फेरिएका जीवनहरु (श्रृङ्खला- ६)

‘साथी-संगतले ‘ड्रगिस्ट’ बनेँ, आमाको आँसुले बदलिएँ’ (भिडियोसहित)

‘सेतो सर्ट र निलो पाइन्ट’ लगाएका आफ्ना शिक्षक देखेर फुरूङग हुने सुजन आफैँमा कल्पिने गर्थे, ‘कास, मसँग पनि सरको जस्तो लुगा भइदिए....।’

सरकारी पोसाकमा सजिएर आउने सरले ‘भविष्यमा के बन्छौं’ भनेर सोधिरहँदा कक्षा कोठाका विद्यार्थीहरू हात उठाउँदै ‘डाक्टर’, ‘पाइलट’, ‘इन्जिनियर’ भन्दै तम्सिन्थे। तर, सुजनको जवाफ साथीहरूको भन्दा फरक आउँथ्यो।

‘कालो पाटी’ अगाडि उभिरहेको सरपट्टी औँला देखाउँदै उनले भन्थे, ‘मलाई सरले जस्तै लुगा लगाएर जागिरे बन्नुछ।’ उनको जवाफ सुनेर कक्षा कोठा नै हाँसोमा गुञ्जिन्थ्यो।

तर, सुजनलाई सरको त्यो सुग्घर कपडाले लोभ्याएको थियो। उनको लक्ष्य त मात्र सरको पहिरन थियो।

‘बच्चा बेलामा के हुँदो रहेछ भने अरूले पहिरिएको सफा कपडा मनपर्ने रहिछ। हामीलाई पढाउन आउनुहुने सरले आइरन लगाएको कपडा लगाएर आउनुहुन्थ्यो, त्यो देखेर मलाई पनि त्यस्तै लुगा लगाउनु मन लाग्यो। त्यसैले मेरो लक्ष्य पनि त्यही नै रह्यो’, उनले बाल्यवस्था सम्झिए। 

तर, सरकारी पोसाकमा सजिएर जागिर खाने उनको सपना मात्र रहर बन्यो।

स्कुलमा सबैभन्दा फूर्तिला विद्यार्थीको ‘लिस्ट’मा पदर्थे, सुजन केसी।

विद्यालयमा हुने विभिन्न खेलकुद प्रतियोगितामा भाग लिइरहने सुजनको शरीर पनि आकर्षक नै थियो।

उनको शरीरको बनावट र खेल देखेर मोहित भएका फ्यानहरू ‘चियर अप’ गर्दै भन्थे, ‘वाह! हेन्सम सुजनको कति राम्रो खेल!’

आफूले पाएको प्रशंसा सुनेर सुजन पनि फुरुक्क हुन्थे। र, खेल पनि जितेरै देखाइदिन्थे।

कक्षा ७ पढ्दै गर्दा त उनी स्कुलका चर्चित  बनिसकेका थिए। १३ वर्षको उमेरमा उनले ‘खेलाडी’को ‘ट्याग’ पाएका थिए।

खेलकुदमा रूची राख्ने केसीको रहर सर्ट र पाइन्ट पहिरिएर जागिर खाने थियो।

तर, विस्तारै साथ संगत बदलिन थाल्यो। सपनाहरू हराउन थाले। 

कक्षा ८ मा पढ्दै थिए, सुजन। त्यहीबेला उनको सम्बन्ध ‘चुरोटे’हरूसँग गासिँयो। आफूसँगै पढिरहेका साथीहरू मुख र नाकबाट बङबङगी चुरोटको धुँवा उडाइरहँदा उनमा पनि जोश आयो, चुरोटको सर्को लिने।

उनलाई लाग्थ्यो कि, चुरोट तान्दा ‘हिरो’ भइन्छ। त्यही भ्रमलाई सत्य ठानेका उनले एकदिन स्कुल अगाडि रहेको होटलमा बसेर चुरोट ताने। स्कुल ‘बङ्क’ गरेर उनले स्कुले ड्रेसमै पहिलोपटक चुरोटको धुँवा उडाए।

पहिलोपटक चुरोटको सर्को तान्दा उनले ‘स्वर्ग’ पुगेको अनुभूति गरे। सुजनले त्यही चुरोटलाई आफ्नो रमाइलोको साधन बनाए। उनी खुसी र निराश हुँदा चुरोटको धुँवा फ्याँकेर आफूलाई भुलाउने गर्थे।

चुरोटले मात्र नमेटाएको तलतल उनले गाँजाले मेटाउन थाले। मद्यपान गर्नमा रमाइरहेका सुजनले ‘ट्याबलेट’ र ड्रग्सको नशा पनि लिए।

त्यसपछि बदलिन थाल्यो सुजन केसीको दिनचर्या।

नशा गर्नुअघि स्कुलका फूर्तिला सुजन सेलाउँदै गए। स्कुलमा हुने कार्यक्रमहरूबाट पनि उनी टाढिन थाले। समयसँगै बदलिएको सुजनको व्यवहार देखेर शिक्षक मात्र नभई घरका सबै परिवारमा निराशा छाएको थियो। 

काठमाडौँको मैनमैजुमा जन्मिएका सुजन घरका कान्छो छोरा हुन्। उनीमाथि एक दाइ र दुई दिदी छन्। घरको सबैभन्दा कान्छा सदस्य भएकै कारण उनी पुलपुलिएर हुर्किए।  जे–चाह्यो त्यही पाए। त्यसैपनि उनी घरमा सबैसँग नजिक थिए। 

तर, ड्रग्सको त्यो लतमा डुबिसकेका सुजन परिवारसँग पनि टाढिदै गए। घरमा सबैभन्दा धेरै बोल्ने उनी नशापछि ‘गुपचुप’ बस्न थाले। आँखा जुधाएर बोल्न पनि डराउँथे।

‘नशा गर्ने मान्छेले आँखा जुधाएर बोल्न सक्दैनन्, किनकि उनीहरू डराउँछन्। हो, पनि नशा गर्न थालेपछि डराएँ। मेरो परिवारसँग टाढा भएँ’, लागुऔषध प्रयोगकर्ताहरूले भोग्ने गरेको अनुभव उनी सुनाउँछन्,‘नशामा डुबेको मान्छेलाई न लाज लाग्छ, न त घिन। डर लाग्छ तर झगडालु हुन्छ।’

कान्छा छोराको त्यो अवस्था देखेर बा-आमाले उनलाई साथीहरूको संगत छोड्न आगह्र गरे। तर, सुजन आफ्नो साथीहरूको प्रशंसा गरिरहन्थे। अनि भन्ने गर्थे, ‘बरू, म परिवार छोड्न तयार छु तर साथी छोड्दिनँ।’

घरका परिवारले बिग्रिएका साथीहरूसँग नबोल भनिरहँदा उनी भने त्यही साथीहरूसँग ‘झ्याप’ भएर दिन बिताउँथे। घरमा नबस्नु र स्कुल नजानु त उनको दैनिकी बनेको थियो। खाना खान र सुत्नका लागि मात्र सुजन घरको आँगनमा टेक्ने गर्थे।

दिनभरि नशाको लतमा झुमिरहने उनी रातभर ड्रग्सकै सोचमा डुबिरहन्थे। उनी आफैँसँग बरबराइरहन्थे, ‘अब भोलि कसरी डोज पूरा गर्ने?’ त्यही सोचमा डुबेका सुजनले कैयौँ रात त नसुतिनै उज्यालो बनाए।

‘मैले जे गरिरहेको छु, त्यो गलत छ भन्ने कुरा मलाई थाहा थियो। मैले धेरै पटक छोड्ने कोसिस पनि गरेँ तर सकिनँ’, एकरात सुत्नअघि आफूले भोगेको कुरालाई उनले बिएल नेपाली सेवासँग भने, ‘त्यो रात म धेरै छटपट्याएँ। भोलि के खाने र कसरी खाने भन्ने चिन्ताले सतायो।’

नशा गर्नेहरू साधारण मान्छे भन्दा धेरै चलाख हुने उनको बुझाइ छ। त्यहीकारण लागुऔषध प्रयोगकर्ताहरूले ढाँटेर, छलेर, चोरेर भएपनि आफ्नो डोज पुर्याउने गर्छन्। 

‘मैले धेरै पटक बा-आमालाई ठगेँ, चोरी गरेँ। आमाको दराजबाट मात्र नभई मैले पसलको पैसा पनि चोरेँ’, नशामा डुबेकाहरू अपराध गर्न पछि नहट्ने बताउँदै उनले भने, ‘मैले नगर्नुपर्ने सबै काम गरेँ तर सुध्रिन सकिनँ।’ 

बुबाको त्यो अन्तिम शब्द

विद्यालय नजाने उनको अध्ययनमा खासै चासो थिएन तर जसोतसाे सुजनले ‘प्लस टु’ पास गरे। १२ कक्षा कटाएपछि उनले ‘अस्ट्रेलिया’ जाने तयारी गरे। तर, उनको त्यो सपना पूरा भएन। त्यसको कारण थियो, ‘घरको नाजुक अवस्था।’

उनी अस्ट्रेलिया जाने सोचमा थिए भने यता बुबा सिकिस्त बिरामी थिए। मद्यपान र धुम्रपानले ग्रसित सुजनका बुबा चार महिना त अस्पतालमै भर्ना भए।

अस्पतालको त्यो बेडमा लम्पसार परिरहेका बिरामीलाई भेट्न पुगेका सुजनलाई बुबाले अन्तिम पटक भनेका थिए, ‘म धेरै चुरोट पिएर बिरामी भएँ। त्यसैले तँ यो नखा छोरा। म जस्तै बिरामी हुन्छस्। मलाई अरू केही चाहिँदैन। तँ राम्रो भए पुग्छ।’

नशाको लतमा पूरै डुबिसकेका सुजनले बुबाको बेवास्ता गरिदिन्थे। र, दिनभरि ड्रग्सको खोजीमा भौतारिरहन्थे। ‘मलाई थाहा थियो, अब बुबा बाँच्नुहुन्न भनेर तर मलाई जसरी हुन्छ, डोज पुर्‍याउनुथियाे’, सुजनले बिरामी बुबाको कुरालाई बेवास्ता गरेको स्मरण गरे।

चार महिना अस्पतालको बसाइँपछि उनका बुबाले सदाका लागि संसार त्यागे। बुबासँगै सुजनको अस्ट्रेलिया जाने सपना पनि चुडिएर गयो।

‘बुबाको उपचारमा सबै पैसा सकियो अनि मेरो विदेश जाने रहर पनि सपनामा नै सीमित भयाे’, उनी भन्छन्।

अस्ट्रेलिया जाने सपना सिसाझैं चर्किएपछि सुजनले कहिल्यै नलगाएको सुई शरीरमा घाेच्न थाले। त्यसपछि उनको शरीरले बाँच्नको लागि नशालाई खोज्न थाल्यो। शरीरले मागिरहेको नशा पूरा गर्नका लागि उनी विवाह गरेर गएका दिदीहरूलाई समेत पैसा मागेर हैरान बनाउँथे त कहिले तोडफोड गरेर पैसा लिन्थे। भाइको व्यवहार देखेका दिदीहरू माइतीघर जान समेत डराउँथे।

लागुऔषध प्रयोग गर्नमा एडिक बनेका सुजनले शरीरमा त्यतिधेरै सुईबाट ड्रग्स लिएका थिए कि उनको शरीरको नसा सुस्ताएको थियो। उनलाई हिँड्नमा नै समस्या हुन्थ्यो।

छोराको त्यो अवस्था देखेर भावुक भएकी आमाले उनलाई भैँसीपाटीको एक सुधार केन्द्रमा राख्ने निधो गरिन्। आमाको कुरा सुनेर भड्किएका सुजनले सुधार गृह नजाने अडान लिए। तर, परिवारको अगाडि उनको केही लागेन। र, २०७२ सालमा उनी बाध्यताबस सुधार केन्द्र बस्न थाले।

इच्छाविपरीत सुधार गृह पुगेका सुजनले दुई वर्ष त्यहाँ बिताए। त्यसपछि उनी नयाँ जीवन जिउने सपना बोकेर घर फर्किए। तर, उनले सोचजस्तो भएन, जीवन। सुजनलाई श्रीमतीले छोडेर गइन्। 

पाँच वर्षसँगै बसेकी श्रीमतीले छोडेर गइन्। सुजन फेरि बिरक्तिए।

र, फेरि साहारा बन्याे ड्रग्स।

सुजनले सोचिसकेका थिए, अब उनको जीन्दगी नशाले नै सक्काउँछ। किनकि उनीसँगै नशा गर्ने साथीहरूलाई ड्रग्सले निलिसकेकाे थियाे। काेही अपांग जीवन बिताइरहेका थिए।

साथीहरूको त्यो भयानक अवस्था देखेर डराइरहेका थिए, सुजन। तर, उनलाई कुनै पनि हालतमा नशा त्याग्नु नै थिएन। छोरासँगै डुल्ने साथीहरूको मृत्युको खबरले झस्किएकी आमाले उनलाई फेरि एक सुधार केन्द्र राख्ने सोचिन्। 

२०७९ कार्तिक महिना।

तिहारको रमझम चल्दै थियो। उता सुजन भने नशामै थिए। त्यति नै बेला उनको कोठामा पसेका चार-पाँच जनाले सुजनलाई समातेर बूढानीलकण्ठको मार्ग दर्शक सुधार केन्द्र पुर्‍याए। 

‘म नशामा झल्लु थिएँ। तर, मेरी आमाले मलाई सुधार केन्द्र मान्छे बोलाउनु भएको रहेछ। त्यसैले मलाई ४-५ जना दाइहरूले समातेर लैजानुभयो। त्यसमध्ये मैले एक जना दाइलाई चिनेको थिएँ, उहाँ पनि पहिले नशा गर्नुहुन्थ्यो’, दोस्रो पटक पनि सुधार केन्द्र जाने आफ्नो रहर नभएको बताउँदै उनले भने, ‘हामी जस्तो नशा गर्ने मान्छे कसैको अडानमा बस्न सक्दैनौँ, त्यसैले सुधार केन्द्रमा जान खोज्दैनौँ तर मसँग कुनै विकल्प थिएन।’

सुधार केन्द्र पुग्दा उनी कमजोर भए। हाइ डोजका ड्रग्स सेवन गर्ने उनी नशाबिना हिँड्न नसक्ने भए। उनलाई सुताउन र उठाउन नै दुई जना मान्छेको साहारा चाहिन्थ्यो।

सुधार गृहमा ड्रग्स नपाएर कमजोर भएका उनी आमासँग रिसाएका थिए। त्यहाँबाट निस्किनासाथ ड्रग्स तान्ने योजना बुनेका थिए।

सुधार केन्द्र बस्न थालेको महिना दिन बित्दै थियो। सुजनको शरीर पनि दिन प्रतिदिन बदलिइरहेको थियो। सधैं नशाको भोकमा डुबिरहने उनले ड्रग्सको सट्टामा खाना खान थाले। अनि, राम्रो निदाउन सके। 

सुधार केन्द्र बसेको ६ महिना बित्यो। सुजनलाई भेट्न उनी आमा पुगिन्। ड्रग्स त्यागेर मोटाएको छोरा देखेर भावुक बनेकी आमा रुन थालिन्। आमा रुएको देखेर सुजन पनि आफूले गरेको गल्तिको माफी माग्दै भक्कानिए। 

त्यसपछि सुजनले कहिल्यै नशाको सेवन नगर्ने आफैँसँग वाचा गरे। 

‘आमाको त्यो आँसुमा के जादू थियो थाहा छैन तर मैले त्यहीबेला अबदेखि जीवनमा कहिल्यै नशा नगर्ने कसम खाएँ’, आमाको आँसुले आफूलाई परिवर्तन गरेको उनी बताउँछन्, ‘भैँसीपाटीको सुधारगृहमा बस्दा मैले कहिल्यै नशा छाड्ने कसम खाएको थिइनँ तर मलाई दोस्रो पटकको सुधार केन्द्रमा आमाको मायाले सुधार्यो।’

सुजनको बदलिएको जीवन

१८ वर्ष कुलतमा फसेका सुजन अहिले बदलिएका छन्। उनी बिहानै उठ्छन्, र लागुऔषधको प्रयोग गरेर सुधार केन्द्र आएका युवाहरूलाई सम्झाउँछन् अनि आफ्नै कथा सुनाउँछन्। 

११ महिना मार्ग दर्शकमा बिताएका सुजन अहिले त्यही ‘रिहाब’मा काम गर्छन्। मार्सिक तलब लिएर काम गर्ने उनी त्यही तलबले आफ्नो गुजारा चलाउँछन्। त्यतिमात्र होइन उनले आमालाई पनि घर खर्च दिने गरेका छन्। 

नशाबाट छुटकारा पाएर नयाँ जीवन बिताइरहेको छोरा देखेर आमा खुसी छिन्। आमाको त्यो खुसी देखेर सुजन पनि प्रशन्न छन्। उनी भन्छन्, ‘विगतमा मैले आमालाई धेरै दुख दिएर रुवाएँ तर अब म नशा त्यागेर आमालाई खुसी बनाइरहन्छु।’

मार्ग दर्शकले आफूलाई नयाँ जीवन दिएको बताउँदै सुधार केन्द्रका सञ्चालक सुमन खड्कालाई धन्यवाद दिँदै सुजन दाबी गर्छन्, ‘हामीजस्तो कुलतमा फस्नेरूका लागि एउटै उपचार भनेको रिहाब हो। त्यसैले नशाको प्रयोग गर्ने मान्छे एकपटक सुधार केन्द्रमा बस्नैपर्छ।’

नशाको लतमा झण्डै ज्यान गुमाइसकेका सुजनलाई अहिले एउटै कुराको पछुतो लाग्छ। त्यो हो, उनको करियर। नशाले आफ्नो जीन्दगी सक्काएको भन्दै सुजन भन्छन्, ‘मैले मेरो लक्ष्य पूरा गर्न सकिनँ, यही कुराको दु:ख लाग्छ तर अहिले पनि मभित्र आत्मविश्वास छ कि म केही गर्नेछु। त्यसैले हार मान्दिनँ।’

झण्डै दुई दशक लागुऔषधको प्रयोगमा रमाएका ३७ वर्षीय सुजनमा अहिले पनि सरले लगाएको जस्तो त्यो सर्ट र पाइन्ट पहिरिएर जागिर खाने रहर छ। 


(विगत एक वर्षदेखि सञ्चालन भइरहेको मार्ग दर्शक सुधार केन्द्रमा सम्पर्क गर्नका लागि ९८४५३४४४९०, ९७४१६८९४६३ नम्बरहरूमा फोन गर्न सकिनेछ।)

प्रकाशित मिति: : 2023-09-26 20:00:00

प्रतिकृया दिनुहोस्