जबरर्जस्ती करणी गरेको आरोप लागेका नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने यही असाेज २० गते आफू निर्दोष भएको भन्दै नेपाल प्रहरीसंग आत्मसमर्पण गर्ने भनी सञ्चार माध्यममा सूचना प्रसार गरी जमैकाबाट सिंगापुर, अमेरिका, कतार हुँदै नेपाल आए।
करिब एक महिना अगाडि जबरजस्ती करणीको आरोपमा प्रहरीमा जाहेरी परेपछि सन्दीप कहिले यो ठाउँमा छु, कहिले निर्दोष छु वा कहिले अनेकन प्रकारका बहानाबाजी गर्दै विदेशमै बसिरहे भने स्पष्ट तथ्यगत तर्क नगरी विदेशमै आफूलाई सुरक्षित भएको आभास पनि गराए।
यता नेपाल प्रहरीले भने जाहेरी दरखास्त पर्ने बित्तिकै विश्वभरमा प्रहरीहरुको साझा संगठन इन्टरपोलको डिफ्युजन नोटिसमा सूचना जारी गरी उनको खोजी कार्य तीव्र रुपमा अघि बढायो। सन्दीप निक्कै समयको अन्तरालपछि नेपाल प्रहरीसमक्ष आफू आम्नेसाम्ने हुने भनी हिम्मत बटुलेर नेपाल फर्केको हो भन्दा फरक नपर्ला।
जब कुनै राष्ट्रिय पहिचान बोकेको व्यक्तिमाथि यति ठुलो अपराध गरेको आरोप लाग्छ र सार्वजनिक रुपमा पक्राउको लागि आह्वान गरिन्छ भने त्यो व्यक्तिले अनेकाैँ बहानामा एक महिनाभन्दा बढी समय विदेशमा गुर्जानु अत्यन्त शंकास्पद विषय हो भने घटना घटेपछि तुरुन्तै विदेशिन वा विदेशिएको जनाउनु पनि शंका गर्नुपर्ने अर्को महत्वपूर्ण तथ्य हुन सक्छ।
आफूलाई निर्दोष छु, निर्दोष हुँदाहुँदै पनि ममाथि झुठा आरोप लगाइयो भन्न पाउने उनको नैसर्गिक अधिकार हो। किनकि उनीमाथि जाहेरी दर्ता भयो, मुद्धा चल्यो तर उनको तर्फबाट सुनुवाइ कार्य भएको छैन। दोहोरो सुनुवाइ विना र अदालतबाट दोषी ठहर नभएसम्म कुनै पनि आरोपित व्यक्तिलाई दोषी भन्न मिल्दैन र उ दोषी पनि हुँदैन। तर एउटा भनाइ छ नि ‘लहरा तान्दा पहरा हल्लिन्छ’ भन्ने, सन्दीप जस्तो उच्च छवि र पहिचान बाेकेको व्यक्तिलाई साधारण प्रकारको हल्लाबाजी मात्रैले पनि निक्कै ठुलो झट्का दियो। त्यो झट्काले सम्पूर्ण नेपाल र नेपालीलाई दिउँसै रात परेझैं अँध्यारोतर्फ धकेल्यो।
करणी मुद्धामा पनि नाबालिगमाथिको करणी परेपछि भने सन्दीपको छविमाथि आम सचेत नागरिकको दृष्टिकोण बदलियो। कानुनका अनुसार १६ देखि १८ वर्षसम्मको बालिकामाथि बलात्कार भए १० देखि १२ वर्षसम्म जेल सजाय हुने भनी तोकिएकोले उनीमाथि झन् बढी मानिसहरु आक्रोशित भएका हुन्।
सामाजिक सञ्जालमा साधारण कुराकानी हुँदाहुँदै नगरकोट भेट्न बाेलाएको, गाडीमा रखेर लगेको अनि काठमाडाैँस्थित तिलगंगाको एउटा होटलमा मदिरा सेवन गरी पटकपटक बलात्कार गरेको भनी एक नाबालिगले दिएको उजुरीले सायद सन्दीप लामिछानेका शुभचिन्तक र क्रिकेट प्रेमी धेरै महानुभावमाथि बज्रपात नै आइलाग्यो होला। तर अपराधले आफ्नो-बिरानो भन्दैन, ठुलो-सानो पनि भन्दैन र कुन समयले कसलाई कहाँ पुर्याएर ठेश लगाइदिन्छ भन्न सकिन्न।
समाज गतिशिल छ, गतिशिलतासंगै हरेक मानिस जानेर वा नजानेर विभिन्न प्रकारका अपराध गर्न बाध्य हुन्छ। गल्ती मानिसले अन्जानमा गर्छ तर अपराध अन्जानले हुँदैन, जानाजान हुन्छ। मानिस नै चेतनशील प्राणी पनि हो भने मानिसले नै आफ्नो चेतनालाई पाशविक पनि बनाउने गर्छ। यसकारण त राज्यको प्रार्दुभावसंगै मानिसहरुलाई सभ्य र शिष्ट राख्न ऐन, नियम, कानुन बनाउने कार्य गरियो र समय-समयमा भएका अनेकन दुर्घटनाहरुलाई नियन्त्रण र व्यवस्थापन गरिन्छ।
नेपालमा पनि विगतदेखि नै धेरै प्रकारका ऐन, कानुनहरु बन्दै आएका छन्। पछिल्लो समय परिवर्तनका धेरै रुप, रंगहरु पनि हामीले देखेका छौँ र अग्रगामी नियम कानुनहरु पनि बनेका छन्। जसका कारण आज हरेक नेपाली नागरिक ऐन कानूनको परिधिमा बाँधिन बाध्य छन्।
यहाँ कोहीकसै पनि किन नहोस्, मन्त्रीदेखि मजदुरसम्म नियम कानुनभन्दा माथि कोही छैन। नियमले मानिस चलाउनुपर्छ, न कि मानिसले नियम। हुन त निर्माण जसले गर्छ, संशोधन र ध्वंस पनि उसैले गर्छ। तर समाज चलाउन निर्माण गरिएको नियम परिवर्तन हुँदै भएपनि यो नैतिक दृष्टान्त हुन्छ, व्यवहारिक मार्गदर्शन हुन्छ, सामाजिक द्योतक हुन्छ।
सन्दीप लामिछाने युवाहरुको मनमष्तिकमा बसेको राष्ट्रिय व्यक्ति भएपनि आज सबैले उनलाई घृणा र हेय भावले हेर्नुपर्ने कारण किन भयो त? भन्दा अन्जानको गल्तीले पक्कै होइन, जानाजान अपराधले नै हुनुपर्छ। यद्यपि दोहोरो सुनुवाइ हुन बाँकी छ, उनीमाथि लागेको आरोप प्रमाणित हुन त बाँकी नै छ।
जब नेपाल प्रहरीको अनुसन्धान प्रकृया सकिएर सरकारी वकीलको कार्यालयले अदालतसमक्ष अभियोगपत्र पेश गर्छ, तब अदालतले न्याय-अन्याय पक्कै छुट्याउला। आशा गरौं उनी निर्दोष सावित हुनेछन्। तर प्रश्नहरु यसरी जन्मिरहेका छन् कि सन्दीप एक महिनाभन्दा धेरै समय पनि किन पक्राउ हुन सकेनन्? विश्व सञ्जालमा जारी भएको सूचनाले पनि मामुली सन्दीपलाई कठघरामा ल्याउन नसक्नुले ठूला-ठूला आपराधिक गिरोहहरु कति सुरक्षित छन् होला त? गिरफ्तार गर्याैँ भनेर छाती फुलाउने प्रहरीले आत्मसमर्पण गर्न आएको व्यक्तिलाई समातेर निक्कै ठुलो विजय हासिल गर्याैँ भन्ने ठानेपनि यतिका दिनसम्म मिडिया र सामाजिक सञ्जाललाई खुलेरै प्रयोग गरी बसेका सन्दीपलाई किन पक्राउ गर्न सकेन त?
बालिगले जाहेरी दिनासाथ प्राविधिक अनुसन्धानमा जुट्नुको सट्टा किन अनावश्यक प्रचारबाजीमा मात्रै जुट्यो त? के खुल्ला एयरपोर्टमा पूर्व जानकारी दिएर आत्मसमर्पण गर्न आएको व्यक्तिलाई हत्कडी लाउँदा गिरफ्तार गरेको ठहर्छ? गिरफ्तारी के हो र गिरफ्तारी कसरी गरिन्छ भन्ने त यतिको युगसम्म अनुसन्धान, कारवाही गरी आएको प्रहरी संगठनलाई थाहा हुनुपर्ने हो नि? जस्ता थुप्रै कोणबाट प्रश्नहरु तेर्स्याउन सकिन्छ र आम चासोको वर्तमान विषय पनि यहि हो।
कतै सन्दीप लामिछानेको पक्षमा बोली निस्किएको छ त, कतै विपक्षमा। तर फेरि एउटै जनबाेली यो हो कि उनले अपराध गरेको हो भने कारवाही हुनैपर्दछ। सजायको भागिदार हुनै पर्दछ।
पूर्व सभामुख कृष्णबहादुर महरा थुनिए, ठूल्ठूला ओहोदाका व्यक्ति तथा संगठन थुनिएका छन्। अरबपति थुनिएका छन्, राजदुत थुनिएका छन् भने खेलाडी थुनिनु हुन्न भन्ने विचार राख्नै हुन्न। चाहे खेलाडी होस्, चाहे नायक, चाहे नेता होस्, चाहे मजदुर कानुनको नजरमा समान हुन्छ र सबै व्यक्तिलाई उही संविधानको उही धारा र उही कानुनको उही दफा लागु हुन्छ। धारा र दफा व्यक्ति पिच्छे फरक हुन्न र हुनुहुँदैन।
सन्दीप सानो उमेरमा ठुलो ख्याती कमाएका युवा हुन्। खेल जगतका महावीर नै हुन्। युवाहरुका ढुकढुकी नै हुन्। नेपाल र नेपालीका आशलाग्दा सारथी नै हुन्, तर यही सफलताले उन्मत्त भएर मनलाग्दो गर्न भने उनलाई छुट छैन।
रोचक कुरो त यो छ कि आजको विज्ञान प्रविधिले चरम रुपमा विकासको फड्काे मारेको बेला पटक-पटक ट्वीटर र फेसबुकमा सार्वजनिक हुँदा पनि उनी बसेको ठाउँ र देश पत्ता नलाग्नु अचम्मकै प्रसंग मान्नु पर्दछ।
अध्यागमनको कालो सूचीमा परेको व्यक्ति एक देशबाट अर्को देशमा उडान गरिरहेको हुन्छ तर थाहा हुन्न। सूचना पर्याप्त पाउँदा पाउँदै पनि मानिस समातिँदैन, तर हवाइजहाजबाट शानका साथ ओर्लँदा हतकडी लिएर पुगिन्छ। हुन सक्छ यसले पनि नेपाल प्रहरीलाई थप सफलता मिलेको अनभुति भयो होला।
जाहेरी पर्नासाथ नेपाल क्रिकेट संघलगायत उनी आवद्ध भएका संघसंस्थाले निलम्बन पनि गरे, अनुसन्धानलाई सहयोग गरे तर अनुसन्धान भने यति धेरै फितलो देखियो कि अराेपितले अनुसन्धानलाई नचाइरहेको छ भन्ने अनुभुति भइरहेको हुनुपर्छ। गिरफ्तारपछि अन्य आरोपित सोसरह राख्नु अत्यन्त सान्दर्भिक र महत्वपूर्ण कदम भएपनि खुलेआम व्यक्ति वक्तव्यबाजीमा उत्रिरहेको टुुलुटुलु हेरेर बस्नु र बिलम्ब गर्नका पछाडि नेपाल प्रहरीको संगठनमा केही न केही खोटहरु चाँही अवश्य छ।
प्रविधिले विश्वभरको कुनाकाप्चा सबै दर्शाइ रहेको हुन्छ तर सन्दीपले विदेशमा बसेर मिडियाबाजी गर्दा उनी रहेको स्थान र व्यक्ति पत्ता लागेन। इन्टरपोलमा नोटिस छ तर एक देशबाट अर्को देशमा थ्रो द एयर मान्छे हिँडिरहेको छ।अध्यागमन प्रविधि नै मृत छ भने यसबाट सन्दीपको पक्राउलाई गिरफ्तारी भन्न मिल्छ त?
गिरफ्तार अचानक, लुकिछिपी, अन्धाधुन्ध र अत्यन्त गोपनीयताका साथ गरिन्छ र हुन्छ। गिरफतार प्रहरी संगठनको लामो प्रयासको अन्तिम प्रतिफल हो तर यहां कतै सन्दीपको गिरफ्तारी भनेर हाम्रो सुरक्षा संगठनलाई लज्जावोध गराउने कार्य त भएको छैन? कि आफैँ उँचो शीर बनाउन खोजेको हो? यसको सही निर्क्याैल चाहीँ अवश्य हुनुपर्छ।
हरेक व्यक्तिले प्रहरी संगठनको ठुलो भरोसा गरेको हुन्छ तर मानिसको भरोसालाई निराशामा परिणत गरेपछि प्रहरी संगठन हरेक दिन अविश्वासको केन्द्र बन्न सक्छ, जसले न्याय प्रणालीमाथि नै विश्वास गर्ने वातावरणको अन्त्य गर्न सक्छ।