‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
ईश्वरी राई (इशु)
प्रेमिकाले छाेडेपछि श्याम (परिवर्तित नाम) सिसाझैं फुटे। आफूलाई भन्दा धेरै माया उनले प्रेमिकालाई गरेका थिए।
जीवनका हरेक खुड्किला सँगै पार गर्ने सपना बुनिसकेका थिए श्यामले। तर प्रेमिकाले दिएकाे धाेकाले उनका ती सपनाहरू पनि भत्किए। ‘तासका घर’ जस्तै।
प्रेमीकाले दिएको चोट श्यामकाे लागि असह्य थियो। जसले उनलाई न भोक लाग्थ्यो न त निन्द्रा। उनलाई त सधैं तिनै ‘गर्लफ्रेण्ड’को यादले सताइरहन्थ्यो।
प्रेमिकाले छाेडेर गएपछि वीरक्तिएका श्याम पनि उनलाई बिर्सन चाहन्थे। कयाैं पटक प्रत्यन पनि गरे। तर कहाँ सकिन्थ्याे ‘फस्ट लव’लाई सजिलै भुल्न!
प्रेमिकाकाे यादले तड्पिरहेका श्यामलाई एकदिन साथीले ट्याब्लेट दिँदै भने, ‘यो औषधि खाइस् भने तैलें गर्लफ्रेण्डलाई सजिलै बिर्सिन्छस्।’
साथीले दिएको प्रेमिका बिर्सने औषधिलाई उनले एकै गाँस पारे। ‘मलाई जसरी हुन्छ गर्लफ्रेण्डलाई भुल्नु थियो’, उनले सुनाए।
ट्याब्लेट खाएपछि विस्तारै उनलाई संसार रङ्गीन लाग्न थाल्याे। ट्याब्लेटले उनलाई ‘ट्रिप’ दियो।
पहिलाे पटक साथीले दिएकाे ट्याब्लेटमा पल्किएका थिए श्याम। अब उनलाई गर्लफ्रेण्डभन्दा पनि त्याे ट्याब्लेट चाहिएकाे थियाे।
‘पहिलो पटक ट्याब्लेट खाँदा मलाई रमाइलो लाग्यो। भोलिपल्ट पनि फेरि खान मन लाग्यो’,पहिलाे अनुभव उनले सुनाए।
एक–दुई दिन गर्दा गर्दै चुराेट र जाँड रक्सीमा सीमित रहेका श्याम ट्याब्लेट ‘एडिग’ बने।
‘कहिलेकाहिँ चुरोट तान्थें। घरमा जाँडरक्सी पनि कहिलेकाहिँ पिउँथें’, उनी सुनाउँछन्, ‘जातले पाएको हो थोरै खाँदा केही हुँदैन भन्दै बुबाआमाले अल्कोहल दिने गर्नुहुन्थ्यो।’
तर अहिले श्यामलाई लाग्छ कि चुराेट र जाँडरक्सी नै लागुऔषधमा फँस्ने उनकाे पहिलो खुड्किलो थियो।
प्रेमिकाकाे याद मेटाउन सफल भएका उनी लागुऔषधको लतमा फसिसकेका थिए। उनलाई भाेक र निन्द्रा ल्याउन ट्याब्लेट चाहिन्थ्याे।
ट्याब्लेटलाई जिन्दगी बनाइसकेका उनी त्यतिमै सीमित रहेनन्। उनले ‘ड्रग्स’को पनि प्रयोग गर्न थाले। त्यसपछि ‘हेराेइन’मा लाेभिदैं गए श्याम।
‘ट्याब्लेटले भन्दा धेरै मलाई ड्रग्सले ट्रिप दियो। ड्रग्सले स्वर्ग पुगेजस्तो भयो’, उनी सम्झिन्छन्।
१७ वर्षकाे उमेरदेखि कुलतकाे दुनियाँमा पुगेका श्याम १८ वर्षमा ‘हङकङ’ हानिए। उनकाे सानैदेखिकाे सपना थियाे, हङकङमा काम गरेर पैसा कमाउने। अनि उतै जिन्दगी बिताउने।
‘भविष्यमा के बन्छु भनेर म आफैं अन्योलमा थिएँ। तर मलाई हङकङ जाने ठुलो रहर थियो। बुबाआमाले पनि १८ वर्षपछि त्यहाँ पठाउँछौं भन्नुभएको थियो’, उनी भन्छन्।
सन् २०१७ सालमा हङकङ जाँदा उत्साहित थिए श्याम तर चिन्तित पनि। हङकङ पुगेर कहाँबाट ‘ड्रग्स’काे व्यवस्था गर्ने।
तर उनकाे लागि खुसीकाे कुरा थियाे, पाँच जना दाइहरूमध्ये एक दाइ अगाडि नै हङकङ पुगेका थियाे। र, उनी पनि लागुऔषधको प्रयोग गर्थे।
‘मेरो दाइ २०१५ सालमै हङकङ पुग्नुभएको थियो। उहाँ ड्रग्सको सेवन गर्नुहुन्थ्यो’, बिएल नेपाली सेवासँगको कुराकानीमा उनले भने, ‘मैले भन्दा अगाडि दाइ कुलतमा फस्नुभएको थियो।’
हङकङमा उनका दाइ राम (परिवर्तित नाम) ‘कन्ट्रक्शन’को काम गर्थे। महिनाकै पाँच लाखसम्म कमाउँथे तर त्याे रकम उनले कहिल्यै घरमा पठाइदिएनन्। उनले कमाएकाे सबै पैसा ड्रग्समै सक्किन्थ्याे।
नेपालबाट हङकङ पुगेका श्याम दाइसँगे बस्न थाले। अनि सँगै ड्रग्सको धुलो तान्थे।
‘हामीलाई हङकङमा धेरै फ्रिडम थियो। कसैले हामीलाई कराउँदैन थियो। दाजुभाइ मस्त नशामा रमाउँथ्यौ’, उनले भने, ‘तर घरबाट फोन आइरहन्थ्यो।’
बुबाआमाले फोन गर्दा सधैं ‘झ्याप’मा हुन्थे राम र श्याम। उनीहरूको अगाडि सधैं आँसु खसाल्थे। तर नशामा रमाएका उनीहरूले बुबाआमाको आँसुलाई सधैं वेवास्ता गरिदिन्थे। उनीहरूको लागि आँसुको कुनै ‘मोल’ थिएन।
दिनभरि दाइ काममा हुँदा भाइ पनि ‘भाँडा माझ्ने’ काम गर्थे। महिनाकाे २० हजार रूपैयाँ कमाउँथे। नेपालकाे साढे तीन लाख।
तर श्यामले पनि कहिल्यै घर खर्च पठाएनन्। सबै पैसा उनले ड्रग्स र ‘गेमिङ’मा उडाए।
‘हामीलाई हङकङमा ड्रग्सको चिन्ता भएन। उताको मेडिकलमा सजिलै पाइन्थ्यो। त्यसैले दाजुभाइले कमाएको सबै पैसा त्यसैमा सक्कियो’, उनले भने, ‘लागुऔषधसँगै मैले गेम पनि खेलें। त्यहीँ सबै पैसा सक्काएँ।’
तड्पिएर बित्याे रात...
हङकङमा उनले सात वर्ष बिताए। र, दाइले एक दशक। विदेशमा बसेर रमाइरहेका छोराहरूलाई बाआमाले नेपाल बोलाए।
सुरुमा नेपाल आउन मानेका थिएनन् राम र श्याम। तर घुम्नका लागि मात्रै आउन तयार भए।
तीन महिनाअघि मात्रै नेपाल आएका थिए दाजुभाइ। घर फर्किएको भोलिपल्टै उनीहरू साँखुको सोबर रिकवरि उपचार तथा पुनस्थापना केन्द्र पुगे। तर त्याे उनीहरूकाे चाहना थिएन।
‘हामी ड्रग्स खोज्दै डाँडाँ पुगेका थियौं तर त्यहीँबाट हामीलाई सोबरका दाइहरूले समात्नुभयो अनि सुधार गृह ल्याउनुभयो’, उनले सुनाए।
राम र श्यामलाई सुधार गृह बस्ने कुनै रहर थिएन। तर उनीहरूलाई परिवार सोबर रिकवरिमा पुर्याए।
पहिलोपटक सोबर पुगेका उनीहरू परिवारसँग रिसाएका थिए। त्यहाँबाट भाग्न चाहन्थे। तर सोचेजस्तो सजिलो थिएन।
‘सुरुका दिनमा मैले सोबरबाट भाग्ने कोसिस गरेको थिएँ तर सकिनँ’, उनले भने, ‘सबै ढोकामा ताल्चा लगाएकाे थियो।’
कुलतमा फसेका राम र श्यामले महिना दिन ‘डिटोक्सिफिकेशन’ मा बसे। उनीहरूको लागि सजिलो थिएन त्यो एक महिना। न निन्द्रा लाग्थ्यो न त भोक नै। तड्पिएरै बित्थ्यो रात।
ड्रग्स नपाएर १९ रातसम्म ननिदाएका श्याम नशाबिना छटपट्याइरहे तर कहिले कसैलाई चोट पुर्याएनन्। बरू, आफैं तड्पिरहे।
‘म ड्रग्स नपाएर धेरै डिस्टर्ब थिएँ तर मलाई कसैलाई पनि डिस्टर्ब गर्न मन लागेन। मान्छेलाई त्यो पेरियडमा भ्रम हुन्छ रे! तर म मेन्टली बिरामी भएँ। मलाई धेरै गाह्रो भएको थियो। कम्मरदेखि तलको भाग नभएको भए हुन्थ्यो जस्तो लागेको थियो’, त्यो सिकनेस सम्झिएर अझै झस्किन्छन् श्याम।
तर धन्न उनलाई सम्हाल्ने सोबर थियो। जसले उनीहरूजस्तो धेरैलाई घुमाउनका लागि बाहिर लगिरह्यो।
‘बन्द घरमा बसिरहँदा घुटन जस्तो हुन्थ्यो तर यहाँका दाइहरूले हामीलाई समय–समयमा बाहिर घुमाउन लगिरहुनभयो। त्यसैले पनि मभिध सकारात्मक बढ्दै गयो’, परिवार सम्झिदै उनले भने, ‘उहाँहरूले रिसर्च गरेरै यहाँ राखिदिनुभएको रहिछ। सोबर रिकवरिको वातावरण पनि राम्रो छ।’
भिडियो–
कुलतको दुनियाँबाट पहिलेदेखि नै उस्किन चाहन्थे श्याम तर डराउँथे। ड्रग्सको सिकनेसले सताउँछ कि!
‘म दुर्व्यसनीकाे लत छोड्न चाहन्थें तर के गर्नु एडिक्ट भइसकेकाे थिएँ’, उनी सुनाउँछन्, ‘तर अहिले खुसी छु। बाआमाले हाम्रो भविष्यको लागि नै हामीलाई यहाँ राख्नुभएको हो।’
तीन महिनादेखि लागुऔषधको प्रयोग नगरेका श्याम अहिले खुसी छन् तर उनलाई एउटा कुराले सताइरहेको छ– दाइ र म एउटै रिहाबमा नबसेको भए हुन्थ्यो।
‘हामी दुई जना एउटै रिहाबमा छौं तर मलाई नरमाइलो लाग्छ। किनकी दाइलाई डिस्टर्ब देख्दा म पनि डिस्टर्ब हुन्छु’, उनले भने, ‘एकाअर्कोको दुख देख्दा नरमाइलो लाग्छ।’
एक महिनासम्म सिकनेसले तड्पिएका उनी अब कुलतको त्यो दुनियाँबाट बाहिरिन चाहन्छन्। र, फेरि हङकङ फर्किएर नयाँ जीवनकाे सुरुवात गर्न चाहन्छन्।
भाइजस्तै ड्रग्स छोड्न चाहन्छन् राम पनि। पैसा कमाएर घर–व्यर्वहार सम्हाल्न चाहन्छन् तर उनलाई डर छ–सोबरबाट गएपछि फेरि एडिक्शनमा फस्ने हो कि!
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया