प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको ग्वार्कोमा फ्लाइओभरको उद्घाटन गरेका छन्।
शुक्रबार प्रधानमन्त्री ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर उदघाटन गरेका हुन्।
ललितपुरको ग्वार्को चोकमा नेपालकै पहिलो फ्लाई ओभरको निर्माण भएको हो।
गएको शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरी सवारी साधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो।
000
६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोका पक्राउ परेकी छन्।
केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार रोक्कालाई काठमाडौंको टोखाबाट पक्राउ गरेकाे हाे।
उनी सुन तस्करीमै हाल पुर्पक्षको लागि कारागारमा रहेका बेल्जियन नागरिक दावा छिरिङकी श्रीमती हुन्।
000
इजरायल–इरान युद्धका कारण स्वदेश फर्कन चाहने नेपालीलाई सहयोग गर्न सरकारले २४ सै घण्टा सञ्चालन हुने गरी परराष्ट्र मन्त्रालयमा हेल्प डेस्क राख्ने भएको छ।
डेस्कमा परराष्ट्रसहित गृह, श्रम तथा रोजगार र पर्यटन मन्त्रालयका अधिकारीसमेत हुनेछन्।
परराष्ट्र मन्त्रालयमा आज चार मन्त्रालयका अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो।
परराष्ट्रमन्त्री राणाले बैठकमा स्वदेश फर्कन चाहने नेपालीहरूलाई मन्त्रालयले स्थापना गरिएको पोर्टलमा दर्ता गर्न अपिल गरिएको, युद्धपछि उत्पन्न अवस्थालाई गम्भीर रुपमा हेरिएको बताइकी थिइन् ।
000
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पर्साको बहुदरमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवलाई पक्राउ गरेको छ।
काठमाडौँबाट खटिएको आयोगको टोलीले श्रीवास्तवलाई विभिन्न योजनाहरूको स्वीकृति, खरिद आदेश तथा ठेक्कासम्बन्धी प्रक्रियामा अनियमितता गरी अवैध रूपमा घुस लिएको आरोपमा शुक्रबार पक्राउ गरेको हो।
श्रीवास्तवले सार्वजनिक पदको दुरुपयोग गरी व्यक्तिगत लाभ लिने उद्देश्यले गैरकानुनी रकम मागेको र लिएको प्रमाण भेटिएको अख्तियार आयोगले जनाएकाे छ।
000
नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीसँग कुनै सहमति र सम्झौता नहुने बताएका छन्।
शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रमुख प्रतिपक्षी दलसँग भएको सहमतिअनुसार सदन सञ्चालन भइरहेको र अन्य दलसँग सम्झौता नहुने बताएका हुन्।
माओवादीसँग भएको सहमति अनुसार भिजिट भिसा प्रकरणको छानबिन अघि बढ्ने बताउँदै दल र व्यक्तिपिच्छेसँग सरकारले सम्झौता गर्दै नहिँड्ने उनकाे टिप्पणी थियाे।
000
बिपी राजमार्गमा १५ दिन राति चलाउनका लागि रोक लगाइएको छ।
काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले शुक्रबार बिपी राजमार्गमा राति गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो।
काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोटखण्ड बढी जोखिमयुक्त भएकाले साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म मालवाहक गाडी बाहेक अन्य सवारी साधनलाई राेक लगाइएकाे हाे।
000
जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथभित्र लगाइएको निषेधाज्ञा हटाएको छ।
बिहिबार एक विज्ञप्ति जारी गर्दै प्रशासन कार्यालयले चक्रपथभित्र लगाइएको निषेधाज्ञा हटेको जानकारी गराएको हो।
राजावादीहरूको आन्दोलन चर्किएपछि प्रशासन कार्यालयले जेठ १८ गते तीन वटा स्थान बाहेक चक्रपथभित्रका सार्वजनिक स्थानहरूमा प्रदर्शन गर्न रोकेको थियो।
000
नेपाल क्रिकेट संघ क्यानले मलेसियामा हुन लागेको एसीसी मेन्स यू–१६ इस्ट जोन कपका लागि नेपाली टोलीको शुक्रबार बिदाइ गरेको छ।
आगामी आइतबारबाट सुरु हुने खेलमा सहभागी हुन विपिनप्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीलाई बिदाई गरिएकाे हाे।
नेपाल यु–१६ पुरुष क्रिकेट टोलीको बिदाई कार्यक्रममा बोल्दै नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष पदम बहादुर खड्काले बिदाइ भएका टाेलीसँग नेपाली क्रिकेटको भविश्य जाेडिएकाे बताएका थिए।