कलेज जीवन सकिँदैगर्दा आकाशिएका सपनाहरू त्यसैत्यसै बतासिन्थे। आइटी (सूचना प्रविधि)का अक्षरज्ञान लिन झापाबाट काठमाडौं छिरेका ‘नवीन’सँग स्वप्नका त्यस्ता धेरै पंखहरू थिए, जो आफैले नदेखिने क्षितिजसम्म उडिघुम्थे।
‘आइटी’को एउटा निसास्सिने दुनियाँमा छिरेका सपनाका ती पंखहरू यतिबेला एउटा अनकन्टार जंगलभित्र कैद छन्। ‘साइबर ह्याकर’हरूको गिरोहले बन्दी बनाएका सयौं ‘नवीन–सपना’हरू यतिबेला थाइल्यान्ड र म्यान्मारको सिमान्त जंगलमा रूमलिएका छन्। निसास्सिएका छन्।
०००
सन् २०२१ को अन्तिमतिर काठमाडौंमा आइटी पढ्दै गरेका नवीन (२५)का सपना ‘नयाँ जीवलोक’को उडानमा थिए।
आइटीमा उनले बिए पास गरेका थिए। बतासिएका खुसीहरू एकैछिनमा संसार घुम्न बुर्कुसी मार्थे। बतासको तरंगजस्तै, जसलाई उनले किताबभित्र पढेका थिए।
‘आइटी–संसार’को यात्रारम्भ अब सुरू हुँदैथियो। उमेरसँगै उनले आइटी पढ्नका लागि दशलाख सिध्याए।
अंग्रेजी नयाँवर्ष अर्थात् सन् २०२२ लाग्दैगर्दा उनले काठमाडौंमा काम खोजे। तर, कतै भेटेनन्। तनावले सात महिना कोठाभित्रै थन्किए, उनी। काठमाडौंको बसाइँ र महङ्गीको सास्तीले थिचिरहेको थियो।
झापाबाट परिवारले ‘के काम गरिरहेको छस्’ भनेर सोध्दा बेचैनी बढ्थ्यो। अनि जागिर खोज्दै झन् भौतारिए। सहरमा हरेक शिक्षित बेरोजगारले यसैगरी भौतारिनुपर्छ। सायद यो सहरको नियमै हो कि! नवीनलाई लाग्थ्यो, ‘संसारै कब्जा गर्न सकिने’ विद्या सिकेको के काम!
एक तहको पढाइ सकियो। त्यो पनि ‘आइटी’। तर सहरमा न कसैले सोध्यो, न कसैले खोज्यो, सहर सबको थियो। तर सहरमा उनीजस्ता लाखौं ‘एक्ला’हरू थिए।
उनी आफूसँग भएको एकथान ल्याप्टप खोल्थे। सकिनसकी डेटा इन्ट्रीको काम गर्थे। एकछिन कोठाबाट निस्केर चुरोट सल्काउथे। धँवासँगै सपना अनि कल्पनाहरू आकाशिन्थे। अनि कोठामै फर्किन्थे।, जानु कहाँ नै थियो र!
कामको खोजीमा भौतारिरहेको बेला नवीनले सामाजिक सञ्जाल फेसबुकमा एउटा सूचना देखे। सूचनामा लेखिएको थियो– आइटी कम्पनीमा आकर्षक तलबसहित थाइल्यान्डको बसाइँ। उस्तै राम्रो सुविधा। ‘डिजिटल सेल्स् एण्ड मार्केटिङ इक्जुकेटिभस्’को पद।
उनी क्षणमै हौसिए। प्रचार सामाग्रीमा कम्पनीले सम्पर्कका लागि इमेल दियो। उनले इमेल खोले र आफ्नो बायोडाटा कम्पनीलाई तुरून्तै पठाइदिए।
एकैछिनमा इमेलमा रिप्लाई आयो। उनको मुहारमा झन् चमक थपियो। बाँकी सोच्न नपाउँदै एजेन्टले अर्को अफर दियो– स्टुडेन्ट भिसामा समय लाग्न सक्छ। तर भिजिट भिसामा आउँदा ‘प्लेन टिकट फ्रि’।
नवीन दंग परे। एक्लै कोठामा मुस्कुराए, आफ्नो खुसी कसैलाई बाँडेनन्। उनीसँग इमेलमा जोडिएको एजेन्टले ‘ह्वाट्सएप नम्बर’ मागेर हिन्दी भाषामा थाई भिसा प्राप्तिको सबै प्रक्रिया बताइदियो। एजेन्टले बैंककमा हुन गइरहेको आइटीवर्कसपको निमन्त्रणा पनि पठाइदियो।
नवीन एजेन्टलाई सम्पर्क गरेको पाँच दिनमै बिएको प्रमाण–पत्रसहित अन्य कागजात लिएर थाई दूतावास पुगे। भिसा पाएपछि काठमाडौंमा रहेका साथीभाइसँग रमाए, बा–आमालाई आफू बैकक उड्दै गरेको अपूर्ण खुसखबर सुनाए।
सपनाको भारी र थाइल्यान्डको उडान
सन् २०२२ को अगस्टतिर नवीन ‘सपनाको भारी’ बोकेर थाइल्यान्ड उडे। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमाथि हजारौँ मिटर उचाइँमा पुगेपछि आकाशमा उडिरहेको ‘थाई स्माइल’मा उनीसामु अर्को ‘स्माइल’ भेटियो। ‘स्माइल’ अर्थात् आफू जस्तै साथी भेटाए।
आइटीमा बिएको पढाइ सकेर जागिर खोज्दै अर्काको देश उडिरहेका विनोद (दाङ)। विमान हावामा उडिरह्यो। नवीन र विनोदका सपना पनि उसैगरी उडिरहे। पहिलोपटक ठूलो विमानमा यात्रा गर्दाको बेग्लै अनुभव। आकाशबाट देखिरहेका रोचक दृश्य।
सँगसँगै बसेका उनीहरू रमाउँदै थिए, खाना आइपुग्यो। गफिँदै खाँदै उनीहरू उडिरहे। भिसा पाउँदा दूतावासमा भोगेको झन्झट एकअर्कालाई सुनाए। बैंकक ओर्लिनै लाग्दा पत्तो भो, उनीहरू एउटै कम्पनीमा एउटै कामका लागि जाँदै रहेछन्।
बैंककको सूवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि ‘नवीन–विनोद’सहित ११ जना युवालाई थाई युवतीले एउटै गाडीमा राखिन्।
गाडीमा नेपालबाट गएका उनीहरू दुईजना मात्रै थिए, बाँकी भारतीय र श्रीलंका। ती युवती थाई र अलिअलि अंग्रेजी बोल्थिन्। उनीहरू झण्डै दुईघण्टाको यात्रापछि होटलमा पुगे। पहिलो रात एजेन्टले रमाइलो गर्न भन्यो। उनीहरू सबैजना रमाए। तर, होटल बाहिर निस्केनन्।
अर्को दिन एकाबिहानै एउटा गाडीमा राखेर तीन घण्टाको नयाँ यात्रामा निस्के। त्यहाँ झण्डै २२–२५ जना युवायुवतीहरू थिए। विनोदका अनुसार त्यो बैंककभन्दा अलिक टाढाको सहर थियो।
उनीहरूलाई त्यहाँ डेटा इन्ट्रीको काम लगाइयो। नयाँ–नयाँ प्रयोगबारे कोचिङ दिइयो। ह्वाट्सएप र इमेल प्रयोगबारे सावधान बनाइयो। त्यहाँ सबैभन्दा धेरै भारतीय ‘आइटीवर्कर’हरू थिए।
नवीन र विनोद १४ दिन समुन्द्र छेउको अग्लो भवनमा बसे। दुई हप्तापछि उनीहरूलाई फरक फरक गाडीमा राखेर ‘फिल्ड भिजिट’ भनेर दिनरात कुदाइयो। अनि थाईल्याण्ड र म्यान्मारको सीमाक्षेत्र लगियो। उनीहरू एकदिन सीमापारि थाइल्यान्डमै बसे।
मिलिसियाको आधार इलाकामा ‘साइबर ह्याकर’
थाई–म्यान्मार सीमाक्षेत्रलाई छुट्याउने एउटा नदी छ। नदीमाथि लामो पुल छ। अध्यागमन पनि छ। तर त्यो छलेर ‘फिल्ड भिजिट’मा गएका दर्जनौँ युवायुवतीलाई सीमापार गराइयो। उनीहरूलाई स्थलमार्ग हुँदै द्वन्द्वग्रस्त म्यान्मार छिराइयो। यात्रारत कसैलाई पनि पत्तो थिएन, कहाँ जाँदैछौँ।
‘आइटीजागिर’ खोजिरहेका नवीन काठमाडौंदेखि थाइल्यान्ड हुँदै म्यान्मारको कयिन प्रान्तस्थित म्यावडी नगर पुगे। त्यहाँ नवीन र विनोद मात्र छैनन्, उनीजस्ता १४ सयभन्दा धेरै सूचना प्राविधिक छन्।
म्यावडी पुगेको अर्काेदिन भर्खंरै नयाँ समूहलाई धम्कीसहितको काम दिइयो। उनीहरूको झोलाबाट राहदानीसहित अन्य कागजात खोसियो। सबै कुरा बिर्सेर डाटा इन्ट्रीको उर्दी गरियो। काम लगाउनेहरू चिनियाँ, ब्राजिलियन र थाईहरू छन्।
काठमाडौंबाट ठोक्किदै–जोतिँदै बैंकक पुगेका ‘नवीन–विनोद’ले आफूहरू ठगिएको बल्ल बुझे। म्यावडी थाई–म्यान्मार सीमाक्षेत्रको डरलाग्दो ठाउँ मानिँदैआएको छ।
म्यावडी नगर म्यान्मार सरकारको नियन्त्रण बाहिर छ। जंगलको बिचमा चारैतिरबाट घेरिएका भवनहरू छन्। त्यहाँबाट भाग्न सम्भव छैन। आकर्षक तलबको प्रलोभनमा परेर ‘साइबर ह्याकर’हरूको जालोमा जेलिएका ३३ देशका आइटीवर्कर र कम्प्युटर इन्जिनियहरू म्यावडीमा बन्धक छन्।
उनीहरूले लगातार १३–१४ घण्टासम्म काम गर्दैआएका छन्। डर–धम्कीले साइबर आक्रमण, डेटा इन्ट्री, डेटा ह्याकजस्ता गैरकानूनी काम गर्छन्। कामदारहरूलाई बेग्लाबेग्लै समूहमा बाँडिएको छ। प्रत्यक समूहलाई भिन्नभिन्नै टार्गेट दिइन्छ। त्यो काम पूरा गर्नैपर्ने बाध्यता छ।
‘भूमिगत ह्याकर’काे कब्जामा एकसय नेपाली युवा
इलामका योगराज लिवाङ (३०) अहिले म्यान्मार (शान राज्य) प्रहरीको फन्दामा छन्। उनी तीन महिनाअघि म्यान्मार गएका थिए।
दुबईदेखि म्यान्मारकाे पूरानाे राजधानी रंगुनीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका उनी सिधैं जातीय सशस्त्र विद्रोहीको किल्ला मानिने शान राज्यकाे ह्वा पुगे।
आफूलाई महिनैपिच्छे राम्राे डलर दिन्छु भनी ‘साइबर ह्याकर’हरूले एजेन्टमार्फत् लोभ्याएर फसाएको उनको गुनासो छ। उनी अहिले शान राज्यकाे मुकाममा सुरक्षित छन्। योगराजकाे कागजात पूरा गरेर नेपाल पठाउने तयारी थालिएको रंगुनस्थित नेपाली दूतावासकी नियोग उपप्रमुख गंगा सुन्दासले जनाइन्।
भिजिट भिसामा म्यान्मार पुगेका उनी तीन हप्ताअघि ४ भारतीय आइटीवर्करसँगै समातिए। स्राेतका अनुसार चिनियाँ कम्पनीले म्यान्मारकाे द्वन्द्वग्रस्त क्षेत्रमा अनेकौं धन्धा चलाइरहेकाे छ। त्यहाँ नेपालीसहित भारतीय र इन्डोनेसियनले लुकिछिपी गैरकानूनी काम गरिरहेका छन्।
नेपाली दूतावासले विभिन्न माध्यमबाट उनीलगायत अन्य युवालाई मुक्त गर्ने प्रयास गरेको छ। हालसम्म १० जना नेपाली दूतावासको सम्पर्कमा छन्। इलाम घर भइ म्यान्मारको शान राज्य पुगेका योगराजको उद्धार कार्य लगभग अन्तिम चरणमा रहेको राजदूत हरिशचन्द्र घिमिरेले जनाएका छन्। ‘आइटीपेशेवरहरूलाई मोटो तलबको बहानामा प्रलोभनमा पारेर म्यान्मारकाे द्वन्द्व प्रभावित क्षेत्रमा पुर्याइँदै रहेछ,’ उनले भने।
त्यस्तै, काठमाडौं–दुबई–थाइल्यान्ड हुँदै म्यान्मार पुगेका काठमाडौंका कम्प्युटर इन्जिनियर दीपक (२८) म्यावडीमा छन्। उनी चार महिना अघिसम्म दुबईमा थिए। तर कम्पनीको काम देखेर त्यति सन्तुष्ट थिएनन्।
सामाजिक सञ्जाल फेसबुकको विज्ञापनकै भरमा थाइल्यान्ड हुँदै म्यान्मार पुगेका उनी ‘नवीन–विनोद’झैँ साइबर ह्याकरबाट ठगिए। दुबईभन्दा बढी पैसा दिन्छु (बैंकक) भन्दै ह्वाट्सएपमा प्रपोज आएपछि एकाएक लोभिए, दीपक। अनि इमेलमा भारतीय ह्याकरसँग जोडिएपछि बैंकक पुगे।
म्यावडीमा फसेका दर्जनौँ नेपालीले इमेलमार्फत् दूतावास गुहारेका छन्। दूतावासको सम्पर्कमा आएका नेपालीहरू सुरक्षित स्थानमै छन्। तर त्यहाँ म्यान्मार सेना र सेनाविरोधी समूहबीच लडाइँ भइरहेको छ।
म्यान्मारमा ६० भन्दा बढी नेपाली सूचना प्रविधि व्यवसायीलाई बन्धक बनाएर दिनरात काम गर्न लगाइएको दूतावासले जनाएको छ। तर बिएल नेपाली सेवाको सम्पर्कमा आएका पीडित नेपाली युवाका अनुसार म्यावडीमा झण्डै एकसय हाराहारीमा युवाहरू बन्धक छन्।
म्यावडीमा एकसय नेपाली बन्धक बनाइएका छन्, जहाँ चिनियाँ, भारतीय, ब्राजिलिय आइटीपेशेवरहरू पनि छन्। नेपालीहरूले सिस्टम अपरेटरदेखि एकाउन्टेन्टसम्मको काम गर्दैआएका छन्। तीमध्ये एक जनाले दूतावासका अधिकारीसँग भने– ‘हामीलाई रोजगारीको आश्वासन दिएर फसाइयो। हामी यहाँ आएका थिएनौं, तर हामीलाई बैंकक भनेर म्यान्मार ल्याइयो।’
म्यान्मारको कायिन, शान, कचिन, छिन् राज्य म्यान्मार सरकारको नियन्त्रण बाहिर छन्। त्यहाँ जातीय सशस्त्र विद्रोही समूहको बाक्लो दबदबा छ। पीडितहरूका अनुसार त्यहाँ पुर्याइएका नेपालीहरू दुबई–थाइल्यान्ड हुँदै गृहयुद्ध चलिरहेको म्यान्मार पुग्छन्।
कतिपय नेपाली सिधैं रंगुन पुग्छन् भने कति बैंककबाट स्थलमार्ग हुँदै म्यावडी पुर्याइन्छन्। दूतावास स्रोतका अनुसार पहिलो समूहमा एक महिलासहित १० जना नेपाली ‘आइटीवर्कर’ र दोस्रो समूहमा पनि १० जना नै म्यान्मार पुगे। तर २२० जनाको समूहमा एक सयभन्दा बढी नेपाली छन्। उनीहरूलाई एउटा ठूलो कम्पाउन्डमा राखिएको छ। त्यहाँ बस्न र खानाको समस्या छैन। तर काम चाहीँ लगातार १३ घन्टा गनुपर्ने बाध्यता छ। काम नगर्दा धम्काउँछन्। चिनियाँ र थाईहरूले समूहको लिड गर्छन्। काम नगरेको भन्दै उनीहरूलाई यातना दिन्छन्।
‘नेपाल बाहिर बसेका नेपालीहरू छिट्टै लोभिन्छन्। पढ्दै गरेका विद्यार्थीहरू छन्। काम खोज्दै गरेका विद्यार्थीहरू चाडै साइबर जालोमा पर्छन्,’ दूतावासका एक अधिकारीले भने।
तलब र तनाब
नेपालीहरूले तलब चाहीँ समयमा पाइरहेका छन्। तर त्यो सुरक्षित छैन। पहिलो पटक त्यहाँका पुगेका नेपालीहरूलाई म्यान्मार सरकारले राम्रो रेस्पोन्स् नगर्दा उनीहरू छिट्टै अत्तालिए। म्यावडी नगर म्यान्मार र थाइल्यान्डको सबैभन्दा महत्वपूर्ण व्यापारिक मार्ग हो।
नेपाली फसेको पत्तो पाएपछि नेपाली राजदूत घिमिरेले उद्दारको पहल लिए। उनले तत्काल म्यान्मारका मन्त्रीसँग भेटेँ। म्यान्मार सरकारले ती नेपालीहरू थाइल्यान्डबाट आएको बताएपछि उद्दार गरिदिन आग्रह गरे। र, म्यान्मार सरकारले राजदूतको प्रस्ताव सहजै स्वीकार गर्यो। तर म्यान्मार सरकारको कन्ट्रोलमा छैन, त्यो राज्य।
नेपालसहित भारत, श्रीलंका, ब्राजिलका युवायुवतीहरू पनि फसिरहेका छन्। ती देशका राजदूतसँग नेपाली राजदूतले समन्वय गरिरहेका छन्। उनीहरू कसैले पनि श्रम स्विकृति लिएका छैनन्। लगातार काम नगरे उनीहरूलाई कलेजो र मृगौला काट्ने धम्की दिन्छन्, साइबर ह्याकरहरू।
म्यान्मारमा नेपाली अलपत्र
म्यान्मारमा दर्जनौँ नेपाली युवायुवतीहरू अलपत्र छन्। उनीहरू सबै आइटी क्षेत्रमा कार्यरत छन्, जसलाई बढी पैसा कमाउने बहानामा बोलाएर बन्धक बनाइएको छ।
म्यान्मारमा डिजिटल फ्रडका लागि प्रोफेसनलहरूको प्रयोग भइरहेको छ। बन्धकहरू क्रिप्टोकरेन्सी, कल सेन्टर–फड, अनलाइन ग्याम, जुवाजस्ता कामसँग सम्बन्धित गतिविधिमा संलग्न छन्। म्यान्मारबाट नेपालीलाई बन्धक बनाएर ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोह छ। विश्वभरका मानिसहरू त्यहाँबाट साइबर ठगीमा परेका छन्।
‘मैले म्यान्मार सरकारबाट त्यहाँको बारेमा जानकारी लिइरहेको छु। नेपालीहरूको वास्तविक अवस्था बुझ्ने प्रयास गरिरहेका छौं। तर पीडितहरू पनि दूतावासको सम्पर्कमा आइरहनुभएको छ,’ म्यान्मारका नेपाली राजदूत घिमिरेले भने।
म्यान्मार पुगेका एक नेपालीका अनुसार उनीहरूले सामाजिक सञ्जालमा विज्ञापन देखेपछि एजेन्टलाई सम्पर्क गरेको बताउँछन्। दूतावासका अनुसार विज्ञापनहरू नेपालबाट होइन दुबई र बैंककबाट पोस्ट गरिएका छन्। उनीहरूलाई लोभलाग्दो तलब दिएर थाइल्यान्ड लगिँदै।
म्यान्मारमा फसेका यस्ता नेपालीको यकिन संख्या कसैसँग छैन। धेरै आइटीकम्पनीहरू म्यान्मारको माइवाडीबाट सञ्चालित छन्। जहाँ मानिसहरूलाई बन्धक बनाउने गिरोहको मुख्य केन्द्र मानिन्छ। बिएल नेपाली सेवाको सम्पर्कमा आएका एक नेपालीले भने– ‘हामीहरू डराएका छौं। जतिसक्दो चाँडो उद्धार गरियोस्। महामहिमज्यूलाई गुहारिरहेका छौँ। उहाँले सहयोग गरिरहनुभएको छ।’
बिग्रँदो अवस्थाबारे रंगुनस्थित नेपाली दूतावासलाई जानकारी गराइसकेको उनले बताएका छन्। नेपाली दूतावासले थाइल्यान्डमा रोजगारीको प्रलोभन देखाएर नागरिकको शोषण गर्ने अन्तर्राष्ट्रिय गिरोहबारे खाेजविन भइरहेकाे जनाइएकाे छ। जातीय सशस्त्र समूहहरूको प्रभुत्व हुँदा नेपाली र विदेशी नागरिकहरू बन्धक छन्।
म्यान्मारस्थित नेपाली दूतावासले म्यान्मारमा रोजगारीका लागि नजान सचेत गराएको छ। आकर्षक तलबको प्रलोभनमा परेर नेपालीहरू थाइल्यान्ड हुँदै म्यान्मार पुगेर अलपत्र परेका गुनासाे बढेसँगै दूतावासले सचेत गराएको हो।
nepali ka yubaharu yastai kamama fasdai xan, dutabas le chhitai uddar garos .