थाहा थिएन, चुराेटका ती सुरुवाती सर्काहरू कतिबेला एकैदिन भएपनि बाँच्ने आदत भइसकेका थिए। तर त्याेबेला त्यसमा अर्काे ‘नशा’ पनि मिसिइसकेकाे थियाे। ‘नशा’काे लतले भित्रभित्रै निभाउन लागेकाे त्यो ‘ज्योति’ आज कुलतकाे अँध्याराेबाट धेरैलाई जीवनकाे बाटाे देखाउने उज्यालाे भइदिएकाे छ।
करिब २०५८ सालतिर ‘ग्याङस्टार’ को सहर थियो, काठमाडौं। टोल-टोलमा ‘टोले ग्याङ’हरू आपसमा भिड्थे। ‘ग्याङ फाइट’ले काठमाडौंका हरेक गल्लीहरू अशान्त थिए।
कसैलाई मर्नेगरी कुट्न सकियो भने त ऊ त्यहाँको ‘दादा’ हुन्थ्याे। अनि ‘चुराेट’ तान्नेहरू आफूलाई हिरै ठान्थे। ‘दादा’काे भेष अनि चुरोट। त्याेबेलाकाे फेसनजस्तै थियो।
१३ वर्षका ज्योति लामाले पनि ठान्थे- हो, हिराे त तिनीहरू नै हुन्।
‘टाेले गुन्डा’, ‘गुन्डा नाइके’ ‘डन’ र ‘चुल्ठमुन्द्रे’काे भाष्य त्यहीबेला निर्माण भयो।
आफ्नै सर्कलका आफूभन्दा ‘सिनियर’ दाइहरूले मान्छेलाई कुटेको देख्दा ती दाइहरूलाई फिल्मको ‘हिरो’सँग तुलना गर्थे ज्योति। र आफू पनि त्यसैगरी ‘हिरो’ बनेको सम्झिन्थे। टोल–छिमेकका दाइहरूले ‘बुङ्बुङ्ती’ चुरोट उडाएकाे देख्दा त उनलाई हिरै बन्न मन लाग्थ्याे।
तर त्यसका लागि चुरोट तान्नैपर्याे!
हिराेपन्तीकाे त्याे सपना पछ्याउन उनले चुराेटका सर्काहरू तान्न थाले।
कक्षा ६ मा पढ्थे। पढाइ त ‘गूल’ भैदियो। ज्याेति त्याेबेला त चुराेटकै ‘एडिक्ट’ भइसकेका थिए।
र, त्यही चुरोटकाे त्यही धुँवा बटारिँदै बटारिँदै अब ‘नशा’ हान्ने भइसकेकाे थियाे।
अध्ययनशील विद्यार्थीका लागि ‘फलामे ढोका’ ‘एसएलसी’ थियाे। त्योबेला उनका लागि ‘चुरोट’ नै ‘आइरन गेट’ बन्यो।
‘त्यो एक चुरोटको सर्को कहिलेदेखि कुलत बन्यो मैले थाहै पाइनँ’, उनले भने।
काभ्रेका ज्योति सानैदेखि जिज्ञासु थिए। नयाँ कुरा सिक्ने र जान्ने उनको सबैभन्दा ठूलाे चाहना हुन्थ्याे। आफूले नगरेको काम अरूले गरेको देख्दा उनलाई पनि त्यो गरेरै छाड्नुपर्थ्याे। त्यही मानसिकताकाे कारण उनी साथीभाइहरूको संगतबाट कुलतमा फसे।
घरबाट स्कुल जाने बहाना बनाउँदै उनी साथीकाे ग्याङ बनाएर घुम्न जान्थे र दिनभरि ‘आवारागिरी’ गर्थे। घरबाट स्कुल गएकाे भन्दै छलेर बाहिर-बाहिरै रमाउन थालेका ज्याेतिकाे दिनचर्या विस्तारै बदलिँदै गयो।
घरपरिवारसँग टाढिँदै गएका उनी कुलतमा फसेका साथीहरूको नजिक भए। कुलतमा डुब्न थालेका उनले पैसाकै लागि घर झगडा गर्न थाले। अभिभावकलाई ठग्दै लगेको पैसाले उनले लागुऔषध सेवन गर्थे। र दिनभरि ‘झ्याप’ भएर रमाउँथे।
दिनको पन्ध्र सयदेखि दुई हजार रुपैयाँसम्म लागुऔषधमा खर्चिने उनी ‘ड्रग्स’ को नशा लागेपछि खुसी हुन्थे। त्याे समय उनलाई न कसैकाे माया लाग्थ्याे, न त वास्ता नै। उनलाई चाहिन्थ्याे त मात्र त्याे नशा।
१७ वर्षसम्म कुलतको आहालमा डुबेका ज्योतिले कुनै काम गरेनन्। किनकी उनीसँग काम गर्ने समय नै थिएन। उनी एक दिनमात्रै बाँच्नका लागि तड्पिन्थे। दिनरात उनी कसरी आफ्नो डोज पूरा गर्ने भनेर सोचिरहन्थे। त्यही सोचले उनलाई काम गर्न दिएन।
‘साधारण मानिसहरू बाँच्नका लागि काम गर्छन्, पैसा कमाउँछन् तर कुलतमा फसेका हामीहरू एकदिनको लागि मात्रै बाँच्छौँ’, उनी सुनाउँछन्, ‘दिनरात कसरी ड्रग्स जुटाउने भनेर सोचिरहन्छौँ, त्यसैले काम गर्ने फुर्सदै भएन।’
दिन पनि किन्नुपर्थ्याे। रातलाई पनि किन्नैपर्ने। कुलतकाे नशा थियाे त्याे।
डोज पुगेन भने दिनभरि तड्पेरै बित्थ्याे। अर्काे डोज नहुँदा त्याे ‘सिकनेस’ले रातमा निदाउनै दिन्नथ्याे।
उनले आफ्नो आवश्यकता पूर्ति गर्न त्यस्ता धेरै काम गरे, जाे गैरकानुनी पनि थिए।
कुलतमा फसेकाहरूले गलत काम गरेपनि त्यो अवस्थामा सही लाग्ने उनको अनुभव छ। ‘ड्रग्सको नशा यति धेरै हुन्छ कि त्यसले हामीलाई जे गर्न पनि बाध्य बनाउँछ। त्यतिबेला कसैले गलत काम गर्नका लागि रोक्न सक्दैन’, विगत सम्झिँदै उनले भने।
...त्यसपछि फेरिएका ज्योति
घरका माइला छोराको अवस्था देखेर दु:खी भएका परिवारले उनलाई सुधार केन्द्रमा पनि राखे।
२०६१ सालमा उनी ‘रिच वन’ सुधार गृहमा बसे। तर पनि उनी सुध्रिन सकेनन्। जसको कारण थियो, उनको सोच।
‘२०६० सालमा एसएलसी दिएँ र ६१ सालमा सुधार गृह बसेँ तर पनि खान छोडिनँ। किनकी त्योबेला ड्रग्स मेरो आवश्यकता बनिसकेको थियो’, उनले सुनाए। तीन महिना रिच वनमा बसेर घर फर्किएका उनी तीन पटक सुधार गृह बसे तर पनि सुध्रिन सकेनन्।
कुलतमा फसेका उनलाई आफूले आफ्नो जीवन बिगारिरहेको कुरा थाहा थियो, तर उनी आफ्नो अवस्था देखेर लाचार थिए। उनका लागि पहिलो प्राथमिकता भनेकै लागुऔषध थियो।
‘मलाई परिवारको धेरै माया लाग्थ्यो तर ड्रग्स मेरो श्वास बनिसकेको थियो’, नशामा रहँदाको अवस्था खुलाउँदै उनले भने, ‘मैले आफैँलाई त माया गर्दिनँ थिएँ, परिवार त झन दोस्रो भयो नि!’
झण्डै दुई दशक कुलतको बाटोमा हिँडेका उनले आत्महत्याको सोच पनि बनाएका थिए। जब उनी नशाका लागि पैसा जुटाउन सक्दैन थिए, तब उनी जिन्दगी नै सक्काउन खोज्थे तर सकेनन्।
मनमा यस्ताे पनि आउँथ्याे कि, मरेपछि ड्रग्स लिन पाइन्न हाेला!
दिनरात नशा गरेर थाकेका उनलाई एकदिन अचानक सुध्रिने सोच आयो। र उनले आफैँसँग कुलतको बाटो त्यागेर साधारण जीवन बिताउने निधाे गरे।
र, गोकर्णमा रहेको ‘विस्डम फाउण्डेशन’ मा बस्न थाले।
‘म शारिरीक रुपमा कमजोर हुँदै गएको थिएँ। त्यसैले नर्मल लाइफ जिउने आफैँसँग बाचा गरेँ’, पाँच वर्ष अगाडिको कुरा सुनाउँदै उनले भने, ‘अनि मैले केही सेवन गरिनँ।’ सुधार गृहमा बसेको ६ महिनामै उनी ‘रिकभर’ भएर रमाउन सिके। ‘मैले हाँस्न बिर्सिएको थिएँ, फेरि हाँस्न सिकेँ’, लामाले सुनाए।
पाँच वर्षदेखि विस्डम बस्दै आइरहेका ज्योति अहिले त्यही संस्थासँग आवद्ध भएका छन्। अरू तीन जना साथीहरूसँग मिलेर त्यही सुधार गृह चलाइरहेका छन्। ‘म यो संस्थाबाट उठेको हुँ। त्यसैले अहिले यहीँ बसेर कुलतमा फसेकाहरूलाई उकास्ने काम गरिरहेको छु’, उनले सुनाए।
विगतका दिनमा कुलतमा फसेर घरपरिवारबाट टाढिएका उनी बाआमाको नजिक भएका छन्। उनको अहिलेको अवस्था देखेर बाआमा निकै खुसी छन्। विगतका समयमा आफ्नो कारण समाजको अपहेलना सहन बाध्य भएका परिवारलाई अबदेखि दुख नदिने उनको अठोट छ।
‘नेपालको समाज भद्रगोल छ। जो समस्यामा पर्छ, उसैलाई दुख दिन्छ। जब म कुलतमा थिएँ, त्योबेला मलाई र मेरो परिवारलाई हेर्ने समाजको दृष्टिकाेण फरक थियो’, गुनासाे पनि छ उनीसँग, ‘हामीलाई नराम्रो सोच्थे। तर उनीहरूले याे कुरा कहिल्यै बुझेनन् कि एकजना व्यक्ति बिग्रिनु भनेको परिवार बिग्रिनु हो। परिवार बिग्रिनु भनेको समाज बिग्रिनु हो र एउटा समाज बिग्रिनुको भनेको देश बिग्रिनु हो। कहिले पनि अरूको दुखमा रमाउनु हुँदैन। किनकी त्यो समस्या कुनबेला आफैँलाई पर्नसक्छ।’
अहिले याे सुधार गृहमा १५ देखि ७० वर्षसम्मका मानिसहरू आश्रित छन्। जसको भविष्य उकास्नका लागि उनी खटिरहेका छन्। ‘कुलतमा फसेर धेरै जनाको परिवार नष्ट भएको छ। त्यसैले हामी लागुऔषध प्रयोगकताहरूलाई उकास्ने बाटोमा छौँ’, उनी भन्छन्।
विगतलाई फर्केर हेर्दा झस्किने उनी अहिलेको जीवन देखेर खुसी छन्। तर कहिलेकाहीँ उनी आफूले गुमाएको समय सम्झिएर दुखी हुने गर्छन्। ‘सबै जनाको पास्ट हुन्छ र मेरो पनि थियो। मलाई मेरो पास्टसँग कुनै गुनासो छैन तर समय गुम्यो’, उनी भन्छन्, ‘तर म विगतका दिनमा कुलतमा नफसेको भएँ अहिले मभित्र यतिधेरै आत्मविश्वास बढ्दैन थियो।’
कास, त्यो चुरोट नतानेको भए...
लागुऔषध प्रयोगकर्तालाई लागुऔषधको लत छुट्याउन जति गाह्रो हुन्छ, त्यति नै चुनौतीपूर्ण हुन्छ, नयाँ जीवन बाँच्न। त्यही चुनौतीसँग गुज्रिएका थिए, ज्योति पनि। १७ वर्षसम्म कुलतमा फसेर उठेका उनलाई हिजोआज एउटै कुराको पश्चाताप छ, ‘कास त्यो एक चुरोटको सर्को नतान्देको भए...।’
पहिलोपटक ‘मःम’ पसलभित्र तानेको चुरोट उनको लागि कहिले गाँजा, ट्याबलेट, ब्राउन सुगर हुँदै इन्जेक्सनसम्मै पुगेकाे उनलाई पत्तै भएन। ‘त्यो चुरोट यति छिटो ड्रग्समा परिवर्तन भयो कि मैले नै चाल पाइनँ’, उनले तीन दशकअघिको कुरा खोले।
साथीभाइको संगतमा लागेर कुलतमा फसेर समय खर्चिएका उनी कुलतको बाटोलाई लक्ष्य बनाएका युवाहरूलाई भन्न चाहन्छन्, ‘कुलतमा लागेर कोही हिरो बन्दैन। बरू, जिरो भइन्छ। अहिले हामी त्यसैको ऐना बनेका छौं।’
१७ वर्षसम्म लागुऔषध प्रयोगकता बनेर जीवन बिगारेका उनी अहिले समाजका लागि प्रेरणाको स्रोत बनेका छन्। ‘लागुऔषधविरूद्ध’ को विभिन्न कार्यक्रम चलाउँदै हिँड्छन् र कुलतमा फसेकाहरूलाई उत्प्रेरित गर्छन्। त्यसैले त उनी अहिले चार पुस्तादेखि चल्दै आएको ‘विस्डम फाउण्डेशन’ का ‘कन्सुलर’ भएर काम गरिरहेका छन्।
‘लागुऔषधमा फसेकाहरूलाई नर्मल जीवनमा ल्याउनु सजिलो कुरा पटक्कै होइन, तर हामी कोसिस गछौँ। हामी विगतमा त्यही अवस्था थियौँ, त्यसैले लागुऔषध प्रयोगकर्ताहरूको कसरी हेरचाह गर्नुपर्छ भनेर पनि बुझेका छ’, उनले भने, ‘अहिले संस्थामा शिक्षकदेखि डाक्टरसम्मले उपचार लिइरहेका छन् तर कुलतबाट छुटकारा पाउने कि त्यसैलाई जिन्दगी बनाउने त्यो आफूमा भर पर्छ।’
सुधार गृहमा ६ महिना बस्दैमा कुलतमा फसेकाहरू सुध्रिन नसक्ने बताउँदै उनी भन्छन्, ‘हुन त म पनि यही संस्थाबाट उठेको हुँ। अहिलेसम्म कति जना निको भएर फर्किए, त्यसको कुनै लेखाजोखा छैन तर मानिसमा सुध्रिने अठोट हुनु जरुरी छ।’
६ महिनाकाे उपचारले कुलतकाे लतबाट उठेका उनी अहिले लागुऔषध प्रयोगकर्ताको स्याहारमा दिनरात नभनी जुटिरहेका छन्।
‘मैले मेरो जीवनमा कोरेका ती अक्षरहरू यदि कसैको लागि मलम बन्छ भने मेरा ती अक्षरहरूलाई आवाज दिनेछ’, लागुऔषधकर्ताहरूलाई लक्षित गरेर ज्याेतिले लेखेका शब्दहरू।
सरकारको छैन चासो
नेपालमा लागुऔषध एउटा जटिल विषय भएपनि सरकारको कुनै चासो नभएको उनको गुनासो छ। सरकारले लागुऔषधविरुद्ध आवाज उठाउँदैन। सोही कारण पनि लागुऔषध प्रयोगकर्ताहरूको बिगबिगी बढेको ज्योतिको बुझाइ छ। उनका अनुसार न सरकार यसविरुद्ध आवाज नै उठाउँछ, न त लागुऔषधमा चासो नै राख्छ।
‘मलाई सरकारको लापारवाहीको कारण लागुऔषध प्रयोगकर्ताहरूको संख्या बढेको जस्तो लाग्छ, सरकारले यो विषयमा वास्ता गर्थ्याे भने यसले गम्भीर रुप लिन सक्दैन थियो’, सरकारसँग गुनासो पोख्दै उनले भने।
युवाहरूलाई कुलतमा फस्न नदिनका लागि सरकारले विभिन्न कार्यक्रमहरूको सञ्चालन गर्नुपर्ने र स्कुलको किताबमा समेत लागुऔषधबारे जानकारी दिनुपर्ने उनकाे भनाइ छ।
‘कतिपय मान्छे यो कुरालाई नर्मल लिइदिन्छन् तर यो साधारण कुरा होइन। यसले धनी-गरिब, बच्चा-बूढो केही भन्दैन, सबैलाई सक्काउँछ। त्यसैले यसको विरोध गर्न जरुरी छ’, लामाले भने, ‘यसको विरोध कसैले गर्दैन। विगतमा यो कुलतमा फस्नेहरू मात्र लागुऔषधविरुद्धको आवाज उठाइरहेको छ। तर हामीले मात्र आवाज उठाएर हुँदैन, सबैजना एकजुट भएर योविरुद्ध बोल्नुपर्छ। अनि मात्र नेपाल यसको चंगुलबाट उम्किन सक्छ।’
१७ वर्ष लागुऔषधको प्रयोगमा लागेर समय गुमाएका उनको अब कुलतमा फसेका युवाहरूलाई उकास्न कोसिस गर्ने र त्यसविरुद्धको आवाज उठाइरहने अठोट छ।