सुमनाले गरिन् ‘एमाले सांसद’ घर्तीको तारिफ

फाइल तस्बिर
फाइल तस्बिर

रास्वपा सांसद सुमना श्रेष्ठले सत्तारूढ नेकपा एमालेकी सांसद ईश्वरी घर्तीको तारिफ गरेकी छन्।

आइतबार प्रारम्भिक बालविकास केन्द्रबारे प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको छलफलमा सांसद घर्तीले ईसीइडी कार्यकर्तालाई शिक्षकको मान्यता दिनुपर्ने मागसहित उठाएको आवाज अत्यन्तै महत्त्वपूर्ण रहेको बताउँदै धन्यावाद दिएकी हुन्।

उनले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘आज म सांसद ईश्वरी घर्ती मगरज्यूलाई खुला हृदयका साथ धन्यवाद दिन चाहन्छु। उहाँले आज समितिमा  प्रारम्भिक बालविकास शिक्षकका लागि उठाउनु भएको आवाज अत्यन्तै महत्त्वपूर्ण थियो। उहाँले सबैलाई याद दिलाउनु भयो कि प्रारम्भिक बालविकासमा कार्यरत अधिकांश महिला छन्। यदी भोलि त्यहाँ महिलाको ठाउँमा पुरुष शिक्षक राख्ने हो भने प्रारम्भिक बालविकास चल्न सक्ने नै थिएन। यसरी अधिकांश महिला कार्यरत रहने पेशामा राज्यबाट विभेद गर्न पाइन्न भन्नुभयो।’

उनले थपेकी छन्, ‘उहाँको यो बुलन्द आवाजका लागि, म आफू महिला भएको नाताले पनि सबै महिला दिदीबहिनीको तर्फबाट धन्यवाद दिन चाहन्छु।’

सुमनाले समितिमा एक जना सांसद बाहेक सबैले एकमतका साथ- ‘प्रारम्भिक बालविकास पढाउने सबैलाई शिक्षक नै भनिनुपर्छ र उहाँहरूको वृत्ति विकासको पनि अवसर सिर्जना गर्नुपर्छ’ भन्ने आवाज राखेको पनि बताइन्।

प्रकाशित मिति: : 2025-06-29 21:02:00

प्रतिकृया दिनुहोस्