बुधबार, १० डिसेम्बर २०२५

प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?

News Image
• • •

सहकारीको रकम दुरुपयोगदेखि विभिन्न अनियमितताको अभियोगमा सीआईबीले प्रभु ग्रुप र प्रभु म्यानेजमेन्टसँग सम्बन्धित फाइलहरू अनुसन्धान गरिरहेको छ।

गत कात्तिक २१ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनामनगरस्थित प्रभु बैंकको केन्द्रीय कार्यालयमा छापा मारेर दुई दर्जन बढी संवेदनशील फाइल नियन्त्रणमा लिएको थियो।

सीआईबी स्रोतका छापामारीपछि ८ घण्टा लगाएर गरिएको खानतलासीमा प्रभु म्यानेजमेन्ट, रेमिट्यान्स, सहकारीसहित दर्जनौं संस्थाका फाइलहरू बरामद गरिएको छ।

गुण ग्रुपअन्तर्गतको ऋण, प्रभु म्यानेजमेन्ट, प्रभु रेमिट्यान्स, प्रभु सहकारी, नेपाल सिपिङ, पद्मा कोलोनी, जानकी मेडिकल कलेजको फाइल बरामद गरिएको सीआईबी स्रोत बताउँछ।

त्यस्तै, आरध्य मल्टिप्रपोज, एम्पायर प्रोपर्टी, अर्बिट कन्स्ल्टेन्सी, लाजिम्पाट अपार्टमेन्टका फाइलहरू पनि नियन्त्रणमा लिइएको छ। यी कम्पनीहरूमा गैरकानुनी रुपमा पैसा गएको खुलेको सीआईबी स्रोतले बतायो।

सीआईबीले नियन्त्रणमा लिइएका फाइलहरू एकएक केलाएर मिहिन अनुसन्धान गरिरहेको छ। फाइल अध्ययनका क्रममा फेला परेका प्रमाणका आधारमा प्रभु ग्रुपमा अध्यक्ष देवीप्रसाद भट्टचनसहितका व्यक्तिहरू छानबिनको दायरामा छन्।

सीआईबी स्रोतका अनुसार यतिबेला भट्टचनसहित कुसुम लामा, हेमकुमार महाजु, शिक्षा भट्टचन, दक्ष पौडेल, मिजास भट्टचन, राजेन्द्र शाक्य, रुपज्योती, हरिकृष्ण भट्टचन, हरिमा लामा, रामेश्वर सापकोटा, ध्रुव धिताल, राम पाण्डे, श्रुतिका तामाङ, सुनिल रेग्मी छानबिनको दायरामा छन्।

यी व्यक्तिहरूको ऋण र कम्पनीमा गएको पैसाको कनेक्सन सीबाईबीले खोजिरहेको छ। त्यस्तै अन्य शंकास्पद व्यक्तिहरूलाई पनि निगरानीमा राखिएको सीआईबी स्रोत बताउँछ।

यता सीआईबीले आफूमाथि अनुसन्धान गर्ने सुइँको पाएका प्रभु बैंकका सीईओ अशोक शेरचनले भने पक्राउ पर्ने डरले उच्च अदालतबाट स्टे अर्डर लिन सफल भएका छन्।

उच्च अदालत पाटनले सोमबार शेरचनको रिटमा सीआईबीसहित विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै शेरचनले निषेधाज्ञा माग गरेको रिटमा अन्तरिम आदेश दिएको हो।

सो प्रकरणमा सीआईबीले आफूमाथि अनुसन्धान गर्ने चाल पाएपछि उनी सम्भावित पक्राउलाई टार्न ‘स्टे अर्डर’ माग्दै अदालत पुगेका थिए। यसबारे बुझ्न फोन सम्पर्क गर्दा सीईओ शेरचनको फोन उठेन।

सीईबी प्रमुख एआईजी मनोज केसी प्रभुसँग सम्बन्धित मुद्धामा सुक्ष्म अनुसन्धान गरिरहेको र गल्ती गर्नेहरू नजोगिने बताउँछन्।

उनले भने, ‘हामीले यसमा सुक्ष्मरुपमा अनुसन्धान गरिरहेका छौं। गल्ती गरेका कोहीपनि जोगिने कुरा हुँदैन। कानुन अनुसार कारबाहीको दायरामा आउँछन्।’

यता ठगी आरोपमै पक्राउ परेर सरकारी वकिल कार्यालयको सेटिङमा छुटेका प्रभु ग्रुपका अध्यक्ष भट्टचन यतिबेला दिनदिनै सीआईबी कार्यालयमा हाजिर भइरहेका छन्। उनीमाथि ९८ करोड रुपैयाँ ठगी गरेको आरोप छ। 

अहिले उनीसँग सम्बन्धित र प्रभुसँग जोडिएका फाइलहरूमा सीआईबीले अनुसन्धान गरिरहेको छ।

त्यस्तै भट्टचन आफैं संस्थापक रहेको प्रभु बैंक र यसको अमेरिकी साझेदार ‘प्रभु यूएसए’बीच पनि ५० लाख अमेरिकी डलर बराबर अपचलनको तथ्य फेरि चर्चामा छ।

रेमिट्यान्स कारोबारका लागि अमेरिकामा खोलेको कम्पनी ‘प्रभु यूएस’ले प्रभु बैंकलाई भुक्तानी गर्नुपर्ने करिब ५० लाख अमेरिकी डलर बैंकलाई नपठाई अमेरिकामै राखेर अनियमितता गरेको फेला परेको हो।

विदेशी मुद्रामा नेपाल भित्र्याइनु पर्ने रकम ल्याउन बैंक मात्रै होइन नियामक निकाय नेपाल राष्ट्र बैंक नै मौन रहेको आरोप छ। यति लामो समयसम्म पनि मौन रहनुले राष्ट्र बैंकको मिलेमतोको आशंकामा बल पुग्ने जानकारहरू बताउँछन्।

यो पनि–
• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!