उच्च अदालत, पाटनले पत्रकार दिनभूषण पाठकलाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय टंकप्रसाद गुरूङ र टीकाराम आचार्यको इजलासले यो आदेश दिएको हो।
यसअघि अल्पकालीन अन्तरिम आदेश जारी गरेको उच्च अदालतले दुवै पक्षको सुनुवाइ सुनि आदेशलाई निरन्तरता दिएको हो।
अब पाठकले हालेको मुद्दा नटुंगिदासम्म प्रहरीले उनलाई पक्राउ गर्न पाउने छैन।
भिडियो-
000
नेकपा एकीकृत समाजवादी पार्टीका सांसद मेटमणि चौधरीविरुद्ध बैङ्किङ कसुरमा जाहेरी परेको छ।
दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद चौधरीविरुद्ध चेक अनादरमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
पाँच करोड रुपैयाँ भन्दा बढी रकम दाबी गर्दै जाहेरी आएपनि चौधरीविरुद्ध कसले जाहेरी दिएको हो भन्ने प्रहरीले बताएको छैन।
000
नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई ज्यान मुद्दामा सफाइ दिने दुई न्यायाधीश सर्वोच्च अदालत तानिएका छन्।
उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा कार्यरत न्यायाधीशद्वय खुसीराम थारु र अर्जुन महर्जनलाई सर्वोच्चमा काजमा तानिएको हाे।
फैसलाका कारण विवादित भएको र सुरक्षाको पनि प्रश्न उठेकोले सर्वोच्चमा काजमा रहने गरी तानिएको बताइएकाे छ।
उनीहरूविरुद्ध न्यायपरिषदमा मृतक पिन्टु त्रिलोकका बुबाले समेत उजुरी दिएका थिए।
000
कम्बोडियाबाट पक्राउ गरेर बुधबार राति काठमाडौं ल्याइएका मितेरी सहकारी ठगी प्रकरणका अभियुक्त ज्योतिबहादुर भण्डारीविरुद्ध सात दिनको म्याद थप भएको छ।
काठमाडौं जिल्ला अदालतले लिखतसम्बन्धी कसुर र ठगीको कसुरमा अनुसन्धान गर्न सात दिनको म्याद दिएको हो।
ललितपुरमा कार्यालय रहेको मितेरी सहकारीको रकम अपचलन गरेर उनी लामो समयदेखि फरार हुँदै आएका थिए।
उनीविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस समेत जारी भएको थियो।
000
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संघीय निजामती विधेयकका विषयमा माओवादीले राजनीति गर्न खोजेको आरोप लगाएका छन्।
बिहीबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले निजामती विधेयकलाई रोक्ने सरकारको कुनै योजना नरहेको भन्दै यस विषयमा माओवादीले राजनीति गर्न खोजेको आरोप लगाएका हुन्।
सरकारकै पहलका कारण उक्त विधेयक समितिबाट छिटो पारित भएर संसदमा आएकाले प्रतिपक्षीले अनावश्यक राजनीति गर्न जरुरी नरहेको उनको भनाइ थियाे।
000
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले कार्यपालिका अन्तर्गत ४ वटा समितिका संयोजकहरूलाई पुरानै जिम्मेवारी दिएका छन्।
केही समयअघि बालेनले चार वडाध्यक्षकाे जिम्मेवारी खाेसेर नयाँ वडाध्यक्षहरूलाई विभिन्न समितिको संयोजकको जिम्मेवारी दिएका थिए।
गैरकानुनी रूपमा मेयरले आफूहरूलाई जिम्मेवारीबाट हटाएको भन्दै वडाध्यक्षहरू आशाराम संगत, मचाराजा महर्जन, ख्यामराज तिवारी र नवीन मानन्धरले विराेध गरेका थिए।
तर उक्त निर्णयबाट पछि हट्दै मेयरले वडाध्यक्षहरूलाई पुरानै जिम्मेवारी फर्काएका हुन्।
000
सुनचाँदी व्यवसायीले आन्दोलन स्थगित गरेका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको संयुक्त राष्ट्रिय भेलाले हाल जारी आन्दोलन स्थगित गर्ने निर्णय गरेको हो।
सुनचाँदी व्यवसायीले आफूहरुको माग पूरा गर्न सरकारलाई असार मसान्तसम्मको ‘अल्टिमेटम’ दिएका छन्।
सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने र सुनको भन्सार दर नेपाल र भारतमा समान हुनेगरी सरकारबाट निर्णय हुनुपर्ने व्यवसायीको माग छ।
000
कैलाली कारागारका कैदीको मृत्यु भएको घटनामा नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक सईलाई पक्राउ गरिएको छ।
डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिस सिंह पालीको मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक(सई) हरजीत नाथलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी)राजकुमार सिंहले पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा नाथलाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको पुष्टि गरेका हुन्।