फेरिएका जीवनहरू (श्रृङ्खला-१)

कुनै बेला आफैंलाई मार्न खाेजेका सुमन, अब कैयौंकाे जीवन बचाइरहेछन् (भिडियाेसहित)

जति-जति रात छिप्पिदैं थियाे, सुमनकाे बाँच्ने रहर पनि सक्किदै थियाे। चार भित्ताभित्रकाे त्याे निख्खर अँध्याराेमा  उनले जीवनकाे उज्यालाे कतै देखेनन्। अनि संसार त्याग्ने निधाे गरे। एकपटक उनले ५०० एमजीका ३० वटा ट्याब्लेटहरू एकैपटक निलिदिए। अर्काेपटक मुसा मार्ने औषधि निले। तर मृत्युले उनलाई निलेन। नाफा जिन्दगीकाे त्यही बाटाे अब कैयाैलाई जीवन डाेर्‍याउने ‘मार्ग दर्शक’ बनेकाे छ। 


‘ड्यूटी’ पूरा गरेर घर फर्किएका बुबालाई बर्दीमा देख्दा सुमन खड्का पनि आफूलाई नेपाली सेनाकाे त्यही कम्ब्याटमा सजिएको कल्पिन्थे। उनका पिता अनि अरू पनि आफन्तहरू सेनामै थिए।  

‘ठूलाे भएर’ सरकारी जागिरे बन्ने सपना बुनेका सुमन बा-आमासँग नजिक थिए, मनमा लागेका सबै कुराहरू सुनाउँथे। आर्मी बनेर देशकाे रक्षा गर्ने आफ्नाे रहर उनले आमाबुबालाई समेत सुनाइसकेका थिए। छोराले राेजेकाे बाटाे देखेर अभिभावक पनि खुसीले फुरुङ्गै हुन्थे। तर साेचेकाे जस्ताे  कहाँ हुन्छ र जीवन! भइदिन्छ ठीक उल्टो।  

हुर्किँदै गएका सुमन विस्तारै परिवारसँग टाढिदैं गए। सानाे छँदा मातापितासँग रमाउने उनी तिनै बाआमालाई छल्न सिपालु बने। साथीभाइकाे संगतमा खुसी हुन थालेका उनी त्यस्तै देखासिकीमा लाग्न थाले। 

परिवारसँगकाे दुरी र साथीहरूकाे नजिकपनाले सुमनकाे मन बदिलन थाल्याे। पढाइमा अब्बल उनकाे घुमफिरमा चासाे बढ्याे। आफूभन्दा ठुला उमेरका केटाहरूकाे संगतले आफैंलाई महान ठान्ने उनमा अंहकार चढ्याे। नचढाेस् पनि कसरी काठमाडाैंकाे रैथाने त्यसैमाथि घरकाे कान्छाे छाेरा। जे–माग्याे त्यही पूरा गरिदिन्थे।  

परिवारभन्दा आफ्नाे दाैतरी प्याराे सम्झने उनले साथीकाे लहलहैमा लागेर चुराेट पिउन भए।

कक्षा– ९ पढ्दापढ्दै चुराेटकाे लत लागिसकेकाे थियाे। सपनाहरू चुरोटका धुँवामा गाेलगाेल भएर कता कता उडिरहेकाे उनलाई पत्तै भएन। 

१६ वर्षकाे उमेरदेखि कुलतमा फस्न थालेका उनी परिवारसँग झनै टाढिदै गए। शालिन नम्र स्वभावका सुमन बाआमासँग झर्किन थाले। नाबालक उमेरमै धुम्रपान गर्न थालेका उनका लागि चुराेट तान्नु त मात्र एक सुरुवात थियो। गाँजा र गोटी (नशाको लागि खाइने औषधि) काे पनि उनलाई लत लाग्न थाल्याे। साथीभाइकाे साथमा  लागेर कुलतमा भाँसिएका उनले बुबाआमालाई ढाट्दै र ठग्दै पैसा माग्न थाले। 

‘म यतिधेरै कुलतमा फसेको थिएँ कि खान बाँकी कुनै गोटी राखिनँ’, उनले भने, ‘हो, मैले मेरो बुबाआमालाई ढाटेँ र छलेँ तर चोर्ने काम कहिल्यै गरिनँ।’

आमाबुबासँग ठगेर लगेकाे पैसाले सधैं नशाकाे तालमा धुम्म भइरहने उनी झगडालु भए। त्यही झगडाकाे कारण उनले ४–६ वटा कलेज फेरे।

२०५५ सालमा ‘फर्स्ट डिभिजन’ मा एलएलसी उर्त्तीण गरेका सुमनले भनेजस्ताे कलेजमा पढ्न पाएनन्। जसकाे कारण थियाे, उनकाे झगडालु स्वभाव। कलेजका साथीहरूसँग कुटपिट गरेर उनी कलेजबाट ‘रेस्टिकेट’ भए। ‘पहिला त मान्छेलाई कुट्दा हिरो भएको महसुस हुन्थ्यो। तर त्यही कुटपिटकै कारण म कलेजबाट निकालिए भनेजस्तो कलेजमा पढ्न पाइनँ’ उनले विगतलाई सम्झिए। 

आफ्नो अध्ययन पूरा गर्नका लागि कलेज चहार्दै हिँडेका उनले जसोतसो स्नातक उत्तीर्ण गरे। त्यसपछि उनले २०७१ सालम ‘हिमालय बैंक लिमिटेड’ मा ‘इन्टर्न’ गरे। त्यही पनि बुबाकाे बदलत। 

सुमनका बुबा आर्मीबाट सेवा निवृत्त (रिटायर्ड) भएर फेरि बैंकमा जागिरे भए। बैंकमा ‘सेक्यूरिटी गार्ड’ बसेर बुबा त्यहाँबाट पनि रिटायर्ड भए। त्यसैले उनकाे सट्टामा सुमनले त्यहाँ काम गर्ने माैका पाएका थिए। 

‘हिमालय बैंकमा जाे कर्मचारी रिटायर्ड हुन्थ्यो। उसको एक जना परिवार बैंकमा काम गर्न पाउँथ्यो। त्यही अवसर मैले पाएको थिएँ’, ९ वर्ष अगाडिकाे कुरा खुलाउँदै उनले भने, ‘बुबाकै कारण म बैंकमा जागिरे भएँ।’ 

शून्य तहबाट बैंकमा प्रवेश गरेका उनी त्यहीकै ‘क्यासियर’ बने। त्योबेला उनको तलब ३५ हजार थियो। बैंककाे जागिरे बनेपछि उनले आफूलाई आवश्यकता पर्ने सामानहरूको जोहो आफ्नै तलबबाट गर्न थाले। 

२०७२ सालमा नयाँ बैंककाे स्थापना गर्न नुवाकाेट पुगेका थिए, सुमन। उनकाे पाेस्टिङ त्यहीँ  थियाे। नशाकाे सुरमा भएपनि उनी काम गर्न र समाजसेवामा सधैं अगाडि बढ्थे।

त्यसैले त उनी त्यही सालमा गएकाे महाभूकम्पमा राहतको झोला बाेकेर पीडितका घर–घर पुगे। ‘बैंकमा हुँदा काम गरे तर के–के थाहा छैन। सबै झ्यापको तालमा गरेँ’ उनले विगत कोट्याए। 

२०७६ सालताका उनी नुवाकोटमै कार्यरत थिए। त्यही साल उनकाे बुबा सिकिस्त बिरामी परे। बुबा अस्पतालमा भर्ना भएकाे खबर सुन्नासाथ उनी काठमाडाैं आए। 

तर अस्पतालकाे बेडमा लम्पसार परेर सुतिरहेका बुबालाई भेट्न जानुकाे सट्टा उनी ‘नशा’ खाेज्न ठमेलतिर गए। 

‘मेरो आवश्यकता बनिसकेको थियो, हाइ डोजको औषधि। त्यसैले बुबाको अवस्था बुझ्न नगएर ठमेल गएँ’ विगतलाई कोट्याउँदै उनले भने। 

‘मलाई मेरो आफ्नोबाहेक कसैको चिन्ता थिएन, त्यसैले बुबालाई नभेटी सिधै ठमेल गएर औषधिको व्यवस्था गरेँ।’

आज उनलाई लाग्छ ‘त्यो दिन कति निर्दयी छोरा भएछु!’

आफ्नाे आवश्यकता पूरा गरेर नशाकै हालतमा अस्पताल पुगेका सुमनलाई बुबाले अन्तिम पटक भनेका थिए, ‘मलाई अरू केही चाहिदैँन बाबु, तँ ठीक हुनु है।’ 

तर हाइ-डाेजमा बाँच्ने आधार खाेजिरहेका सुमनलाई बुवाकाे त्याे अर्तीले कहाँ छुन्थ्याे र? उनी त आफ्नै सुरमा पाे रमाउँथे। बुबाले आफूसँग मागेकाे त्याे अन्तिम इच्छा उनले पूरा गर्न सकेनन्। कुलतमा फसेका छाेराका लागि सधैं भलाे चिताउने बुबाले सदाका लागि संसार त्यागे। बुबाकाे निधनपछि आमा र दाइकाे सहारामा बाँचिरहेका उनी सुधार केन्द्र पुगे। 

अनि सुरु भयो सुमनको नयाँ जीवन

कुलतमा फँसेकाे २२ वर्षपछि सुधार गृह पुगेका उनकाे जिउने कुनै विकल्प थिएन। तर उनले त्यहीँ नयाँ जीवन पाए। पहिलाेपटक केन्द्र पुगेका उनले झगडा गरे। अटेरी बने। तर घर जस्ताे कहाँ हुन्थ्याे र उनका लागि सुधार गृह। 

घरमा परिवारलाई जस्ताे गरेकाे अटेरी सुधार गृहमा गर्दा उनले सजाय पाए। कहिल्यै नगरेकाे काम उनले त्यहाँ गरे। सानैदेखि पुल्पुिलएर हुर्किएका सुमनले सुधार केन्द्रमा भाँडा माझे, सरसफाइ र खाना समेत पकाए। त्यतिमात्र हाेइन उनले शाैचालय समेत सफा गरे, त्यहीपनि आफ्नै हातले। 

‘मैले पाँच वर्ष बैंकमा काम गरें तर सुधार गृहमा आफ्नै हातको नङ घोटेर चर्पी सफा गरें। बैंकमा क्यासियरको काम गरेर ट्वाइलेट सफा गर्दा साह्रै नमज्जा लाग्यो। आफैं देखेर घृणा लाग्यो’ बिएल नेपाली सेवासँग आफ्नाे विगत खाेतल्दै उनले भने, ‘त्यो दिनदेखि मैले सुध्रिने अठोट गरें।’

आफूले चाहेको काम गर्न नपाएको कारण उनले सुधार केन्द्रबाट भाग्ने योजना समेत बुने। तर सफल हुन सकेन।

त्याे उनकाे भाग्य थियाे कि!

भागिहालेकाे भए कहाँ पुग्थेहाेला उनी? सायद त्यहीँ पुग्थे जहाँबाट काेही कहिल्यै फर्किएकाे छैन।

‘हामीसँग बसेका केटाहरू टर्चर सहन नसकेर भाग्न खोजेका थिए। उनीहरू चम्चाले भित्ता कोतरेर भाग्न खोज्थे तर विफल भए’ सुधार गृहमा बसेको क्षण सम्झदै उनले बताए। 

जसाेतसाे एक वर्षसम्म कुनै औषधि सेवन नगरेर सुधारगृहमा बसेका उनले त्यहाँ ‘एबीसी’ अर्थात् ‘अभाेइड द ब्याड सर्कल’ सिके। उनले त्यही बसेर बुझे परिवारको महत्व र जीवनको अर्थ। अनि उनले एक वर्षसम्म त्यही सुधारगृहमा स्वंयसेवा गरे। 

भाेलेन्टियर भएर काम गर्दा उनले आमाकाे आँसुलाई पनि बुझे। एकदिन उनले कुलतमा फसेका आफ्ना छाेरालाई भेट्न एउटी आमा आएकाे देखे। छाेराकाे हालत देखेर आमा धेरैबेरसम्म राेइरहिन्। ती आमाकाे आँसु देखेर सुमनलाई आफ्नाे आमाकाे यादले पिरल्याे। र उनले आफ्नाे कारण बुबाआमा त्यसैगरी राेएकाे दिनहरू सम्झिएर बर्बरर आँसु बगाए। 

‘म कुलतमा हुँदा बुबाआमाको आँसुलाई वास्ता गरिनँ तर जब कुलतबाट निस्किएँ तब मैले बुझें बाआमाको आँसु कतिधेरै महत्व हुने रहेछ’, उनले भने, ‘अनि मैले सोचेँ आमालाई अब दु:ख दिन्नँ।’

सुधारगृहमा दुई वर्ष बिताएपछि उनी घर फर्किए। र नयाँ जीवनकाे सुरुआत गर्ने विश्वास आमालाई दिलाए। तर २२ वर्ष कुलतले भिजेका छाेरा दुई वर्ष मात्र सुधार केन्द्रमा बस्दा कुनचाहिँ आमाले छाेरा सुध्रियाे भनेर सजिलै विश्वास गर्न सक्थिन् हाेला र? त्यही पनि सुमनले त कयाैं पटक परिवारकाे भराेसालाई ताेडेका थिए। 

सुधार केन्द्रबाट छुटेका सुमन एकदिन जन्मथलाे लैनचाैर पुगे। उनलाई देखेर सबैजना चकित परे। स्वभाविक थियाे, दुब्लो पातलो सुमन मोटाएर खाइलाग्दो भएर आएका थिए।

लैनचाेरकाे गल्ली–गल्ली डुलिरहेका उनी ‘चिया’ बेच्ने आन्टीको पसल पुगे। यी तिनै आन्टी थिइन्, जसकाे पसलमा उनी सानाे बेला ‘चप’ किनेर खाने गर्थे। हट्टाकट्टा सुमनलाई देखेर आन्टी भक्कानिएर रून थालिन् र भनिन्, ‘तिमी ठिक भयाैं बाबु?’

आन्टीले गरेकाे माया देखेर भावुक बनेका उनले विगतमा आफूले गरेकाे दुर्व्यहारलाई झलझली सम्झन थाले। ‘धेरैलाई कुटे, गुण्डागर्दी गरें र फिल्मी तरिकामा व्यापारीहरूसँग हप्ता उठाउँदै हिडेँ’, नेपालका नाम चलेका डनहरूसँग संगत गरेकाे बताउँदै उनले भने, ‘ती सब कुरा व्यर्थ रहेछन्।’

आफू कुलतमा फस्दा परिवारलाई समाजले समेत कुदृष्टिले हेरेको उनको भोगाइ छ। समाजले गरेकाे त्यही तिरस्कारकाे कारण नै खड्का परिवार लौनचोरबाट बसाइँ सरेर साँखु, भक्तपुर हुँदै बौद्ध पुगे। ‘मेरो कारणले परिवारलाई नराम्रो असर पर्‍याे , त्यसैले घर फेर्दै हिँड्न बाध्य भयौं’ जन्मघर त्याग्नुपरेका कुरा सुनाउँदै उनले भने। 

कुलतकाे त्याे अँध्याराे दुनियामा आफूलाई फसाउँदा परिवारले भाेगेकाे त्याे दुखलाई बदल्न उनले कहिल्यै लागूऔषधकाे सेवन नगर्ने वाचा आफैंसँग गरे। 

अनि खुल्याे ‘मार्ग दर्शक सुधार केन्द्र’  

बूढानीलकण्ठ पासीकोट-४ मा सञ्चालन भइरहेकाे उनकाे सुधार केन्द्रमा अहिले ३० जना युवा आश्रित छन्। एक वर्षकाे अवधिभरमा उनले ८० जनालाई गृहमा राखिसकेका छन्। जसमध्ये उनले  तीन जनालाई वैदेशिक राेजगारमा पठाए र उपचाररत ६ जनालाई उनले त्यही गृहमा काम दिलाएका छन्। र पाँच जनालाई उनी काममा पठाउँछन्। जाे बिहानमा काममा जान्छन् र रातकाे समयमा केन्द्रमा बास बस्छन्। 

विगतमा आफू पनि कुलतमा फसेकाे कारण उनी लागूऔषधमा फसेका युवाहरूमा आफैंलाई देख्छन्। र त उनी आर्थिकस्थिती कमजोर भएकाहरूलाई सित्तैमा उपचार गरिदिन्छन्।

‘कुलतमा फसेकाहरूका लागि सुधार केन्द्र अस्पताल नै हो। त्यसको उपचार सम्भव छ’, उनले भने, ‘हेरचाह र प्रेम नै उनीहरूका लागि उपयुक्त औषधि हो।’ हालसम्म उनले ६ जनाकाे नि:शुल्क उपचार गरिदिसकेका छन्। 

विगतमा कुलतमा फसेका सुमन अहिले ड्रग्सविरुद्धको विभिन्न सचेतना कार्यक्रम चलाउँदै आइरहेका छन्। कुलतमा लागेर ज्यान फालिरहेकाहरूकाे ज्यान बचाउनका लागि छाेराले स्थापना गरेकाे सुधार केन्द्र देखेर आमा निकै खुसी छिन्। त्यसैले त सुमनकी आमा छाेराले गरेकाे प्रगति देखेर बेलामैकामा रूने गर्न्छिन्। 

‘आमालाई मैले सुधार गृहमा ल्याउँदा उहाँ रुनुभयो तर त्यो आमाको खुसीको आँसु थियो’, उनले भने, ‘पहिला मेरो बर्बादी देखेर आमा रुनुहुन्थ्यो र अहिले मेरो काम देखेर आँशु झार्नुहुन्छ’ आफूले गरेको काम देखेर आमाले त्यसरी आँसु झार्नु नै आफ्नो गर्वको कुरा रहेको उनको बुझाई छ। 

आमाको लागि मात्र होइन उनको लागि पनि मार्ग दशक सुधार केन्द्र सुध्रिने बाटो बनेको छ। जसले सधैं उनलाई त्रास र जीउने आधार दिएको छ।

‘मैले लागूऔषध र मद्यपान नगरेको तीन वर्ष भयो तर अहिले मलाई त्यो सबै सेवन गर्न डर लाग्छ’, उनी भन्छन्, ‘यदि म नै विगतमा फर्किएँ भने मैले साहरा दिइरहेको मानिसहरू अवस्था के हुन्छ? त्यही डरले मलाई रोक्छ। त्यसैले मेरो लागि पनि याे सुध्रिने पाटो हो।’

सुरूमा तीन जना मिलेर स्थापना भएकाे थियाे, मार्ग दर्शक। तर दुई जना लाखापाखा लागेपछि उनी एक्लैले नै हाँक्न थाले, गृह। ८ महिनादेखि एक्लैले चलाइरहेकाे उनकाे केन्द्रमा २० देखि ७० वर्षका वृद्ध जसकाे संरक्षणका लागि उनी दिनरात नभनी खटिरहेका छन्। अबकाे उनकाे चाहना भनेकै सञ्चालित गृहलाई ठुलाे बनाउनु हाे। जसका लागि उनले १ राेपनी जग्गा भाडामा लिदैँछन्।  त्याे पनि उपचाररतहरूका लागि। 

‘हाम्रो पालोमा सुधार केन्द्रमा धेरै टर्चर हुन्थ्यो। कैद बनाएर राखिन्थ्यो तर म त्यस्तो हुन दिन्नँ। सबै जनालाई स्वतन्त्रता दिन्छु तर सीमितमा’, उनी भन्छन्, ‘जसको चासो कृषिमा छ, उनीहरूकै लागि जग्गा भाडामा लिन लागेको छु।’

आफूले सुधार गृहमा राखेकाहरूलाई अनावश्यक साेच्न नदिनका लागि बिहानदेखि साझसम्म उनीहरूकै साथमा व्यस्त हुन्छन्, सुमन। बिहानको ६:३० बजेदेखि साँझसम्म उनीहरू विभिन्न कक्षा र सुधार गृहमा हुने दैनिक कार्यक्रमहरुमा व्यस्त हुन्छन्। 

अहिले अरूका निम्ति धेरै साेच्ने सुमन कुनैबेला आफ्नाे जीवन देखेर बिरक्तिएका थिए। उनले आत्महत्याकाे प्रयास गरेका थिए। 

तर ‘सु-साइड’ कुनै विकल्प होइन। 

अन्धकार र उराठाेलाग्दाे जीवनमा उज्यालाे ज्याेती नदेखिएपछि अत्तालिएर मृत्युकाे बाटाे राेज्ने गर्छन्, मानिस। त्यही बाटाेमा थिए, सुमन पनि। २०६७ सालताका उनले पहिलोपटक सु-साइडकाे काेसिस गरे। गाेजीमा पैसा थिएन। तर गोजीमा पैसा थिएन। तर आफ्नो आवश्यकता पनि पूरा गर्नु थियो। जसको कुनै विकल्प थिएन। त्यसैले उनी संसार छोड्ने निर्णयमा पुगे। 

मर्छु भन्दै उनले एकैदिन ‘५०० एमजी’ को एउटा चक्की तीस वटा खाइदिए। तर भनिन्छ नि, बाँच्नु जुरेको छ भने कालले पनि लैजान सक्दैन। सुमनले मृत्युलाई छक्काए। उनी सँगैका कतिपय दाैतरीहरू हाइ–डाेजकै कारण बिते तर उनी भने ओभर डोजकाे औषधि पचाउन सक्ने भएछन्।

‘मैले नखाएको कुनै औषधि छैन। सबै भन्दा महँगो भनेको आइस ड्रग्स हो। त्यो पनि मैल खाएँ’, लागूऔषधको सेवन गरेर आफूले करोडौं रुपैयाँ खेर फालेकाे बताउँदै उनले भने, ‘त्यो नशा गर्न पाए सबै कुरा पुग्थ्यो।’ 

पहिलो पटक आत्महत्या गर्नबाट बचेका उनले २०७३ मा दोस्रो पटक पनि प्रयास गरे। चारैतिरको तनाव र जिन्दगीदेखि वाक्क भएका उनले राति सुत्नअघि एक बोतल चिसोमा दुई प्याकेट मुसा मार्ने औषधि घाेलेर पिए। तर भोलिपल्ट उठ्दा उनले पंखा घुमिरहेकाे देखे। 

दाेस्राेपटक  पनि कालले लगेन!

‘विष पिउँदा समेत मर्न सकिनँ कति धेरै म लागूऔषधमा डुबेको रहेछु’, उनी सुनाउँछन्, ‘त्यसपछि मैले सुसाइड गर्ने सोच मनबाट निकालिदिएँ।’

दुई पटकसम्म आत्महत्या गर्न तम्सिएका सुमनले अहिले नयाँ जीवन पाएर खुसी छन्। कुलतमा फसेकै कारण कैयौंको घरपरिवार तहसनहस भएको बताउँदै आफूले सक्दो कोसिस गरेर अरुको घर टुट्न नदिने उनको प्रतिज्ञा छ।

दुई दशक बढी आफू कुलतमा फसेको कारण कुलत फस्नुको मुख्य कारण उनी प्रेम र घृणा बताउँछन्।

‘म कुलतमा फस्नुको मुख्य कारण भनेकै माया हो। त्यसैले त्यतिधेरै छोराछोरी माया र घृणा गर्नुहुँदैन’, उनी भन्छन्, ‘कुलतमा फस्ने पहिलो पाइला भनेकै किशोरवस्था हो। त्यसैले बुबाआमाले आफ्नो छोराछोरीहरूको राम्रोसँग हेरचाह गर्नुपर्छ।’

परिवारसँग घुलमिल नहुने, मानिसहरूसँग बाेल्न नरूचाउने र सिधा आँखा जुधाएर कुरा गर्न नसक्ने कुलतमा फसेकाहरूकाे संकेत भएकाे बताउँदै उनी सानैदेखि आफ्नो छाेराछाेरीकाे बानी/व्यवहारकाे स्याहार गर्न सबै अभिभावकहरूसँग आग्रह गर्छन्।

(कुलत अर्थात् लागुऔषध दुर्व्यसनीविरूद्ध बिएल नेपाली सेवाले सुरु गरेको यो श्रृङ्खलामा हामीले कुलतको बाटोबाट सुधारिएको जीवन बाँचिरहेकाहरूको कथा प्रकाशित गर्नेछौं।)

प्रकाशित मिति: : 2023-08-14 22:00:00

प्रतिकृया दिनुहोस्