उत्तम लिम्बू
तँ आफैँले
बनाइ छाेडि हिँडेको
घङ्गरुकाे लाैरी टेकेर
अचेल हिँड्न सक्दैनन् आमाहरु
आमालाई तँ चाहिएको छ।
देशलाई सदियाैँसम्म
सग्लै राख्न सक्ने फराकिलो छाती बनाएर
मुलुक कहिले फर्किन्छस् ठुले ?
मुलुकलाई तँ चाहिएको छ।
देश भन्दा ठुलाे काे हुन सक्छ ?
माटो भन्दा माथि काे हुन सक्छ ?
तँलाई याद छ कि छैन ?
तँ हिँड्नेबेला
बलात्कृत छाेरीकाे न्याय माग्न
हल्लिरहेकाे कालाे झण्डा
गाउँकाे माटाेमा
धुलाे खेलिरहेकाे घामकाे कलिलो मुस्कान
चिसाङ्ग खाेलाकाे सुख्खा बगरमा
कहिल्यै नसुक्ने
आमाकाे अमिलो आँशुकाे जिमाहा
सेतीको खाेँचझैँ उर्लिरहेकाे
बाबुकाे आँखाकाे गह।
अचेल,
हल्लिएकाे पानीमा
देखिएको पन्यालाे छाँयाजस्ताे
अथवा भनाैँ
निन्द्रा बिच्किएकाे रातमा
देखिएको मधुरो सपनाजस्ताे
काेहिबेला,
डढेलाे लाग्दै गरेको घरजस्ताे देखिन्छ देश
काेहिबेला ,
सिंहले चिथार्दै गरेको बँदेलजस्ताे देखिन्छ देश।
सम्झि,
यदि कुनै दिन ग्रहबाटै हरायाे भने देशकाे हुलिया
सम्झि,
यदि कुनै दिन ग्लाेबबाटै मेटियाे भने देशकाे नाम
तँ कुन माटाेमा उभिएर
आफ्नो कदकाे उचाई खाेज्छस् ?
माथि उल्लेखित बुँदाजस्तै
क्रमशः
देशकाे कमजाेर करङकाे कस्तो
खबर लेखेर पठाई दिउँ तलाईँ ?
केही केही चिज
सम्झिएर पनि
सबै सबै चिज बिर्सिएजस्ताे
देश कसरी बिर्सन सकिन्छ ?
देशलाई सदियाैँ
सम्म सग्लै राख्न सक्ने फराकिलो छाति बनाएर
मुलुक कहिले फर्किन्छस् ठुले ?
मुलुकलाई तँ चाहिएको छ।
-
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया