नेपालीहरूको महान चाड दशै नजिकिदैछ । परदेशमा रहेका नेपाली घरदेश फर्कन थालेका छन् । घरपरिवारका सदस्य र आफन्तहरू भेला भएर मनाउने यो चाडमा अतिरिक्त चाँजोपाँजो मिलाउनुपर्ने हुन्छ । हुनेखाने हुन् या हुँदाखाने, यतिबेला दुबैखाले आ-आफ्नो गच्छेअनुसारको त्यो अतिरिक्त चाँजोपाँजो मिलाउन जुटेका छन् ।
अधिकांश नेपाली चाडको तयारीमा जुटे पनि यही वर्ष मरोमरण भएका घरपरिवारमा भने यो चाड आउँदैन । वाग्मतीमा धेरै पानी बगिसक्यो तैपनि यही छेको सुत्केरी र रजश्वला हुने महिलाका लागि भने धेरै घरमा पानीढलो कायमै छ, दशैं आउँदैन।
यस वर्षको दशै असोजमै परेकाले एक किसिमले हिले दशैभन्दा पनि हुन्छ । हिले दशैको नियति नै भनौ, यही बेला बाढी, पहिरो र सडक दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या पनि बढ्छ । यसरी असामयिक निधन हुनेहरूको परिवारमा पनि दशै आउँदैन ।
सनातनको कोणबाट यसरी दशैं नआउनेको सन्दर्भ सामान्यीकरण होला । तर, केही मानिस जो आफ्नै कुकर्मको परिणामले खुशी डाँडापारि नै राखेर बाँच्न अभिसप्त हुन्छन्, उनीहरूका लागि पनि दशैं आउँदैन । यस्ता मानिसको कोटीमा यस वर्ष दुई ‘स्टार’ पल शाह र सन्दीप लामिछाने पनि परेका छन् । नावालिगमाथि कुकर्म गर्ने अपराधीका रूपमा कलाकार पल शाहको दशैं जेलको कालो कोठरीमा बित्ने भएको छ । उनी अदालतबाट लाल यौनदूराचारीका रूपमा दोषी करार भैसकेका छन् ।
अर्का स्टार क्रिकेटर सन्दीप लामिछानेमाथि पल शाहकै मार्गमा लागेर अर्की एक नावालिगमाथि जाइ लागेको आरोप छ । उनले पल शाहले महङ्गो मूल्य तिरेको पाठशालाबाट शिक्षा लिएनन् । अहिले उनी फरार अभियुक्तको कोटीमा एक बलात्कारी अभियुक्तको रूपमा भागेर बाँच्न अभिसप्त छन् । नेपाली राष्ट्रिय टोलीको कप्तानको रूपमा केन्यासँग एकदिवशीय क्रिकेट खेल्न गएका उनी बीचैमा बलात्कारी अभियुक्त भए । कप्तानबाट मात्र हैन, राष्ट्रिय क्रिकेट टिमबाटै निलम्बनमा परेका उनी उतैबाट फरार छन् । उनलाई पक्राउ गर्ने इन्टरपोल गुहारिएको छ । राष्ट्रिय टिमका कप्तान विदेशमै फरार, पक्राउ गरेर ल्याउन इन्टरपोल गुहार, योभन्दा लज्जाको विषय के हुन सक्छ र?
आफ्नै कुकर्मको परिणामले खुशी डाँडापारि नै राखेर बाँच्न अभिसप्त केही मनुवाका लागि दशैं चाड बनेर हैन, अत्यास बनेर आउँछ। यस्ता मनुवाको सूचीमा यस वर्ष पल शाह र सन्दीप लामिछाने मात्र छैनन् पछिल्लो समय चोलेन्द्रशमशेर पनि थपिन आइपुगेका छन् ।
यी दुई स्टार र उनीहरूको परिवारमा दशै त छ तर मनाउने माहौल छैन । यी कपुतहरुको दुर्बुद्धिले लज्जित बाबुआमा र आफन्तहरूको दशै पनि दशाका रूपमा आएर नजिकबाटै खिसिट्युरी गरिरहेको छ । यिनीहरूको दशै त यो वा त्यो रूपमा खोसिएकोमा एक तहसम्म औचित्य पनि पुष्टी हुन्छ।
तर, यिनीहरूको फकाइमा परेर होस गुमाएका दुई किशोरी छोरी र उनीहरूको परिवारमा पनि दशै एक किसिमको दशाकै रूपमा आउँदैछ । अस्मिता लुटिएका छोरीहरू डिप्रेसनमा छन् । उल्टै समाजले उनीहरूमाथि नै नानाभाती भन्दै औलो ठड्याइरहेको छ । छोरी हुन्, न साट्न मिल्छ, न काट्न । किन गइस् त ‘राष्ट्रका गहना’सँग ? भनेर प्रश्न पनि गर्न सकिरहेका छैनन् । त्यस्तो प्रश्न गर्यो कि आत्महत्या गर्लान् कि भन्ने पीर छ । अहिले उनीहरूको परिवार अप्रिय घटना हुनबाट जोगाउन पहरेदारी गर्नुपर्ने अवस्थामा छ । यस्तो अवस्थामा उनीहरूको लागि दशै न घरआँगनमा आउँछ, न मनमा ।
यहीबेला अर्का एक मनुवाको दशै पनि दशा बनेर आएको छ । यी मनुवा हुन्, मुलुकको सर्वोच्च अदालतको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा जसको नाम लिँदा सम्माननीय भन्नुपर्ने सनातनी छ । यी सम्माननीय अहिले भ्रष्टाचारी, पदीय मर्यादा उलङ्घनकारीलगायत अनेकौ आरोपमा महाभियोग लागेर प्रधानन्यायाधीशको सरकारी निबासमा थान्को लागेका छन् । निलम्बित भैसक्दा पनि शान शौकातका साथ सरकारी निबास नछाडेका यी अभिसप्तलाई लाज, शरम केही छैन । अझ उनले संसदको महाभियोग छानबिन समितिमा आएर जुन किसिमको बयान दिए, त्यो न उनको पदलाई सुहाउने थियो न त्यसले उनलाई निर्दोष प्रमाणित गर्न सक्नेखालको थियो । यसबाट केही फुर्सदिला मानिसलाई सामाजिक सञ्जालमा बसिबियालो गर्ने बहाना मिल्यो । बाँकि त उनले नेपालको न्यायापालिकाको धज्जी उडाउने र संघीय गणतन्त्रलाई धारेहात लगाउने काम गरे ।
जब संसदको कार्यकाल सकियो र उनीमाथिको महाभियोग प्रक्रिया टुङ्गिएन, यी धन्धुकारीले सर्वोच्च अदालत फर्कने घोषणा गरे, त्यसबाट बिकसित घटनाक्रम भने मुलुकका लागि थप दु:खदायी किसिमको छ । सरकारले उनीमाथि जुन किसिमको रबैया देखायो, त्यो किमार्थ पनि ठीक हैन । उनलाई सर्वोच्च जान दिएर गेटबाटै फर्काइदिएको भए हुन्थ्यो । यस प्रकरणमा सरकार मात्र मात्र प्रतिक्रिया उत्रेन, बार र अदालत पनि त्यही मेसोमा थपिए । यी प्रतिक्रिया हेर्दा, गुलेलीले काम तुरिने ठाउँमा बम नै पड्काइयो । गतिको तेस्रो नियमले बढीमा बराबर मात्रामा बिपरित दिशामा क्रियाको प्रतिक्रिया हुने हो । तर, यहाँ त क्रिया एक किलोको थियो, प्रतिक्रिया एक टनको भयो । विज्ञानको कोणबाट हेर्दा पनि यो अवैज्ञानिक थियो ।
यी केही अस्वभाविक प्रतिनिधि पात्र हुन् दशै दशा बनेर आउँनेमा । यो दशा उनीहरूकै कुकर्मको फल हो । त्यसैले उनीहरूप्रति दया देखाउनुको न अर्थ छ, न औचित्य । तर, यिनीहरूको कुकर्मका कारण पीडित र उनीहरूका परिवारको दशै पनि अनायाश दशा बन्नुचाँहि पीडादायक नै हो । यो एक आयाममा हैन, अनेक आयाममा पीडादायक छ ।
एउटा चर्चित लोक कहावत छ, दशा बाजा बजाएर आउँदैन । कवि सरूभक्तले पनि अर्को भाषामा दशा संकेतका रूपमा आउने भनेका छन् । यो थेसिस हो तर, यी मनुवाहरूको लागि एन्टीथेसिसमा हेर्नुपर्ने हुन्छ किनिक यिनीहरूले दशा डंका बजाएर ल्याए ।
हुन त दशै दशा बनेर आउने न उनीहरू पहिला हुन् न अन्तिम । हरेक वर्ष यस्तो नियति दोहोरिदा दशै दशा बनाएर आउनेहरूको संख्या पनि उत्तिकै हुन्छ । मात्र कामना गर्न सकिन्छ, दशै सबैका लागि दशै नै बनेर आवोस्, दशा हैन । तर, सबै हाम्रा प्रिय कामनाहरू कहाँ पूरा हुन सक्छन् र ?