शनिबार, ११ अप्रिल २०२६

अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?

ओम आचार्य

ओम आचार्य

काठमाडौं
News Image
• • •

नेपाली कांग्रेस भाद्र २३ र २४को आन्दोलनबाट मराणसन्न अवस्थाबाट गुज्रिरहेको छ। जेनजी आन्दोलन र जेनजीको भावनाको अनुमोदन गर्ने भन्दै महामन्त्रीद्वयको विशेष सक्रियता र आग्रहबाट विशेष महाधिवेशन केन्द्रीय समितिले स्वामित्व नलिएको अवस्थामा पनि विशेष महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्दै भृकुटीमण्डपमा महाधिवेशन तय भयो। 

तत्कालिन सभापतिले फागुन २१ को निर्वाचननमा अहिले गर्ने भनिएको विशेष महाधिवेशनले प्रतिकुल असर पार्छ भन्दै निर्वाचनपछि विशेष महाधिवेशन गरौं भन्ने विचारलाई अस्वीकार अर्थात असहमती जनाउदै हठपूर्वक गरिएको पुसको २७/२८मा विशेष महाधिवेशनबाट सभापति भए गगन थापा भए। 

विशेष महाधिवेशन जुन लक्ष्य र महत्वाकांक्षा लिएर गरिएको थियो त्यो अनुरुप न त निर्वाचनको परिणाम आयो न त कांग्रेसको कै संगठनमा सुधार आयो। कांग्रेस झन झन कमजोर र जर्जर अवस्थामा पुग्यो।

कांग्रेसलाई यो अवस्थामा पुर्‍याउन देशीविदेशी शक्ति सक्रिय रहको देखिन्छ। कांग्रेसभन्दा पहिला एमालेलाई कमजोर बनाउने पार्टीमा विग्रह उत्पन्न गर्ने रणनीति शुरु भएतापनि एमालेको नियमित महाधिवेशनबाट पुनः केपी ओली नै निर्वाचित भए। यसमा एमालेमा विग्रह गराउने त्यो डिजाइन फेल भएपछि त्यो समूह कांग्रेसमा पस्यो। विशेष महाधिवेशनको खेल सुरु भयो।

पौष २७/२८ मा भएको नियमित महाधिवेशनबाट गगन थापा पार्टी सभापति भए। कांग्रेस हरसम्भव फुटाउने रणनीति लिएको शक्तिले निर्वाचन आयोगमार्फत वैधानिकताको निर्णय विशेष अधिवेशनलाई दियो त्यो आश्चर्य छैन। आश्चर्य त विशेष महाधिवेशनलाई वैधानिकता दिँदैगर्दा फागुन २१ को निर्वाचनको लागि दर्ता गर्ने समयावधी सकिए पनि कुनै दल दर्ता गर्न इच्छुक छन् भने भनेर समय म्याद थपिनुले कांग्रेस फुटोस र दल दर्ता गरोस् भन्ने निर्वाचन आयोगको अन्तरनिहित भाव देखिन्छ। 

कांग्रेसमा कलह चरममा

निर्वाचन नजिकिँदै गर्दा कांग्रेसभित्र टिकटमा कसको दस्तखत हुने भन्ने विषयले पनि कलह अरु बढाएको थियो। गगनको दस्तखतबाट टिकट लिएर निर्वाचनमा नजाने पनि सिनियर नेताहरू समेत थिए। अब हालको सस्थापन इतर भन्न मिले देउवा समूहले निर्वाचन आयोगको निर्णयबाट असन्तुष्ट हुदै सर्वोच्चमा मुद्धा हालेका छन। सर्वोच्चबाट निर्णय आउन जति ढिलाई हुदै जान्छ त्यति कांग्रेस फुट्ने समभावना बढेर जाने देखिन्छ

अहिले गगन समूहले नियमित महाधिवेशन गर्ने मिति समेत तोकी जरा अभियान समेतको लागि सबै जिल्लामा प्रतिनिधि समेत खटाइ सकेको छ। त्यतिमात्र हैन अब विना आईडी महाधिवेशनमा सहभागी हुनसमेत नपाउने निर्णय आउनाले देउवा समूह यो महामहाधिवेशनबाट अलग्गिने सम्भावना बढेर गएको छ। देउवा समूहमा लागेका नेताहरू गगन थापाको नेतृत्वलाई कुनै पनि हालतमा नस्वीकार्ने भनिरहदा के महामहाधिवेशन सहभागी हुन्छन त? यो सम्भावना देखिन्दैन। 

विशेष महाधिवेशनबाट सभापति भएका गगनलाई नस्वीकार्ने भन्दै अदालतमा मुद्धा हालिसकेपछि नैतिकताले गगनको नेतृत्व पनि स्वीकार्न मिल्दैन, स्वीकारदिनँ भन्न पाइन्छ। तर गगनको दस्तखत लिएर निर्वाचनमा सहभागी हुने र अहिले त्यो नेतृत्व स्वीकार्दिन भन्न चै मिल्दैन। राजनीतिमा इमान, धर्म र नैतिकता नभएकाहरूबाट त यस्तो हुन्छ तर कांग्रेसमा यस्तो चै हुनुहुदैन भन्ने विचार प्रवल छ।

कांग्रेस एक ढिक्का बनाउने प्रयास

कांग्रेस कमजोर हुँदा देशमा प्रजातन्त्र नै कमजोर हुन्छ। कांग्रेस कमजोर हुँदा प्रतिगामीहरूको चलखेल बढेर जान्छ। एमाले होस् या माओवादी दल या अन्य कुनै दल हुन्, उनीहरूका लागि कांग्रेस राजनीतिक रुपमा एकअर्कामा प्रतिद्न्दी भएपनि कांग्रेस नफुटोस् एक ढिक्का रहोस् भन्ने राजनीतिक विचार बोकेका छन् उनीहरूले। कांग्रेस यौटा इतिहास बोकेको पार्टी हो जसको अन्तर्राष्ट्रिय छवि र पहिचान छ त्यस्तो दलसंग राजनीतिक प्रतिस्पर्धा गर्न पाउँदा अन्य दल पनि गर्व महशुश गर्छन्। यस्तो कांग्रेसलाई कांग्रेसले बुझ्न सकिरहेको छैन र आपसमा द्वन्द्व गरिरहेका छन्। माओवादी दलबाट तत्कालिन समयमा भएको द्वन्द्व समेतलाई द्वन्द्व व्यवस्थापन गर्न सक्ने कांग्रेस आफ्नो दलभित्रको द्वन्द्व व्यवस्थापन गर्न नसक्नु नेतृत्व तहमा बसेकाहरूको कमीकमजोरी र दक्षतामा कमी हो भन्नुपर्ने हुन्छ।

कांग्रेसभित्र यो दुई समूहलाई एकढिक्का बनाउने प्रयास कहीकतैबाट भइरहिरहेको छैन। सबै एकअर्कामा अझ दुरी बढोस् र आफ्नो वर्चस्व चलोस् भन्ने मूलभावनाबाट प्रेरित गगन समूह र देउवा समूहमा विद्यमान छ र यो अझ बढेर गएको देखिन्छ।

देउवा समूहले अहिले पनि नेपाली कांग्रेस नै भनेर समानान्तर बैठक गर्दै आएको छ भने गगन समूहले यस्तो गर्दै गए कारबाहीसमेत गर्ने बताउदै आएको छ।

यस्तो अवस्थामा यी दुई समूहको मिलनविन्दु देखिरहेको छैन।

अदालतको निर्णयबाट कांग्रेस मिल्छ?

अहिले कांग्रेसमा एक-अर्काको कुरा सुन्न त के अनुहार हेर्नसमेत नरुचाएको अवस्था छ। कांग्रेसभित्रै कांग्रेसको यो किचलोलाई मुख मिठ्याइ मिठ्याइ वहस र चर्चा गरेर पिसाबको न्यानो जस्तै मान्दै आइरहेका छन्। देशमा नयाँ सरकार छ। यो सरकारको गतिविधि यसरी बढिरहेको छ भोलि प्रजातन्त्र लोकतन्त्र र विधीको शाशनमा चुनौती देखिन सक्छ।

जस्तो वर्गिय संगठनहरूको खारेजी , निजीस्तरका सञ्चार जगतलाई सरकारी विज्ञापन नदिने, निर्णय हुन सक्ने विचार आइरहेको छ त्यसले लोकतन्त्रको जरा नै निमोठ्ने लक्षण छ। यस्तो अवस्थामा कांग्रेसको के विचार छ त्यो आइरहेको छैन। जसले लोकतन्त्र प्रजातन्त्रको पहिले शर्त वर्गीय संगठन र संचार जगतलाई मान्दै आइरहेको छ। किन कांग्रेस चुप छ। कांग्रेस आफैंमा द्वन्द्व भएर नै हो?

कांग्रेसभित्र धेरै सिनियर नेताहरू देउवा समूहमा छन् र यिनीहरूको इगो र घमण्डले गगन समूहमा सम्मिलित नहुन सक्छन् तर गगन समूहमा धेरै युवा पुस्ताहरू सम्मिलित छन् यो समूहलाई देउवा समूहमा प्रवेश गर्न समस्या देखिन् तर यो अवस्था विचाराधीन रहेको अदालतको निर्णयबाट मात्रै कांग्रेस एक ढिक्का हुने अवस्था आउन सक्छ। यसरी कांग्रेस एक ढिक्का हुन सक्छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!