बालबालिका किन आफन्त अनि घरपरिवार छोडेर सडकमा आइपुग्छन्? अनि कसरी उनीहरूको जीवन अपराध र लागुऔषधकाे दुनियाँतिर भासिन थाल्छ?
नियत र नियतिले डाेरिएका अनि डोर्याइएका यस्तै बालबालिका स्याहारिरहेकाे छ, सोबरले। हजाराैं बालबालिकाकाे जीवनलाई यस्तै ‘बेदाग’ बनाउन आफूलाई समर्पित गरेका छन्, सञ्जीवकुमार सिंहले।
घरायसी कलह र कमजोर आर्थिकस्थितीको कारण बालबालिकाहरू सडकमा पुग्छन्।
विभिन्न कारणले गर्दा सडक जीवन बिताउन बाध्य भएका बालबालिकाहरूकाे उद्धार बालबालिका खोजतलास समन्वय केन्द्र–‘१०४’ले गर्छ। र, संस्थाले सडकबाट उठाइएका बालबालिकाहरूकाे अवस्थानुसार विभिन्न बालगृहहरूमा पठाउने गर्छ।
लागुऔषध प्रयोगकर्ता र लुटपाटमा लागेका सडक बालबालिकाहरूको संरक्षणमा खटिरहेको छ, सोबर रिकवरी उपचार तथा पुनर्स्थापना केन्द्र।
करिब एक दशकदेखि जोरपाटीमा सञ्चालन भइरहेको सोबरले हालसम्म २५ सय सडक बालबालिकाहरूलाई नयाँ जीवन दिइसकेको छ।
र, अझैपनि साेबरले १३० जना सडक बालबालिकाहरूकाे संरक्षण गरिरहेकाे छ।
‘हामी सडक बालबालिकाहरू खोज्दै जाँदैनौं। सरकारी संस्थाहरूसँगको सहकार्यअनुसार नै हामी सडक जीवन बिताइरहेका बालबालिकाहरूको उपचार गछौं’, चार वर्षदेखि बालबालिकाहरूको क्षेत्रमा काम गर्दै आइरहेका सञ्जीवकुमार सिंहले भने, ‘हामी सरकारी संस्थाको अनुमतिबिना कुनैपनि बालबालिकाहरूलाई संस्थामा राख्दैनौं।’
अहिलेकाे बालबालिकाहरूकाे भविष्यकाे गाैरव रहेकाे बताउँदै साेबरका प्रशासक सिंह भन्छन्, ‘चाइल्ड आफैंमा पनि सेन्सेटिभ कुरा हो। त्यसमा पनि सडकबाट उठाइएका लागुऔषध प्रयोगकर्ता बालबालिकाहरू झनै सेन्सेटिभ हुन्छन्। सोही कारण हामी बिना सरकारी संस्थाको अनुमति कुनै पनि बालबालिकाहरू राख्दैनौं। हाम्रोमा रहेका सबै बालबालिकाहरू प्रमाण पत्रसहित सरकारी संस्था १०४ बाट आएका हुन्।’
साेबर रिकवरिले कुलतमा फसेका बालिकाहरूकाे मात्र नभई बानी–व्यवहार बिग्रिएका बालबालिकाहरूकाे पनि उपचार गरिरहेकाे छ। जसका लागि संस्थाले बालक र बालिकाहरूका लागि छुट्टाछुट्टै गृहको व्यवस्था गरिदिएको छ।
‘बालबालिकाहरूलाई एउटै संस्थामा राखेर रिकवरि गर्न सम्भव छैन’, उनले भने, ‘त्यसैले हामीले बालक र बालिकाको लागि छुट्टाछुट्टै गृह बनाएका छाैं।’
सडकमा बस्ने सबै बालबालिकाहरू दुर्व्यसनीमा लागेका हुँदैनन् तर व्यवहार सकारात्मक हुँदैन। ढाट्ने, छल्ने र कुटपिट गर्ने बालबालिकाहरूकाे स्वभाव हुन्छन्। बालबालिकाहरूकाे तिनै स्वभावलाई सुधारिरहेको छ, सोबर रिकवरिले।
प्रशासक सञ्जीवका अनुसार सडकमा दुई प्रकारका बालबालिकाहरूको बस्छन्। एउटा ‘एक्टिभ’ सडक बालबालिका र अर्को ‘प्यासिभ’ सडक बालबालिका।
‘सडकमा प्यासिभ भन्दा पनि एक्टिभ बालबालिकाहरू धेरै छन्’, बिएल नेपाली सेवासँग उनले भने, ‘प्यासिभ बालबालिकाहरू कमै हुन्छन्। तर उनीहरूको उद्धार कार्य सहज छैन। हामीले आज उद्धार गर्यौं भने भोलि उनीहरूको बाआमा आएर लैजान्छन्।’
सहज छैन उपचार
सडकबाट उठाएर ल्याइएका बालबालिकाहरूलाई त्यत्तिकै राख्दैन, साेबरले। सुरुवाती चरणमा बालबालिकाहरूलाई एकदेखि दुई सातासम्म ‘डिटोक्सिफिकेशन’ (शारीरिक समस्याहरूलाई ‘नर्मल’ बनाउने एक किसिमको प्रक्रिया) मा राखिन्छ।
त्याे बेला बालबालिकाहरू संस्थाबाट भाग्न खाेज्छन्। आफूले आफैंलाई घाइते बनाउन खोज्छन्। कसैसँग मिल्दैनन्।
शौचालय पठाउँदा समेत कर्मचारी चाहिन्छ। त्याे समय अवधिभर बालबालिकाहरू बिरामी समेत हुन्छन्। उनीहरूलाई डाक्टरहरूको सल्लाहअनुसार औषधि सेवन गराउनुपर्छ।
‘बालबालिकाहरूका लागि मात्र होइन कुनैपनि लागुऔषध प्रयोगकर्ताहरूको लागि डिटोक्सिफिकेशन पेरियड संघर्षपूर्ण हुन्छ। थरथरी कापिरहेकाे शरीरले लागुऔषध मागिरहेको हुन्छ’, उनले भने, ‘सिकनेसकाे पिरियडमा दुर्व्यसनीहरू छट्पट्याउने गर्छन्।’
सडकमा बसेर ड्रग्स र ड्रेनराइड जस्ता लागुऔषध प्रयोग गर्ने बालबालिकाहरूलाई सुधार गृहमा भाेक र निन्द्रा लाग्दैन। त्यहि समस्यालाई नियन्त्रण गर्नका लागि डिटोक्सिफिकेशन गर्नुपर्ने उनले बताए।
‘सडकबाट ल्याउँदा समेत बालबालिकाहरू अचेत अवस्थामा नै हुन्छन्। उनीहरूलाई नर्मल बनाउनका लागि उपचार गरिन्छ। त्यसपछि बालबालिकाहरूले बुझ्न सक्छन् कि उनीहरू के गर्दैछन्?’ उनले भने।
करिब दुई साताको डिटोक्सिफिकेशनपछि मात्रै बालबालिकाहरू सत्य बोल्न थाल्छन्। अनि विस्तारै संस्थासँग पनि घुलिदैं जान्छन्। सिकनेस अवस्थाबाट बाहिरिएपछि बालबालिकाहरूलाई शारीरिक व्यायामलगायत सकारात्मक कुराहरू सिकाइन्छ।
सडकबाट नाजुक अवस्थामा उठाइएका बालबालिकाहरूकाे उपचार मात्र गर्दैन साेबरले। उनीहरूलाई विभिन्न तालिमहरूमा आवद्ध पनि गराउँछ। र, स्कुलमा पनि भर्ना गराइदिन्छ।
‘पढ्न चाहने बालबालिकाहरूलाई हामीले स्कुल पढाउने संस्थाहरूसँग आवद्ध गराएका छौं’, उनी भन्छन्, ‘सोबरमा उपचार पाएका कतिपय बालबालिकाहरू त अहिले काम पनि गरिरहनुभएको छ।’
सडकबाट उद्धार गरेका बालबालिकालाई तीन महिनासम्म संस्थामा राखिन्छ। अनि परिवारको खोजी कार्य सुरु हुन्छ।
‘हामीकहाँ जब बालबालिकाहरूको अभिभावकहरू आउनुहुन्छ तब हामी उहाँहरूको सन्तानप्रति भएको डेडिकेशन हेर्छौं, त्यसपछि मात्रै बालबालिकाहरूलाई परिवारसँग पठाउँछौं’, उनी भन्छन्, ‘कतिपय परिवारसँग बालबालिकाहरूको भेट हुँदा पनि उहाँहरू छोराछोरीहरूलाई घर लैजान मान्नुहुन्न। अनि त्यस्ता बालबालिकाहरूलाई हामीले यहाँ उपचार गरिसकेपश्चात अरू संस्थामा पठाउँछौं।’
सडकबाट उठाइएका १५ सय बालबालिकाहरूलाई रिकवरि गरिसकेकाे सोबरले परिवारसँग पुन:मिलन पनि गराइरहेकाे छ।
परिवारको सहाराबाट टाढिएर सडक पुगेका बालबालिकाहरूको संरक्षणमा खटिरहेकाे साेबरमा आइपुगेका बाआमालाई सञ्जीव सोध्ने गर्छन्, ‘कसरी बालबालिका सडकसम्म पुग्यो?’
अधिकांश परिवारकाे एउटै जवाफ हुन्छ–‘दोस्रो विवाह र गरिबी’। पारिवारिक झगडाकाे कारण पनि बालबालिकाहरू सडकमा पुग्ने गरेकाे उनकाे भनाइ छ। सञ्जीवका अनुसार अभिभावकहरूले पनि आफ्नो छोराछोरीको व्यवहारप्रति ध्यान दिनुपर्छ।
बालबालिकाकाे खुसीले मिल्छ सन्तृष्टि
सडकबाट उद्धार गरेर संस्थाको संरक्षणमा रहेका बालबालिकाहरूलाई घर फर्काउन खोज्दा झगडा समेत गर्छन् अभिभावकहरू। छोराछोरीलाई घर लैजाने भन्दै संस्थाका कर्मचारीहरूलाई गालीगलौज गर्छन्।
‘संस्थामा आएर अभिभावकहरूले मेरो छोराछोरी घर लैजान्छु भनेर झगडा गर्नुहुन्छ तर हामीले आफ्नो इच्छाअनुसार कुनैपनि बालबालिकालाई घर फर्काउन मिल्दैन। राष्ट्रिय बालअधिकार परिषदको प्रमाण पत्र नै चाहिन्छ’, उनी भन्छन्, ‘हामीले समय नपुगी बालबालिकाहरूलाई घर लैजान मिल्दैन भन्दा हाम्रो छोराछोरी हो तपाईहरू को हो र हामीलाई रोक्ने भनेर कराउनुहुन्छ।’
बालबालिकाहरूको संरक्षण गर्नु चुनौतीपूर्ण छ। तर उनीहरूको खुसीमा नै सन्तृष्टी छ।
‘यो क्षेत्रमा काम गर्न धेरै चुनौतीपूर्ण छ। गाली सहनुपर्छ तर संस्थाबाट सुध्रिएर गएका बालबालिकाहरूले काम गरेको देख्दा खुसी मिल्छ।’
सोबरमा उपचार गराएका कयौं त्यस्ता बालबालिकाहरू छन्। जाे काम गरेर आत्मनिर्भर बनेका छन्। र, कहिलेकाहीँ संस्था आएर धन्यवाद दिने गर्छन् आफ्नो संस्थाबाट रिकवरि भएर गएका तिनै बालबालिकाहरूकाे शब्दले सञ्जीवलाई खुसी दिलाएकाे छ।