ल्याब प्राविधिक: अदृश्य नायकहरूको अवमूल्यन र विद्रोहको सन्देश

Break n Links
Break n Links

स्वास्थ्य सेवा भन्नासाथ हाम्रो ध्यान अस्पताल, डाक्टर वा औषधितर्फ जान्छ। तर, यो सेवा प्रणालीको मौन मेरुदण्ड भनेको स्वास्थ्य प्रयोगशाला हो, जहाँ शरीरबाट संकलित रगत, मूत्र, दिसा, थुक, टिस्युजस्ता जैविक नमूनाहरू परीक्षण गरी रोगको पहिचान, मूल्याङ्कन, अनुगमन र रोकथाममा सहयोग गरिन्छ।

चिकित्सकले उपचारको निर्णय लिनुअघि प्रयोगशालाबाट प्राप्त वैज्ञानिक प्रमाणलाई आधार बनाउँछन्। ‘प्रयोगशालाविना विज्ञान अधुरो हुन्छ, र विज्ञानकर्मीहरू प्रयोगशालाविनाको अवस्था हातविहीन सिपाही जस्तै अपूर्ण हुन्छ।’

त्यसैले, स्वास्थ्य प्रणालीको मेरुदण्डस्वरूप प्रयोगशालाको मूल्याङ्कन र यसमा समर्पित प्राविधिकहरूको पहिचान अनिवार्य छ। तर, सटीक निदानको यो आधार तयार गर्ने ल्याब टेक्निसियनहरूको योगदान अझै पनि ओझेलमा परेको छ।

‘रिपोर्ट नआएसम्म केही गर्न सकिँदैन...’- यो कथन कुनै काल्पनिक संवाद होइन, नेपालभरका सयौं डाक्टरहरूको दिनहुँको यथार्थ हो। तर त्यही रिपोर्ट तयार गर्ने थकित आँखाहरू, चिसो ल्याबको सन्नाटा, माइक्रोस्कोपमा हराएको एकाग्रता- न त राज्यले देख्छ, न समाजले बुझ्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार, ७०% भन्दा बढी उपचारसम्बन्धी निर्णय ल्याब परीक्षणको आधारमा हुन्छ। ल्याब टेक्निसियनहरूले हिमाटोलोजी, माइक्रोबायोलोजी, बायोकेमिस्ट्री, इम्युनोलोजी, साइटोलोजीजस्ता शाखामा काम गर्दै शरीरभित्र लुकेका रोगहरू उजागर गर्छन्। तर दुर्भाग्य, राज्यको दृष्टिमा उनीहरू अझै पनि अदृश्य छन्।

आज पनि ल्याब प्राविधिकहरू न्यून तलब, न्यून सुविधा र असुरक्षित वातावरणमा काम गरिरहेका छन्। सरकारी दरबन्दी नगण्य छन्- खोलिए पनि गिनेचुने पद मात्र खुल्छन्। करारमा खुल्ने अवसरहरू पहुँचवालामाझ सीमित छन्, जसले गर्दा सक्षम तर राजनीतिक पहुँचविहीन युवाहरू बेरोजगार छन्।

१०-१२ हजारको तलबमा ८-९ घण्टा काम गर्नु पर्ने बाध्यता, त्यो पनि निजी क्लिनिक वा अस्पतालमा- यो वर्तमान यथार्थ हो। महामारीका बेला उच्च जोखिम मोलेर काम गर्दा पनि न सम्मान पाइयो, न सुरक्षाको प्रत्याभूति।

ल्याब भनेको केवल रिपोर्ट प्रिन्ट गर्ने मेसिन होइन- यो विज्ञान, सेवा र समर्पणको त्रिवेणी हो। अस्पताल र चिकित्सकहरूको छायाँमा लुकेका यी नायकहरू स्वास्थ्य सेवा प्रणालीको आधारशिला हुन्। तर नीति निर्माणमा उनीहरूको आवाज सुन्ने कान छैन, मूल्याङ्कन गर्ने दृष्टिकोण छैन।

अस्पतालमा ल्याब विभागका दरबन्दी हटाइएका छन्, भएका पनि निष्क्रिय छन्। ल्याबहरू अझै पुराना उपकरण र सीमित स्रोतहरूमै थिचिएका छन्। नीति निर्माण गर्दा ल्याब टेक्नोलोजिस्टहरूको भूमिका बेवास्ता गरिन्छ। प्राविधिकहरू अझै पनि पर्दापछाडिको सहायकजस्तो व्यवहार सहेर पेशामा टिकिरहेका छन्। अब यो मौनता तोड्नुपर्छ।

ल्याब क्षेत्रलाई स्वास्थ्य प्रणालीको अनिवार्य मेरुदण्डका रूपमा स्थापित गर्नुपर्छ। योग्य जनशक्तिलाई देशमै समुचित रोजगारीको ग्यारेन्टी दिनुपर्छ। दरबन्दी प्रणाली पारदर्शी र न्यायपूर्ण हुनुपर्छ। ल्याबमा प्रविधि, संरचना र सुरक्षामा लगानी गर्नुपर्छ।

हामी अदृश्य छौं, तर कमजोर होइनौं। मौन छौं, तर निरिह होइनौं। पर्दाभित्र काम गर्छौं, तर जीवनको धड्कन चलाइरहेका छौं। अब राज्यले यो सत्य बुझ्नैपर्छ- किनभने यो केवल नीति निर्माणको कुरा होइन, जीवन र मृत्युको प्रश्न हो।

रोगको लक्षण देखिनुअघि नै त्यसलाई पत्ता लगाउने, उपचारको प्रभाव मूल्याङ्कन गर्ने, वा रोग पूर्ण निको भयो कि छैन भनेर सुनिश्चित गर्ने- यी सबै प्रक्रियामा ल्याब परीक्षण अनिवार्य छ। मोलिक्युलर डायग्नोस्टिक्स, हिस्टोप्याथोलोजी, सिरोलोजीजस्ता आधुनिक शाखाहरूले महामारी नियन्त्रण, जनस्वास्थ्य निगरानी र नयाँ रोगहरूको जोखिम पत्ता लगाउन अहम् भूमिका खेलेका छन्।

तर यति ठूलो योगदानका बाबजुद पनि ल्याब प्राविधिकहरू अझै दोस्रो दर्जाको व्यवहार सहेर मौन छन्। सयौं दक्ष प्राविधिकहरू बेरोजगार छन्। अवसर सीमित, भविष्य अनिश्चित छ।

अब चुप लागेर बस्ने बेला सकिएको छ-

अब आवाज उठाउन जरुरी छ- किनभने जब ल्याब बलियो हुन्छ, तब मात्र स्वास्थ्य सेवा बलियो हुन्छ।

र बलियो स्वास्थ्य प्रणाली नै समृद्ध राष्ट्रको मेरुदण्ड हो।

प्रकाशित मिति: : 2025-06-27 18:35:00

प्रतिकृया दिनुहोस्