कलिलाे ज्यानमा निलेका सिगरेटका धुँवाले यति धेरै राग छोडिसकेकाे थियाे कि त्यसका तलतल मेट्न झन्–झन् कडा डाेज लिन थालिसकेका थिए क्षितिजले। चुराेटसँग भेटेर जीवनको लक्ष्य कतै परकाे ‘क्षितिज’मा हराइसकेकाे थियाे। चार–चारपटक ‘रिहाब’मा बसेर आफूलाई सुधारेका क्षितिज आफू देशकाे ‘सिपाही’ बन्न सकेनन्। तर अहिले कुलतकाे त्याे बाटाेबाट युवाहरूलाई जाेगाउन लागिपरेका क्षितिज नजानिदाें तरिकाले समाज सुधारकाे एउटा सिपाही बनिरहेका छन्।
चिया पसलमा उपरखुट्टी लगाएर चुरोट तानिरहेका टोलका दाइहरू देखेर आकर्षित भएका थिए क्षितिज श्रेष्ठ। लामो कपाल, हाफ पाइन्ट अनि छालाका जुत्ता लगाएका उनीहरूको पहिरनले क्षितिजलाई लोभाएको थियो।
दाइहरूजस्तै ‘डन’ देखिने उनमा पनि जोश पलाएको थियो। उनलाई पनि चुरोटको धुँवा आकाशमा उडाउने रहर जागेको थियो। त्यही सपनाले क्षितिजलाई सानै उमेरमा ‘चुरोटे’ बनायो।
कक्षा–७ मा पढ्दैगर्दा उनले पहिलोपटक चुरोटबाट धुँवा निकालेका थिए। त्यही पनि साथीको आडमा। पहिलोपटक चुरोट तान्दाको अनुभव उनले बिर्सिसकेका छन् तर परिवारसँग डराएको कुरा क्षितिजलाई अझैसम्म याद छ।
घरमा हजुरबाआमा, बुबाआमा, दिदी अनि क्षितिज थिए। सबैभन्दा साना उनी पुलपुलिएर हुर्किएका थिए। उनलाई कुनैपनि कुराको दुख थिएन। तर साथीहरूको देखासिकी गर्ने उनको सानैदेखिको बानी थियो। चाहे, त्यो काम गलत होस् या सहि।
टोलका साथीहरूबाट चुरोट तान्न सिकाएका क्षितिजले स्कुलमा पनि ‘चुराटे’हरूलाई साथी बनाए। उनीहरूले स्कुलमै चुरोट तान्न थाले। शिक्षकहरूसँग लुकीलुकी। ‘आफूजस्तै साथी पाएँ, त्यसपछि झनै बिग्रिदै गएँ’, उनले विगत सुनाउँदै भने।
१३ वर्षको उमेरदेखि चुरोट पिउन थालेका क्षितिजले गाँजा पनि तान्न सुरु गरे। चुरोटमा गाँजा भरेर खाँदा उनलाई ‘ट्रिप’ दियो। क्षितिजलाई चुरोटभन्दा गाँजा नै ‘बेस्ट’ लाग्यो।
सुरुवाती दिनहरूमा गाँजामा झुलिरहेका उनलाई विस्तारै गाँजाको डोजले पुग्नै छाड्यो। त्यसपछि गाँजा खान थालेको दुई वर्षपछि उनले ‘पिल्स’ खान थाले। आफूभन्दा ठुला दाइहरूले दिएको ‘पिल्स’ खाँदा उनलाई दुनियाँ रंगिन लाग्यो। कता–कता पुगेजस्तो लाग्यो। पिल्सले क्षितिजलाई छुट्टै आनन्द दियो।
पहिलोपटक पिल्स निल्दाको अनुभव अझै सम्झना छ उसलाई। ‘मैले पहिलोपटक २ वटा पिल्स खाएको थिएँ। त्यो दिन मैले धेरै चुरोट तानिरहेको थिएँ’, क्षितिजले आफ्नो अनुभव सुनाए, ‘धेरै चुरोट खाएको देखेर साथीहरूले मैले पिल्स खाएको थाहा पाएका थिए।’
त्योबेला २० रुपैयाँले २ वटा पिल्स आउँथ्यो। त्यही डोजले उनलाई दिनभरि पुग्थ्यो। ट्याब्लेट खाएपछि स्वर्गमा पुगेजस्तो अनुभूति हुन्थ्यो क्षितिजलाई। त्यहीकारण उनले आफूले खाने पिल्सको डोज बढाउँदै गए। उनले दिनमा ३० वटासम्म पिल्स खान भ्याए।
‘त्यतिबेला जताततै पिल्स पाइँदैन थियो तर मैले जसोतसो मिलाएर खाने गरेको थिएँ’, एकदिनको डोज पुर्याउनका लागि दिनभरि भौतारिरहन्थे क्षितिज।
उनले पिल्स खान थालेको वर्षदिन हुँदै थियो। उनको लतको कुरा घरकाले पनि थाहा पाए। ‘मैले चुरोट र गाँजा खान्छ भनेर थाहा थियो तर पिल्सहरूको प्रयोग गर्छ भनेर चाहिँ थाहा थिएन’, उनी सम्झिन्छन्।
उनको बुबाको फार्मेसी थियो। त्यही फार्मेसीबाट पिल्स निकालेर खाने गर्थे क्षितिजले। तर एकदिन उनको बुबाआमाले छोरा पिल्सको लतमा फसेको थाहा पाए।
घरका परिवारले आफू कुलतमा फसेको कुरा थाहा पाएपछि उनी निकै डराएका थिए। तरपनि पिल्स खान छोडेनन्। छोड्नसक्ने अवस्थामा पनि थिएनन्। उनको शरीरलाई चलाउनका लागि ड्रग्स चाहिने भइसकेको थियो।
‘घरमा बुबाआमाले थाहा पाएपछि धेरै डराएँ तर नखाईकन बस्नै सकिनँ’, उनले भने, ‘मलाई ड्रग्स छोड्नका लागि परिवारले धेरै सम्झाउनुभयो। मलाई कुट्नुपनि भयो तर ड्रग्स खान छोडिनँ।’
बरू, झनै ब्राउनसुगर खान थाले।
त्याबेलाको सबैभन्दा महँगो ड्रग्स थियो, ब्राउनसुगर। एक डोजको लागि सयदेखि डेढ सय रुपैयाँ खर्चिनुपथ्यो। त्यसैले ब्राउनसुगर ‘राजाको छोराले खाने ड्रग्स’ भनिन्थ्यो।
क्षितिजको काम थिएन र साथमा पैसा पनि। आफ्नो डोज पुर्याउनका लागि उनी घरमा बुबाआमासँग पैसा माग्ने गर्थे। कहिले कापी, कलम किन्छु भनेर त कहिले साथीको जन्मदिनको बाहाना पारेर।
तर ‘अम्मल’मा रमाउन थालेको बुझिसकेपछि उनलाई घरबाट कहिल्यै पैसा दिएन। त्यसपछि उनले घरबाट पैसा चोर्ने र कुटपिट गर्न थाले। ‘जसरीहुन्छ मलाई डोज पुर्याउनुपथ्यो’, बिएल नेपाली सेवासँग उनले भने, ‘तर एक वर्षपछि मैले महँगो ब्राउनसुगर खान छोडें।’
छोराको हर्कत देखेर आजित भइसकेका थिए बुबाआमा। एक्लो छोरालाई सुधार्न चाहन्थे। त्यसैले उनलाई २० वर्षको उमेरमा बालाजुको एक ‘सुधार गृह’मा राखिदिए। क्षितिजको इच्छाविपरीत।
बुबाआमाले सुधार गृहमा राखिदिएपछि रिसाएका थिए क्षितिज। परिवारसँग इख लिएका थिए, ‘सुधार केन्द्रबाट निस्किनेबित्तिकै ड्रग्स खाइदिन्छु!’ रिसलाई मारेर उनी तीन महिनासम्म सुधार गृहमा बसे। र, घर फर्किएको दिनै उनले ड्रग्स खाइदिए। त्यहीपनि परिवारको रिसमा। ‘मैले रिहाब सेन्टरमा बस्नेबेला नै सोचिसकेको थिएँ, बाहिर जानेबित्तिकै खाइदिन्छु भनेर’, उनले भने, ‘जुन दिन रिहाबाट निस्किएको थिएँ, त्यही दिनै खाइदिएँ।’
सुधार गृहबाट निस्किएपछि उनले सुइँको पनि प्रयोग गरे। साथीहरूको सुझावको कारण उनले पहिलोपटक हातको नसामा सुइँ छिराए। त्यसपछि उनले शरीरको विभिन्न भागहरू सिरिन्जको घुसाए। उनले शरीरको कुनैपनि भाग छोडेनन् सिरिन्ज खोप्नका लागि।
‘ब्राउनसुगर खाँदा मैले सुइँ नहान्ने सोच बनाएको थिएँ तर ब्राउनसुगर खान नसकेपछि मैले सिरिन्ज हाल्न थालें’, उनी भन्छन्, ‘सिरिन्जको डोजले मात्र नपुगेर मैले पिल्सहरू पनि खाने गथें।’
कुलतको नशामा डुब्ने उनलाई कामहरूको अफर नआएको पनि होइन। तर उनले काम गर्ने सकेनन्। कार्पेट पसललगायत कयौं पसलहरूमा काम गर्ने अवसर पाएका क्षितिजलाई उनको शरीरले काम गर्ने दिएनन्।‘म कसैपनि अन्डरमा बस्न सक्दिन थिएँ, त्यसैले १०–१५ दिन गर्दे धेरै कामहरू छोडे’, उनले भने।
काम नगरी नशामा मातिएका छोरालाई सुधार्नका लागि बुबाआमाले रिहाबबाट निस्किएको एक महिनापछि फेरि त्यही सुधार गृहमा राखे। २७ दिन उनले रिहाब सेन्टरमा बिताए। त्यहीपनि सुध्रिएनन् क्षितिज। ‘मलाई सुध्रिने मनै थिएन, म मेरो संसारमा खुसी थिएँ’, उनले सुनाए।
दुईपटकसम्म सुधार गृह बसेर नसुध्रिएका उनलाई बुबाआमाले तेस्रो पटक रिहाब राखे। त्यतिबेला पनि सुध्रिने सोच पलाएन उनमा। तेस्रो पटक रिहाबमा बसेर फर्किएपछि झनै उग्र बने क्षितिज। घरका परिवारसँग झगडा गर्ने, पैसा माग्ने अनि कुटपिट गर्ने अवस्थामा पुगे।
‘सुरुवाती चरणमा मैले आफूलाई सम्हाल्न सकेको थिएँ तर विस्तारै मलाई नसाले यतिधेरै डुबाएछ कि मैले मेरो परिवारलाई समेत हिंसा गर्न थालेको थिएँ’, त्यो दिन सम्झिएर अहिले दुखी हुन्छन् उनी।
छोराको दिनरातको कलहको कारण आजित भइसकेका थिए श्रेष्ठ परिवार। क्षितिजको व्यवहार छुटाउन चाहन्थे परिवार। त्यसैले तेस्रो पटक रिहाबबाट आएको पाँच महिनापछि उनलाई चौथो पटक सुधार गृह राख्ने परिवारको निर्णय बन्यो।
वि.स २०६९–असार २९ गते। घरमा ठुलो झगडा भएको थियो। ड्रग्स खाने पैसा माग्दै परिवारसँग निहुँ खोजिरहेका उनले घरमा सजाइएका सामानको झट्टारो हानिरहेका थिए। झगडा गरिसकेपछि उनले आफूलाई चारभित्तामा बन्द गरे।
झगडा केही समयपछि घरमा प्रहरी आयो। उनको ढोका ढकढकायो। तर उनले ढोका खोलेनन्। त्यसपछि फिल्मीशैलीमा प्रहरीको उनको ढोका फुटाइदियो। अनि क्षितिजलाई आफूहरूसँगै लगेर गयो। ‘त्योबेला त पूरै फिल्मी स्टाइल भयो नि’, हाँस्दै उनी भन्छन्, ‘उहाँहरू मलाई सम्झाउनुको लागि आउनुभएको थियो तर म उहाँसंगै झगडा गर्न थालें। त्यसपछि मलाई लग्यो।’
प्रहरीले उनलाई घर नजिकैको ‘बलम्बु चौकी’मा थुने। एकदिनको लागि। त्यसपछि उनलाई चौकीबाट टोखाको एक ‘सुधार केन्द्र’मा लगियो। चौथो पटक रिहाब सेन्टर राख्दा निकै रिसाएका थिए उनी। त्यो बेला परिवारसँग मात्र नभई प्रहरीसँग पनि क्रोधित भएका थिए क्षितिज। तर केही गर्न सकेनन्। ‘तिमीहरूलाई पख् न भन्दै मनमा रिस उठेको थियो’, उनले सम्झिए।
चौथो पटक सुधार गृह बसेका थिए क्षितिज। तर सबैभन्दा धेरै दुख उनले त्यहीबेला पाए। तीन पटकसम्म रिहाब बसेर उपचार गरेका उनले चार पटकको पालोमा भने धेरै दु:ख सहे। रातमा निन्द्रा लागेन, भोक लागेन अनि हिँडडुल गर्न पनि सकेन।
उनलाई अझै याद छ, रिहाबको त्यो पहिलो दिन। खाना खान लागेका थिए क्षितिज। तर उनले एकै गाँसमा वान्ता गरिदिए। ड्रग्सबिना उनलाई खाना रुचेन। स्वास्थ्य अवस्थामा पनि बिग्रदै गयो। शरीरमा चिटचिट पसिना आउँथ्यो, रुघाखोकी लाग्यो र ज्वरो आएजस्तो शरीर तातिन्थ्यो। तर क्षितिजलाई जसतोतसो रिहाबमा तीन महिना बिताए।
टोखाको रिहाबमा पुगेका उनले साचेका थिए, ‘तीन महिनापछि त घर फर्किहाल्छु नि, घरबाट परिवार भेट्न आइहाल्छ नि!’तर उनको सोच गलत साबित भयो। दसैंको दिनमा पनि उनलाई भेट्न आएनन् परिवार। तिहारको भोलिपल्ट चार महिनापछि मात्रै परिवारसँग उनको भेट भयो।
त्योबेला उनी धेरै भावुक भए। आफू देखेर आत्मग्लानी भएको थियो क्षितिजलाई। र, त्यो पहिलोपटक थियो–जब क्षितिजले आफूलाई सुध्रिने मौका दिने सोच बनाएका थिए। ‘मेरो परिवार दसैं र तिहारमा पनि मसँग भेट्न आउनुभएन। मैले उहाँहरूलाई कतिधेरै दुख दिएको रहिछु भनेर थाहा पाएँ’, त्यो दिन क्षितिजले परिवारको किम्मत बुझेका थिए।
परिवारको प्रेमिल प्रेमबाट टाढिएका क्षितिज अब सुधार गृहबाट निस्किन चाहन्थे। उनले एकदिन रिहाबका एकजनासँग भनेका थिए, ‘दाइ म रिहाब बसेर थाकिसकें। अब यहाँ बस्न चाहदिनँ।’ उनको कुरा सुनेर ती दाइले पनि क्षितिजलाई सुझाएका थिए, ‘तिमी रिहाब बस्न चाहदैनौं भने लागुऔषधको प्रयोग गर्न छोडिदेऊ!’
परिवारको लागि कुलतको बाटो त्याग्ने सोच बोकेका उनलाई ती दाइको कुरा ‘प्लस पोइन्ट’ बन्यो। त्यसपछि उनले निधो गरे, ‘अब म ड्रग्स खादिनँ।’
लागुऔषधको सेवन नगर्ने योजना बनाएका उनले ७ महिना रिहाबमा बिताए। त्यसपछि उनी घर फर्किए। क्षितिजलाई देखेर खुसी थिए स–परिवार। तर त्यो खुसी केही दिनमै बिलायो। ‘उहाँहरूलाई विश्वास लागेको थिएन कि म सुध्रिन्छु भनेर। त्यसैले परिवारको खुसी केही दिनमै हरायो’, उनले भने, ‘७ महिनापछि घर फर्किदा सबैजनाले मलाई माया गर्छन् जस्तो लागेको थियो तर म गलत रहिछु। मेरो सोचै गलत रहिछ।’
कुलतले तुहायो आर्मी बन्ने सपना
७ महिनासम्म सुधार केन्द्र बसेर निस्किएपछि उनलाई ‘कन्ट्रोल एडिक्शन नेपाल’ का अध्यक्ष मुना लामाले बोलाए।
लामो समयदेखि लागुऔषध प्रयोगकर्ताहरूलाई सुधारिरहेका लामाले क्षितिजलाई आफैंसँग काम गर्न लगाए। त्यसपछि उनले दाइजस्तै रिहाब सेन्टरमा काम गर्ने योजना बनाए। ‘मुना दाइको कारण मेरो जीवनै परिवर्तन भयो’, लामाको कारण आफू प्रेरित भएको उनले बताए।
१२ वर्षदेखि नशामुक्त भएका क्षितिजको सानो बेलाको सपना थियो, ‘आर्मी बनेर देशको सेवा गर्ने’। तर त्यो सपना कुलतले तुहायो।
भलै, उनी आर्मी बन्न सकेनन् तर उनले कयौं लागुऔषध प्रयोग गर्ने युवाहरूलाई नयाँ जीवन दिएका छन्। उनीहरूको सेवामा तल्लीन छन्। ‘म आर्मी बनेर देशको सेवा गर्न असमथ्र्य रहेपनि युवालाई सुधारिरहेको छु’, त्यही कुराले आफूलाई खुसी बनाएको क्षितिजले बताए।
हजारौं युवालाई सुधारिसकेका छन् क्षितिजले। तर अझैपनि लागुऔषध प्रयोगकर्ताहरूमा उनी आफ्नो झल्को देख्छन्। र, आफ्नो साथीलाई गुमाएको सम्झिन्छन्। लागुऔषध प्रयोगकर्ताहरू आफ्नो ऐना रहेको बताउँदै उनले भने, ‘मैले त्यही अवस्थामा धेरै साथीहरूलाई गुमाएँ। अहिले सम्झदापनि नरमाइलो लाग्छ।’
आफ्नो दौतरीसँगै उनको पनि संसार त्याग्ने साेंचसम्म पुगिसकेका थिए। रातभरि पिल्स खाएर बिहान उठ्न नपरोस् भन्ने उनको सपना थियो तर क्षितिजले सोचेको जस्तो कहिल्यै भएन। सायद, भगवानलाई पनि उनको मृत्यु ‘कबाेल’ थिएन कि!
‘मैले सुसाइडको कोसिस गरिनँ तर पिल्स खाएर सुतेपछि कहिल्यै उठ्न नपरोस् जस्तै लाग्थ्यो। तर मैले सोचेको केही भएन’, कन्ट्रोल एडिक्शन नेपालका उपाध्यक्ष समेत रहेका उनले सुनाए।
लागुऔषधको सेवनले ढल्नै लागेका छोराहरूलाई रिहाब राख्दा क्षितिजको अगाडि धेरै रुने गर्छन् बुबाआमा। तीनै बाआमाको आँसु देखेर क्षितिजलाई आफ्नो आमाबुबाको याद आउँछ, ‘मेरो बुबाआमाको पनि कसैको अगाडि आँसु झरेको थियो होला!’
विगतका दिनमा आफूले कुलतको बाटो रोजेपनि अहिले अरूलाई जीवनको बाटो देखाउँछन् क्षितिज। तर उनको मनमा एउटा पीडा छ, हजुरबाआमा गुमाउनुकाे।
‘म सानैदेखि हजुरबाआमाको साथमा हुर्किएँ। उहाँहरूले म बिग्रिएको देख्नुभया। सुध्रिएको देख्नभएन’, देब्रो हातमा बनाएको हजुरबाको ट्याटु देखाउँदै उनले भने, ‘मेरी हजुरआमा थोरै भएपनि थाहा पाउनुभयो तर मेरो हजुरबुबाले मैले नयाँ जीवन पाएको देख्नु नै भएन। हामीलाई छोडेर जानुभयो।’
कुनैबेला कुलतमा लागेर झण्डै संसार त्यागेका क्षितिजलाई विगत फर्किंदा चुरोट नतानेको भए हुन्थ्यो जस्तो लाग्छ। तर उनलाई त्यही गल्तीले पाठ सिकाएको छ। समाजलाई बुझ्नसक्ने बनाएको छ।
अब उनको जीवनको एउटै लक्ष्य छ, त्यो हो कुलतको दुनियाँमा रमाइरहेका युवालाई उकासेर नयाँ जीवन दिने। जसका लागि उनको ‘रिहाब सेन्टर’ले जनचेतनामुलक सन्देश फैलाइरहेको छ।