ईश्वरी राई (इशु)
काभ्रेका रामप्रसाद हुमागाईंलाई विवाह गरेर घर बसाल्नु थिएन। उनलाई ‘तपस्वी’ बनेर प्रख्यात कमाउनुथियाे। उनलाई गौतम बुद्धको पाइला पछ्याउनुथियो।
सन्यासी बनेर ज्ञान प्राप्त गर्नु नै उनको लक्ष्य थियो। त्यही लक्ष्य बोकेर उनी घरबाट भागेर भारत पुगे। त्योबेला रामप्रसाद मात्र १४ वर्षका थिए, कक्षा–९ मा पढ्दैथिए।
घरका जेठा छोरा भएपनि पारिवारिक जिम्मेवारी सम्हाल्नुपर्छ भन्ने ज्ञान थिएन उनमा। मात्र आध्यामिक ज्ञानी बन्न चाहन्थे रामप्रसाद।
भारतको आश्रममा काम गरेमात्र सन्यासी भइन्छ भन्ने कुरा उनले सानैबेला सुनेका थिए। त्यसैले उनी भारत पुगेका थिए।
ज्ञानी बन्ने चक्करमा उनी झण्डै दुई दशक भारतमै रुमलिए। कहिले नयाँ दिल्ली त कहिले हरियाणा पुगे। यतिसम्म कि उनी जोगी–जोगिनीहरूको संस्थामा पनि काम गरे।
तर उनी ज्ञानी हुनै सकेनन्। उनलाई रोगले तपस्वी बन्नै दिएन। ‘मेरो सुगर रोग निको भएन। रोगकै कारण मैले सपना पूरा गर्न सकिनँ’, उनी भन्छन्, ‘अधुरै रह्यो मेरो सन्यासी बन्ने सपना।’
जस्तोसुकै अवस्थामा पनि आफ्नो सपना पूरा नहुने भएपछि स्वदेशै फर्किए रामप्रसाद। खाली हात, मन भारी बनाएर।
सन्यासीको कुटीमा उनले कयौं वर्ष मन लगाएर काम गरे तर बिना पैसा। सधैं ‘सेवा हो’ भन्दै रामप्रसादलाई आश्रमको काममा खटाइरह्यो। उनी पनि खटिरहे।
तर आफूले गरेको कामको न उनले मूल्य पाए न त मान्य नै।
‘त्यत्रो वर्ष काम गरें तर केही पाइनँ। सितैमा काम गरें’, उनी सम्झन्छन्, ‘भारतको बसाइँ मेरो जीन्दगीमा व्यर्थ भयो।’
१४ वर्षको उमेरमा भागेर भारत गएका रामप्रसाद झन्डै ३५ वषको उमेरमा घर फर्किएका थिए। उनलाई देखेर बाआमा खुसी थिए तर उत्तिकै दुःखी पनि।
घर छाडेर गएको भन्दै उनलाई आमाबुबाले हपारे पनि। तर त्यो उनीप्रति अभिभावकले गरेको प्रेम थियो।
उनी नेपाल फर्किदा परिवार काठमाडौंमा सरिसकेका थिए। उनीहरूको घर काठमाडौंको ‘कुमारीगल’मा थियो। जुन कुरा उनले आफन्तीहरूबाट थाहा पाएका थिए।
नेपाल फर्किएपनि उनको विवाह गर्ने चाहना थिएन। उनले एक्लै बाँच्ने निधोे गरिसकेका थिए। घरमा विवाहको कुरा चलाउँदा रामप्रसाद रिसाइहाल्थे।
उनले सोचेका थिए, एक्लै गुज्रिन सक्छ जिन्दगी, जीवनसाथी बिनै। तर रामप्रसादले सोचेजस्तो भएन। झन–झनै उनलाई रोगले च्याप्न थाल्यो। उनलाई एकजना साथीको जरुरत भयो।
छोराको अवस्था देखेर निराशिएका बुबाआमाले रामप्रसादको विवाह गराइदिने निर्णय लिए। र, छोराको इच्छाविपरीतै ४० वर्षको उमेरमा राजप्रसादको विवाह ‘बसन्ती’सँग गराइदिए।
त्यतिबेलासम्म रामप्रसादका दुबै भाइहरूले भने विवाह गरिसकेका थिए। ‘म यो विवाह बन्धनमा बाँधिन चाहदिनँ थिएँ तर परिस्थिती त्यस्तै भइदियो’, उनले भने, ‘नचाहँदा–नचाहँदै विवाह भइदियो।’
आफूलाई सम्हाल्ने श्रीमती पाएर खुसी थिए रामप्रसाद पनि। बुबाआमासहित श्रीमतीको माया पाइरहेका थिए। तर उनको खुसी धेरै समय टिक्न सकेन।
उनलाई माया गर्ने बुबाआमाले संसार त्यागे। पालैपालो गरेर। बुबाआमाको मृत्युपछि तीन जना दाजुभाइबीचमा फाटो आयो।
काठमाडौंमा रहेको घर कान्छा भाइले हड्प्यो। दुई दाइलाई लाखापाखा लगाएर कान्छा भाइले घर आफ्नो नाममा बनायो।
माइलो भाइ अहिले पनि काभे्रतिरै छन्। उनलाई कान्छाले काठमाडौं पस्नै दिँदैनन्। र, जेठा रामप्रसादसँग भाइको कुनै सम्बन्ध नै छैन।
बुबाआमाले तीन जना छोरालाई दिएको घर कान्छा भाइले हड्प्न खोजेपछि रामप्रसादले मुद्धा लडे। तर जित्न सकेनन्।
भाइका ससुरालीहरू उच्च पदमा थिए। त्यसैले पनि आफूले मुद्धा जित्न नसकेको उनको गुनासो छ।
‘भाइसँग पैसा थियो। छोराछोरी थियो। त्यसैले भाइले मुद्धा जित्यो’, रामप्रसादले भने, ‘मेरो बुबाको पनि दाजुभाइहरूसँग राम्रो सम्बन्ध थिएन। हाम्रो पनि भएन।’
एक वर्षसम्म चलेको अंश भागवन्डाको मुद्धा हारेपछि विरक्तिएका थिए रामप्रसाद।
तर धन्न! उनलाई सम्हाल्ने बसन्ती थिइन् साथमा।
000
सम्पतिको लागि आफ्नै भाइले धोका दिएपछि हुमागाईं दम्पतिले पशुपतिमा ‘मयूर’को व्यापार गर्न थाले। त्यतिबेला उनीहरूले राजधानीमै एउटा सानो डेरा लिएका थिए।
दिनभरि मयूर बेचेको पैसाले नै छाक टरिरहेको थियो दम्पतिको। तर व्यापार नभएको दिन भने भोकै बस्नुपथ्यो।
‘व्यापार हुँदा त बुढाबुढीले खान पाउँथ्यौं तर पैसा नहुँदा भोकै बस्नुपथ्यो’, बिएल नेपाली सेवासँग उनले भने, ‘तर हामीले हार मानेनौं।’
काम गरेर जसोतसो दिन कटाइरहेका थिए हुमागाईं दम्पतीले। तर २०७६ सालमा कोरोना भाइरस फैलिन थाल्यो। त्यसपछि उनीहरूको व्यापार नै डामाडोल भयो।
सडकमा चहलपहल पात्लिदैं थियो। उनीहरूको कामकाज पनि ठप्प भयो। कोठाभाडा तिर्ने समेत पैसा भएन।
त्यसपछि घरभेटीले उनीहरूलाई आश्रममा बस्न सुझाए। तर आश्रमबारे जानकार थिएनन् दम्पती। त्यसपछि घरबेटीले नै उनीहरूलाई ‘पशुपति वृद्धाश्रम’मा राखिदिए।
‘कोरोनाको त्रास फैलिएको थियो। व्यापार पनि हुनै छोड्यो। कोठाभाडा तिर्न सकेनौं। घरबेटीले हामीलाई आश्रममा राख्न लगाउनुभयो’, उनी सम्झन्छन्, ‘त्यसपछि हामी बुढाबुढी आश्रममा बस्न थाल्यौं।’
आश्रम बस्दा कुनै समस्या थिएन उनीहरूलाई। खान र बस्न दिइरहेको थियो। तर बसन्तीलाई भने बिरामीले चाप्न थाल्यो।
उनी दमको बिरामी भइन्। आश्रममा थला परिन्। बसन्ती थलिएपछि श्रीमतीलाई लिएर ‘वीर अस्पताल’ पुगे रामप्रसाद।
केही दिन अस्पतालमा बिताएपछि उनीहरू फेरि पुरानै डेरामा फर्किए।
‘श्रीमतीको बिरामी चर्को थियो। बसन्तीलाई अक्सिजन चाहिने भयो। तर आश्रममा अक्सिजनसहित बस्न नदिने सम्झिएर हामी त्यहाँ गएनौं’, उनले भने, ‘हामीले ३–४ वर्ष सँगै पशुपति आश्रममा बितायौं।’
आश्रमबाट निस्किएर पुरानै डेरामा गएपनि उनीहरूसित पैसा थिएन। त्यहीपनि घरबेटी बस्न दिइन्। किनकि हुमागाईं दम्पतीलाई इमान्दार र असल सम्झन्थे घरबेटीले।
‘घरबेटीको घरमा हामी धेरै समय बसेका थियौं। पैसा हुँदा सधैं चाँड्डै तिथ्र्यौ। हामीले दायाँबायाँ गरेनौं। त्यसैले घरबेटीले हामीलाई राम्रो सोच्नुहुन्थ्यो। पछि हामी फर्किएर केही समय बसेपनि केही बोल्नुभएन’, घरबेटीले उनीहरूलाई लागि गरेका सानो सहयोग थियो त्यो।
बिना पैसा डेरा लिएर बसिरहेका थिए दम्पती। तर फेरि बसन्तीलाई बिरामीले चाप्यो।
बसन्तीलाई थला परेको देखे घरबेटीले पनि उनीलाई गोकर्णेको ‘नगर अस्पताल’ जान सुझायो।
त्यसपछि रामप्रसाद बिरामी श्रीमतीलाई लिएर नगर अस्पताल गए। त्यहीँ अस्पतालमा उनीहरूले महिनौं दिन कटाए। बिनै पैसा।
‘अस्पतालमा हामीलाई केही कुराको पैसा लागने। सबै सित्तैमा भयो। तर सधैं अस्पतालको भरमा बस्न त सकिँदैन थियो नि’, उनले भने, ‘अस्पताल बस्दापनि मनमा पीर थियो।’
रामप्रसाद–बसन्तीको आश्रममा भेट
अस्पतालमा बस्न थालेको महिनौं दिन बितिसकेको थियो। उनलाई अस्पतालका कर्मचारीले पनि श्रीमतीलाई लिएर घर फर्किन भनिसकेको थियो।
तर कहाँ जाने? कतै थिएन जाने ठाउँ। उनी अन्योलमा थिए, अब बिरामी श्रीमतीलाई कहाँ लैजाने भनेर!
रामप्रसादको साथमा न पैसा थियो न त बस्ने ठाउँ नै। तर एकदिन उनले कसैको मुखबाट ‘मानव सेवा आश्रम’को बारेमा थाहा पाए।
सबथोकको सुविधा भएको कुरा पनि बुझे। त्यसपछि उनले मानव आश्रम जाने योजना बनाए। र, आफूले बुनेको योजनालाई उनले श्रीमतीलाई सुनाए।
तर एक्लै आश्रम गए। श्रीमतीको साथ छोडेर।
‘मैले मानव आश्रमबारे सुनेको थिएँ। मेरो लागि त्यही एउटा सही ठाउँ हो जस्तो लाग्यो। त्यसैले आश्रमको खोजी गरेर रानीवन शाखामा गएँ’, उनले भने, ‘श्रीमती अस्पतालमै थिन्। उसलाई केही समस्या थिएन भनेर म एक्लै आश्रम गएँ।’
रामप्रसाद आश्रम गइसकेपछि अस्पतालमा एक्लै छट्पटाउन थालिन् बसन्ती। उनलाई श्रीमानको सम्झनाले सताउन थाल्यो।
उनलाई श्रीमानको साथमा बस्नुथियो। अस्पताल आउन छाडेका श्रीमान कहाँ गएका छन् भनेर राम्रैसित बुझेकी थिइन् बसन्तीले पनि। त्यसैले उनले आफूपनि मानव सेवा बस्न चाहेको बताइन्।
बसन्तीको कुरा सुनेपछि उनलाई अस्पतालकै सहकार्यमा मानव सेवा आश्रम रानीवन शाखामै पठाइयो।
आश्रममा रामप्रसाद र बसन्तीको पाँच दिनपछि भेट भयो।
‘मैले श्रीमतीलाई भनेको थिएँ कि म मानव सेवा आश्रम रानीवनमा हुन्छु भनेर। त्यसैले उनी सिधैं यहाँ आइपुगेकी हुन्’, उनी हाँस्दै भन्छन्, ‘छोडेर भागेको त कहाँ हो र!’
हुमागाईं दम्पती आश्रममा बस्न थालेको करिब ६ महिना भइसकेको छ। कहिलेकाहीँ उनीहरूको आश्रममा नै भनाभन पनि हुन्छ।
तर एकअर्काको साथमा नहुँदा छट्पटिन् थाल्छन्। सायदै, श्रीमान–श्रीमतीका सम्बन्ध नै यस्तो हुन्छ।
रामप्रसाद–बसन्तीको विवाह भइसकेको तीन दशक बढी भयो। तर अहिलेसम्म उनीहरूको कुनै सन्तान छैन।
तर दुबैजनालाई छोराछोरी नभएकोमा कुनै पछुतो छैन। ‘म उसलाई माया गर्छु। उसले मलाई माया गर्छ। योबाहेक अरू के पो चाहिन्छ र?’, श्रीमतीको प्रशंसा गर्दै उनले भने, ‘मैले अघिल्लो जन्ममा धेरै राम्रो काम गरेर होला बसन्तीजस्ती श्रीमती पाएँ। जसले मेरो स्याहारमा कुनै अभाव गरिनन्। म धेरै खुसी छु।’
भलै, रामप्रसादलाई छोराछोरी नभएकोमा कुनै पछुतो छैन। तर उनलाई एउटा कुराको थकथकी भने अहिलेपनि हुन्छ, धेरै पढेको भए भाइहरूजस्तो प्रगति गर्न सक्थें कि!
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया