इम्पेरियल कलेज अफ इन्जिनियरिङ्का ‘सिनियर’ ले ‘जुनियर’ विद्यार्थीहरूलाई ‘र्यागिङ’ गर्दै भनिरहेका थिए, ‘उतार तिमीहरूको पाइन्ट...!’
सिनियरको कुरा मानेर नयाँ केटाहरूले आफूले लगाएको पाइन्ट फुकाएर निहुरिन्छन् अनि हात हल्लाउँदै भन्छन्,‘उपहार स्वीकार गर्नुहोस्।’
कलेजका नयाँ विद्यार्थीहरूलाई आफ्नो अगाडि झुकाएर रमाइरहेका उनी एकाएक खुसी हुन्छन्, जब इन्जिनियर बन्ने सपना बोकेर कलेज छिरेका आमिर खानलाई देख्छन्।
नयाँ उपहार भन्दै उफ्रिन थालेका सिनियरले आमिरलाई पाइन्ट खाेल्न लगाउँछन्।
सिनियरले कलेजकाे पहिलाे दिनै छात्रहरूलाई नाङ्गाे बनाएर ‘र्यागिङ’ गरेकाे देखेर आमिर सरासर आफ्नो कोठा नम्बर डि–२६ मा पस्छन्।
नयाँ छात्रले अटेरी गरेर रिसाएका सिनियरले आमिरलाई ढोकामै पिसाब फेरिदिने धम्की दिन्छन्। सिनियरको धम्की सुनेर आमिरले बलिरहेको बत्तीको तार निकाल्छन्, चम्चासँग जोड्छन् र करेन्टसहितको तारलाई स्केलमा बाँधेर ढोका बाहिर राखिदिन्छन्।
आमिरलाई ‘वार्निङ’ दिइरहेका सिनियरले चम्चामाथि पिसाब फेरिदिन्छन्। ‘साल्ट वाटर इच अ ग्रेट कन्डक्टर अफ इलेक्टीसिटी’ करेन्ट लागेर उनी बेहाेश हुन्छन्।
वर्षाैँदेखि जुनियरलाई ‘र्यागिङ’ गर्दै आइरहेका सिनियरलाई आमिरले सिकाएकाे ‘सबक’ देखेर सबै छात्रहरू दंग पर्छन्।
राजकुमार हिरानी निर्देशित हिन्दी फिल्म ‘थ्री इडियट्स’ मा आमिर खानकाे आइडिया र आविष्कार अनि त्याे विन्दासपन देखेर लोभिएका आश्रय मानन्धरले पनि ‘फुनसुख वाङगडू’ अनि ‘रान्चोदास’को बिम्बमा आफूलाई देख्न थालिसकेका थिए।
०००
पढाइमा उत्तिकै माहिर थिए, आश्रय। कक्षामा सधैँ पहिलो र दोस्रो स्थानमा उत्तीर्ण हुन्थे। पढाइप्रतिको लगाव र मेहनत देखेर खुसी भएका शिक्षकहरूले समेत उनको प्रशंसा गरिदिन्थे।
घरमा बाआमाको माया र स्कुलमा शिक्षकहरूको स्नेहबाट पुलपुलिएका थिए, मानन्धर। उनमा ‘किङ बेबी एटीच्यूड’ नै थियो। नहोस् पनि कसरी? घरको कान्छो र एक्लो छोरा थिए।
‘मलाई केही कुराको आवश्यकता थिएन, केही चाहियाे कि आमाबुबाले मेरै अगाडि टक्राइदिनुहुन्थ्यो’,उनले सुनाए।
पढाइमा उत्कृष्ट आश्रय सधैं नयाँ काम गर्न रुचाउँथे। त्यहीकारण त उनले ‘यूटुब’ हेर्दै ‘रोबर्ट’ बनाउन सिके। खेर गएको सामान र मोटरको टुक्राबाट बनाएको त्याे रोबर्ट उनले पूरै टोलभरि डुलाइहिँड्थे। उनको काबिलियत देखेर छरछिमेकहरूले समेत भन्ने गर्थे, ‘यसले भविष्यमा प्रगति गर्छ।’
इन्जिनियरमा भविष्य देखेका आश्रय सोच्ने गर्थे, ‘पढाइमा राम्रो छु इन्जिनियर त भइहाल्छु नि!’ तर सोचेजस्तो सहज कहाँ छ, जीन्दगी। हुन्थ्यो त जीन्दगी त्यतिधेरै कष्टकर किन हुन्थ्यो होला र!
सधैं घरबाट स्कुल अनि स्कुलबाट घर फर्किने आश्रयको दिनचर्या बदलिदैँ गयो। जब उनी देखासिकीमा फस्दै गए। एकदिन उनले फिल्ममा एक ‘हिरो’ले चुरोट तानेको देखे। त्यो दृश्यले आकर्षित भएका मानन्धरले पनि हिरो बन्नलाई चुरोट तान्ने सोच बनाए। तर कहाँ र कसरी?
‘चुरोट तान्ने मेरो रहर थियो, मलाई जसरी हुन्छ चुरोटबाट धुँवा निकाल्नुथियो’, उनी भन्छन्, ‘चुरोट कस्तो हुन्छ भनेर मलाई टेस्ट गर्नुथियोे।’
चुरोटको त्यो तलतल मेट्नका लागि उनले पहिलो दिनमै बाटोमा फ्याँकेकाे चुरोटको ठुट्टा सल्काएर धुँवा निकाले।
चुरोट तानेर मुखबाट धुँवा निकालिरहँदा मानन्धरले आफूलाई टोलकै हिरो सोचिरहेका थिए। १३ वर्षको उमेरमै चुरोटे बनेका उनले चुरोट र गाँजा खाने केटाहरूलाई साथी बनाए। ‘नयाँ साथीहरु बनाएपछि त म झनै बिग्रिदै गएँ’, संगतले आश्रयलाई बिगार्याे।
अरुबेला पढाइभन्दा ठुलो केही नसोच्ने उनलाई चुरोट नै सबथोक लागिसकेको थियो। अध्यनमा भन्दा धेरै उनको सोच त्यही चुरोटको सर्कोमा हुन्थ्यो। स्कुल जीवनदेखि नै चुरोटे भएका मानन्धर विस्तारै गाँजा तान्ने पनि भए। सधैं चुरोट र गाँजाको तालमा झ्याप हुने उनी आफूलाई ‘नर्मल’ देखाउनका लागि आँखामा ‘आइ ड्रप’ र चुइँगम पड्काउँदै स्कुल पुग्थे।
कलिलो उमेरमै कुलतमा फस्न थालेका मानन्धरले ‘एसईई’ मा राम्रो अंक ल्याए। २०७५ सालको सबैभन्दा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको लिस्टमा परेका उनले ३.९४ (ए प्लस) ल्याएर सबैलाई दंग पारिदिए।
आश्रयले ल्याएको रिजल्ट देखेर रमाएका शिक्षकहरुले उनलाइ विज्ञान विषय लिएर पढ्न सुझाए। उनको पनि लक्ष्य थियो, इन्जिनियर बन्ने। त्यसैले आश्रयले साइन्स पढ्न थाले।
छाेराले राम्राे नम्बर ल्याएर स्कुल पास गरेकाे कारण खुसी भएका आश्रयलाई बाआमाले होस्टल राखिदिए। होस्टेलमा छोराले राम्रोेसँग पढ्छ भन्ने बाआमाको सोच थियो। तर होस्टेल बस्न थालेपछि उनी कुलतको गहिराइमा डुब्दै गए।
कलेज पढ्नका लागि होस्टेल बसेका आश्रय खुल्ला पन्छी जस्तो आकाशमा उड्न चाहन्थे। तर उनको लागि जेल जस्तो थियो, होस्टल। न बाहिर जान मिल्थ्यो न त धुम्रपान उडाउन नै।
होस्टलमा चुरोट र गाँजाको धुँवा उडाउन नमिल्ने भएपछि उनले आफूलाई झ्यापमा बनाउनका लागि गोटीको सेवन गर्न थाले। चुरोट हुँदै ट्याबलेटकाे लतमा फसेका उनीमा विस्तारै भ्रम पैदा हुन थाल्यो।
‘जब मैले गोटी खान थालेँ, मभित्र धेरै परिवर्तन पाएँ। कहिकतै मिठो धुन बजेको जस्तो लाग्थ्यो, मैले जे चाहन्छु त्यही भइरहेको जस्तो लाग्थ्यो’, नशाले आश्रयलाई छुट्टै दुनियाँ पुर्याएको थियो।
नशाको जोशमा आश्रयले देखाएको त्यो हर्कत...
कुलतको त्यो रसमा फसेका आश्रयलाई कलेज गएर पढ्नुमा कुनै चासो थिएन। उनलाई मात्र परीक्षाका लागि हाजिर पुर्याउनुथियो। उनको कक्षा दिउँसोको २ बजेसम्म हुन्थ्यो तर उनी कक्षा कोठामा उपस्थिती जनाएपछि बिहानको १० बजे नै ‘क्लास बङ्क’ गरेर जङगल पुग्थे अनि दिनभरि नशाको लतमा रमाउँथे।
सदाझैं एक दिन ‘गोटी’को तालमा कलेज पुगेका थिए, मानन्धर। त्यहीबेला कलेजमा राष्ट्रिय गीत गुञ्जिन थाल्यो। त्यो गीत सुनेर आश्रयलाई रमाइलो लाग्यो। उनी राष्ट्रिय गीतमै नाच्न थाले।
आश्रयको व्यवहार देखेर आश्चर्य मानेका प्रिन्सिपलले उनलाई आफ्नो कोठामा बोलाएर सोध्न थाले, ‘तैंले के खाएको छस्?’ सरको कुराले डराएका आश्रयले टाउको हल्लाउँदै केही नखाको इशारा गरे। तर प्रिन्सिपलले बुझिसकेका थिए आश्रयले नशा गरेकाे।
आश्रयको व्यवहार देखेर रिसले चुर भएका प्रिन्सिपलले उनलाई घर पठाइदिए। उनलाई लागिरहेको थियो, प्रिन्सिपलले सदाका लागि कलेजबाट निष्कासित गरिदिए। तर उनको त्यो मात्र एक डर थियो। प्रिन्सिपलले त उनलाई मात्र केही दिनको लागि कलेजबाट ‘सस्पेन्ड’ गरिदिए।
‘स्कुुलमा पढाउने सर र म्यामको कारण मलाई कलेजबाट निकालिएन। उहाँहरुले प्रिन्सिपललाई आश्रयको पढाइ राम्रो छ, उसको भविष्य बिग्रिन्छ भनेर आग्रह गर्नुभएको थियो’, शिक्षकहरूले गरेको गुणलाई उनी सम्झिन्छन्।
केही दिनका लागि कलेजबाट निस्किएर घर फर्किएका उनी बाआमाबाट लुकेर लागुऔषधको प्रयोग गर्थे।
‘मेरा बाआमालाई थाहा थिएन, मैले लागुुऔषधको सेवन गर्छु भनेर त्यसैले म लुकीलुकी खाने गरेको थिएँ’, उनले सुनाए। तर उनको त्यो झुटलाई आमाले समातिन्। आश्रयको गोजीबाट आमाले ट्याबलेटको खोल भेटाइन्।
छोराको लुगा सफा गर्दा गोजीबाट फेला परेको औषधिको खोललाई बाआमाले ‘डाक्टर’लाई देखाए। अनि डाक्टरले भनिदिए, ‘यो पेन किलर हो तर केटाहरूले यसलाई नशाको रुपमा लिन्छन्।’ डाक्टरको कुरा सुनेर झस्किएका आमाबुबाले थाहा पाए, छोरा कुलतमा फसेको रहिछ।
औषधिको दुरुप्रयोग
छोरा कुलतमा फसेको थाहा पाएपछि बाआमाले उनलाई ‘साइकोलोजिस्ट’ कहाँ पुर्याए। डाक्टरले उनलाई समय मिलाएर औषधि सेवन गर्न सुझाव दिए। तर उनले त्यही औषधिलाई नै आफ्नो डोज बनाए।
चुरोट, गाँजा र गोटी खाएर रमाइरहेका आश्रयले ‘ड्रग्स’लाई पनि आफ्नो जीन्दगी बनाए। २०७७ सालदेखि उनले ड्रग्सको प्रयोग गर्न थाले।
लकडाउनको समय थियो। उनी डोज नपुगेको कारण छटपट्याइरहेका थिए। त्यहीबेला उनलाई एक साथीले नयाँ बसपार्क पुर्यायाे। त्यसपछि तीनै साथीले उनलाई ‘धुलो’ खान लगाए। नशा गर्न नपाएर भौतारिरहेका आश्रयले पनि केही नसोची नाकले धुलो तानिदिए।
त्यसपछि उनी ‘ड्रगिस्ट’ भए।
‘म ड्रग्समा रमाउन थालेँ, मलाई सबैभन्दा धेरै मज्जा ड्रग्सको सेवन गरेर आयो’, बिएल नेपाली सेवालाई विगत सुनाउँदै उनले भने, ‘ड्रग्स महँगो थियो।’
ड्रग्सको सेवन गर्नअघि उनी दिनको हजार रुपैयाँ खर्चिन्थे। तर ड्रग्सको सेवन गर्न थालेपछि उनलाई दिनकै ५–६ हजार पैसा चाहिन्थ्यो। त्यसका लागि आश्रयलगायत चार जना साथीहरू मिलेर ‘डिलर’ को काम गर्थे।
‘गाँजा गोटी र चुरोट तान्नको लागि दिनको हजार रुपैयाँ बाआमालाई माग्दा दिनुहुन्थ्यो तर ड्रग्स महँगो थियो, त्यसैले हामी चार जना मिलेर काम गाँजा बेच्ने गर्थ्याैं’, उनले भने।
गाँजा बेचेर ड्रग्सको सेवन गर्न थालेका आश्रय परिवार र छिमेकीको नजरमा खस्किन थाले। कुनैबेला उसको प्रंशसा गरेर नथाक्ने तीनै छिमेकी उनकाे कुरा काट्न थाले।
‘छिमेकीले मेरो कुरा काटेको मलाई साथीहरू सुनाउँथे तर म उनीहरूसँग नै झगडा गरिदिन्थेँ’, साथीहरूलाई गरेको व्यवहार सम्झिएर दुखी भएका आश्रय भन्छन्, ‘मैले गलत गरेको रहिछु।’
दिनप्रति दिन छोराको व्यवहार देखेर निराशिएका बाआमाले उनलाई सुधार केन्द्रमा हाल्ने निधो गरे। र, २०७८ सालमा उनलाई राजधानीकै एक सुधार गृहमा राखे।
सुरु–सुरुमा ड्रग्स छोड्न नसकेका मानन्धरले ९ महिना सुधार गृहमा बिताए। त्यसपछि उनी घर फर्किए। झण्डै एक वर्ष ‘रिहाब’ मा बसेका उनी सुध्रिन सकेनन्। जसको कारण थियो, देखासिकी। उनीसँगै पढेका साथीहरू कोही यूरोपमा थिए त कोही पाइलट भइसकेका थिए। तर आश्रय भने कुलतबाट उस्किदैँ थिए।
साथीहरूको प्रगति र आफ्नो बर्बादी सम्झिएर दिक्दार भएका उनले आफूलाई खुसी राख्नका लागि पुनः ड्रग्स खान थाले। ‘साथीहरूसँग आफ्नाे तुलना गर्दा म धेरै तल रहेछु जस्तो लाग्यो, त्यसैले त्यो टेन्शन हटाउनका लागि खाइदिएँ’, उनले फेरि ड्रग्सको सेवन गरे।
सुधार केन्द्रबाट घर फर्किएपछि उनले शरीरमा सुइँले पनि खोपे। तर उनमा डर पलायो। ‘सुइँ हालेँ भने म छिट्टै मर्छु’। त्यसैले आश्रयले २–३ पटक मात्र सुइँ लगाए। तर रक्सी र लागुऔषध खान छाेडेनन्।
घरमा लुकीछुकी उनी रातको समयमा लागुऔषध सेवन गरिरहेका थिए। तर नशा गरेको चार दिनपछि उनले नशा गरिरहेकाे बाआमाले थाहा पाए। ‘मलाई खाएपछि बेहोश हुनेगरी खानुपर्छ, त्यही बेहोश भएकै कारण आमाबुबाले थाहा पाउनुभयो’, उनले भने, ‘तर पछि मलाई नराम्रो लाग्यो।’
सुधार केन्द्र बसेरपनि आफूलाई सुध्रार्न नसकेका मानन्धरले दोस्रो पटक सुधार गृह बस्ने सोच बनाए। तर त्यो उनको स्वंयकाे निर्णय थियो।
‘मैले मेरो ७ वर्ष कुलतमा फसेर बिगारेँ तर अब मलाई उठ्नुथियो। कुलतको दुनियाँबाट बाहिर निस्किनुथियो’, उनले बताए।
दोस्रो पटक आफूलाई सुध्रिने अठोट लिएका उनी बूढानीलकण्ठमा सञ्चालन भइरहेको ‘मार्ग दर्शक सुधार केन्द्र’ पुगे। अनि त्यही बसेर आफूलाई सुधार्ने अठोट लिए।
‘मलाई जसरी हुन्छ, सुध्रनु थियो’, उनले आफैसँग प्रण गरे।
दोस्रो पटक सुधार गृहमा बसेका आश्रयको दिनचर्या पनि फेरिदैं गयो। छिटो उठ्ने, समयमा खाना खाने र बेलैमा सुत्ने उनको दैनिकी बन्यो।
यूरोप जाने सपना
मार्ग दर्शकले दिएको नयाँ जीवनप्रति उनी खुसी छन्। अब उनी आफ्नाे सपना पूरा गर्न चाहन्छन्। त्यसका लागि उनले अहिले ‘सिटीभिटी’ ले दिइरहेको ‘इलेक्ट्रिक’ सम्बन्धिका तालिमहरू लिइरहेका छन्। त्यही तालिम सिकेर उनी यूरोप जाने सोचमा छन्।
‘मलाई यूरोप गएर इन्जिनियर बन्नुछ, अब मलाई बाआमाको जिम्मेवार छोरा भएर आफ्नो कर्तव्य पूरा गर्नुछ’, ७ वर्ष कुलतमा फसेका उनी भन्छन्, ‘अब म मेरो लागि बाँच्नेछु। परिवारकाे दु:ख बुझ्नेछु।’
कुलतको दुनियाँबाट निस्किएका आश्रय अहिले काम मात्र गर्दैनन् लागुऔषधविरुद्धको जनचेतना कार्यक्रम पनि चलाउँदै हिँड्छन्।
उनी सुनाउँछन्, ‘ड्रग्सलाई मान्छेले होइन, मान्छेलाई ड्रग्सले खान्छ। त्यसैले यो कुलतबाट टाढै बस्नुपर्छ।’
हिराे बन्नका लागि ड्रग्सकाे सेवन गर्दा ‘जिराे’ हुने उनकाे तर्क छ।
आश्रयसँगै डिलरकाे काम गर्ने तीन जना साथीहरूमध्ये अहिले दुई जना जेल जीवन बिताइरहेका छन् र एक जना सुधार केन्द्रमा छन्।
‘धन्न, मैले यसकाे समयमै उपचार गरेँ’, आफूलाई कुलतको डरलाग्दो दुनियाँबाट निकाल्न पाएकोमा खुसी छन् २० वर्षका मानन्धर।
(बूढानीलकण्ठ–पासीकाेटमा विगत एक वर्षदेखि सञ्चालन भइरहेको मार्ग दर्शक सुधार केन्द्रमा सम्पर्क गर्नका लागि ९८४५३४४४९०, ९७४१६८९४६३ नम्बरहरूमा फोन गर्न सकिनेछ।)