कानुन (ल) का सिद्धान्तमध्ये ‘कानुनको अज्ञानता क्षम्य हुँदैन’भन्ने सिद्धान्त एक सर्वव्यापी र अतिसंवेदनशील सिद्धान्त हो। सिद्धान्त मात्र कागजी दस्तावेज नभएर व्यवहारमा पनि लागु हुनुपर्ने हुन्छ। धेरै मान्यातामध्ये कानुनको यो सिद्धान्त निक्कै व्यवहारिक र प्रयोगमा ब्याप्त रहेको देखिन्छ।
कानुनका विद्यार्थीमा सम्पूर्ण समाज कानुनी मान्यताहरुबाट सञ्चालन भएको दृष्टिकोण बनेता पनि आम मानिसहरुमा यसको ज्ञान सचेतनाको अभावले कानुनी व्यवस्था र प्रावधानहरुको उल्लङ्गन बढिरहेको देखिन्छ। कानुनी शासन साहेद आजको विश्वमा हरेक मुलुकमा मुखरित छ तथापि यसका कयौँ कमीकमजोरीसँगै स्थिर कार्यन्वयन हुन नसकेको पनि यथार्थ हो। कानुन के हो ? र कानुन हाम्रो जीवनमा कसरी प्रयोग भइरहेको छ ? के हामी कानुन र यसको प्रभावबाट प्रभावित नभई जीवन चलाइरहेका छौँ ? छौँ भने कसरी र के मान्यताहरु हाम्रो यथार्थ व्यवहारमा लागु भइरहेको छ ? यस्ता कयौँ प्रश्नहरु सरल ढङ्गबाट हाम्रो दैनिक जीवनमा जन्मिरहेका हुन्छन् र हामीले तिनको व्यवस्थापन मात्र गर्न सकेका छैनौँ।
कानुनको ब्याख्या कानुनका विज्ञ र अदालतले गर्ने भएता पनि कानुनको नजरमा सबै समान हुन्छन्। कानुनले शासन गरेको मुलुकमा सबै नागरिकहरुले कानुनको पालना गर्नु र सम्बन्धित निकाय अर्थात् राज्यले पालना गराउनु दायित्व साथै कर्तव्य पनि हो। राज्यले आफ्नो दायित्व पूरा गर्दा गर्दै र नागरिकले पालना गर्दागर्दै पनि कहिलेकाँही कानुनको पालना भने जस्तो तरिकाबाट भइरहेको पाइन्न यद्यपि यहाँ ब्याख्या गर्न खोजिएको प्रशङ्ग यो हो कि कानुनको अज्ञानताले मानिसलाई कुन–कुन प्रकारको अप्ठ्यारो परिस्थितिमा पुर्याउँछ र ती कठिन परिस्थितीहरुलाई सहज रुपमा समाधान गर्ने अघिल्लो उपाय के हो भन्ने हो।
कयौँ मानिसहरु चेतना र ज्ञानका अभावले पनि कानुनको फन्दामा परेको हामीले देखेका छौँ, सुनेका छौँ र भोगेका छौँ। ठूला–ठूला मोटा पुस्तकहरुमा कानुनका सिद्धान्तहरु ब्याख्या गरिएका छन्, पाठ्यक्रममा समावेश गरिएका छन्, विश्व विद्यालयमा पढाइएका छन तर तल्लो स्तरका आम जनसमुदायले आज पनि ज्ञानकै अभाव र शिक्षामा पहुँच नपुगेकै कारण जानी नजानी मानिस कानुनको कठघरामा उभिन बाध्य छ। त्यसैले एउटा सर्वव्यापी र जन–जनले बुझ्नुे पर्ने तथ्य के हो भने किन केही नजानी, नबुझी गरेको कार्यबाट पनि हामी कानुनको दृष्टिमा पर्छौ त भन्ने हो।
हुनत कानुन अन्धो छ पनि भनिन्छ तर कानुनले सदावहार आँखा खोलिरहन्छ र देखिरहन्छ किनकी अन्जानमा गरेको गल्तीमा पनि सजायको भागिदार हुनुपर्ने हुन्छ। हो, माथि उठेका धेरै प्रश्नहरुको जवाफ यहाँ निर भेट्टाइन्छ कि कानुनका आँखा बन्द गर्न सकिँदैन, कानुन अन्धो छ भनेर कानुनविपरित कार्य गरे दण्डनीय हुनेछ र सोचेकोभन्दा विपरित परिस्थिती खडा हुनेछ। शीर्षकमा उठेको सवाल नै यो हो कि कानुनको अज्ञानता क्षम्य हुँदैन अर्थात् मैले जानिन, थाहा छैन, नजानी गरेको हुँ, कानुनमा के थियो थाहा भएन भनेर पीडकलाई धर छैन, कानुनविपरित कार्य गर्नेलाई धर छैन।
कानुनको कयौँ आयामहरु विद्वानहरुको विद्धता मापनमा विश्लेषण गरिन्छ तर एउटा साधारण जीवन व्यवहार गुजारा गर्ने व्यक्तिले जान्नुपर्ने सामान्य मान्यता के हो भन्ने विश्लेषण कम हुन्छ। तर, प्रष्ट भन्नुपर्ने र देखिएको यथार्थ स्थिती चाहिँ पहिले–पहिले भन्दा अहिले चाहिँ धेरै नै जनमानसमा रुपान्तरण र सचेतना आएको छ। यद्यपि, पुस्तान्तरणको समस्या पनि बढ्दो छ, त्यसकारण विश्व समुदायमै यसको जानकारी होस् कि देवानी या संवैधानिक होस् या प्रशासनिक सबै जसो कानुनका अंगहरुमा लागु हुन्छ र गरिन्छ। कानुनको अज्ञानतालाई क्षमा गरिँदैन।
आजको युगमा कानुनी राज्यको अवधारणलाई आत्मसात गर्नु पर्दछ। तथ्य र प्रमाण्ले पुष्टि नगरे दया मायाले वा कुनै सहानुभूतिले गल्तीको माफी हुँदैन भनेको हो। यही सर्वव्यापी मान्यताका कारण अन्जानको गल्तीले पनि सजाय भोग्नुपर्छ। जस्तो फौजदारी कानुन अनुसार जर्बजस्ती करणी अपराध हो, यस्तो प्रकारको दण्डनीय कार्य गरेर मैले नजानीकन यस्तो कार्य गरे‘ भन्न पाइदैन। कानुनभन्दा माथि कोही हुन्न। कानुनको आँखा पनि छ, कान पनि छ र खुट्टा पनि छ। अपराध गर्ने व्यक्तिलाई आँखाले देख्छ, कानले सुन्छ, खुुट्टाले टेकेर आइपुग्छ।
पछाडि परेको मुलुक हो। आज विज्ञान प्रविधिले हामीलाई धेरै विषय पढ्न, सिक्न बुझ्न सहजता प्रदान गरे पनि हाम्रो पिछडिएको मुलुकको दुरदराजमा अझै आममानिसहरु ज्ञान विज्ञानबाट पछाडि छन्। नेपाल र नेपालीको जीवनस्तर उकास्न र विविध विषयमा चेतनास्तर उठाउने यहाँको शिक्षित पुस्ताकाे अभिभारा हो। त्यसैले एउटा महत्वपूर्ण विषय कानुन पनि हो र कानुन नजान्नु सामाजिक नागरिक बन्न नसक्नु पनि हो।
हुनत कानुन नजान्नेले भन्दा जान्नेले बढी दुरुपयोग गरिरहेको अवस्था पनि छ। तर, ती व्यक्तिहरु जो कानुनको नजरमा समान छन् तर मैले गरिरहेको कार्य कानुनविपरित छ, दण्डनीय छ, कानुनी सजाय मिल्छ भन्ने ज्ञान छैन। उनीहरुका लागि अनेक प्रकारका कानुनहरु र कानुनी मान्यताहरुमाथि प्रचार दिनु आवश्यक नै छ।
अतः बौद्धिक विश्लेषणको स्पेस फरक हुन सक्छ तर साधारण मान्यताहरु जान्नाले मात्रै पनि हामी ठूला–ठूला दुर्घटनाहरुबाट बच्न सक्छौँ, जोगिन सक्छौ। कानुन, कानुन हो। कानुनको अपमान कसैले गर्नुहुन्न, कानुनले तोकेको निर्धिष्ट पक्षहरु सबैका लागि मान्य छन्, समान छन्, संरक्षणात्मक पनि छन् साथै संविधान, कानुन, ऐन, नियम लगायत सबै विधिबिधानहरुल हामीलाई नै जगेर्ना गरेको हुन्छ यिनको मातहतमा बस्नु हाम्रो परम कर्तव्य हो।
(लेखक अधिवक्ता हुन्)