मन चाहनुपर्छ जतिसुकै नशाले किन नथिचोस्, चाह्यो भने त आफूले आफैँलाई सुधार्न सकिन्छ। जतिसुकै ड्रग्सको ‘सिकनेस’ले किन नबिथोलोस् सम्हालिन चाह्यो भने त्यो बाटो मोडिनसक्छ। मन न हो, बाँध्नसक्यो भने जिन्दगीलाई खुसीको बाटो सुखी बनाएर हिँडाउन पनि सकिन्छ, जसरी मुकेशले ड्रग्सको त्यो दलदलबाट आफूलाई जिन्दगीको मूलबाटोमा मोडिदिए।
खेलाडी बन्ने सपना बोकेर हुर्किएका थिए कीर्तिपुरका मुकेश महर्जन। खेलकुदमा रुचि राख्ने उनी बालखैमा ‘टेबल टेनिस’ खेल्न सिपालु भए।
खेलप्रतिको उनको लगाव यतिधेरै थियो कि उनीसँग खेल खेल्नसमेत डराउँथे साथीहरू। खेल र परिवारको माया पाएर खुसी थिए मुकेश। राष्ट्रिय खेलाडी बनेको कल्पिन थालिसकेका थिए।
जस्तो सोच्यो त्यस्तो त कहाँ भइदिन्छ जिन्दगी! कहिलेकाहीँ पाइलाहरू उल्टा भइदिन्छन्।
घरका सबैभन्दा कान्छा सन्तान थिए मुकेश। उनीमाथि दुईवटी दिदी थिइन्। त्यसैले पनि उनी आमाबुबा र दिदीहरूकै प्यारो भाइ थिए।
परिवारको त्यो लाडप्यार र स्नेहले मुकेश जति पुलपुलिएका थिए, उत्तिकै जिज्ञाशु पनि थिए। सानैदेखि नयाँ काम देख्नेबित्तिकै गरिहाल्नुपर्ने। चाहे त्यो काम गलत होस् या सही।
स्कुलबाट घर अनि घरबाट स्कुल। बालापनको दैनिकी त्यस्तै थियो। तर विस्तारै उनको दिनचर्या फेरिन थाले, जब उनले आफूभन्दा ठूला दाइहरूले ‘चुरोट’ को धुवाँ उडाएको देखे।
ती केटाहरूले चुरोट तानिरहेको देख्दा मुकेशको मनमा भने कौतुहलता बढिरहेको थियो।
‘कास...मैले पनि त्यो चुरोटको एक सर्को तान्न पाएको भए म पनि दाइहरूजस्तै हिरो देख्थेँ होला’, १४ वर्षका मुकेशको मनमा त्यही कुराहरूले लड्डु फुटिरहेको थियो।
चुरोटको धुवाँसँग खेल्ने केटाहरूलाई उनले आफ्नो ‘आइडियल’ मानिसकेका थिए। त्यसैले उनी आफूलाई ‘चुरोटे हिरो’ बनाउन चाहन्थे। र त्यही झोकमा उनले एकदिन चुरोट बङ्बङ्गी उडाए।
‘हिरो हुने आशमा चुरोट तानेँ तरपनि केही महसुस भएन। चुरोटको केही स्वादै पाइनँ’, पहिलोपल्ट चुरोट तान्दाको अनुभव उनले सुनाए, ‘तर स्टाइलिस देखिन्छु कि भनेर चुरोट तान्न चाहिँ छोडिनँ।’
कक्षा ९ मा पढ्दै गरेका मुकेशको काैतुहल अझै बढ्दै गयो। चुरोटपछि उनलाई अब गाँजाको स्वाद चाख्नु थियो। चुरोट तानेको दुई वर्षपछि उनले कीर्तिपुरको एक ‘पुल हाउस’मा बसेर गाँजाको ‘पप’ लिए। १६ वर्षको उमेरमा पहिलोपटक गाँजा तान्दा उनले स्वर्ग पुगेको अनुभूति गरे।
‘हावामा उडेको महसुस गरेँ। हावामा उडेरै घर पुगेको जस्तो लाग्यो। म पूरै भ्रममा डुबिरहेको थिएँ तर मलाई रमाइलो लाग्यो’, अझै याद छ उनलाई गाँजाको त्यो पहिलो ‘ट्रिप’।
चुरोटबाट गाँजासम्म पुगेका मुकेश जति धुम्रपानसँग नजिकिँदै थिए, त्यति नै रबर जस्तै तन्किदै थियो परिवारसँगको उनको सम्बन्ध। उनलाई घरपरिवारभन्दा पनि चुरोट र गाँजा नै प्याराे थियो।
कुनैबेला परिवारसँग हाँसो-मजाक गर्ने मुकेश एक्लै रमाउन थाले। घरमा भन्दा धेरै उनले बाहिर–बाहिरै समय बिताउन थाले। अब उनलाई घरपरिवार बिरानो र कुलतमा फसेका साथीहरू आफ्नो लाग्न थाल्यो।
चुराटेपछि गाँजामा पुगेका उनलाई अब ‘गोटी’को टेस्ट गर्नुथियो। गोटी खाएर ‘झ्याप’ भएका दाइहरूलाई देखेर उनमा पनि रहर पलायो थियो गोटी खाने। ‘दाइहरू गोटी खाएर झुलिरहन्थे अनि मलाई पनि झुल्न मन लाग्थ्यो’, उनी सम्झिन्छन्, ‘दाइले गोटी लिन पसल पठाउँदा म रमाउँदै किन्न जान्थेँ।’
शरीरलाई लठ्ठ बनाउने ती औषधिलाई एकपटक मुकेशले पनि खाए। अनि पुगे बेग्लै दुनियाँ। पहिलोपटक खाएको औषधिको स्वाद उनलाई गाँजाभन्दा पनि मीठो लाग्यो। ‘पप्सीकोण’ र ‘नाइटोमेट’ को ‘ट्रिप’ले झुमेका उनले एक मिनेटमै १० वटा सपना देखे। त्यही पनि खुल्ला आँखामा।
‘त्यसले मलाई यतिधेरै नशा दिएको थियो कि जति गाँजाले पनि दिन सकेको थिएन। म पूरै झुमिरहेको थिएँ’, बिएल नेपाली सेवासँग उनले भने, ‘गोटीको त्यो फस्ट ट्रिप सम्झँदा अझै पनि मलाई रमाइलो लाग्छ।’
‘ट्याब’ को स्वादमा पल्किएका मुकेशले गाँजासँगै गोटी खान थाले। दिनभरि उनी त्यही गोटीको झ्यापमा हुन्थे। तर नशाप्रतिको उनको प्यास मेटिएकै थिएन।
अब त उनलाई ‘ब्राउन सुगर’ चाख्नु थियो।
‘नशामा पल्केकाहरू एउटै कुरा खान रुचाउँदैनन्। त्यही भएर मलाई पनि ब्राउन सुगरको टेस्ट गर्न मन लाग्यो’, लागुऔषधमा फस्दै गएको कुरा सम्झँदै उनी सुनाउँछन्, ‘दाइहरूकै संगतले ड्रग्स खान थालेँ।’
चुरोटबाट ड्रग्ससम्म पुगिसकेका थिए मुकेश। त्यही पनि उही दाइहरूको लहैलहैमा। उनले चिनेका सिनियरहरू ड्रग्सको प्रयोग गरिरहेका हुन्थे उसकै अगाडि।
आफूभन्दा ठूला केटाहरू ड्रग्समा डुबिरहेको देख्दा मुकेशले पनि ड्रग्सको प्रयोग गर्ने निधो गरे अनि ‘पिल्स’ खान थालेको २ वर्षपछि उनले ड्रग्स लिए। तर उनले सोचेको जस्तो भइदिएन ड्रग्स। पहिलो दिनमै बान्ता गरिदिए। पचाउनै सकेनन् उनले ड्रग्सको त्यो डोज।
ब्राउन सुगरले पहिलोपटक नै बान्ता गराएपछि उनी त्यही पिल्समा झरे। तर बढ्दै गइरहेको नशाको डोज त चाहिन्थ्यो नै उनको ज्यानलाई।
मुकेशले एक वर्षपछि फेरि ड्रग्सको प्रयोग गरे। तर त्योबेला भने उनी बिरामी भएनन्, बरू ड्रग्सको नशामा झुमिरहे। त्यहीबाट उनले मज्जा लिइरहे।
‘ब्राउन सुगर जताततै पाइँदैन थियो। त्यसका लागि डिलरहरूसँग सम्पर्क राख्नुपर्थ्यो। त्यही दाइहरूको कारण मेरो लिकंं पनि डिलरहरूसँग थियो’, उनले भने। प्रहरीसँग लुकामारी खेलेर जसोतसो रमाइरहेका थिए मुकेश तर उनको त्यो सन्तृष्टि धेरै समय टिक्न सकेन।
अब उनको शरीरले ‘सिरिन्ज’ खोजिरहेको थियो।
‘एडिक्सनमा लागेकाहरूलाई नयाँ चिज खाइरहनुपर्छ। एउटैमा अल्झिरहन सक्दैन’, चुरोटबाट कुलतमा फसेका उनी भन्छन्, ‘म सधैँ नयाँ नशाका लागि भौतारिरहन्थेँ।’
देखासिकी गरेर ड्रग्ससम्म पुगेका मुकेशलाई अब सिरिन्जको तलतल थियो। उनलाई एकपटक भएपनि अब दाइहरूजस्तै सिरिन्ज लगाउनुथियो। उनी आफैँमा प्रश्न गर्थे, ‘यो सिरिन्जको ट्रिप कस्तो होला? बेग्लै फिल पो आउँछ कि?’
मनमा पलाइरहेको सिरिन्ज हाल्ने उनको रहर दाइले पूरा गरिदिए। ड्रग्सको सेवन गरेको २ वर्षपछि उनले दाहिने हातमा सिरिन्ज खोपे, त्यही पनि डराउँदै–डराउँदै।
‘कहिल्यै शरीरमा सुइँले खोपेको थिइनँ, त्यसैले डर लागिरहेको थियो तर रहर पनि थियो’, ट्वाइलेटको एक कुनामा बसेर हानेको दुई एमएल सिरिन्जबारे उनी भन्छन्, ‘गोटी र गाँजा खाँदा ढिला लाग्ने तर यो सिरिन्ज नसामा हान्ने भएकोले छिट्टै नशा दिने। लास्टै रमाइलो लाग्यो।’
‘डाइचिपाम’, ‘नुफिन’ र ‘इस्टागन’ जस्ता औषधिहरू मिसिएर बनेको सिरिन्जले आफूलाई आनन्दको ट्रिप दिएको उनको भनाइ छ। ‘डाइचिपाम र नुफिन पेनकिलर हो भने इस्टागनले शरीरलाई लठ्ठ बनाउँछ। यो सबै औषधिले शरीरलाई छुट्टै मज्जा दिन्छ’, उनले भने।
सिरिन्ज हालेर ट्रिप लिइरहँदा जति रमाइलो लाग्छ, त्यति नै धेरै दुख पाइने उनको भोगाइ छ।
‘सुइँ कोप्न थालेपछि नसाहरू सुक्दै जान्छ। यही कारण मैले हातखुट्टादेखि कम्मरमा सिरिन्ज लगाएँ’, एडिक बन्न सजिलो नभएको बताउँदै उनले भने, ‘एडिकहरूको भाषामा भन्नुपर्दा दुई वटा ब्लड हुन्छ, एउटा रातो र अर्को कालो। रातो रगतमा सुइँले कोप्दा पाइतालादेखि पूरै शरीरमा करेन्ट लाग्छ र कालो रगतमा खोपे आनन्द हुन्छ। कहाँ सजिलो छ र शरीरमा सिरिन्ज हान्ने।’
सिरिन्जको त्यो नशाले मुकेशलाई सन्तृष्टि दिन्थ्यो तर उनले पनि सिरिन्जको लागि गालीसँगै कुटाइ पनि सहनुपर्थ्यो। त्यही पनि आफ्नै बुबाको।
महँगो थियो सिरिन्जको जोहो गर्न। त्यही पनि मुकेशले जसोतसो पुर्याइरहेका थिए आफ्नो डोज। कहिले उनी बाआमासँग पैसा माग्थे त कहिले आफ्नै किराना पसल फोडिदिन्थे। ‘कुलतमा लागेर मैले गाली र कुटाइ खाएँ। पढाइ बिगारेँ तरपनि कुलतबाट सुध्रिने सोच्नै आएन’, विगतलाई स्मरण गर्छन् मुकेश।
एक्लो छोराले देखाएको हर्कत देखेर आजित भइसकेका थिए बाआमा। कयौँ पटक कुलत त्याग्न सम्झाइरहे। दिदीहरूले समेत रुँदै उनलाई फकाउन खोजे तर आफ्नै संसारमा रमाइरहे मुकेश।
‘दिदीहरू बिहे गरेर गइसक्नुभएको थियो, उहाँहरूको छोराछोरी पनि थिए तर दिदीहरू मेरै चिन्ता लिइरहनुहुन्थ्यो। बाआमात झनै दिनरात रोइरहनुहुन्थ्यो तरपनि मैले उहाँहरूको दुख देखिनँ’, विगतको कुराले झस्किन्छन् मुकेश।
प्रहरीको फन्दामा परेपछि...
घरपरिवारलाई बेवास्ता गरेर खुसी थिए मुकेश। आफ्नै सुरमा भौँतारिरहन्थे। सदाझैँ उनी ट्रिपमा कालिमाटीको चोकमा लरखराउँदै थिए। तर दुर्भाग्यबस त्यो दिन उनी प्रहरीको नजरमा परे।
उनको खल्तीबाट पुलिसले ब्राउन सुगर बरामद गर्याे। त्यसपछि मुकेश कालिमाटीको प्रहरी चौकीमा पुगे। उनले दुई दिन त्यही चौकीमा बिताए।
तेस्रो दिन बिहान बाआमा अत्तालिँदै चौकी पुगे। छोरालाई छोडिदिन भन्दै आग्रह गरे। बुबाआमाको कुरा सुनेर चौकीका इन्स्पेक्टरले पनि मुकेशको अगाडि दुई वटा शर्त राख्दै भने, ‘जेलमा बस्ने कि सुध्रिने?’ मुकेशले एकैपटकमा सुध्रिने बताए। त्योबाहेक उनीसँग अरू विकल्प पनि त थिएन।
त्यसपछि उनी धापासीको एक सुधार गृहमा बस्न थाले।
२१ वर्षको उमेरमा पहिलोपल्ट सुधार केन्द्र पुगेका थिए मुकेश, त्यही पनि बिनामर्जी। ‘रिहाब’ सुध्रिनका लागि भन्दा पनि उनी समय बिताउनका लागि बसिरहेका थिए। उनलाई त कहिले संस्थाबाट छुटाैँ अनि प्रेमिका र साथीहरूसँग भेटेर रमाइलो गराैँ भनेर मात्र सोच आइरहन्थ्यो।
चार महिनापछि रिहाबबाट छुटेका उनले सुरुमै प्रेमिकालाई फोन गरे। तर फोन उठाइनन् प्रेमिकाले। त्यसपछि उनी घर गए। त्यही पुगेपछि थाहा भयो उनकी प्रेमीका त अर्कैको भइसकेकी छिन्।
‘म उसलाई साँचो प्रेम गथेँ। उसलाई मेरो परिवारले समेत अपनाइसकेको थियो तर म रिहाबमा हुँदा उनी त अर्कैको भइसकेकी रहिछिन्’, उनी भन्छन्, ‘प्रेमिकालाई अर्कैको साथमा मेरो दिदी र भेनाले देख्नुभएको थियो। त्यसपछि मैले उनलाई छोडेँ।’
चार महिनासम्म रिहाबमा कैद भएका उनले सुध्रिने सोचिसकेका थिए तर प्रेमिकाले सबै सपना चकनाचुर बनाइदिइन्। प्रेमिकाको यादमा उनी सुधार गृहबाट फर्किएको भोलिपल्टदेखि नै रक्सी पिउन थाले। त्यही पनि दिनरात।
त्यो बिछाेडले ‘देवदास’ बनाइरहेको थियो उनलाई।
रक्सी पिएका मुकेशले गाँजा ताने, गोटी खाए अनि सिरिन्ज पनि घोच्न थाले। उनी फेरि त्यही नर्क अर्थात् कुलतमा फर्किए। त्यसपछि उनको दिनरात त्यही सिरिन्जमै घुमिरहन्थ्यो। दिनको ४-५ वटा सिरिन्ज लगाउँथे मुकेश। त्यसले पनि पुग्दैन थियो उनलाई।
पहिलोपटक रिहाबमा बसेर नसुध्रिएका मुकेशलाई दोस्रो पटक पनि त्यही रिहाबमा हाल्ने परिवारको योजना बन्यो। तर त्यो निर्णयले रिसाएका थिए मुकेश। किनकी उनलाई सुध्रिनु थिएन र रिहाब बस्ने कुनै रहर पनि थिएन।
तर परिवारको अगाडि के लाग्थ्यो र मुकेशको।
दोस्रो पटक पनि उनी त्यही धापासीको सुधार गृहमा बस्न थाले। तर दुई सातासम्म उनी बेड रेस्टमा भए। उनले ‘बिग ब्रोदर’ र ‘सिक बडी’को सहायता लिए। उनको एडिक्शन नै त जिन्दगी बनिसकेको थियो।
‘जो एडिक्ट पहिलोपल्ट आएर रिहाबमा बस्छन् र उनीहरूलाई टेककेयर गर्ने दुई जना मान्छे हुन्छ, उनीहरूलाई बिग ब्रदर र सिक बडी भनिन्छ, जसले दुई सातासम्म हेरचाह गरिरहन्छ’, उनी भन्छिन्, ‘दोस्रो पटक पनि मेरो इच्छा बिना नै मलाई रिहाब राखिएको थियो।’
सुधार गृहमा ७ महिना बसेपछि उनी घर फर्किए। अनि बुबाआमालाई बाहिर जाने योजना सुनाए। र, २३ वर्षको उमेरमा मुकेश कतार पुगे। ‘सेल्स म्यान’ का लागि विदेश पुगेका उनले मासिक ७५ हजार कमाउन थाले। तर, धेरै वर्ष विदेशमा टिक्न सकेनन् मुकेश। उनलाई ‘होम सिक’ले सताउन थाल्यो।
‘मैले जिम्मेवारी लिन सकेको थिइनँ तर विदेशमा धेरै दुख पाएँ अनि घर फर्किने सोचेँ’, उनी भन्छन्, ‘विदेश गएको एक वर्षपछि नेपाल फर्किएँ।’
विदेशमा हुँदा एक वर्षसम्म केही नखाएको मुकेशले फेरि साथीहरूको संगतमा रक्सी पिउन थाले। त्यसपछि त उनी त्यही सिरिन्जमा पुगे। ‘ट्वाइलेटमा बसेर सुइँ लगाउँदा रगत बग्थ्यो, आमाबुबा नै डराउनुहुन्थ्यो’, उनले भने, ‘विदेशमा कमाएको सबै पैसा मैले नशामै सक्काएँ।’
सिरिन्जको नशामा यतिसम्म डुबिसकेका थिए मुकेश, आमा बिरामी हुँदासमेत बेवास्ता गरिदिन्थे। उनलाई मात्र शरीरले मागिरहेको डोज पुर्याउनुथियो। ‘आमा बिरामी भएर हस्पिटलमा भर्ना हुँदासमेत मैले बेवास्ता गरेँ। अहिले सम्झिँदा नमज्जा लाग्छ’, आफूले गरेको गल्तीलाई सम्झन्छन् उनी।
सिरिन्जको सिकले सतायो
शरीरलाई एकदिन घोच्न नपाउँदा मुन्टो छिनाइएको कुखुराझैँ तड्पिन्थे मुकेश। बेप्रवाह आफूलाई खुसी बनाउन चाहन्थे, जतासुकै बसेर पनि आफूलाई सिरिन्जको ट्रिप दिन्थे।
एकदिन घरकै छतमा बसेर सिरिन्ज लगाउँदै थिए उनी। त्यहीबेला उनलाई छिमेकीले देखे। त्यो कुरा छिमेकीले मुकेशकी आमालाई सुनाए। छोराको हर्कतले दुखी भएकी आमाले उनलाई फेरि सुधार केन्द्रमा राख्ने निधो गरिन्।
त्यसपछि बल्खुको ‘फ्रिडम रिहाबिलिटेशन सेन्टर’ पुगे मुकेश।
तेस्रो पटक रिहाबमा राख्दा रिसले चुर थिए मुकेश। उनले मनमनै सोचिसकेका थिए, ‘अब त परिवारलाई देखाएरै खाइदिन्छु, यहाँबाट निस्किन मात्र पाम न!’
तीन पटकसम्म सुधार केन्द्रमा बस्नुपर्दा उनी आफ्नै जिन्दगी देखेर बिरक्तिएका थिए। उनी आफैँसँग गुनासो पोखिरहन्थे, ‘यहाँ ल्याउनुको सट्टा बरू म ओभर डोज खाएरै मरिदिन्थेँ नि। किन यहाँ ल्याइदिएको होला!’
कुलतको बाटो त्याग्न उनले रिहाबमा आफैँसँग संघर्ष गरे। दुई साता उनले आँखा बन्द नगरी नै बिताए। ओभर डोज सिरिन्ज नपाएर उनी छँटाहाझैँ भए। ड्रग्स र पिल्सले भन्दा उनलाई सिरिन्जले सताइरह्यो। उनले आफूलाई चिथोरेर चोट पुर्याए तर पनि मेटिएन सिरिन्जको त्यो तृष्णा।
‘सिरिन्ज नपाएर मैले आफैँलाई चोट पुर्याएँ। शरीरले नशा खोजिरहेको हुन्थ्यो तर मैले दिन सकेको थिइनँ। त्यसैले पूरै शरीर दुख्थ्यो अनि जिउभरि किरा हिँडिरहेको जस्तो लाग्थ्यो। म धेरै कराउँथेँ, पागल जस्तो भएको थिएँ’, आफूले भोगेको त्यो ‘सिकनेस’ सम्झिदाँ पनि डराउँछन् मुकेश।
एक्लै टोलाएर बसिरहने मुकेश दिनभरि रूखका पातहरू गनिरहन्थे। उनीसँग अरू काम पनि थिएन। तर विस्तारै उनमा सोचहरू परिवर्तन हुँदै गयो। आफूजस्तै बिग्रिएका दाइहरू सुध्रिएको देख्दा उनलाई पनि एक दिन लाग्यो ‘अब त म पनि सुध्रिनैपर्छ।’
आफूले आफैँसँग गरेको सुध्रिने ‘कमिटमेन्ट’ले अहिले बदलिएका छन् मुकेश। बिहानै उठ्छन्, आमालाई घरको काममा सघाउँछन् अनि कुलतमा फसेकाहरूलाई उत्प्रेरित गर्छन्।
‘म रिकभर भएको एक वर्ष भइसकेको छ, अहिले मैले आफूभित्र धेरै सकारात्मक महसुस गर्छु’, फ्रिडमले नयाँ जिन्दगी दिएको बताउँदै उनी भन्छन्, ‘पहिले र अहिले मलाई गर्ने व्यवहारहरू धेरै बदलिएको छ। त्यसैले म धेरै सन्तुष्ट छु।’
झण्डै डेढ दशक कुलतमा फसेका मुकेशको धेरै पैसा कमाउने सपना छैन। तर उनी बचेको जिन्दगी अब खुसीसँग बिताउन चाहन्छन्, आफ्नै परिवारसँग। ‘मैले मेरो परिवारलाई धेरै सताएँ तर अब म उहाँहरूलाई दुख दिन्नँ। पैसा कमाएर मलाई घर जग्गा किन्नु छैन, मात्र खुसी भएर परिवारसँग बस्न पाए हुन्छ।’
चुरोटबाट सिरिन्जसम्म पुगेका मुकेशले अहिले बुझिसकेका छन्, ‘नशाले केही दिँदैन, बरू जिन्दगी नै बर्बाद गरिदिन्छ तर धन्न ढिलै भएपनि सुध्रिएँ।’