जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
बैंकिङ कसुरसम्बन्धी मुद्दामा बर्दियाको गुलरिया नगरपालिका-५ की ४५ वर्षीया रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएको हो।
प्रहरीका अनुसार उनीविरूद्ध जिल्ला अदालत पर्साबाट जेठ १६ गते पुर्जी जारी भएको थियो।
उनलाई पक्राउ गर्न पर्सा प्रहरीले बर्दिया प्रहरी कार्यालयमा पनि पत्राचार गरिसकेको छ।
भिडियो-
000
प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौंसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले भेट गरेका छन्।
आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर बोहराले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्।
कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणलागयत मुद्धा उठाएर गत जेठ ४ गतेदेखि यात्रा सुरु गरेका बोहरा असार ३ गते काठमाडौं आइपुगेका थिए।
000
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले गत चैत १५ गतेकाे तीनकुने घटनाको जिम्मेवारी राज्यले लिनुपर्ने टिप्पणी गरेका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले यस्ताे टिप्पणी गरेका हुन्।
निमुखा जनताको सेवा गर्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईंकाे कुनै दाेष नरहेकाे बताउँदै राज्यले जनता भड्काएको कारण तीनकुने घटना आतंक भएकाे उनकाे भनाइ थियाे।
000
न्याय परिषद् बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्ताव गरेका वरिष्ठ अधिवक्ता मेघराज पोखरेलविरुद्ध सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ।
टीबी कार्कीले आज सुनुवाइ समितिमा पोखरेल सर्वोच्च अदालतको न्यायाधीश हुन अयोग्य रहेको भन्दै उजुरी दर्ता गरेका हुन्।
वरिष्ठ अधिवक्ता पोखरेललाई न्याय परिषद्को जेठ २७ गते बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्ताव गरेको थियो ।
000
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकले आगामी आर्थिक वर्षका लागि २ अर्ब ७४ करोड ४१ लाख बजेट पारित गरेको छ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले ४०० शय्याको अस्पताल निर्माण, शैक्षिक, अनुसन्धनात्मक र व्यवस्थापकीय कामका लागि नीति, योजना, बजेट तथा कार्यक्रम पारित गरेको हो।
बैठकले प्रतिष्ठानको ‘शिक्षक तथा कर्मचारीको सेवाका शर्त र सुविधासम्बन्धी नियमावली, २०७८’ का केही प्रावधानहरूमा संशोधनका साथै प्रतिष्ठानको लोगो परिवर्तनलगायतका निर्णय गरेको छ।
000
गुल्मीको रेसुङ्गा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई आकर्षक नगद पुरस्कार दिने घोषणा गरेको छ।
नगर प्रमुख खिलध्वज पन्थीले नगरपालिकाको १७औँ नगर सभामा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरिएको वार्षिक नीति तथा कार्यक्रममा उक्त योजनाबारे जानकारी गराएका हुन्।
नीति कार्यक्रम अनुसार नगरभित्रका विद्यालयमा अध्ययन गरेर एसईईमा ग्रेड पोइन्ट जीपीए ४ प्राप्त गर्ने विद्यार्थीलाई 'नगर प्रमुख शैक्षिक पुरस्कार' अन्तर्गत नगद १ लाख रुपैयाँ प्रदान गरिने नगर प्रमुख खिलध्वज पन्थीले बताएका थिए।
000
एसीसी मेन्स यू-१६ क्रिकेट ‘इस्ट कप’को पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले हराएको छ।
मलेसियाको वाइएसडी युकेएम ओभलमा आइतबार सम्पन्न खेलमा नेपालले सिंगापुरलाई हराएकाे हाे।
सिंगापुरले दिएको १ सय ३९ रनको लक्ष्य नेपालले ३३.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो।
अब नेपालले मंगलबार जापानको सामना गर्नेछ।