शनिबार, २३ अगस्ट २०२५

‘फादर्स डे’, विडम्बनाको उत्सव

News Image
• • •

आजको पुस्ताले बुबाको मुख हेर्ने दिन अर्थात् ‘फादर्स डे’लाई एउटा अनिवार्य पर्वजस्तै लिन्छ। बिहानैदेखि फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा बाढी आउँछ- ह्याप्पी फादर्स डे बा, तपाईं मेरो प्रेरणा, तपाईं मेरो भगवान्, तपाईं विना म शून्य हुँ... भन्ने रङ्गीन स्टाटसहरू।

पुराना फोटोहरू एडिट गरेर राखिन्छन्, हृदयस्पर्शी भनिएका अंग्रेजी वा नेपाली शब्दहरू टाँसिन्छन्। तर विडम्बना के छ भने, यी सब शब्दहरूको चमकभित्र कतै प्रेमको ज्योति होइन, बरु देखावटी नाटकीयता मात्र लुकेको हुन्छ।

जुन बा बिहान सबेरै उठेर खेतबारी गएका थिए, भोकै पेट छोडेर सन्तानलाई भरपेट खुवाएका थिए, चिसो, गर्मी र आँधी, पानी छिचोलेर सन्तानलाई पढाउने सपना देखेका थिए, उनीहरू नै अन्तत वृद्धाश्रमको एउटा अँध्यारो कोठामा थन्काइएका छन्। छोराछोरीले आफ्ना नयाँ जीवन, शैली, नयाँ परिवार र ‘आधुनिक समय’ को बहानामा बा’लाई घरभन्दा बाहिर पठाइदिन्छन्। अनि जब समाजलाई देखाउनुपर्ने दिन आउँछ, फेसबुक , इन्स्टाग्राममा प्रेमको फूल खन्याइदिन्छन्।

वृद्धाश्रमका ती शून्य कोठाहरूमा बा हररात सुत्छन्, सन्तानको आवाज सम्झेर, नातिनातिनीको हाँसो सम्झेर, घरको आँगन सम्झेर। उनीहरूको मुटुमा अझै पनि छोराछोरीकै माया मात्र छ। कतै आज त आइपुग्छन् कि?  भनेर आँखा ढोका तिरै लगिरहन्छन्। तर ढोका नखुल्दाको पीडा शब्दमा भन्न सकिँदैन। 

त्यसैबीच मोबाइलमा बा’कै फोटो राखेर छोराछोरीले लेख्छन्, ‘बा, तपाईं नै मेरो हिरो।’ प्रश्न उठ्छ, हिरो भनेको त्यो असहाय बूढो मान्छे होइन र, जसलाई तिमीले समाजको किनारामा धकेलेका छौं?

‘फादर्स डे’ भनेको फोटो हाल्ने दिन होइन। त्यो दिन भनेको घर फर्केर बासँगै बस्ने दिन हो। उहाँको हात समाएर एक कप चिया खाने दिन हो। उहाँको थकाइले भरिएका आँखामा माया हाल्ने दिन हो। उहाँले थन्क्याएका सपना सम्झेर कृतज्ञताको आँसु झार्ने दिन हो।

फेसबुकमा लेखिएको ‘ह्याप्पी फादर्स डे’ले बुवाको मन खुसी हुँदैन। उहाँको मन त त्यतिबेला खुसी हुन्छ, जब छोराछोरीले उनलाई सम्झन्छन्, मायाले बोलाउँछन्, उहाँको नजिकै बस्छन्। बालाई वृद्धाश्रममा थन्काएर दिन गन्नेहरूले त, मृत्युपश्चात् सय हार चढाए पनि, हजार दीयो बाल्दा पनि त्यो अपूरो खाडल पुरिँदैन।

साँचो ‘फादर्स डे’ भनेकै जिउँदो बुवालाई सम्मान दिने दिन हो। उहाँलाई आफ्नो हृदयको केन्द्रमा राख्ने दिन हो। समयमै माया पोख्ने दिन हो। किनकि, ढिलो भएर पोखिएको आँसु केवल पछुतो हुन्छ, त्यो कहिल्यै प्रेम हुदैन।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!