बिहिबार, २१ मे २०२६

ऋणमा थियो हायु परिवार, भवितव्य कि सुटुक्क बसाइँसराइ?

News Image
• • •

सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ भण्डासका एकै घरका १६ जना रहस्यमय रुपमा बेपत्ता भएपछि खोजीकार्य सुरु भएको छ।

स्थानीय उर्मिला हायुको परिवारका छोरा, बुहारी, छोरी र एक ज्वाइँसहित परिवारका सम्पूर्ण सदस्य केही दिनदेखि रहस्यमय रुपमा बेपत्ता भएका हुन्। गत बिहीबार उनीहरूले लोपउन्मुख समुदायले पाउने सामाजिक सुरक्षा भत्ता बुझेर आएको वडाध्यक्ष रविन श्रेष्ठले बताएका छन्।

त्यसै दिन उनीहरूले घरमै पालेको सुँगुर काटेर खाएका थिए। त्यसलगत्तै उनीहरू बेपत्ता भएका हुन्। उनीहरू कहिलेदेखि बेपत्ता भएभन्ने खुलेको छैन। घर एकान्तमा भएकाले पनि थाहा पाउन नसकिएको उनले बताए। उनीहरू शुक्रबारबाट बेपत्ता भएको हुनसक्ने वडाध्यक्ष श्रेष्ठको अनुमान छ।

घरभन्दा केही पर बाँधेको भैंसीलाई घासपानी गर्न कोही नआएपछि स्थानीयहरू घरमा हेर्न आएका थिए। घरमा कोही नदेखिएको, घरको भान्सामा आगलागी भएको र घरको अवस्था लथालिंग देखेपछि सोमबार प्रहरीलाई खबर गरेका थिए। प्रहरी र जनप्रतिनिधि घरमा पुग्दा घरमा कोही थिएनन्।

घरमा बाख्रा, कुखुरा, भैंसीलगायत घरपालुवा जनावर अलपत्र अवस्थामा थिए। भान्सामा सुँगुरको मासु पनि भेटिएको छ। भान्साका भाँडाकुँडा घरबाहिरै छरपस्ट छन्।

स्थानीयवासीका अनुसार बेपत्ता हायु परिवारको बैंक र सहकारीमा केही ऋणसमेत भएको बुझिएको छ। सोही ऋणको कारण परिवार नै सुटुक्क बसाइँ सरेको हुनसक्ने आशंका गरिएको छ। यद्यपि प्रहरीले यसबारे यकिन भइनसकेको बताएको छ।

वडाध्यक्ष श्रेष्ठले उनीहरूले बैंकबाट ऋण लिएको पुष्टि गरे। उनका अनुसार बैंकका प्रतिनिधिहरू पनि पटक पटक गुनासो लिएर वडा कार्यालय आउने गरेका थिए। 

उनले भने, ‘बैंकबाट ऋण लिनु भएको रहेछ,बैंकका मान्छे वडा कार्यालयमा पनि पटक पटक आउने गरेका थिए, कतै पैसा ल्याएपछि बैंकबाट लिन आउँछ भनेर हिँड्नु भयो कि, अथवा अरू केही भयो कि, अहिले केही भन्न सकिने अवस्था नै रहेन।’

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार घटनास्थलको अवस्था शंकास्पद देखिँदैन। घरमै जोडिएको एउटा छाप्रोमा आगलागी भएको देखिन्छ तर त्यसले ठूलो क्षति गरेको अवस्था छैन।

उनीहरू छिमेकी जिल्ला रामेछापमा आफन्तकोमा गएको आशंकामा त्यहाँ पनि खोजी सुरु भएको प्रहरीले जनाएको छ।

हायुका परिवारका कुनै सदस्यसँग पनि सम्पर्क हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सूर्यप्रसाद सुवेदीले जानकारी दिए।

वडाध्यक्ष श्रेष्ठका अनुसार उर्मिलाको श्रीमानको गतवर्ष निधन भएको थियो। ‘श्रीमान् पोहोर साल बित्नुभयो, उहाँहरूको १८ जनाको परिवार हो ६ भाइ छोरा, बुहारी, ६ बहिनी छोरी छन्, ती मध्ये एउटी छोरी काठमाडौंतिर छिन्, एउटी बुहारी विदेशतिर छिन्, अरू सबै घरमा नै छन्, जेठो ज्वाइँ पनि उहाँहरूसँगै बस्दै आउनु भएको रहेछ’, श्रेष्ठले भने।

हराएकाहरूको प्रहरी र स्थानीयवासीको सहयोगमा खोजीकार्य भइरहेको छ। प्रहरीले उनीहरूको लोकेसन ट्र्याक गर्ने प्रयास गरिरहेको बताएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!