अमेरिकासँग भएको त्यो कस्तो बम हो, जसले इरानलाई काबुमा ल्याउनसक्छ (भिडिओसहित)

इरानको परमाणु परियोजना ध्वस्त पार्नका लागि अमेरिकाले इजरायललाई एउटा शक्तिशाली हतियार दिने भएको छ। त्यो हतियार अहिले अमेरिकाबाहेक संसारका अरु कुनै पनि देशमा छैन। 

इरानले जमिनको निकै मुनि एउटा युरेनियम प्रशोधन केन्द्र तयार गरेको छ। अमेरिका त्यसलाई ध्वस्त बनाउन चाहन्छ। तर इरानमाथि निरन्तर आक्रमण गरिरहेको इजरायलसँग त्यो भूमिगत प्रशोधन केन्द्रमा हान्नसक्ने हतियारहरू छैनन्। 

त्यो हतियार अमेरिकासँगमात्रै छ। सुरक्षा विश्लेषकहरूका अनुसार त्यो हतियार भनेको लगभग ३० हजार पाउन्डभन्दा धेरै क्षमताको बम जत्तिकै शक्तिशाली हुन्छ। त्यलाई जिबियू-५७ एमओपी नाम दिइएको छ। इरानले फोर्दो भन्ने पहाडको मुनि लगभग ९० मिटर गहिराईभित्र प्रशोधन केन्द्र बनाएको छ। 

यद्यपि इजरायलले आक्रमण सुरु गरेकै दिन इरानको प्रमुख प्रशोधन केन्द्र ध्वस्त बनाइदिएको थियो। 

त्यो हतियार प्रयोग गर्नेबारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको सिचुएयसन रुपमा आफ्ना सुरक्षा रणनीतिकारहरूसँग आकष्मिक छलफल गरेका थिए। लगभग डेढघण्टासम्म भएको उक्त छलफलका क्रममा इजरायल-इरानको युद्धमा अमेरिका कसरी जोडिने वा कसरी मध्यस्थता गर्न सकिन्छ भन्नेबारेमा राय लिएका थिए। 

यसअघि नै इरानमा अमेरिकी सैनिक पठाउने वा नपठाउने भन्नेबारेमा उनका सुरक्षा समूह विभाजित देखिएको थियो। यद्यपि त्यसको तयारी पनि अमेरिकाले गरिरहेको छ। 

इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि अमेरिकाले ३० भन्दा धेरै सैन्य ट्याङ्कर, एअरक्राफ्ट, लडाकू जेट तथा बमवर्षकहरू इन्धन भर्नका निम्ति युरोप पठाइसकेको छ। 

यसअघि ट्रम्पले इरानलाई विनाशर्त आत्मसमर्पण गर्न वा बिनाश मध्ये एउटामात्रै बिकल्प इरानसँग भएको भन्दै इरानका सर्वोच्च नेतालाई समेत धम्की दिएका थिए। 

त्यसपछि बङ्करमा लुगेका इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनेईले पनि इजरायलसँग युद्ध सुरु भइसकेको भन्दै इजरायलसँग अब कुनै पनि ‘सम्झौता’ हुन नसक्ने चेतावनी दिएका छन्। 
इजरायललाई ‘यहुदी आतंकवादी’ भन्दै खामेनेईले त्यो यहुदी शासन नष्ट गर्नका लागि अब ‘हैदर’को नाममा इरानले युद्ध सुरु गरिसकेको बताएका हुन्। हैदर भनेको एक बहादुरको प्रतीक मानिन्छ। खासगरी शिया मुस्लिम समुदायले ‘हैदर अली’का लागि यो सम्बोधन प्रयोग गर्छन्। जसलाई उनीहरूले इमाम र पैगम्बर मोहम्मदको अवतार ठान्छन्। 

अहिले इरानका सर्वोच्च नेता खामेनेई कुनै सुरक्षित बङ्करमा लुकेका छन्। उनले आफ्ना सामाजिक सञ्जालहरूमार्फत युद्धका बारेमा यो जानकारी सार्वजनिक गरेका हुन्। यसअघि इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले खामेनेईको हत्या गर्ने योजना बनाइसकेका थिए। त्यो योजनाबारे थाहा पाएपछि उनलाई इरानको निकै सुरक्षित ठानिने बङ्करभित्र राखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनेईको हत्या योजना तत्कालका लागि रोकिदिएका थिए।

(बिबिसीलगायत एजेन्सीहरूकाे सहयाेगमा)
 

प्रकाशित मिति: : 2025-06-19 08:50:00

प्रतिकृया दिनुहोस्