घरमा सबैले भन्थे ‘डाक्टर’ हुनुपर्छ। स्कुलमा जान्थे त्यहाँ पनि आफ्नो ‘लक्ष्य’ सुनाउनुपर्थ्यो अनि उनी भन्थे- डाक्टर।
पढ्नमा उनी तगडै थिए। अनि पो आफन्तहरू पनि भन्थे- यसलाई त डाक्टर बनाउनुपर्छ।
कलिलो दिमागमा रोपिएको डाक्टरको त्यो बीज कतिबेला साँच्चिकै जीवनको लक्ष्य बनिदियो पत्तै भएन। आफैंलाई उनले ‘डाक्टरी’ भेषमा देख्न थाले।
र, त्यो दिन पनि आयो। १७ वर्षको उमेरमा पवन श्रेष्ठ चीन हानिए।
सन् २००१ सालमा डाक्टरी पढ्न विदेश पुगेका उनको दिनरात पढाइमै बित्थ्यो। तर लक्ष्य पुग्ने खुड्किलाहरू बीचमै रोकिन थाले। त्यो डाक्टरी लक्ष्य समाउन नपाउँदै उनका पाइला अलिकति मोडिन थाले।
त्यसको एउटा मुख्य कारण थियो-ड्रग्स। अर्थात् लागु पदार्थ। कुलतले छिनालेका जीवनका बारेमा सुन्थे। ड्रग्सको लतले सकिएका जीवनहरू देख्थे। कोही तड्पिरहेको कोही मरिरहेको। उनी समाचारमा सुन्थे कुलतले बिथोलिएकाहरूका बारेमा। यी खबरहरूले उनलाई पनि बिथाेलिरहेकाे थियाे भित्रभित्रै।
अनि सोच्थे- के हो यो ड्रग्स? के हो यो कुलत? जसले जीवन सकिरहेछ? डाक्टरी सपना त्यहीँनेर बिसाएर पवन घर फर्किए। डाक्टरी यात्राका आधा पाइलाहरू अब चीनमै छुटिसकेका थिए।
‘मैले चाइनामा डाक्टरको तयारी गर्दैथिएँ तर त्यस्ता खबरहरूले मलाई लागुऔषधबारे अध्यन गर्न इच्छा जाग्यो। त्यसैले उताको पढाइ छाडेर नेपाल फर्किएँ’ उनले सुनाए। चीनबाट फर्किएर लागुऔषधबारे बुझ्नका उनी विभिन्न किसिमको कार्यक्रममा सहभागी भए।
लागुऔषध प्रयोगकर्ताहरूलाई सुधार्ने अडान लिएका पवनले सात वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको कार्यक्रममा बिताए। र, २००७ सालबाट लागुऔषध सुधार केन्द्रमा ‘केस म्यानेजर’ का रुपमा काम सुरु गरे।
काठमाडौंका विभिन्न सुधार गृहमा गएर लागुऔषधबारे जनचेतना फैलाइरहेका पवनले एक दिन मनमनै सोचे, ‘अब, म पनि एउटा संस्था खोल्छु अनि लागुऔषधमा डुबेका युवालाई उकास्छु।’
एक दशक लागुऔषधबारे अध्यन गरेका उनले आफ्नै बलबुतामा सुधार केन्द्र सञ्चालन गर्ने निधो गरे। त्यही संस्था स्थापना गर्नका लागि उनले धेरै ठाउँमा जग्गा खोजे तर सोचेजस्तो कहीँ भेटेनन्। ‘एडिक्सनमा लागेकाहरूले हल्ला गर्छन्, झगडा गर्छन् भनेर जग्गा भाँडामा दिनु मान्नु भएन’, उनले बिएल नेपाली सेवालाई सुनाए।
आफूले चाहेको जस्तो नभएर भौतारिरहेका उनले बूढानीलकण्ठ पासीकोट–४ मा जग्गा पाए। आफूभन्दा ठुला घाँस र रुखहरूले भरिएको जग्गालाई उनले छाटेर समतल बनाए।
त्यसपछि सुरु भयो, ‘फ्रिडम फाउण्डेशन’।
आफ्नो घरबाट ल्याइएको सामानबाट पवनले सुरु गरेको संस्थाको नाम ‘फ्रिडम’ राख्नुको पनि छुट्टै कथा छ। ‘फ्रिडम’ आफैंमा एउटा सुन्दर शब्द हो। सोही कारण लागुऔषधको प्रयोग गरिरहेकाहरूलाई त्यसबाट छुटकारा दिलाउनका लागि संस्थाको नामै फ्रिडम राखेको उनको तर्क छ।
लागुऔषधमा फसेकाहरूलाई उकास्ने सपना बुनेका पवनले संस्थालाई अहिले हरियाली बनाएका छन्। एडिक्शनमा लागेकाहरूको स्वास्थ्यमा ध्यान राख्दै उनले सुधार केन्द्रको वरपर वृक्षरोपण, मिनी लाइब्रेरी बनाएका छन्। मासुका लागि कुखुराहरू पनि पालेका छन्।
चार वर्षअघि स्थापना भएको सुधार केन्द्रबारे उनी भन्छन्, ‘मेरो यो संस्था कोभिड–१९ पछि हो। मैले दशैंपछि मात्र संस्था खोल्ने भनेर सोचिरहेको थिएँ तर सोचेको जस्तो भएन। किनकी मलाई खोज्दै मानिसहरू संस्था ध्याउन थाल्नुभयो। त्यसैले मैले दसैअघि नै लागुऔषध प्रयोगकर्ताहरूलाई आश्रम दिन थालेँ।’
सुरुका दिनमा दुई–चार जनाबाट सञ्चालन गरेको उनको सुधार गृहमा अहिले २१ जना मानिस आश्रित छन्। जहाँ १८ वर्षदेखि ४५ वर्षसम्म व्यक्तिहरू आश्रित छन्। जसको हेरचाहका लागि उनी दिनरात त्यही केन्द्रमा खटिरहन्छन्।
डेढ दशकदेखि आफूलाई लागुऔषध ‘केस म्यानेजर’ को रुपमा चिनाउन सफल भएका पवनले आफ्नो सुधार गृहमा बसेकाहरूलाई सुधार्ने मात्र नभई काम दिलाउने पनि गर्छन्। कसैलाई पढाइदिएका छन्, कसैलाई जागिरे बनाइदिएका छन् त कसैलाई रोजगारीका लागि विदेश पठाइदिएका छन्।
उनी भन्छन्, ‘सुधार गृह बस्नु मात्र विकल्प होइन। यहाँ बसेपछि के पायो भन्ने प्रश्न पनि उठ्छ। त्यसैले सुधारगृहबाट निस्किएर केही काम गरोस् भन्ने मेरो चाहना हो।’
लागुऔषधको प्रयोग गर्नु राज्यकै लागि हानिकारक रहेको उनको बुझाइ छ। किनकी यसले व्यक्तिलाई मात्र नभई पूरै देशलाई असर पर्छ।
‘एउटा घरको कुनै सदस्य एडिक्शनमा फसेको छ भने त्यसले उनलाई मात्र नभई पूरै परिवारलाई असर गर्छ। एउटा परिवारलाई असर गर्नु भनेकै समाजलाई गर्नु हो र समाजलाई हानिकारक गर्नु नै देशलाई असर गर्नु हो’, उनले भने, ‘तर समाजले त्यो सोचिदिनु हुन्न। यसले झनै समस्या पारिदिन्छ।’
एउटा लागुऔषधमा फसेका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोण फरक छ। ऊसँग बोलन समेत डराउँछ, समाज। तर त्यो समस्याबाट तर्किनुको सट्टा डटेर त्यसको समाधान गर्नुपर्ने उनको भनाइ छ।
‘म समाजलाई नराम्रो भन्दिनँ तर एउटा एडिक्शनमा फसेका व्यक्तिलाई हेर्ने नजर राम्रो छैन। यदी त्यो व्यक्ति सुध्रिएको छ भने पनि विश्वास गरिदिँदैन। जसले गर्दा साधारण जीवन बिताइरहेका उनीहरू फेरि त्यही दलदलमा फस्न जान्छन्। त्यसैले विश्वास गर्नु जरुरी छ’, उनले भने, ‘एडिक्शन भनेको एउटा रोग हो। जसको उपचार सम्भव छ।’
एडिक्सन भनेको के हो?
कुनै व्यक्तिलाई आफूले गरिरहेको खराब कामबारे थाहा छ तर पनि उनी त्यही कामलाई दोहार्याइरहन्छ भने त्यो एउटा एडिक्शन हो। जसलाई आफूले ‘कन्ट्रोल’ गर्न चाहेर पनि सक्दैन।
संसारमा सबैभन्दा समस्याको कुरा भनेकै आफूलाई थाहा भएरपनि वेवास्ता गर्नु हो। एडिक्शन त्यो हो, जसले भोक र निन्द्रालाई लगाउँदैन। घरपरिवारलाई वेवास्ता गरेर सधैं आफू नशाको हालमा रहनु नै एडिक्शन हो। जसको उपचार सम्भव छ।
कसरी गरिन्छ, उपचार?
लागुऔषध प्रयोगकर्ताहरूलाई त्यसबाट छुटकारा दिलाउन गाह्रो छ तर असम्भव छैन। लागुऔषधको कुलतमा फसेकाहरूलाई सुधार गृहमा राखेर मात्र निको नहुने पवन बताउँछन्। उनका अनुसार शिशुलाई स्याहारेजस्तो उनीहरूको पनि हेरचाह गर्नु जरुरी छ।
मानिसहरू भन्ने गर्छन्, ‘लागुऔषध प्रयोगकर्ताहरूलाई सुधार केन्द्रमा राखेर थोरै–थोरै डोज दिएर निको बनाइन्छ’ तर त्यो कुरालाई खण्डन गर्छन्, उनी।
‘मलाई धेरै जनाले डोज दिनुहुन्छ भनेर सोध्नुहुन्छ तर म चाहिँ दिन्नँ। यदी त्यसरी डोज दियो भने सुधार गृह राखेको कामै भएन नि। हामी डोज नदिइकन निको बनाउँछौं’, उनले भने।
लागुऔषध प्रयोगकर्ताहरूलाई पहिलोपटक सुधार गृहमा ल्याउँदा उनीहरू बेहोश हुने गरेको पनि उनले सुनाए। ‘पहिलोपटक सुधार गृह आउँदा अधिकांश मानिस ढल्ने गर्छन्। त्यो किन भने शरीरले औषधि मागिरहेको हुन्छ तर म त्यो दिन्नँ। बरु, डाक्टरलाई चेकअप गराएर खान मिल्ने औषधि दिने गरेको छु।’
पहिलोपटक सुधार गृहमा बस्न आउनुहरूलाई त्यतिकै राख्न नहुने उनले बताए। ‘सुरुमा उहाँहरूलाई उपचार गर्नुपर्छ, त्यसपछि मात्र उहाँहरूलाई राख्नुपर्छ’, उनले भने, ‘यहाँ आएपछि उहाँहरूलाई हेल्दी खानेकुरा दिनुपर्छ। तबमात्र स्वास्थ्यमा सुधार आउँछ। र, सुध्रिर्ने क्रम बढेर जान्छ।’
सरकारसँग गुनासो
लागुऔषधमा फसेकाहरूलाई उकास्ने काम साधारण होइन तरपनि यसमा सरकारको ध्यान नगएको उनको गुनासो छ। अहिले काठमाडौंका विभिन्न स्थानहरू सुधार गृहहरू स्थापना पनि भएपनि त्यसमा सरकारको कुनै नजर रहको उनको भनाइ छ।
‘अहिले नेपालमा जे–जति सुधार केन्द्र छ, त्यो सबै व्यक्तिगत खर्चले नै गरेका छौं। त्यसमा सरकारले हेर्नुपथ्यो तर त्यो असम्भव जस्तो बनेको छ’, उनले भने, ‘सरकारले यो विषयमा पनि हेर्नुपर्छ।’
देशमा भइरहेको लागुऔषध प्रयोगकर्ताहरूको बिगबिगी अन्त्य गर्नका लागि स्थापना गरेको संस्था ऋणमा चलिरहेता पनि आफूले ५ जनालाई बिना पैसा सुधार गृहमा आश्रम दिएको उनले बताए।
आफूले समाज सेवा गर्ने भावनाले सुधार गृह सञ्चालन गरेको सुनाउँदै उनले भने, ‘मेरो उद्देश्य भनेको पैसा कमाउने होइन। नशामा ज्यान फ्याँकिरहेकाहरूलाई उकास्ने र समाजलाई आफूले सक्दो सेवा गर्ने हो। त्यसैले आर्थिकस्थिती कमजोर भएकाहरूलाई पनि फ्रिडममा राखेको छु। यहाँ बसेर सुध्रिएर जान्छ भने त्यो नै मेरो लागि खुसीको कुरा हो।’
कुनैबेला डाक्टर बन्ने आफ्नो सपना पूरा नभएपनि अहिले आफू त्यही लाइनमा रहेको उनको बुझाइ छ।
‘मैले लागुऔषधलगायत एचआइभी रोगको कन्सर्लर भएर काम गरें तर मलाई अहिले खुसी लाग्छ कि डाक्टर बन्ने मेरो सपना अहिले पूरा हुँदैछ’, आफूले गरिरहेको काम देखेर खुसी लागेको बताउने पवन भन्छन्, ‘यदी म डाक्टर भएको भएपनि बिरामी सेवा गथेँ र अहिले पनि बिरामीहरू कै सेवामा लागिरहेको छु। म धेरै सन्तृष्ट छु।’
अहिलेसम्म दुई हजार जनालाई सेवा दिइसकेका पवन लागुऔषधमा फसेकाहरूलाई पुनस् जीवन दिलाउनु नै आफ्नो जीवनको लक्ष्य बताउँछन्।
‘यदी कोही यो कुलतमा हुनुहुन्छ छ भने मलाई सम्पर्क गरेर आउन सक्नुहुनेछ’, लागुऔषध प्रयोगकर्ताहरुलाई लक्षित गर्दै उनले भने, ‘मेरो मोबाइल नम्बर ९८६१६८८२२७ मा सम्पर्क गरेर आउनुहोस्। म सधैं तपाईंहरुको सेवामा खट्ने छु।’