बेवारिसे, हराएका र दुर्व्यसनमा परेका बालबालिकाहरूकाे उद्दार गर्ने सरकारी निकाय हो, बालबालिका खोजतलास समन्वय केन्द्र–‘१०४’।
वि.सं. २०६३ साल मंसिर २२ गतेदेखि सञ्चालनमा आएको केन्द्रले हालसम्म ४० हजार बालबालिकाहरूको उद्दार गरिसकेको छ।
२०६३ सालदेखि स्थापना भएको खोजतलासले २०७३ साल वैशाख–२७ गतेदेखि सडक बालबालिकाहरूको व्यवस्था कार्यक्रम सुरु गर्यो।सोहीअनुसार संस्थाले अहिलेसम्म २३ सय जना सडक बालबालिकाहरूको उद्धार गरिसकेको छ।
तर अझै पनि बेपत्ता परेकाहरूकाे खाेजीकार्य जारी रहेकाे बताउँछन्, संस्थाका कार्यक्रम अधिकृत सन्तोष अधिकारी। उनका अनुसार बालबालिकाहरूकाे संरक्षण गर्नु नै संस्थाकाे मुख्य उद्देश्य हाे।
पछिल्लाे तथ्याङ्कअनुसार उद्दार गरिएका बालबालिकाहरूकाे संख्या बढ्दाे छ। तर उद्दार गरिएकाभन्दा हराउने बालबालिका हरूकाे संख्या घट्नुपर्ने उनकाे भनाइ छ।
‘विगतको तुलनाभन्दा अहिले बालबालिकाहरूको उद्दारमा सुधार भएको छ तर यसमा मात्रै हामी सीमित हुनु हुँदैन। हामीले हराएपछि बच्चाहरूको उद्दार गर्ने होइन, बरू बालबालिकाहरूलाई नै हराउनबाट बचाउनुपर्छ’, उनले बताए।
देशभर ७१ जिल्ला र ३ वटा प्रदेशमा १०४ केन्द्र सञ्चालन छ। जहाँ मानिसहरूले बालबालिका हराएमा वा बालबालिका हरू फेला पारेमा फाेन गर्न सक्छन्। त्यही पनि बिना पैसा। ‘१०४ नम्बरमा फोन गर्दा कुनैपनि शुल्क लाग्दैन’, उनले भने।
नितान्त बेवारिसे, हराएका, जोखिम र दुर्व्यवहारमा परेका बालबालिकाहरूको उद्दारमा जुटिरहेको खोजतलास केन्द्र बच्चाहरूको संरक्षण र पारिवारिक पुनःमिलनका लागि दिनरात खटेकाे उनी बताउँछन्।
‘उद्दारको कार्यमा दिन र रात भन्ने हुँदैन। जतिखेर भएपनि खट्नुपर्छ’, बिएल नेपाली सेवालाई उनले बताए।
कसरी गरिन्छ उद्दार ?
बेवारिसे र सडक जीवन बिताइरहेका बालबालिकाहरूकाे खाेजी गर्नका लागि दैनिकजसाे गस्ती हुन्छ। साेहीअनुसार धेरै भीड भएका ठाउँहरू जस्तै– मेलाहरूमा उद्दार टाेली पुग्छन् अनि बालबालिकाहरूकाे खाेजीकार्य गर्छन्।
‘अस्ति भर्खर शालीनदी मेलाबाट हामीले तीन जना बालबालिकाहरूको उद्दार गरेका थियौँ। उद्दार गरेको २–३ दिनपछि उहाँहरूको अभिभावक आएर लैजानुभयो’, उनले भने, ‘अभिभावक नपाएसम्म हामी आफैँ बालबालिकाकाे संरक्षण गर्छौं।’
अधिकांश सडक जीवनमा रमाइरहेका बालबालिकाहरू उद्दार हुन चाहँदैनन्, त्यस्ता बालबालिका हरूकाे उद्दार गर्नुअघि ‘रेकी’ राख्नुपर्छ।
‘रेकी’ नियमित गस्ती हिँड्दा सम्भावित ठाउँहरू पहिचान गरेर राखिन्छ। जस्तै– मठमन्दिर पशुपति, बालाजु र ठमेल क्षेत्र। जहाँ टुरिस्टहरूकाे बढी चहलपहल हुन्छ। त्यस्तै ठाउँमा पैसा माग्नका लागि बसेका बालबालिकाहरू भेटिन्छन्।
‘जहाँ धेरै टुरिस्टहरू हुन्छन्, त्यहीँ नै बालबालिकाहरूले अड्डा जमाएर खानेकुरा माग्ने र पैसा माग्ने गर्छन्। त्यही आधारमा हामी बच्चाहरूको उद्दार गर्छौं’, उनले भने।
सडक बालबालिकाहरूकाे उद्दार राति सहज हुने अधिकारीले बताए। उनका अनुसार दिउँसाे सडकमा बालबालिकाहरू देखा पर्दैनन्।
‘बालबालिकाहरूलाई थाहा भइसक्यो कि खोजतलास–१०४ ले उद्दार गर्छ। उहाँहरू दिउँसोको समयमा सुत्न कहाँ जानुहुन्छ, त्यो हामीलाई थाहै हुँदैन’, उनले भने, ‘तर राति भएपछि सडकमा निस्किनुहुन्छ। त्यसैले हाम्रो लागि राति उद्दार गर्नु सहज छ।’
तर साेचेजस्ताे सहज पनि छैन उद्दार कार्य।
हराएका बालबालिकाहरूकाे उद्दार गर्नु सजिलाे हुन्छ। आफ्नो अभिभावकहरूबाट छुट्टिएका ती बालबालिका हरू घर जान आतुर हुन्छन्। त्यसैले उनीहरूकाे उद्दार पनि सहज छ।
तर त्यतिकै असहज छ– सडकमा रमाउने बालबालिकाहरूकाे उद्दार गर्न। सडकलाई घर बनाइसकेका बालबालिकाहरू आफ्नो उद्दार होस् भन्ने चाहँदैनन्। र, उनीहरूकाे उद्दार गर्न पनि उत्तिकै कठिन छ।
‘जो बच्चाहरू सडकमा रमाउन थालिसकेका छन्, ती बालबालिका हरू सडकमै बस्न रुचाउँछन्। हामीले उहाँहरूकाे उद्दार गर्न खोज्यौँ भने हामीसँग नै झगडा गर्न थाल्छन्’, उनी भन्छन्, ‘हातमा सानो सिरिन्ज बोकेका हुन्छन्। त्यही सिरिन्जले हामीलाई घोच्न खोज्छन्।’
रगताम्य हुने गरी काटिएकाे हातमा राखिएकाे कैँची र ब्लेड देखाउँदै सडक बालबालिकाहरूले भन्ने गर्छन्, ‘मलाई एड्स लागेको छ, नजिक आयौ भने यही हतियारले घोचेर एड्स सारिदिन्छु।’
सडकमा बस्न रूचाउने बालबालिकाहरूकाे उद्दार गर्नु जाेखिमपूर्ण रहेकाे उनकाे भाेगाइ छ।
तर धन्न! सडके बालबालिकाहरूलाई सम्हाल्ने तरिका उद्दार टाेलीहरूसँग छ।
‘सडकका बालबालिकाहरूको उद्दार गर्ने काम चानचुने होइन। त्यसको लागि पनि एक किसिमको तालिम नै लिनुपर्छ। बालबालिकाहरूलाई कुट्न पाइँदैन। हामीसँग त्यससम्बन्धी जर्मनमा तालिम लिनुभएका टिमहरू सहभागी हुनुहुन्छ’, उनले भने, ‘अहिले त हामीले पनि सिकिसकेका छौँ। बानी परिसकेको छ।’
उद्दारका लागि दुई वटा गाडी र १२ जनाको टिम बनाइएको छ। ४–५ जनाकाे टिमले सडक बालबालिकाहरूलाई उठाउन नसक्ने उनकाे दाबी छ।
‘उद्दारका लागि ५ जना मात्रै जाने हो भने तिनै बालबालिकाहरू हाबी हुन्छन्। अट्याक गरिदिन्छन्’, सडक बालबालिकाहरूकाे उद्दार टोलीले अवस्थालाई ध्यान दिनुपर्ने उनी बताउँछन्।
उद्दारपछि के हुन्छ?
बेवारिसे र सडकबाट उठाइएका बालबालिकाहरूलाई केन्द्रमा ल्याइन्छ। त्यसपछि ती बालबालिका हरूकाे स्वास्थ्य जाँच गरिन्छ। अनि भेटिएका तिनै बालबालिका हरूकाे फाेटाेसहितकाे पहिचान नेपाल टेलिभिजनमा प्रसारण गरिन्छ। आवश्यकताअनुसार राष्ट्रियस्तरको पत्रपत्रिकामा पनि छापिन्छ।
तर पनि बालबालिकाहरूको अभिभावक भेटिएन भने खोजतलास केन्द्रले नै ती बालबालिकाहरूको संरक्षण गर्ने उनले सुनाए।
अभिभावककाे खाेजी नभएसम्म केन्द्रले बालबालिकाहरूलाई विभिन्न संस्थाहरूमा पठाइदिन्छ।
‘हामीले उद्दार गरेर ल्याएका सबै बालबालिकाहरूलाई एउटै संस्थामा पठाउँदैनौँ। स्वभाव र उमेरअनुसारका संस्थाहरूमा पठाउने गरेका छाैँ’, उनी भन्छन्, ‘ड्रग्सको कुलतमा फसेका बालबालिका हरू छन् भने हामी रिहाबमा पठाउँछौँ र साना नानी–बाबुहरूलाई पनि छुट्टै संस्थामा पठाइन्छ र फरक क्षमता भएका बच्चाहरूलाई त्यहीअनुसारको संस्थामा राखिन्छ।’
खाेजतलास केन्द्रले उद्दार गरेर ल्याइसकेका बालबालिकाहरूलाई पहिलाे पटक अभिभावक नभेटिएसम्म अस्थायी बाल संरक्षणमा राखिन्छ अनि फेरि दीर्घकालीन बाल संरक्षणमा सारिन्छ।
‘अस्थायी बाल संरक्षण भनेको ६ महिनासम्म राखिने संस्था हो। हामीले उद्दार गरेर ल्याइसकेपछि बालबालिकाहरूको बाआमा नभेटाउन्जेलसम्म त्यही संस्थामा राख्छौँ तर ६ महिना बितिसक्दा पनि अभिभावक भेटिएन भने हामीले ती बालबालिकालाई दीर्घकालीन बाल संरक्षणमा सारिदिन्छौँ’, उनी भन्छन्, ‘दीर्घकालीन संरक्षणमा बसेका बालबालिका हरू पढ्न चाहन्छन् भने पढाउने पनि गरिन्छ।’
संस्थाकाे सहकार्यमा पढ्न चाहने बालबालिकाहरूलाई पढाउने व्यवस्था रहेकाे उनले बताए।
खाेजतलास केन्द्रले बेवारिसेहरूकाे मात्र उद्दार गर्दैन। बाल गृहमा अलपत्र परेका बालबालिकाहरूकाे पनि उद्दार गर्छ।
‘कयौँ बाल गृहहरू डोनरको भरमा सञ्चालन भएका हुन्छन्। तर बिचमा डोनरहरू टुट्छन् र गृह लथालिङ हुन्छ। त्यसपछि त्यहाँका बालबालिकाहरू अलपत्र हुन्छन् अनि हामीले उद्दार गरेर ल्याउँछौँ’, दयनीय अवस्था भएका बालबालिकाहरूबारे स्थानीयहरूले नै खाेजतलास केन्द्रलाई जानकारी दिने गरेको उनले बताए।
किन पुरानै लयमा फर्किन्छन् बालबालिका?
खाेजतलास टाेलीले सडकका विभिन्न गल्लीहरूबाट उद्दार गरेका बालबालिकाहरू एकैपटकमा सुध्रिर्न सक्दैनन्। अधिकृतका अनुसार त्यस्ता बालबालिका हरूकाे उद्दार २–३ पटक गरिरहनुपर्छ।
‘हामीले सडकबाट उद्दार गरिसकेका बालबालिकाहरूलाई २ वर्षसम्म सुधार केन्द्रमा राख्छौँ। सुध्रियो भन्ने विश्वासले स्वतन्त्र छोडिदिन्छौँ तर फेरि तिनै बालबालिकाहरू पनः सडकमा आउँछन्। हामी फेरि उद्दार गर्छौँ तर दोस्रो पटक उद्दार गर्दा हामीले धेरै कुरामा ध्यान दिन्छौँ’, उनले भने, ‘हामीले उद्दार गरेका २० प्रतिशत बालबालिकाहरू भने पुरानै लयमा फर्किने गरेका छन्।’
सडकबाट उठाइएका बालबालिकाहरू कसैकाे अधिनमा बस्न चाहँदैनन्, त्यसपछि उनीहरू पुरानै लयमा फर्किन्छन्। आफ्नै दुनियाँमा रमाउन खोज्छन्।
अघिल्लाे वर्षकाे तथ्याङ्कअनुसार देशभर ५८ सय बालबालिका हराएका थिए भने ५२ सयभन्दा बढी बालबालिकाहरू फेला परे।
धेरै बालबालिकाहरूलाई अभिभावकहरूकहाँ पठाइयाे। र, २३ प्रतिशत बालबालिकाहरू भने अहिले पनि संस्थाकै संरक्षणमा छन्।
उनकाअनुसार २ वर्षको तुलनामा बेवारिसे बालबालिकालाई अभिभावकहरूसँग पुनः मिलन गराउन सफल छ– खाेजतलास केन्द्र। साेहीकारण मधेस प्रदेश, कोशी प्रदेश र लुम्बिनी प्रदेशमा मात्रै सीमित रहेकाे ‘१०४’ अब सातै प्रदेशमा सञ्चालन हुन भएकाे छ। भने १८ ठाउँमा रहेकाे ‘बालबालिका हेल्पलाइन–१०९८’ अब २५ ठाउँमा पुर्याउने लक्ष्य रहेकाे उनले बताए।
‘हामीले हराएका बालबालिकाहरू खोज्ने मात्र नभई त्यस्ता समस्याहरूको रोकथाम पनि गर्नुपर्छ’, स्कुल र समुदायहरूमा सचेतनामूलक कार्यक्रम चलाउँदै आइरहेको उनले बताए।
सडक बालबालिका न्यूनीकरण गर्नका लागि राष्ट्रिय अभिभयानमा जुटिरहेकाे संस्थाले उपत्यकाबाहिर जस्तै–पोखरा, धनगढी, सुर्खेत, हेटौँडा, इटहरी, धरानमा देखिएका समस्याहरूकाे पनि समाधान गरेकाे छ। बालबालिकाहरूलाई परिवारसम्म पुर्याएकाे छ।
बालबालिकाले किन त्याग्छन् घर?
अधिकांश बालबालिकाहरू घरायसी कलहकाे कारण घर छाड्ने गरेकाे अधिकृतकाे भनाइ छ। उनका अनुसार ७० प्रतिशत बालबालिकाहरू साैतेनी बा–आमाको कारण घर त्याग्ने गर्छन्।
‘सौतेनी आमा हुन्छन् भन्ने थाहा थियो तर सौतेनी बुबा हुन्छ भनेर थाहा थिएन। धेरैजसो उद्दार गरेर ल्याएका बालबालिकाहरू साैतेनी बाआमाको कारण घर छोड्न बाध्य छन्’, उनी भन्छन्, ‘आमाले दोस्रो विवाहित पुरुषसँग विवाह गर्दा तिनै व्यक्ति सौतेनी बुबा हुँदा रहिछन्।’
त्यतिमात्र नभई अत्ति गरिबीकाे कारण पनि बालबालिकाहरू घर छाेड्न बाध्य हुन्छन्। उनका अनुसार त्यस्ताे अवस्थामा घर छाड्ने बालिकाकाे संख्या बढी हुन्छ।
‘पारिवारिक कलहको कारण घर छोड्ने तिनै बालिकाहरू मसाज सेन्टर, घरेलु हिंसा र दुर्व्यसनीमा भेटिन्छन्’, उनले भन्छन्, ‘त्यसैले अभिभावकहरूले पनि आफ्नो बालबालिकालाई कस्तो वातावरणमा हुर्काउने भन्ने कुरा बुझ्नुपर्छ।’
रक्सी पिएर झगडा गर्ने, शारीरिक र मानसिक यातनाकाे कारण पनि बालबालिकाले घर छाड्ने गरेकाे उनले बताए। त्यसमध्ये पनि सबैभन्दा धेरै हराउने बालिकाहरूकाे संख्या छ। जुन एक चुनाैतीपूर्ण विषय बनेकाे छ।
त्यही कलहकाे कारण बालिकाहरू घरेलु हिंसामा फस्ने, मसाज सेन्टर, रेस्टुरेन्टलगायतमा काम गर्न बाध्य हुन्छन्। त्यसका साथै बालिकाहरू भारततिर ओसारपोसार पनि हुने गर्छन्। गत वर्ष इण्डिया पुगेका धेरै बालिकाहरूलाई फर्काएर विभिन्न संस्थामा राखेकाे उनले बताए।
‘अघिल्ला वर्ष हामीले भारतबाट उद्दार गरेका बालिकाहरूलाई संस्थाहरूसँग सहकार्य गरेर संरक्षण गरेका छौँ’, उनले भने।
एक पटक उद्दार गरिसकेका बालबालिकाहरूलाई संस्थाले सिटीइभिटीबाट विभिन्न तालिममा आवद्ध गराउँछ। त्यस्ता तालिममा सहभागी भएका केही बालबालिकाहरू अहिले रोजगार भएका छन् त कोही सिक्ने प्रक्रियामा छन्। उनी भन्छन्, ‘हामीले उद्दार गरेर बालबालिकाहरूलाई बेवारिसे बनाउँदैनौँ।’
हालसम्म उद्दार गरिसकेका बालबालिकाहरूमध्ये साढे दुई सय जना बालबालिकाहरू संस्थाकै रेखदेखमा रहेको बताउँदै उनले भने, ‘एक पटक उद्दार भइसकेका बच्चाहरूकाे फ्लोअप हामी गरिरहन्छाैँ।’
कसरी गर्ने रोकथाम?
कुनै पनि समस्याको समाधान एक–दुई जना व्यक्तिको प्रयासबाट नहुने अधिकारी बताउँछन्। कुनै पनि समस्याको समाधान गर्न सुमदाय नै सकारात्मक हुनुपर्ने उनको बुझाइ छ।
८० हजार रुपैयाँको कुकुर किनेर पाल्न सौखिन मानिसहरूले बालबालिकाहरूबारे चासो नदिएको उनको गुनासो छ।
‘कुकुर किन्नका लागि मानिसहरू हजारौँ रुपैयाँ खर्चिन्छन् तर उनै मानिसहरू घरमा कुनै बालबालिका राेइरहेको छन् भने वास्ता गर्दैनन्’, उनी भन्छन्, ‘अहिलेको देखावटी समाजमा बालबालिकाभन्दा धेरै कुकुरको मान्यता छ।’
त्यसैगरी अभिभावकहरूले पनि आफ्ना छोराछोरीको व्यवहारमा ध्यान दिनुपर्ने उनको सुझाव छ। र, आवश्यकभन्दा धेरै सन्तान जन्माउन नहुने पनि उनी बताउँछन्।
‘आय स्रोत धेरै नहुँदा बच्चाहरू पनि आवश्यकताभन्दा धेरै जन्माउनु हुँदैन। गरिबीको कारण पनि बालबालिकाहरू बिरक्तिने गर्छन्’, परिवारको प्राथमिकता नै बालबालिकाको पहिलाे सुरक्षा हो।
खाेजतलास केन्द्रमा उपत्यकाभित्र बालबालिका हराएकाे भन्दै दिनमा तीनदेखि पाँच जनाले उजुरी गर्छन् भने देशभर दिनमा १८ देखि २० जना बालबालिकाहरू हराउँछन्।
तर हराएका ती बालबालिकाहरू कहाँ जान्छन् र के गर्छन् भन्ने त्यसकाे यकिन तथ्याङ्क छैन। आफ्नो बालबालिकाहरूको सुरक्षा आफैँले पनि गर्नुपर्ने सन्तोष बताउँछन्।