गाँजाकाे पहिलाे एक ‘पप’ तान्दा आकाशमा उडे-उडेजस्तै लाग्थ्याे प्रेक्षालाई। चुराेटकाे एक सर्काेमा रमाइरहेकी उनी गाँजाकाे स्वादमा घुलिदैं गइन्।
पहिलाेपटक गाँजाकाे टेस्ट लिएकी उनलाई गाँजाले छुट्टै दुनियाँमा पुर्याइदिए जस्ताे लाग्थ्याे उनलाई।
साथीहरूकाे संगतले साेझी प्रेक्षाले चुराेट तान्न सिकेकी थिइन्। उनै साथीहरूले प्रेक्षालाई गाँजाकाे धुँवा उडाउन पनि सिकाए।
‘साथीहरूले चुरोट तानेको देख्दा मलाई रमाइलो लाग्थ्यो। मलाई पनि त्यसैगरी चुरोट तान्न रहर लाग्यो। त्यही रहरले मलाई चुरोटे बनायो’, उनले सुनाइन्।
१८ वर्षको उमेरदेखि चुरोट खान थालेकी प्रेक्षाले गाँजाबाट ट्याबलेटमा उक्लिइन्। अनि त्यही ट्याबलेटबाट उनी ब्राउन सुगरसम्म पुगिन्।
‘ए–बी–सी जस्तो रहिछ यो नशा। एकपछि अर्को खाँदै जान मन लागिहाल्ने’, उनी भन्छिन्, ‘म विस्तारै ट्याबलेट हुँदै ब्राउन सुगरकाे पनि एडिक्ट भएँ।’
चुरोटबाट ब्राउन–सुगरकाे सेवन गर्न थालेकी उनले पढाइलाई बीचमै छाडिन्। उनकाे किताबभन्दा धेरै चासाे ड्रग्समा हुन्थ्यो, ‘एक डाेज कसरी पुर्याउने?’
लागुऔषधको कुलतमा फसेकी उनी एक डाेजकाे लागि दिनभरि भाैतारिरहन्थिन्। घरमा बाआमासँग पैसा माग्थिन्। चाेरी गर्थिन्। जसाेतसाे डाेज पुर्याएकै हुन्थिन्।
ब्राउन सुगरको एडिक्शनमा फसेकी उनी डोजको लागि बाआमासँग पैसा माग्थिन्। पैसा घरमा झगडा गर्थिन्, कलह मच्चाउँथिन्।
‘मेरो शरीरले नशा मागिरहन्थ्यो। त्यो खान नपाउँदा शरीर पूरै काँप्थ्याे’, उनले भनिन्, ‘पैसाको लागि घरमा झगडा गरें। चोरी पनि गरें।’
घरकी जेठी छाेरी थिइन् प्रेक्षा। उनीमुनिका तीन जना बहिनीहरू थिए। परिवारकाे जिम्मेवारी सम्हाल्नुकाे सट्टा ड्रग्सको ‘ट्रिट’मा हुन्थिन्।
सधैं ‘झ्याप’मा हुने छोरीको व्यवहार देखेर परिवार निराश हुन्थे। कयाैं पटक राेए।
तर परिवारले उनकाे लागि झारेकाे त्याे आँसु कहिल्यै देखिनन् प्रेक्षाले। उनको आँखामा त नशाको पट्टी बाँधिएको थियो।
‘घरकी जेठी छोरी मैले परिवारको जिम्मेवारी उठाउनुपथ्यो तर बिग्रिएकी थिएँ। परिवार सम्हाल्नुपर्नेमा उल्टै बिग्रिएर हिडेकी थिएँ’, उनले भनिन्, ‘मेरो परिवारलाई मैले धेरै दुख दिएँ। अहिले सम्झदा नरमाइलो लाग्छ।’
लागुऔषधलाई जीन्दगी बनाइसकेकी उनी ब्राउनसुगरमा मात्रै रहिनन्। उनले ‘इन्जेक्शन’को प्रयोग पनि गरिन्।
शरीरको विभिन्न अंगहरूमा उनले सुइँले घोपिन्। सुइँको डोजले उनलाई चरम आनन्द दियो। उनले एक दशक त सुइँबाटै डोज लिइन्।
‘सुइँबाट छुट्टै ट्रिट पाएँ। त्यसैमा रमाउन थालें’, बिएल नेपाली सेवासँग उनले भनिन्, ‘चुरोटबाट कहिले सुइँसम्म पुगेँ। पत्तै पाइनँ।’
000
धरानमा जन्मिएकी उनी काठमाडाैं छिरेपछि झनै कुलतमा फँस्दै गइन्। कुलतकाे त्याे दलदलबाट निकाल्नका लागि प्रेक्षाका परिवारले कयौं प्रयत्न गरे।
बहिनीहरूले समेत सम्झाए। दुई पटकसम्म सुधार केन्द्रमा राखिदिए।
तरपनि सुध्रिन सकिनन्–प्रेक्षा।
२२ वर्षको उमेरमा पहिलोपटक उनलाई कुपण्डोलको एक सुधार केन्द्रमा राखियो।
दोस्रो उनी पटक चक्रपथको एक रिहाबमा बसिन्।
सुधार गृह बसुन्जेल लागुऔषध नखाइकन बसेकी उनी घर फर्किएपछि फेरि त्यही लयमै फर्किइन्। ड्रग्सबाट टाढा बस्नै सकिनन् उनी।
दुई पटक सुधार केन्द्र बसेकी छोरी नसुध्रिएपछि तेस्राे पटक आमा आफैंले प्रेक्षालाई २०७० सालमा ‘दृष्टि नेपाल’ सुधार गृहमा पुर्याइन्।
आफूलाई समातेर हिडिरहेकी आमाको निन्याउरो अनुहार हेरिन्। र, आफैंलाई मनमनै धिकार्दै सोच्न थालिन्, ‘म किन मेरी आमालाई दुख दिँदैछु...?’
...त्यसपछि सुधारको बाटो
घरकी जेठी छाेरी प्रेक्षालाई बहिनीहरूले सधैं कुलतकाे बाटाे त्याग्न कयाैं पटक सुझाए।
दुई पटक बहिनीहरूले उनलाई सुधार गृहमा पुर्याए।
तेस्रो पटक आमासँग रिहाब पुग्दा आफूले परिवारलाई गरेको व्यवहार झलझली सम्झिएकी उनले आफैंसँग वाचा गरिन्, ‘मैले धेरै परिवारलाई दुख दिएँ तर अब सुध्रिनुपर्छ।’
ड्रग्सकाे दलदलमा फसिसकेकी उनले त्यहाँबाट निस्कन धेरै संघर्ष गरिन्। सुधार गृहमा बसेकी उनी एक डोजको लागि तड्पिरहिन्। तर सुध्रिने अठाेट कहिल्यै छाेडिनन्।
‘शरीर थरथरी काँप्यो, जीउभरि किरा हिँडेको जस्तो महसुस भयो। घुँडामा करेन्ट लागेको जस्तो हुन्थ्यो। धेरै गाह्राे भएकाे थियाे’, ड्रग्सको त्यो सिग्नेस सम्झिएर अझै झस्किन्छिन् प्रेक्षा।
सुधार केन्द्र बसेको एक सातासम्म ड्रग्स नपाएर छटपटिरहेकी उनी विस्तारै रिकभर हुँदै गइन्।
लागुऔषधको सेवनबिना नै बाँच्न सक्ने भएपछि उनी रिहाबकाे सेवामा पनि गाँसिदैं गइन्। कुलतमा फसेकाहरूलाई उनै प्रेक्षाले सुधारकाे बाटाे देखाउन थालिन्।
‘म कुलतबाट निस्किएँ तर यो क्षेत्र छोड्न सकिनँ। त्यसपछि मैले यही क्षेत्रमा काम गर्ने निधो गरें’, उनले भनिन्, ‘म त त्यो दलदलबाट निस्किएँ तर मजस्तै धेरै दिदी–बहिनीहरूलाई कुलतबाट निकाल्न चाहन्छु।’
नयाँ जीवनको सुरुआत...
तीन वर्ष दृष्टी नेपालमा बसेर घर फर्किएकी उनी खुसी थिइन्। उनीभन्दा धेरै खुसी थिए राई परिवार। ‘म रिकभर हुँदा सबैभन्दा धेरै मेरो परिवार नै खुसी थिएँ’, उनले सम्झिइन्।
डेढ दशक लागुऔषध खाएर रिहाब बसेकी उनले बुझिसकेकी थिइन्,‘एडिक्टहरूलाई कसरी सुधारको बाटो देखाउने?’ त्यसैले उनी ‘नर्क’को बाटो रोजेका लागुऔषध प्रयोगकर्ताहरूलाई उकास्न चाहन्थिन्।
त्यसैले त उनी काठमाडौंको आरुबारीस्थित ‘सोबर रिकभरी वुमन्स ड्रग्स–एल्कोहल ट्रीटमेन्ट एण्ड रिहाबीलिटेशन सेन्टर’मा आवद्ध भइन्।
‘सोवर रिकभरिबारे मैले सुनिरहेकी थिएँ। त्यहीँ संस्थामा मैले काम गर्ने सोच बनाएँ अनि त्यही काम गर्न पनि सुरु गरें’, उनले सुनाइन्।
कुनैबेला लागुऔषधलाई जीवन बाँच्ने ‘सूत्र’ बनाएकी उनी सुधार केन्द्रमा जाेडिएपछि नयाँ जीवन पाएकाे बताउँछिन्।
सोबर रिकभरिमा जाेडिएपछि उनकाे दिनचर्या पनि फेरिएकाे छ।
कुनै समय रिकभरीका लागि रिहाबमा बसेकी उनी अहिले कुलतमा फसेका महिलाहरूकाे सेवामा खटिरहेकी छन्।
८ वर्षअघि कर्मचारी बनेर सुधार गृह गएकी उनी अहिले त्यही संस्थाकी इञ्जार्ज बनेकी छिन्। उनी भन्छिन्, ‘याे कामले मेराे जीवन परिवर्तन भएकाे छ। सकारात्मक भएकी छु।’
लागुऔषधको प्रयोगबाट एक दशकदेखि टाढिएकी प्रेक्षा महिलाकाे मात्र हाेइन बालिकाहरूको संरक्षणमा पनि जुटिरहेकी छन्।
करिब सय जना महिला–बालिकाहरूका लागि दिनरात घाेटिरहेकी उनी भन्छिन्, ‘यो क्षेत्रमा काम गर्न धेरै संघर्ष गर्नुपर्छ। लागुऔषध प्रयोगकर्ता महिलाहरूको व्यवहारमा सुधार्नु ल्याउनु चूनौतीपूर्ण छ।’
000
एक दशकदेखि ड्रग्समा फसेका महिलाहरूलाई उकास्न लागिपरिरहेकी उनी सडक बालिकाहरूको जीवन संघर्षपूर्ण रहेको बताउँछिन्।
उनका अनुसार सडकबाट उठाइएका बालिकाहरूले विभिन्न यातनाहरू भाेगेका हुन्छन्।
‘बालकभन्दा पनि बालिकाहरूका लागि सडकमा बस्नु धेरै चूनौतीपूर्ण छ। उनीहरूले मानसिक र शारीरिक यातना भोगेको हुन्छन्। त्यसैले हामी अभिभावकहरूले आफ्नो छोराछोरीको व्यवहारलाई निल्याउनुपर्छ’, परिवारकाे कारण बालबालिकाहरू सडकसम्म पुग्ने गरेकाे उनले बताइन्।
गरिबीको कारण दुर्गम गाउँहरूबाट काम गर्न बालिकाहरू सहर पस्छन् तर सडकमा पुग्छन्। अनि मानसिक र शारीरिक यातना भाेग्न बाध्य हुन्छन्। साेहीकारण सडकबाट उद्धार गरेर ल्याइएका बालिकाहरूसँग काउन्सेलिङ गर्न समस्या रहेको उनले सुनाइन्।
प्रेक्षा भन्छिन्, ‘सुरुमा संस्था ल्याइएका बालिकाहरूले सत्य बोल्दैनन्, हामीसँग खुल्न चाहदैनन् तर विस्तारै काउन्सेलिङ गर्न थालेपछि सत्य बोल्छन्। त्यहीअनुसार बालिकाहरूको परिवार खोज्ने काम हुन्छ।’
सडकबाट उठाइएका बालिकाहरूको संरक्षणमा मात्रै सीमित छैनन् प्रेक्षा। परिवारसँग पुनः मिलन पनि गराउँछिन्।
एक छोरीकी आमा समेत रहेकी उनी भन्छिन्, ‘एडिक्शनमा लागेर विवाह गरें। डिर्भोस पनि भयो। एउटी छोरी छिन्। ठुली भइसकिन् तर बालबालिकाहरू देख्दा धेरै माया लाग्छ।’
कुनैबेला ड्रग्सलाई जीन्दगी सम्झिएकी उनी अहिले आत्मनिर्भर बनेकी छिन्। परिवारसँग पनि नजिक छिन्। उनी भन्छिन्, ‘म कुलतमा फस्दा मेरो परिवार मसँग डराउनुहुन्थ्यो तर अहिले उहाँहरूको प्यारी बनेकी छु। यो देख्दा खुसी लाग्छ।’
एकदशकअघि नशालाई बाँच्ने आधार बनाएकी प्रेक्षा अब कुलतमा फसेका महिलाहरूलाई नयाँ जीवन दिन चाहन्छिन्।
‘म त यो दलदलबाट निस्किएँ तर मजस्तै धेरै दिदीबहिनीहरू छन्। जसलाई म सुधार्न चाहन्छु’, उनकाे जीवनकाे त्यही लक्ष्य छ।