फेरिएका जीवनहरू (श्रृङ्खला- १०)

कुलतमा फसेका युवालाई सुधारिरहेका छिरिङ (भिडियाेसहित)

‘सुधार केन्द्र सञ्चालन गर्छु’ भनेर कहिल्यै सोचेका थिएनन् छिरिङ वाङ्दीले। तर भगवानको इच्छा थियो कि! नसोचेको काम नै उनको लागि कर्म बन्यो। 

एक दशक कुलतमा फसेर उस्किएका थिए छिरिङ। जीवनको अमूल्य समय गुमाएर। तरपनि उनी ‘केही गर्छु’ भन्ने हुटुहटी थियो तर, के? उनी आफैं अन्योलमा थिए। 

एकदिन उनलाई चिनेकाे एक भाइले फोन गर्दै ‘सुधार केन्द्र’ मा बोलाए। लागुऔषध प्रयोगकर्ताहरूलाई सुधार्न। तर उनले भाइको त्यो प्रस्तावलाई अस्विकार गरे।

‘सुधार गृहमा गएर काम गर्ने मेरो रहर थिएन तर आफूसँग केही काम पनि थिएन। त्यसैले पनि मैले भाइको रिहाबमा जाने निर्णय गरें’, उनी सुनाउँछन्, ‘म पनि भर्खर–भर्खरै रिकवरि हुँदैथिए। रिहाबमा राम्रै हुन्छ भनेर गएँ।’

ती भाइको रिहाब सेन्टरमा जानअघि छिरिङले ‘आसरा सुधार केन्द्र’मा केही समय काम गरिसकेका थिए। त्यसैले उनलाई थाहा थियो ‘एडिग’हरूलाई सम्हाउने सूत्र।

एक वर्ष उनले लागुऔषध प्रयोगकर्ताहरूको सेवामा बिताए। त्यहिपनि बिना तलब। 

१२ महिना रिहाबमा काम गर्दै जाँदा एक सय बढी प्रयोगकर्ताहरूलाई कुलतबाट निकाल्न सफल भए छिरिङ। त्यसपछि उनीभित्र आत्मविश्वास बढ्यो–‘मैले पनि केही गर्न सक्ने रहिछु!

...अनि जन्मियो ‘सोबर रिकवरि’

एक वर्ष रिहाबमा काम गरेर एक सय बढीको जीवन सुधारेका छिरिङ आफैंसँग सन्तृष्ट थिए। अब उनी आफ्नै सुधार केन्द्र खोल्न चाहन्थे।

कुलतमा लागेका युवाहरूलाई उकास्ने उद्देश्य बुनेका छिरिङले २०६६ सालमा ‘सोबर रिकवरि उपचार तथा पुनर्स्थापना केन्द्र’को स्थापना गरे। उनले चिनेका दुई भाइहरूको साथमा। 

‘हामी त सुध्रियौं तर अरूलाई पनि सुधार्ने लक्ष्य लिएर हामी तीन भाइले सोबरको सुरुवात गरौं’, साेबर स्थापना गर्नुकाे कारण उनले खुलाए। 

शून्यबाट सुरु गरेका थिए तीन भाइले सोबर। न कुनै लागुऔषध प्रयोगकर्ताहरू थिए न त कसैको कमाइ नै थियो। 

तर समय बित्न कति पो लाग्छ र!

‘जिरो लेबल’बाट सुरु गरेको सोबरमा विस्तारै लागुऔषध प्रयोगकर्ताहरू बढ्दै गए। उनीहरूलाई सुधार्ने जिम्मेवारी छिरिङसहित तीन भाइको  पनि बढ्दै गयो। तर संस्था स्थापना भएको वर्ष दिनपछि नै एक भाइले ‘ड्रग्स’ सेवन गरिदिए। रिहाबको जिम्मेवारी बिर्सिएर। 

तीनभाइले चलाइरहेको संस्थाबाट एक जना निस्किएका थिए। त्यसैले दुई जनाले सोबरलाई अगाडि बढाएर लैजाने योजना बनाए। 

पुरुषहरूका लागि मात्रै सञ्चालन भएको थियो सोबर। तर कुलतमा फस्ने महिलाहरू पनि बढ्दै थिए।

त्यसैले छिरिङले महिलाहरूका लागि पनि एउटा सुधार केन्द्र स्थापना गरे–‘सोबर रिकवरि वुमन्स ड्रग्स–एल्कोहल ट्रीटमेन्ट एण्ड रिहाबीलिटेशन सेन्टर’। जुन नेपालकाे सबैभन्दा धेरै महिला राखिएकाे रिहाब हाे। 

‘हामीले महिलाहरूलाई राख्ने रिहाब सेन्टर खोल्दा मात्र एउटा सुधार गृह थियो। त्यहीपनि बन्द भइसकेको रहिछ’, उनले सुनाए, ‘त्याेबला साेबर मात्रै थियाे महिलाहरूका लागि राखिने सुधार केन्द्र।’

जोरपाटीमा पुरुष र महिलाहरूका लागि आरुबारीको सिमलटारमा बनेको थियो सोबर रिकवरि। दुई वटा संस्थालाई सञ्चालन गर्न सजिलो थिएन। न त सोचेजस्तो आम्दानी नै हुन्थ्यो। 

सोबर स्थापना भएको दुई–चार वर्ष बितिसकेको थियो। उनीसँग संस्था हाँकिरहेका अर्को भाइले पनि साेबर छोड्ने निर्णय गरे।

‘सोबरको कारण मेरो सम्बन्ध बिग्रिन लाग्यो। न यहाँबाट सोचेको जस्तो आम्दानी हुन्छ न केही काम नै गर्नु पाएको छ। त्यसैले म संस्थाबाट निस्किन्छु’ भन्दै ती भाइले पनि सोबरबाट बिदा भए। 

तीनभाइ मिलेर खोलेकाे सोबरबाट दुई जना निस्किएपछि एक्लै परेका थिए छिरिङ। दुई भाइले छाडेर गएपछि उनले पनि सोबर बन्द गर्ने सोच बनाए। 

तर कुलतको दलदलमा फसिरहेका युवाहरूलाई सम्झिए अनि आफू एक्लैले संस्था चलाउने अठोट गरे। अब संस्थाको सबै जिम्मेवारी छिरिङको काँधमा थियो। 

एक जनाले मात्रै सम्भव थिएन दुई वटा संस्था चलाउन। त्यसैले उनले सोबरबाटै रिकवर भएका पूर्व लागुऔषध प्रयोगकर्ताहरूलाई संस्थामा जागिर दिए। 

‘कुलतबाट सुध्रिएपछि मैले काम दिँदा उनीहरू खुसी भए। उनीहरूभित्र आत्मविश्वास पनि बढ्यो। उनीहरूले काम पनि राम्रो गरे’, पूर्व लागुऔषध प्रयोगकर्ताहरूबारे छिरिङ भन्छन्, ‘आफूले सुधारेका भाइबहिनीहरूले काम गरेको देख्दा छुट्टै खुसी मिल्दो रहिछ।’

महिला र पुरुषको लागि बनिसकेको थियो सोबर रिकवरि। सडकमा उस्तै थिए बालबालिकाहरू। त्यसमा पनि छिरिङको आवश्यकता देखियो। 

एकदिन उनलाई सरकारी संस्थाका एक कर्मचारीले फोन गर्दै भने, ‘छिरिङ जी, हामीले सडकबाट उद्धार गरेका ४–५ जना बालबालिकाहरूलाई तपाईंको सोबरमा राख्नपर्यो।’

एक त सडकका बालबालिका त्यसमाथि पनि सरकारी संस्थाकाे फाेन। उनले बालबालिकालाई सोबरमा राख्न अनुमति दिए। 

साेबरमा सडक बालबालिकालाई राखेको ५ दिनपछि फेरि १० जना बालबालिका थपिए। र, त्यसको केही दिनपछि संस्थाले ८ जना बालबालिका राखिदिए। त्यहीपनि छिरिङको अनुमति बिना। 

सोबरमा राखिएका ५ जना सडक बालबालिकाहरूको संख्या बढिसकेको थियो। उनले त्यही संस्थासँग गुनासो पोखे। त्यसपछि बालबालिकाहरूको लागि काम गर्ने सरकारी संस्था र छिरिङबीच सहकार्य भयो। 

‘उहाँहरूले नै मलाई सडक बालबालिकाहरूको लागि संस्था खोल्न सुझाउनुभयो’, त्यसपछि छिरिङले सडक बालबालिकाहरूको लागि एउटा संस्था स्थापना गरे– ‘सोबर रिकवरि चिल्डेन ट्रीटमेन्ट एण्ड रिहाबीलिटेशन सेन्टर’। 

सडक बालबालिकाहरूलाई संरक्षण गर्ने पहिलो संस्था बन्यो सोबर। सडकमा जीवन बिताइरहेकाहरूलाई सोबरले आश्रय दिन थाल्यो। सरकारी संस्थाको सहकार्यमा। 

‘एक समय यस्तो पनि आयो सडकका सबै बालबालिकाहरू सोबरमा थिए’, बिएल नेपाली सेवासँग उनले भने, ‘हामीले गरेको कामपछि विदेशी सरकारी मिडियाहरू पनि रिसर्चको लागि नेपाल आए।’

सडक बालबालिकाहरूका लागि संस्था खोल्ने छिरिङको कुनै योजना थिएन। न थियो सुधार गृह स्थापना गर्ने नै। तर त्यहि संस्थाहरूले छिरिङलाई पहिचान दिलायो।

‘भाइरल’ सोबर रिकवरि 

सोबर रिकवरिको एउटा मात्र होइन तीन वटा शाखाहरू सञ्चालनमा छन्। जसलाई छिरिङ आफैंले हाँकिरहेका छन्। साेबरका कर्मचारीहरूका साथमा।

कुनैबेला जोरपाटीबाट सुरु भएको रिहाब अहिले साँखु पुगेको छ। त्यसको पनि छुट्टै कथा छ। 

तीन वटा संस्था चलाइरहेका उनलाई धेरै जनाले भन्ने गर्थे,‘सोबर बेस्ट छ। यहाँ जस्तो सुविधा कहीँ पाइँदैन।’ कयौं व्यक्तिहरूले सोबरको प्रंशसा गरिरहँदा छिरिङलाई भने लज्जास्पंद हुन्थ्याे।

उनलाई लाग्थ्यो सबै जनाले सोबरको ‘बिल्ला’ उडाइरहेको छ। ‘कहिलेकाहीं बढी प्रशंसा गर्दा त्यो कुरा पच्दैन रहिछ। मलाई पनि त्यस्तै भयो। सोबरको मजाक गरिरहेको जस्तो लाग्यो’, उनी भन्छन्। 

चारैतिरको अपच प्रंशसाले हताश भएका छिरिङले जोपाटीमा सञ्चालन भइरहेको ‘सोबर रिकवरि मेन ड्रग्स–अल्कोहल ट्रीटमेन्ट एण्ड रिहाबीलिटेशन सेन्टर’ साँखुमा सारे। हेर्दै आकर्षक बनाए।

र, अहिले उनी आफैं भन्छन्, ‘साँच्चिकै सोबर नेपालको बेस्ट रिहाब सेन्टर हो।’

सोबरले लागुऔषध प्रयोगकर्ताहरूलाई सुधार्ने काम मात्र गर्दैन, उनीहरूका लागि विभिन्न सेवा र सुविधाहरूको पनि उपलब्ध गराएको छ। 

लागुऔषध प्रयोगकर्ताहरूको उपचारमा सहज होस् भन्ने उद्देश्यका साथ उनले सोबरमा ‘स्वीमिङ पुल, बास्केटबल कोर्टलगायत जिम हलहरू सञ्चालन गरिरहेका छन्।

त्यही सेवा र सुविधाहरूले पनि सोबरलाई चिनारहेको छ।

तीन वर्षअघि साँखु सरेको रिहाब सेन्टरमा लागुऔषध प्रयोगकर्ता मात्र होइनन् कलाकारहरू पनि जाने गरेका छन्। उनीहरूले नामै राखिदिएका छन्, ‘भाइरल’ सोबर।

‘अहिलेसम्म कुनैपनि रिहाबमा स्वीमिङ पुलहरू देखेको छैन भन्दै सोबर आएका कलाकारहरू अनौठो मान्छन् अनि भिडियो खिचेर लैजान्छन्’, उनी भन्छन्, ‘सोबरको नामै भाइरल रिहाब भएको छ।’

सोबरले सुध्रिन चाहनेहरूका लागि विभिन्न सेवासुविधा दिइरहेकाे छ। त्यहीपनि सस्ताे मूल्यमा।

गृह मन्त्रालयले सुधार केन्द्रका लागि तोकिदिएको मूल्य मात्रै लिइरहेकेा छ साेबरले। महिनाको २५ हजार रुपैयाँ।

‘काठमाडौं र भक्तपुरका सबै रिहाबहरूले महिनाको २५ हजार रुपैयाँ लिन्छन्। मैलेपनि त्यही मूल्य लिइरहेकाे छु तर सेवा र सुविधा अरू रिहाबले  भन्दा धेरै मैले दिइरहेको छु’, धेरै जनाले सोबरको मूल्य बढाउन सुझाएको बताउँदै उनले भने, ‘मलाई थाहा छ मैले सस्तो मूल्यमा सुविधाहरू दिंदै छु तर मलाई पैसा कमाउनु मात्र छैन सेवा दिनू पनि छ।’

पैसा कमाउने उद्देश्यले सुधार गृह सञ्चालन गरेर मात्र हुँदैन। सञ्चालकसँग लागुऔषध प्रयोगकर्ताहरूलाई सुध्रार्न सक्ने सामर्थ्य पनि हुनुपर्छ जस्ताे लाग्छ उनलाई।

‘सधैं लागुऔषध प्रयोग गर्नु हुन्न भनेर मात्र हुँदैन। त्याे नखाँदा के हुन्छ भन्ने हेक्का पनि राख्नुपर्छ’, रिहाबका सञ्चालकहरूलाई उनी अनुराेध गर्छन्, यदि हामी कसैकाे छाेराछाेरी सुध्रार्न खाेज्दैछाैं भने हामी पनि परिपक्क हुनुपर्छ।’

कुनैपनि लत छाेड्न २ वर्ष लाग्ने रिसर्चले देखाएकाे छ। साेहीकारण रिहाब सेन्टर सञ्चालकले पाँच वर्षदेखि लागुऔषध सेवन नगरेकाे हुनुपर्ने उनकाे बुझाइ छ।

सुधार गृहका सञ्चालकहरूका लागि लागुऔषध प्रयोगकर्ताहरूलाई सुधार्ने काम सहज छैन।

पाइलापिच्छै चूनौतीहरू छन्।

तर त्यही काममा पाेख्त हुन्छन् सञ्चालकहरू। ‘हामीले सीप सिक्ने उमेरमा लागुऔषधको बारेमा बुझ्यौं। त्यसबारे अनुभव लियाैं’, उनी भन्छन्, ‘त्यहीकारण पूर्व लागुऔषध प्रयोगकर्ताहरूले रिहाब खोल्छन्। अरूलाई सुध्रार्न खाेज्छन्।’

लागुऔषध प्रयोगकर्ताहरूलाई सुध्रार्न धेरै मेहनत अनि निगरानी गर्नुपर्छ। तर कहिलेकाहीं कडा निगरानीले पनि विफल हुने गरेकाे छ। रिहाबभित्रै ‘ड्रग्स’ भित्रिने गर्छ।

‘लागुऔषध प्रयोगकर्ताहरूलाई सुध्राने ठाउँमा ड्रग्स छिर्दैन भन्नु झुठ हो। कुनै समय सोबरमा पनि ड्रग्स छिरेको थियो तर अहिले चार वर्षदेखि कुनैपनि लागुऔषध छिरेको छैन’, उनी भन्छन्, ‘रिहाबले कडा नियम गर्दा पनि कहिलेकाहीं प्रयोगकर्ताहरूले निन्जा टेक्निक लगाएर ड्रग्स भित्र्याउँछन्।’

किन पुनः कुलतमा फर्किन्छन् प्रयोगकर्ताहरू?

झण्डै डेढ दशकदेखि सोबर चलाउँदै आइरहेका छिरिङले हालसम्म दस हजार भन्दा धेरै प्रयोगकर्ताहरूलाई सुधारिसकेका छन्। त्यसमध्ये केही लागुऔषध प्रयोगकर्ताहरू भने पुनः रिहाबमै पुगेका छन्।

तर ३–४ पटक सुधार गृह बसेका लागुऔषध प्रयोगकर्ताहरू फेरि किन रिहाब पुग्छन्? सोही प्रश्नको जवाफ खोज्नका लागि छिरिङले सय जना प्रयोगकर्ताहरूमा एउटा सर्भे गरे।

त्यही सर्वेक्षणबाट उनले थाहा पाए कि जसले उपचार पूरा गर्दैनन् उनै प्रयोगकर्ताहरू पुनः रिहाबमा पुग्छन्।

‘जति पनि सुधार केन्द्रमा फर्किएर आएका प्रयोगकर्ताहरू हुन्छन् ती सबैले पूरा उपचार गराएका हुँदैनन्’, उनले भने, ‘रिहाबमा बसेर जसले राम्रोसँग उपचार गराएका हुन्छन्। उनीहरू सायदै कुलतमा फर्किन्छन्।’

कुलतकाे बाटाे राेजेकाहरूलाई नयाँ बाटाे देखाउन रिहाबमा कम्तिमा पनि ६ महिना राखुपर्छ।

तर परिवारकाे प्रेम र अधिक आत्मविश्वासको कारण लागुऔषध प्रयोगकर्ताहरू २–३ महिनामै घर फर्किन्छन् अनि फेरि रिहाबकाे ढाेका ढकढकाउन बाध्य हुन्छन्।

‘रिहाबमा बसेर एक महिना लागुऔषधको सेवन नगर्दा आफूलाई सुध्रिएको सम्झेर ओभर कन्फिडेन्स् हुन्छन् घर फर्किन्छन् अनि फेरि ड्रग्सको प्रयोग गर्न थाल्छन्। त्यसैले उपचार पूरा गराउनुपर्छ’, सुध्रिर्न आएकाहरूसँग उनी अनुराेध गर्छन्।

अनि मात्रै सुध्रिर्न सक्छन् कुलतमा फसेकाहरू।

सोबरबाट सुध्रिएर गएकाहरूसँग अझैपनि छिरिङको राम्रो सम्पर्क छ। कसैले स्वदेशमै व्यापार–व्यवसाय गरिरहेका छन् त कतिपय युरोपका देशहरूमा पुगेका छन्। जसले बेलामाैकामा फाेन गरेर उनलाई सम्झिरहन्छन्।

साेबरले देखाएकाे नयाँ बाटो अपनाएकाहरूको प्रगति देखेरै खुसी छन् छिरिङ। उनी भन्छन्, ‘यो क्षेत्रमा धेरै चूनौतीहरू छन्। धेरै संघर्ष गर्नुपर्छ तर सुध्रिएका भाइबहिनीहरू आत्मनिर्भर भएको देख्दा धेरै आनन्द लाग्छ।’

सोबरले कसरी सुधार्दैछ प्रयोगकर्ता?

नेपालमा दिन प्रतिदिन बढिरहेको छ, लागुऔषध कारोबारी अनि प्रयोगकर्ताहरूको संख्या।

पछिल्लो पटक २०७६ सालमा गरेको सर्वेक्षणअनुसार १ लाख ३० हजार ४ सय २४ जना मानिसहरूले कुलतको बाटो पछ्याइरहेका छन्।

८० प्रतिशत युवाहरू साथीसंगतकै कारण कुलतमा फसिरहेका छन् भने मनोरञ्जन, उत्सुकता, पारिवारिक समस्या र खुसी हुनका लागि लागुऔषधको प्रयोग गरेको तथ्याङ्कले देखाएको छ। 

तर लागुऔषधको प्रयोगले समाधान नभई समस्या बढाउने उनको भनाइ छ।

‘मैले सात कक्षा पढ्दै गर्दा परीक्षाको अघिल्लो दिन पढाइमा ध्यान केन्द्रित हुन्छ भनेर पहिलोपटक लागुऔषधको प्रयोग गरेको थिएँ तर त्यो मेरो मूर्खता थियो’, आफूले भोगेकाे अनुभवबारे उनी भन्छन्, ‘त्यही ड्रग्सले मलाई कहिले जेल त कहिले रिहाब पुर्‍यायाे।’

भलै, आफुले १० वर्ष कुलतको जीवन बिताए पनि अरूलाई त्याे बाटाे हिड्न राेकिरहेका छन् छिरिङ।

त्यसैले त ८० जना लागुऔषध प्रयोगकर्ताहरूलाई सुर्धानका लागि साेबरले विभिन्न क्रियाकलापहरू गर्दै आइरहेको छ।

‘एउटै ठाउँमा बसिरहँदा प्यानिक हुन्छ। त्यसैले हामीले उनीहरूलाई कहिलेकाहीं हरियाली वातावरणामा हाइकिङ र फिसिङको लागि लैजाने गर्छाैं। यसले उनीहरूमा पोजेटिभ भ्याइप्स आउँछ’, सोबरको विशेषताबारे उनले बताए। 

धेरै जना सोबर खोज्दै आउने उनी बताउँछन्।

‘अहिले सोबरमा जतिपनि प्रयोगकर्ताहरू छन्, धेरैजसो आफैं सोबर खोज्दै सोबरमा आइपुगेका हुन्’, उनी भन्छन्, ‘साेबरमा पाइने सेवा–सुविधाले नै मानिसहरूलाई आकर्षक गराएकाे हो।’

नेपालका दर्ता भएका दुई सयभन्दा बढी रिहाब सेन्टरमा कुटपिट गरेर लागुऔषधहरूको उपचार गरिन्छ भन्ने जनविश्वास छ। तर त्यो सबै भ्रम भएको उनको दाबी छ।

छिरिङका अनुसार लागुऔषध प्रयोगकर्तालाई सुधार्ने पहिलो खुड्किलो भनेकै प्रेम हो। त्यसैले प्रयोगकर्ताहरूलाई कुटपिट गरेर होइन सम्झाइ–बुझाइ गरी सुर्धानुपर्छ।

लागुऔषधको प्रयोग रिहाब आएकाहरूको सुरुमा समस्या बुझ्नुपर्ने सोबरका प्रोग्राम कोडिनेटर सम्राट थापा बताउँछन्। 

त्यसपछि उनीहरूको समस्या अनुसार नै उपचार गर्नुपर्छ। त्यसका लागि प्रयोगकर्ताहरूलाई एक महिना  ‘डिटोक्सिफिकेशन’मा राख्नुपर्छ।

थापाका अनुसार दिमागलाई सन्तुलित बनाउनका लागि डिटोक्सिफिकेशनमा राख्नु आवश्यक छ।

‘सुरुमा रिहाबमा आएकाहरू सिक पेरियडमा हुन्छ। उनीहरूलाई नर्मल बनाउनका लागि त्यो प्रक्रिया जरुरी हुन्छ’, उनी भन्छन्, ‘एक महिनापछि मात्रै उनीहरू अरूसँग घुलमिल हुन सक्छन्।’

त्यसैगरी डिटोक्सिफिकेशनपछि लागुऔषध प्रयोगकर्ताहरूको ‘प्यासिभ’ भएका नसा पनि विस्तारै ‘एक्टिभ’ हुँदै जाने उनले बताए।

एक महिनासम्मको डिटोक्सिफिकेशनपछि उनीहरूलाई काउन्सेलिङ तथा ‘सेयरिङ क्लास’लगायत विभिन्न सेशनहरूमा समावेश गरिन्छ।

‘उनीहरूभित्र भएको गिल्ट निकाल्नका लागि सेयरिङ कक्षा गर्छौं। जहाँ प्रयोगकर्ताहरूले आफू कुलतमा लाग्नुकाे कारण अनि पछुतो लागेको कुराहरू सेयर गर्छन्। जुन कुरालाई उनीहरूले आफ्नो परिवार आफन्तसँग सेयर गर्न सकेका हुँदैनन्’, उनले भने, ‘आफूभित्र भएको आत्मग्लानी सेयर गर्दा सकारात्मक ऊर्जाहरू बढ्दै जान्छ।’

आफूले गरेका गल्ती स्वीकार गरेमात्रै कुलतको दुनियाँ निस्किन सकिने थापाको भनाइ छ। 

बिहानको ६ बजेदेखि हुने कक्षाहरू बेलुकाको ८ बजेसम्म हुन्छ। जसमा ‘जस्ट फर टुडे’देखि म्युजिक र गेम्सहरू छन्। जसले प्रयोगकर्ताहरूलाई उकास्नका लागि प्रेरित गरिरहेका छन्।

बदलिएकाे बाेली

कुनैबेला ड्रग्सको नशाले झुलिरहँदा छिरिङलाई समाजले गालीगलौज गर्थे। जीवनमा केही गर्न सक्दैन भन्दै हेप्थे।

तर आज उनै छिरिङ समाजको लागि प्रेरक बनेका छन्। कुलतको जीन्दगी बिताइरहेका हजारौं जनालाई नयाँ जीवन र ४० जना पूर्व लागुऔषध प्रयोगकर्तालाई रोजगारी दिन सफल भएका छन्। 

र, अहिले तिनै समाजका मानिसहरू उनको प्रंशसा गरेर थाक्दैनन्।

दुई दशकअघि लागुऔषधलाई जिन्दगी सम्झिन्थे छिरिङ। डिप्रेशनको सिकार भए, आत्महत्याको कयौं पटक प्रयास गरे तर विफल भए। सायद! उनको जीवनमा अकाल मृत्यु लेखिएको थिएन।

‘समाजले मलाई कुकुरसँग तुलना गर्थ्यो। दिमागमा अनेकौं कुराहरू खेल्थ्यो। त्यसैले मृत्युको बाटो रोजेको थिएँ तर म बाँचें’, विगतका दिनहरू सम्झिदै उनी भन्छन्, ‘समाजको त्यही शब्द मेरो लागि सुध्रिने भर्‍याङ बन्यो।’

समाजको अपहेलना अनि मनमा सुध्रिने हुटहुटीले उनलाई सोबरको संस्थापक बनायो।

दुई दशकअघिको समयलाई फर्किएर हेर्दा आफैं चकित पर्छन् छिरिङ अनि मनमनै सोच्छन्, ‘त्यो समय र यो समय विल्कुलै फरक छ। ट्याक्कै कालो र सेतो जस्तो।’

विगतमा गरेका गल्तीका कारण उनलाई आमाले गाली गर्दै भन्थिन्, ‘तेरो कारण मेरो धेरै ठाउँमा शीर झुँकेको छ।’ 

उनलाई आफ्नी आमाले मात्र होइन साथीको आमाले पनि राम्रो मान्थिनन्। छिरिङसँग हिडेको देख्नासाथ छोरालाई गाली गर्थिन्।

तर अहिले ती दुवै आमाहरूको शब्द फेरिएको छ।

कुनैबेला कुलतमा फसेका छोरालाई रुदै गाली गर्ने आमा अहिले छिरिङसँग भन्छिन्, ‘तरो कारण मेरो धेरै ठाउँमा शिर उठेको छ। सबै जनाले तेरो प्रंशसा गर्छन्।’

आफ्नी आमाले मात्र होइन उनको अहिले साथीको आमाले पनि प्रंशसा गर्छिन्। आफ्नो छोरासँग आमा भन्ने गर्छिन्, ‘उमेरमा त जसले पनि गल्ती गर्छ। सक्छस् भने छिरिङ जस्तो बन्।’

उनीप्रतिको नकारात्मक सोच अहिले सकारात्मक भएको छ। त्यही कुराले खुसी र सन्तृष्ट छन् छिरिङ।

‘डेढ दशकदेखि मैले गरिरहेको संघर्षको फल भनेकै आमाहरूको आशिर्वाद र बदलिएको शब्दहरू हुन्’, जसले छिरिङलाई अगाडि बढ्नका लागि प्रेरित गरिरहेको छ।

कुनैबेला नशालाई सारथी बनाएका छिरिङ अहिले लागुऔषध प्रयोगकर्ताहरूलाई सुधारिरहेका छन्। आमाहरूको उदाहरण अनि जनचेतनामुलक सन्देश फैलाउँदै। 


यो पनि–

 

प्रकाशित मिति: : 2024-03-31 18:30:00

प्रतिकृया दिनुहोस्