गुटहरूको ‘स्व विघटन’ कांग्रेसको ‘पुनर्जीवन’

Break n Links
Break n Links

पार्टीको मुख्यालयमा आफ्ना मन्तव्य दिंदै केही दिनअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापक नेता बीपी कोइरालाले गाउँको विकास गर्नुपर्छ भन्ने विषयलाई सम्झिएका छन्।

राजनीतिक जिवनको उत्तरार्धमा पुगेका सभापति देउवा समकालिन राजनीतिक वृत्तमा  कम बोल्ने पात्रमा गिन्ति हुन्छन्।
उनले देशको अर्थतन्त्र र सरकारका गतिविधि माथि असन्तुष्ट भएको समेत जनाउ दिएका छन्। तर अझै पनि पार्टीको आगामी महाधिवेशनका विषयमा बोल्न चाहेका छैनन्।

साथै महामन्त्री गगनकुमार थापाले सबै क्रियाशिल सदस्यहरूबाट प्रत्यक्ष रुपमा सभापति छान्ने व्यवस्था गरे पार्टीमा गुटबन्दी अन्त्य हुने बताएका छन्।

कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ प्रदेश ‘क’ काठमाडौंको तेस्रो प्रदेश सभा क्षेत्रीयसम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्रियाशिल सबै सदस्यहरूबाट सभापति चुन्ने व्यवस्था पार्टीको गुटबन्दी खत्तम गर्ने एउटा अचुक अस्त्र रहेको बताए।

कांग्रेस पार्टीभित्र यतिबेला निर्धारित अवधिमा महाधिवेशन हुन्छ वा हुँदैन भन्ने विषय चर्चा र बहसमा छ। एउटा लोकतान्त्रिक राजनीतिक दल यो अवस्थाबाट गुज्रिनु कांग्रेसको आन्तरिक जिवनको दुर्भाग्य मान्नुपर्छ।

कांग्रेसभित्र पछिल्ला वर्षहरूमा सिद्धान्तको बहस त हुन छाडिसेको छ। तर हिन्दूराष्ट्र र शासकीय स्वरुपका विषयमा असन्तुष्टि बढेको छर्लङ्ग देखिन्छ। पछिल्लो पटक सम्पन्न महासमिति बैठकले यी र यस्ता कतिपय विषयलाई जोडदार रुपमा उजागर गरेको थियो। तर नेतृत्व (सामुहिक) तहबाट नजरअन्दाज गरियो। महासमितिको अधिकार र कांग्रेसको आफ्नै विधान विपरित महासमितिको मर्मलाई केन्द्रीय समितिले कुल्चिदियो।

महाधिवेशनका बहानामा कांग्रेस गुटको नाममा चरम ध्रुवीकरणको अवस्थाबाट संक्रमित छ। उसो त कांग्रेसभित्रका गुटहरूको शिलशिला स्थापनका कालदेखि कै हो। केन्द्रीय समितिमा पुग्न, लाभका पदहरूमा पुग्न, आँफु निकटलाई विभिन्न तहमा स्थापित गराउन लगायतका कारणहरूले कांग्रेसको मुल संगठन संक्रमित भएको देखिन्छ।

यस्तो अवस्थाबाट साँच्चिकै पार लगाउन कांग्रेसले हालसम्म भइहेका र चलिरहेका सबै खाले गुटको विघटन भएको घोषणा गरेर नयाँ शिराबाट संगठन अघि बढाउने उपाय खोज्नुपर्छ। कांग्रेसभित्र व्यक्ति हावी हुन थालेका दृष्टान्तले कार्यकर्ताहरूमा नैराश्यता बढाएको देखिन्छ। मथिल्लो निकायबाट तल्लो तहसम्म बनेका कैयौं गुटको प्रभावले कांग्रेसको संगठन चलायमान भए पनि नतिजा निकाल्न असफल रहँदै आएको छ। 

गुट कहाँबाट कसरी निर्माण भए भन्ने विषयको श्रृखंला लामो छ। त्यता लाग्यो भने कांग्रेसलाई पुनर्जिवन मिल्न मुस्किल देखिन्छ। त्यसको एउटा सरल उपाय भइरहेका सबै खाले गुटको ‘स्व विघटन’ गर्दै नयाँ समझदारीमा पार्टीको विधान र कार्यकर्ताको मर्म अनि जनताको अपेक्षालाई कांग्रेसले सम्बोधन गर्नैपर्छ।

सभापति देउवाको बहिर्गमन सँगै कांग्रेसभित्र एउटा पुरानो पुस्ताको बिदाई हुने देखिन्छ। त्यसपछिको नेतृत्व र पार्टी सञ्चालन गर्न सर्वसम्मत केन्द्रिय नेतृत्वको चयन गरेर अघि बढ्न सकिन्छ। कांग्रेसले पछिल्लो पटक कृष्णप्रसाद भट्टराईलाई सर्वसम्मत नेतृत्व सुम्पिएको सम्झनै पर्छ। उतिबेला पनि गणेशमान सिहं, गिरिजाप्रसाद कोइराला र भट्टराईबीचको टकराव त थियो नै। तर पार्टीलाई संयमित भएर अघि बढाउन सहि निर्णय लिएको स्मरण गर्नैपर्छ।

विधानले नचिन्ने कार्यकर्ताले बाध्यतावस मात्रै चिन्नुपर्ने सबैखाले गुट,उपगुट र समुहलाई कांग्रेसको मथिल्लो तहबाट खारेज गरेर अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ। यो वा त्यो व्यक्तिका अगुवाई र व्यवस्थापनमा चलिरहेका पार्टीको मरेम विपरितका गुटको अन्त्य कांग्रेसको पुर्नजिवनका खातिर आवश्यक देखिन्छ।

मध्यममार्गी बाटोका एकजना पक्षधर रामचन्द्र पौडेल (हाल राष्ट्रपति) लगायतका नेताहरू समेत गुटको शिकार भएकै हुन्। त्यस्ता धेरै कांग्रेस अनुहार तल वडादेखि केन्द्रसम्म छन्। त्यसकारण पनि कांग्रेसले सर्वस्मत नेतृत्व चुन्न सक्नुपर्छ। 

हुन त आन्तरिक गुटको व्यस्थापनको असरमा रामचन्द्र पौडेलले गएको महाधिवेशनमा शेरबहादुर देउवालाई सघाए। त्यसअघि सुशील कोइराला सभापति निर्वाचित हुँदा प्रकाशमान सिंह सहितकाहरूले साथ दिंदा देउवालाई असर परेकै थियो।

कोइरालाको निधनसँगै कांग्रेसमा कोइराला समुहको लगभग विघटन भइसकेको मान्नुपर्छ। त्यसको निरन्तरता पौडेलले थेग्न सकेनन्। अबको कांग्रेस महाधिवेशनमा पनि संस्थापन पक्षको ठुलो हिस्सा विघटन हुने सम्भावना रहन्छ।

कांग्रेसले नेतृत्व तहमा पुग्ने व्यक्ति सबैको नेता बन्नसक्नुपर्छ भन्ने मान्यता राख्नैपर्छ। न कि केवल बहुमतको सभापति बन्नु सफलता हो।

यो दल अब नेपाली कांग्रेस मात्रै भएर अघि बढन सक्नुपर्छ। तिक्तता र गुटको चरमताले कांग्रेसलाई चुनाव हराउन कांग्रेस नै काफी छन्। त्यसका दृष्टान्तहरू अनगिन्ति छन्। संगठनको नेतृत्वका लागि हुने चुनाव लोकतान्त्रिक प्रक्रिया हो। तर कुनै अमुक व्यक्तिका नाममा हुने गुटको चरम अभ्यासले कांग्रेस कांग्रेसको मूल चरित्रबाट दूर गइरहेको छ।

कांग्रेस मजबुत बन्नुपर्छ भन्ने यसकारण पनि हो कि यो लोकतान्त्रिक दल हो। देशको लोकतन्त्रलाई संस्थागत गर्न राजनीतिक दलहरू तिनका सिद्धान्तमा अडिग भएर बसिदिउन भन्ने आम नागरिकको चाहना पनि हो। न केवल कांग्रेस मात्रै, देशमा रहेका सबै खाले राजनीतिक दलहरू तिनका सिद्धान्त र पार्टीका विधान अनुसार चल्नैपर्छ। 

अहिले नागरिकमा व्याप्त निराशा दलहरू प्रति लक्षित छन्। त्यसकारण विकल्पको शक्तिलाई पछ्याउने अवस्था आइरहेको देखिन्छ।

बहुदलीय संसदीय अभ्यासमा राजनीतिक दलहरूको उपस्थिति महत्वपुर्ण विषय हो। स्थापित राजनीतिक दलहरूले आफ्ना चरित्र र व्यवहारलाई जन अपेक्षासँग दाँजेर हेर्नैपर्छ।

तसर्थ देशको एक मुख्य धाराको राजनीतिक दल कांग्रेसले पार्टीको आफ्नो चरित्रलाई परिमार्जन गर्नैपर्छ। विगतमा भएका कमी कमजोरी, त्रुटी र गल्तिलाई पार्टीभित्र आत्मसमिक्षा गरेर निर्धारित अवधिमा पार्टीको महाधिवेशन गर्ने मार्ग कांग्रेसले अपनावस्।

प्रकाशित मिति: : 2025-06-14 20:15:00

प्रतिकृया दिनुहोस्