बिएल संवाददाता
गत भदौ २४ गते नख्खु कारागारबाट निस्केका रास्वपा सभापति रवि लामिछानेसँग जाँचबुझ आयोगले अनौपचारिक बयान लिएको छ।
आयोगका पदाधिकारीसँगको छलफलमा लामिछानेले आफू जेल तोडेर भागेको नभइ प्रशासनले नै असुरक्षाको कारण देखाउँदै बाहिर निकालेको बताएका छन्।
लामिछानेले बाहिरको माहोल बिग्रिएको अवस्थामा अन्य नेताहरूलाई सुरक्षा निकायले उद्धार गरेर सुरक्षित स्थानमा लगिरहँदा आफूलाई भने आन्दोलनकै भीडमा निकालेर छोडिदिएको गुनासो गरेका हुन्।
आयोगका एक सदस्यले लामिछानेको भनाइ उद्धृत गर्दै भने, ‘औपचारिक होइन, अनौपचारिक छलफल भएको हो। कारागारबाट निकालिएको विषयमा उहाँका कतिपय गुनासा थियो। पछि थुनामुक्त गर्ने निर्णय नियमसंगत नभएको थाहा पाएर आफैं फर्किएको र आफूलाई प्रहरीले पक्राउ नगरेको उहाँले भन्नुभयो।’
त्यस्तै लामिछानेलाई आयोगले सनरुफ भएको गाडिमा हात हल्लाउँदै निस्किएको विषयमा पनि सोधेको खुलेको छ।
जवाफमा लामिछानेले आफूलाई प्रशासनले उग्र भीडमा असुरक्षित छोडिदिएपछि सुरक्षाका लागि सनरुफ भएको गाडीमा चढेर बाहिरिएको भनेका छन्।
लामिछानेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘बाहिरको माहोल खराब थियो। तोडफोड र आगजनी भइरहेको थियो। सवारी साधन तोडफोड र आगजनी भइरहेका थिए। यस्तोमा आफूलाई कसरी सुरक्षित गर्ने? सुरक्षाको कारण नै भीडमा देखिएर निस्किएको हुँ। कसले, किन, कुन नियतले चर्चाको विषय बनाएर विवादमा ल्याउँने कोसिस गरे मलाइ थाहा भएन।’
आफू बाहिर निस्किएपछि देशभरका जेलबाट कैदी भागेको विषयमा पनि उनले स्पष्टीकरण दिएका छन्। र आफू भागेको नभइ गृह प्रशासन र प्रहरी नेतृत्वले नै आफ्नो इच्छाविपरित बाहिर निकालेको रविको दाबी छ।
आफूले औपचारिक पत्र नभइ बाहिर ननिस्किने अडानल लिएपछि कारागार प्रशासनले एउटा पत्र थमाइदिएको र सोही पत्रको भरमा आफूलाई असुरक्षित तवरले बाहिर निकालिएको रविको गुनासो थियो।
आयोग स्रोतका अनुसार लामिछानेलाई बाहिर निकाल्ने प्रकरणमा भूमिका देखिएका पात्रहरूबारे पनि अनुसन्धान सुरु भएको छ। लामिछानेलाई बाहिर निकालिएको घटनामा कनेक्सन देखिएका गृह प्रशासन, प्रहरी नेतृत्वदेखि उनकै पार्टीका नेताहरूलाई समेत बयानका लागि बोलाउने तयारी भएको छ।
स्रोतका अनुसार, रविपत्नी निकिता पौडेल, रास्वपा उपसभापति डीपी अर्याल, नेताहरू मनिष झा र हरि ढकाललाई बयानका लागि बोलाउने तयारी भएको छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया