बाउले छाेडिदिएकी आमाको निधनपछि रुपेशको जीवन झन एक्लाे भयाे। बाँच्ने आशाहरू एकपछि अर्काे गर्दै मरिरहेका थिए। पढेर जागिर खाने अनि आमालाई खुसी राख्ने उनका सपनाहरू आमाकाे त्याे चितासँगै डढेर गइसकेका थिए। अब काेही थिएन जीवनमा। र, त्यही एक्लाे जीवनकाे सहारा बनेर विस्तारै रुपेशकाे नशा-नशामा ‘ड्रग्स’का थाेपाहरू घुल्न थाले।
सानै उमेरमा बुबाले अर्की श्रीमती भित्र्याए। आमालाई छाडेर बुबाले घरमा कान्छी ल्याएपछि उनी काठमाडौँ आए। आमाको साथ काठमाडौँ आएका उनले यहीँ बसेर पढ्न थाले।
‘मेरो आमाको दिदीको घर सामाखुसीमा थियो, त्यसैले हामी ठुली आमासँगै बस्न थाल्यौँ’, उनले भने।
जन्म दिने बुबाले बेवास्ता गरे पनि आमाको प्रेमबाट पुल्पुलिरहेका थिए, रुपेश। घरबाट स्कुल र स्कुलबाट घर फर्किन्थे। पढ्नु थियाे। बस् अरू केही थिएन।
आमाको मायाले रमाइरहेका उनले कहिल्यै बुबाको कमी महसुस गरेनन्। तर, आमा भने बुबालाई सम्झिएर रुने गर्थिन्। बाको यादमा तड्पिरहने आमा विस्तारै थला परिन्। उनी ‘प्यारालाइसिस’ को सिकार भइन्। र, २०६५ सालमा सदाका लागि संसार त्यागिन्।
आठ वर्षको उमेरमा आमालाई गुमाएका उनी बिरक्तिन थाले। आमाको मृत्युसँगै उनको ठुलो भएर जागिरे बन्ने सपना पनि धुँवासँगै उड्यो। जिन्दगीमा माया गर्ने मान्छे थिएनन्। गाली गर्नेहरू पनि थिएनन्। अब उनी घरमा भन्दा पनि बाहिर-बाहिरै बस्न थाले। पढाइमा भन्दा धेरै उनको ध्यान चुरोट तान्नमा जान थाल्यो।
चुरोटकाे कुलतमा फस्दै गएका उनले विस्तारै गाँजा पनि ताने। त्यही गाँजाबाट उनी ‘ट्याबलेट’ मा पुगे। ‘मैले सुरुमा चुरोट तानेँ र त्यहीँबाट म कुलतमा फसेँ’, विगत सुनाउँदै उनले भने, ‘सिरिन्ज पनि हान्न थालिसकेकाे थिएँ।’
लागुऔषधमा फसेका उनी दिनभरि नशाको तालमै रमाउँथे। आफूलाई माया गर्ने ठुली आमालाई बेवास्ता गरेर रुपेश साथीको संगतमा मस्त हुन्थे।
‘मलाई कुनै कुराको मतलब थिएन। मात्र मलाई त नशा चाहिन्थ्यो’, उनले भने।
बहिनीलाई गुमाएर निराशिएकी ठुली आमालाई छोराको व्यवहारले पिरोल्न थाल्यो। काठमाडौँको संगतले बिग्रिएको छोरा ‘मर्छ’ भन्ने डरले ठुली आमाले रुपेशलाई गाउँ पठाइन्।
कान्छीआमा र बुबाको साथमा गाउँ बस्न थालेका उनी झनै खाेक्रिन थाले। त्यो घरमा आफ्नी आमाले गर्ने जस्तो माया पाएनन्, रुपेशले। बुबा र आमाको व्यवहार देखेर झन् उनलाई आफ्नै जीवनदेखि विरक्त लाग्थ्याे। उनी फेरि काठमाडौँ फर्किए।
दुई साता गाउँको बसाइँपछि काठमाडौँ छिरेका उनले गाडीमा सह-चालककाे काम गर्न थाले। आफूले सेवन गर्ने डोज पुर्याउने पैसाकाे जाेहाे गर्न रुपेशले महिना दिनसम्म काम गरे।
तर, कुलतले गलिसकेका रुपेशलाई काम गर्ने जाँगर किन चल्थ्याे र!
उनले केही दिनमै काम छाडिदिए। लागुऔषध किनेर दिनकै १० हजार रुपैयाँ सक्काउने उनी अन्योलमा परे।
‘अब, कसरी डोज पुर्याउने?’ अर्काे सकस आइपर्याे।
आफूले दैनिक सेवन गर्ने औषधि किन्नका लागि उनी चोर्ने र लुट्ने काम गर्न थाले। तर, त्यो काम पनि टिक्न सकेन।
‘मान्छेलाई ठग्ने काम पनि कहिल्यै राम्रो हुन्छ र?’, उनी आफैँसँग प्रश्न र प्रयाश्चित पनि गरे, ‘आफ्नो डोज पूरा गर्न मैले धेरै नराम्रो काम गरेँ।’
सडकमा फ्याँकिएकाे त्याे चुरोटकाे ठुटा
१३ वर्षको उमेरदेखि लागुऔषधको सेवनमा लागेका उनी त्यति धेरै कुलतमा फसेका थिए, उनलाई खाना खान र सुत्नका लागि पनि त्यही चाहिन्थ्यो। त्यो बिना न उसलाई निन्द्रा लाग्थ्यो न त भोक नै।
‘मैले मेरो भोक र निन्द्रालाई पैसाले किन्नुपथ्यो, किनकी मेरो बाँच्ने आधार त्यही औषधि थियो’, उनले भने, ‘पैसाबिना औषधि आउँदैन थियो।’ बिहान र बेलुका त्यही नशाको बारेमा सोच्ने रुपेश पैसा नहुँदा रुने गर्थे। आफ्नो जीवनलाई धिक्कार्थे।
‘कैयौ रात मैले राेएरै सिरानी भिजाएको छु, तर मेरो आँसु मैले कसैलाई देखाइनँ’, राति सुत्नअघि जीन्दगीलाई सम्झिएर रुने उनलाई लाग्थ्याे, ‘मैले गलत गरिरहेको छु भनेर थाहा थियो तर आफूलाई कन्ट्रोल गर्न सकिनँ।’
आफूले नशाको सेवन गर्न नपाउँदा भावुक हुने रुपेश औषधिको सेवन गर्न पाउँदा खुसी हुन्थे।
‘जब मैले नशा गर्न पाइनँ तब मात्र मैले अनेकथरि कुरा सोचें तर जब मैले नशा गर्न पाउँथेँ, त्यो सबै कुरा भुलिदिन्थेँ’, उनले सुनाए।
नशामा उनी यतिधेरै डुबिसकेका थिए कि सडकमा फ्याँकिएका चुरोटक ठुटा र साथीहरू प्रयोग गरेर फ्याँकेका सुइँहरूलाई पुनः प्रयोग गर्थे। कुलतमै फसेर उनी कैयौं दिनहरू त सडकपेटीमै सुते।
सडक र चोक–चोकमा सुत्दा उनले धेरैको कुटाइ पनि खाए। जसको लेखाजोखा नै छैन उनीसँग।
‘नशाको तालमा मलाई धेरै जनाले कुट्यो तर पनि सुध्रिइनँ’, उनले भने।
गाउँबाट भागेर काठमाडौँ हानिएका छोराको अवस्था देखेर दिक्दार बनेका बाले उनलाई सुधार केन्द्रमा राख्ने निधो गरे। बुबाले गरेको त्यो निर्णयले रिसाएका उनले सुधारगृह नजाने कुरा परिवारलाई बताए। तर, उनको कुरा कसैले मानेनन्। र, बाध्य भएर २०७४ सालमा उनी सुधार केन्द्रमा पुगे।
‘मलाई सुधार केन्द्रमा बस्ने मन थिएन तर बुबाले मलाई आफ्नो खुसीले गृहमा राखिदिनुभयो’, उनले भने। आफ्नो रहरले नभई परिवारको कारण सुधार केन्द्र पुगेका उनले साढे तीन वर्ष त्यहीँ बिताए। तर, पनि सुध्रिन सकेनन्।
२०७७ सालमा सुधारगृहबाट निस्किएर उनी सिधैं आफ्नो घर गए। जबर्जस्ती सुधारगृहमा राखिदिएको भन्दै परिवारसँग झगडा गरेर उनी काठमाडौँ आए।
ठुलीआमाकाे त्याे आँसु
साढे तीन वर्षसम्म सुधार केन्द्रमा बसेका रुपेश सुध्रिएनन्। पुरानै तलमा फर्किएका उनी साथीहरूको संगतमै रमाउँथे। उनको त्यो व्यवहार देखेर ठुलीआमा पनि बिरक्तिएकी थिइन्।
सुधारगृहबाट फर्किएपछि झनै बिग्रिएका थिए, उनी। दिनभरि साथीहरूसँग ‘झ्याप’ भएर हिँड्नु र बाटो-बाटोतिर सुतेरै रातदिन कटाउँथे।
एकदिन नशाकै तालमा उनी घर पुगे। शरीरले थेग्नै नसक्ने नशा गरेर घर आएका छोरा देखेर टोलाइरहेकी थिइन्, ठुलीआमा। लरबराइरहेको खुट्टा देखेर भावुक भएकी ठुलीआमाले भक्कानिएर रुँदै रुपेशलाई भनिन्, ‘बाबु, म तेरो यस्तो हालत देख्न सक्दिनँ। बरु, मैले तँ मरेको खबर सुन्न परोस्।’
आफूलाई अथाह माया गर्ने ठुलीआमाको मुखबाट एक्कासी त्यस्तो कुरा सुनेर रुपेश पनि भावुक भए। उनका आँखाबाट बरबरर आँसु झरे।
भलै, उनी नशाको हालतमा थिए तर ठुलीआमाको त्यो शब्दले उनको नशा नै र छुट्याे। ठुलीआमाले भनेको त्यो शब्द सुनेर नि:शब्द भएका रुपेश सिधैं आफ्नो कोठामा छिरे। र, आफैँ ऐनामा देखे...ख्याउटे र दुब्लो फुकीढल भएकाे बिचराे रुपेश!
आफ्नो अनुहार देखेर चकित परेका उनी ऐना हेर्दै आफैँसँग बोले, ‘म त खिइसकेको रहिछ। मेरो जीवन सक्किएछ।’ उनको मनमा अनेकथरि कुराहरू खेल्न थाले।
त्यसपछि रुपेशले सदाका लागि कुलत त्याग्ने निधो गरे।
१२ वर्ष ‘ड्रग्स’ले बाँचेका उनले कुलत छोड्न तयारी गरे। लागुऔषधबाट छुटकारा पाउनका लागि उनले छिमेकी दाइसँग सल्लाह-सुझाव मागे। उनै दाइबाट उनले बूढानीलकण्ठ पासीकोट– ४ मा सञ्चालन भइरहेको ‘फ्रिडम फाउण्डेशन’बारे थाहा पाए।
‘छिमेकी दाइले मलाई त्यहाँको सम्पर्क नम्बर दिनुभयो अनि मैले रुँदै फोन गरेँ’, तीन वर्षअघिको कुरा सम्झदै उनले भने, ‘मेरो कुरा सुनेर मलाई त्यहाँका दाइले गृह बोलाउनु भयो।’
साढे तीन वर्ष सुधार केन्द्र बसेर पनि सुध्रिन नसकेका रुपेशले ठुलीआमालाई सबै सुधार गृह बस्ने कुरा सुनाए। तर, उनको कुरालाई विश्वास नगरेकी ठुलीआमाले भनिन्, ‘तँ सुध्रिन्छस् जस्तो लाग्दैन। तर, त्यहाँ बसिस् भने बाँची त रहन्छस् नि! जा गएर बस् बाबु!’
ठुलीआमासँग बिदा लिएर उनी २०७७ सालदेखि फ्रिडम फाउण्डेशनमा बस्न थाले। एक दशक कुलतमा फसेका रुपेश सुरुवाती दिनहरूमा ढलेका थिए। ‘शरीरले ड्रग्स माग्थ्यो, त्यही नखाएको कारण म ढलेको रहेछु। यो कुरा मलाई यही संस्थाका दाइहरूले भन्नुभयो’, उनले सुनाए।
साता दिनसम्म ड्रग्स नपाएर ढलेका उनी बिस्तारै फेरिँदै गए। उनलाई भोक र निन्द्रा नै लाग्न थाल्यो।
त्यसपछि उनको दैनिकी पनि बदलियो।
अहिले उनी बिहानै उठ्छन्। योगा गर्छन् र अरूलाई पनि शरीर स्वस्थ्य राख्न सुझाव दिन्छन्।
रुपेश भन्छन्, ‘पहिले मलाई ड्रग्स खाएरै मर्छु भन्ने सोच आउँथ्यो तर अहिले फ्रेस भएको छु। सकारात्मक सोच्ने गरेको छु।’
विगतलाई सम्झिँदा अझै झस्किने गर्छन्, रुपेश। अनि सोच्ने गर्छन्, ‘धन्न म यो कुलतबाट निस्किएँ। यो संस्था नभएको भए म त मरिसक्थे होला!’
फ्रिडम फाउण्डेशनले उनलाई नयाँ जीवन मात्र होइन काम पनि दिएको छ। तीन वर्षदेखि कुलतबाट बाहिरिएका रुपेश अहिले त्यही संस्थामा तलब लिएरै काम गर्छन्। जुन पैसा उनी आफूलाई चाहिने कामका लागि खर्चिन्छन्।
अहिले रुपेश खुसी र सन्तृष्ट छन्।
उनी भन्छन्, ‘अहिले मेरो परिवारसँग कुनै सम्बन्ध छैन। म सुध्रिएको छु भनेर उहाँहरूले विश्वास गर्नुहुन्न तर मेरी ठुलीआमा मलाई देखेर खुसी हुनुहुन्छ।’
तीन वर्षदेखि सुधार गृहमा बस्दै आइरहेका उनको अब एउटै लक्ष्य छ, त्यो हो विदेश गएर पैसा कमाउने र भविष्य उज्वल बनाउने। रुपेशलाई विदेश जाने बाटो पनि संस्थाका सञ्चालक पवन श्रैष्ठले बनाइदिएका हुन्।
‘मैले सम्पत्तिमा आफ्नो हक जमाउँछ भनेर मलाई मेरै परिवारले नागरिकता बनाइदिनु भएन तर पवन दाइ मेरो घर पुग्नुभयो र मेरो नागरिकता बनाइदिनुभयो’, रगतको नाताभन्दा मनको नाता ठुलो हुने भन्दै उनी भन्छन्, ‘उहाँ मेरो लागि भगवान सरह हो।’
कुनै बेला ड्रग्सको लतमा जीन्दगीलाई अन्धकारमा ढकलेका रुपेश अहिले लागुऔषधमा फसेका मानिसहरूलाई त्यो सचेतना दिइरहेका छन्। उनी भन्छन्, ‘मैले जस्तो अरु युवाहरूले यो कुलतमा लागेर जिन्दगी बर्बाद नगरोस्।’