आज दिनभरि

राष्ट्रसंघमा ओलीको सम्बोधन, देशभरि झरी

आज देशभरि भारी वर्षा भयाे। वर्षाका कारण काठमाडाैँ उपत्यकासँगै देशका विभिन्न ठाउँमा बाढी, पहिराे गएकाे छ। भने, ठाउँ-ठाउँका सडक-खण्डहरु पनि अवरुद्ध भएका छन्।

झरीका बाबजुद विभिन्न कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाइएकाे छ। त्यस्तै दुध र उखु किसानकाे भुक्तानीकाे लागि दुई अर्ब रुपैयाँ निकास गर्‍याे।

त्यस्तै सहकारीकाे रकम हिनामिना गरेर फरार भएका बागलुङकाे ढाेरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतबाट पक्राउ परे। भने, सहकारी ठगी प्रकरणमा नै पक्राउ परेका गाेर्खा मिडिया नेटवर्कका सञ्चालक छबिलाल जाेशीलाई थप सात दिन हिरासतमा राख्न अदालतले आदेश दिएकाे छ।

त्यस्तै आज नेपाल प्रहरीले चाडवाडमा उपत्यका सुरक्षाबारे रणनीति सार्वजनिक गर्‍याे। यीलगायत आज दिनभरि घटेका मुख्य-मुख्य घटनाहरु यहाँ प्रस्तुत छ:


 विभिन्न कार्यक्रम गरी मनाइयो विश्व पर्यटन दिवस

पर्यटन र शान्ति भन्ने मूल नाराका साथ ४५औं विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ।

यसै अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमको समुदघाटन गर्दै कार्यबाहक प्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको आर्थिक समृद्धिको लागि लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको बताए।

उनले देशको आर्थिक तथा सामाजिक विकासलागि शान्ति अपरिहार्य रहेजस्तै शान्ति विना पर्यटनको विकाससमेत सम्भव नभएको धारणा राखे।

छिमेकीसँगको सम्बन्धबारे नेपालको धारणा कस्तो?

राष्ट्रसंघीय महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना छिमेक र मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई थप परिभाषित गरेका छन्। 

७९औं महासभामा विश्वका नेताहरूमाझ सम्बोधनका क्रममा उनले ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ भन्ने परराष्ट्र नीतिमा नेपाल सधैं अटल र दृढ रहने प्रतिवद्धता पनि गरे।  

नेपालले आफ्नो शान्ति प्रक्रियालाई आफ्नै मौलिक तरिकाले नै सम्पन्न गर्ने वाचा गर्दै उनले विश्वशान्तिको अगुवाई गर्नका लागि पनि नेपाल तत्पर रहेको बताए। प्रधानमन्त्री ओलीले विश्वका विभिन्न देशहरूबीच चलिरहेका युद्धबारे नेपालको धारणा पनि राखेका थिए। 

महासभामा भाग लिन अमेरिका पुगेका ओलीले त्यहाँ भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी सहयता निकाय यूएसएड र एमसीसीसहितका उच्च अधिकारीहरूसँग भेटवार्ता पनि गरेका थिए।

दुध र उखु किसानलाई तिर्न दुई अर्ब निकासा

दुध तथा उखु किसानको उधारो तिर्नका लागि सरकारले करिब दुई अर्ब रुपैयाँ निकासा गरेर सम्बन्धित मन्त्रालयमा पठाएको छ। 

दूग्ध किसानहरूले करिब छ अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको दाबी गर्दै आएका छन्। तर सरकारले भने आधाभन्दा धेरै रकम भुक्तानी भइसकेको दाबी गरेको छ। केही समयअघि सरकारले दूग्ध किसानलाई भुक्तानी दिनका दूग्ध संस्थानलाई सशर्तसहित ६० करोड रुपैयाँ ऋण दिने निर्णय गरेको थियो। 

सरकारले उखु किसानलाई तिर्नका लागि १ अर्ब ४५ करोड ३२ लाख २१ हजार ८६८ रुपैयाँ सम्बन्धित जिल्लाहरूमा पठाइसकेको छ।

झरीमा रुझ्यो देश, मुख्य राजमार्गमा सवारी चलाउन रोक

मनसुन बाहिरिनुभन्दा अघि केही दिनसम्म लगातार झरी लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आइतबारसम्म देशभरि नै निरन्तर झरी पर्ने भन्दै आवश्यक सावधानी अपनाउन पनि विभागले सचेत गराएको छ। 

खासगरी जुन १३ मा नेपाल भित्रिने मनसुन अक्टोबर २ सम्म बाहिरिइसक्छ। तर यसपालि भने ४ देखिमात्रै बाहिरिन सुरु हुनेछ। त्यसअघि देशैभरि अविरल वर्षा हुने आँकलन विभागले गरेको छ। मौसमी प्रणालीका कारण दसैंभरि पनि वर्षा कायमै रहनसक्ने अनुमान छ। 

बिहीबार साँझदेखिको अविरल वर्षाका कारण काठमाडौं उपत्यकालगायत देशभरिका खोलानदीहरूमा जल सतहले खतराको सिमा पार गरिसकेका छन्। ठाउँ ठाउँमा पहिरो खसेर सडक तथा राजमार्गहरू पनि अवरद्ध भइरहेका छन्। 

झरीका दुई रात रात्री बसहरू नचलाउन र रातको यात्रामा सावधानी अपनाउन विपद प्राधिकरणले अनुरोध गरेको छ। 

चितवन जिल्ला सुरक्षा समितिले आज रातको समयमा मुख्य राजमार्ग नारायणगढ-मुग्लिन सडकमा सवारी चलाउन नदिने निर्णय गरेको छ।

छबिमाथि अनुसन्धान गर्न थप ७ दिन

गोर्खा मिडियामा जिबी राई र रवि लामिछानेका साझेदार रहेका छबि जोशीलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएकाे छ। 

असोज ६ गते उनलाई प्रहरीले शंखमूलबाट पक्राउ गरी पाेखरा लगेकाे थिये। कास्की जिल्ला प्रहरीले १० दिनकाे म्याद मागे पनि अदालतले उनलाई ७ दिन राखेर अनुसन्धान गर्न अनुमति दिएकाे हाे। 

सुदर्शन सहकारीबाट रकम अपचलन गरेर गाेर्खा मिडियामा लगानी गरेकाे मुद्दामा तत्कालीन गाेर्खा मिडियाका प्रवन्धक तथा रास्वपाका सभापति रवी लामिछाने पनि मुछिएका छन्।

सहकारी ठगेका मेयर भारतमा पक्राउ

सहकारी ठगी गरेर भागेका ढोपाटन नगरपालिका बागलुङका मेयर देवकुमार नेपाली भारतबाट पक्राउ गरेका छन्। भारतीय सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई जानकारी दिएको छ। 

उनलाई समाउन नेपाल प्रहरीले इन्टरपोलमा रेड नोटिस जारी गरेको थियो। 

इमेज सहकारी संस्थाका संस्थापक अध्यक्षसमेत रहेका नेपालीमाथि पदाधिकारीसँगहरू मिलेर २ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप छ। 

दूतावासको सहयोगमा उनलाई नेपाल ल्याउने तयारी भइरहेको नेपाल प्रहरीले जनाएको छ।

पर्वका बेला उपत्यकामा सुरक्षा व्यवस्था कस्तो?

चाडपर्वमा आम नागरिकको जिउधनको सुरक्षा र सेवाका लागि प्रहरीले सुरक्षायोजना सार्वजनिक गरेको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले चाडपर्वलक्षित सुरक्षाका क्षेत्रहरु पहिचान परिचालनको तयारी गरेको उल्लेख बताए।

चाडपर्व लक्षित सुरक्षाका लागि उपत्यकामा हरेक दिन तीन हजार सात सय ६५  प्रहरी परिचालित हुनेछन्। सुरक्षा निगराना लागि प्रहरीले ड्रोन, सिसिटिभी, तथा कुकुरहरूसमेत परिचालन हुनेछन्। 

छठ लगत्तै राप्रपाले काठमाडौंमा मान्छे ओराल्ने 

राजसंस्था र सनातन हिन्दूअधिराज्य घोषणाका लागि छठ लगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले सडक आन्दोलन गर्ने भएको छ। 

आन्दोलनका संयोजक तथा राप्रपाका महामन्त्री धवल समशेर राणाले सबै जिल्लामा पत्राचार गर्दै आन्दोलनको तयारी थाल्न निर्देशन दिएका छन्। 

काठमाडौं केन्द्रित यो आन्दोलनका लागि गाउँगाउँबाट प्रतिनिधित्व हुनेगरी कार्यकर्ताहरू पठाउन उनले निर्देशन जारी गरेका हुन्।

हिजबुल्लाहलाई ध्वस्त पारिछोड्ने चेतावनी

अमेरिका तथा युरोपियन युनियनलगायत राष्ट्रहरूको युद्धबिराम अपिललाई बेवास्ता गर्दै इजरायलले हिज्बुल्लाहलाई ध्वस्त पारिछोड्ने चेतावनी दिएको छ। 

इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्ना सैनिकहरू हिज्बुल्लाहालाई सखाप पार्नका लागि आफ्नो सम्पूर्ण शक्ति लडिरहेको बताएका छन्।

इजरेलले लेबनानमाथि लगातार हवाई आक्रमण गरिरहेको छ। बिहीबारमात्रै त्यस्तो आक्रमणमा ९० जनाभन्दा बढी मानिसको ज्यान गएको छ। केही दिनदेखि भइरहेको भीषण लडाईंमा दुबै तर्फ सयौं मानिसको मृत्यु भइसकेको छ र लाखौं बिस्थापित भएका छन्।

एएफसी यु- २०: नेपाल बहराइनसँग पराजित

एएफसी अन्डर- २० एशियन कप छनौटमा नेपाल बहराइनसँग पराजित भएको छ।

न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा सम्पन्न खेलमा नेपाल बहराइनसँग ४-० ले पराजित भएको हो।

यो हारपछि नेपालको एशियन कपमा छनौटको सम्भावना सकिएको छ।

प्रकाशित मिति: : 2024-09-27 20:15:00

प्रतिकृया दिनुहोस्