटमा आफ्नो मोबाइल नम्बर दुरुपयोग गरिएको र एमएसएम ओटीटी प्लाटफर्मबाट मोबाइल नम्बर हटाउन आग्रह गर्दा पनि नहटाएकाले कार्वाहीको माग गरिएको छ।

000

बंगलादेशमा हुने साफ यू-२० महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा भएको छ। 

अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। मुख्य प्रशिक्षकको रूपमा यमप्रसाद गुरुङ रहनेछन्।

च्याम्पियनसिप आउँदो जुलाई ११ देखि २२ सम्म हुनेछ। उक्त च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, श्रीलंका र भुटान सहभागी हुनेछन्।

प्रकाशित मिति: : 2025-06-23 20:00:00

प्रतिकृया दिनुहोस्