फेरिएका जीवनहरु (श्रृङ्खला- १७)

कुलतकाे ‘नसा’ले च्यापिएकी प्राची, जीवनकाे ‘नसा’मा बाँचिरहेकी एनी (भिडियाेसहित)

त्यो ‘नसा’ के ‘नसा’? जहाँ जीवनका रहरहरू मरिसकेका हुन्छन्। आफूले आफैंलाई मारिरहेको त्यो मान्छेलाई जब जिन्दगीको ‘नसा’ चढ्छ अनि रहरका पालुवा त्यसैत्यसै पलाउन थाल्छन्। नसाले भित्रभित्रै चूर भइसकेको त्यो जिन्दगीको त्यही आदतलाई एनीले धेरै ठाउँमा बिसाउन खोजिन्।

तर लखेटिइरहिन्। र, पनि हार खाइनन्। ‘सुधार’को बाटोमा एनीको त्यही ‘पागलपन’ नै आखिरमा जिन्दगीको ‘नसा’ बनिदियो। जसबाट आज उनले सयौं जीवनलाई ‘कुलत’को त्यो दलदलबाट फेरि ‘नशा-‘नशा’मा बाँच्ने रहर फुलाइरहेकी छिन्। 


भारतीय सेनाको जागिर थियो बुबाको। आमा गृहिणी।

प्राची घरकी जेठी छोरी थिइन्। उनीमुनि दुई भाइहरू।

बुबाका पाँच श्रीमती थिए। प्राचीसहित भाइहरू ‘साहिली’ की छोराछोरी थिए।

बुबाका पाँच वटी श्रीमती भएपनि कुनै कुराको कमी थिएन कसैलाई। खान–लगाउन पुगिरहेकै थियो।

प्राचीलाई पढाउनेदेखि घरको सबै ठेकभर बुबाको थियो। तर बुबाको रक्सी पिउने लत थियो। बुबा रक्सी पिएर सधैं आमासित झगडा गर्थे। कुट्थे पनि।

बुबाआमाको दिनरातको त्यो झगडा ‘डिर्भोस’सम्म पुग्यो।

बुबासँग छुट्टिएपछि सिक्किमबाट नेपाल फर्र्किइन् आमा। प्राचीसहित दुई भाइलाई लिएर।

मावली घर ‘नवलपरासी’ बस्न थालेपछि आमाको खाडी जाने योजना बन्यो। तीन छोराछोरीलाई पढाउनका लागि भएपनि उनी आमालाई कमाउनै थियो।

आमा विदेशिने भएपछि निराशिएकी थिइन् प्राची। उनलाई मामाघर विरानो लाग्न थाल्यो। त्यहाँबाट उनी बाहिरिन चाहन्थिन्। 

त्यसैले उनले काठमाडौं भाग्ने योजना बनाइन्। त्यहीँका साथीहरू मिलेर। 

सानैदेखि आफूले चाहेको पूरा गर्नेपर्ने उनको बानी थियो। त्यही आदतले प्राचीलाई काठमाडौं पुर्यायो। 

त्यसपछि सुरू भयो प्राचीका संघर्ष अनि चूनौतीका दिनहरू। 

पहिलोपल्ट काठमाडौं आउँदा उनी १२ वर्षकी थिइन्। मात्र ३ कक्षा पढेकी।

हुनत उनलाई धेरै पढेर जागिरे बन्ने धोको थियो। तर बुबासँग आमाको सम्बन्ध टुटेपछि प्राचीको पढाइ बिचैमा रोक्कियो।  

पढ्न नपाएपछि उनले पैसा कमाउने बाटो रोजिन्। र, काम गर्न काठमाडौं हानिइन्। 

काठमाडौंमा कोही थिएनन् उनका लागि परिचित। चिनेका उनै साथीहरू थिए, जोसँग प्राची काठमाडौं छिरेकी थिइन्। 

उनै साथीहहरूसँग प्राची गलैंचा कारखाना पुगिन्। अनि त्यहीँ तान बुन्ने काम गर्न थालिन्। 

बिहानको मिरमिरे उन्यालोमा उनी आँखा मिच्दै गलैंचा बुन्न थाल्थिन्। त्यसरी काम नगर्दा ‘गलैंचा साहु’ ढोका ढकढकाउन कोठामै आइपुग्थे। 

निन्द्रा त्यागेर काम गर्नुपर्ने उनको बाध्यता थियो। आफूले गरेको दुःख देख्दा उनलाई विवाह गर्ने रहर भयो। 

त्यतिबेला उनलाई लागेको थियो, ‘छोरी मान्छेले विवाह गर्नेपर्छ। बरू, यत्तिको दुःख श्रीमानको घरमा गर्छु। सुख पाउँथें कि!’

विवाह गर्ने हुटहुटी थियो उनमा। विवाहको लागि उनले हेटौंडाको तामाङ केटा पनि भेट्याइन्। र, उनै तामाङ केटासँग प्राचीले १६ वर्षको उमेरमा विवाह गरिन्। 

जतिबेला उनलाई ‘विवाह’को मतलब पनि थाह थिएन।  

विवाह गरेपछि प्राचीलाई लागेको थियो, अब त सुख पाइएला कि! तर माइतीघरमा दुःख गरेकी उनले श्रीमानको घरमा पनि दुःखै पाइन्। 

विवाह गरेपछि उनी श्रीमानसँगै हेटौंडा पुगिन्। विवाह गरेको वर्ष दिनसम्म प्राचीले श्रीमानको माया पाइरहिन्। तर छोरा जन्मिएपछि श्रीमान टाढिदैं गए।

सुत्केरी श्रीमती र दूध बालकलाई छाडेर श्रीमान काठमाडौं आए।

श्रीमान काठमाडौं गएपछि उनी सासू–ससूरासँगै काम गर्न थालिन्। दिनभरि खेतमा काम गरेबापत उनले सय रूपैयाँ कमाउँथिन्।

दुई छाक खानै हम्मेहम्मे पथ्यो।

गाउँको दुःख देखेर उनी आजित भइसकेकी थिइन्। प्राची फेरि काठमाडौं फर्किइन्। एक वर्षको छोरा च्यापेर।

काठमाडौं आएपछि पेशाले रेस्टुरेन्टका ‘कुक’ उनका श्रीमानले प्राचीलाई पनि कमलादीको ‘निर्मला रोधी क्लब’मा काम लगाइदिए।

खासमा, उनका श्रीमानका भेना क्लबका ‘बाउन्सर’ थिए। उसैका सल्लाहमा प्राचीले वेइटरको काम पाएकी थिइन्।

वेइटरको तालिम भने उनले घरमै सिकिन्। श्रीमानको साथमा। ‘मलाई मेरो श्रीमानले ट्रेमा बोतल बोल्न लगाएर वेइटरको तालिम दिनुभएको थियो। मैले राम्रोसित सिकें पनि’, उनले सुनाइन्।

रोधी क्लबमा काम गर्न थालेपछि उनी आत्मनिर्भर भइन्। तर श्रीमानसँग उनको कुरा मिल्नै छाड्यो। 

श्रीमती र छोरा हुँदाहुँदै पनि उनका श्रीमानले बाहिरी केटी डुलाउँथे। उनले कमाएको सबै खर्च पनि उनै केटीहरूलाई खर्चिन्थे। 

एक त श्रीमानको तनाव अनि पढ्ने उमेरमा परिवारको जिम्मेवारी। दुःख गर्दागर्दै थालिसकेकी थिइन् प्राची। त्यही सम्झिएर उनले रक्सी पिएकी थिइन्।

प्राचीलाई तनाव देखेर क्लबकी एक साथीले गाँजा खान दिइन्। 

उनले पनि साथीले दिएको गाँजा तानिन्। त्यो खाएपछि उनलाई रमाइलो लाग्यो। तनाव एकाएक हट्यो। काम गर्दापनि आनन्द लाग्यो। गाँजाको ‘ट्रिप’मा। 

अनि जन्मिइन् ‘एनी’

पहिलोपटक गाँजाको सेवनले उनलाई रंगीन दुनियाँमा पुर्‍याइदिएको थियो। न कुनै तनाव थियो न त चिन्ता नै।

घरमा सधैं झगडा भइरहन्थ्यो। र, उनी आफैंपनि आफ्नो जिन्दगीेदेखि दिकदार थिइन्।

उनले सानैदेखि मात्र दुःख मात्र पाइरहिन्। उनले आफूलाई एक्लो महसुस गर्न थालिसकेकी थिइन्।

तर गाँजा खान थालिसकेपछि सबै दुःख हराएकोजस्तो लाग्यो उनलाई। न परिवारको चिन्ता लाग्थ्यो न श्रीमानले दिएको पीडा नै सम्झिन्थिन्। उनी आफ्नै दुनियाँमा रमाउन थालिन्।

गाँजा खान थालेपछि उनलाई श्रीमानको वास्ता लाग्नै छाड्यो। श्रीमानले काम नगरेपनि र १० जना केटी खेलाएपनि प्राचीलाई मतलबै थिएन।

उनलाई साथीले गाँजा खुवाएको मात्र एक दिन थियो। तर त्यसको नशाले उनी यतिधेरै सन्तृष्टी थिइन् कि दिनदिनै सेवन गर्न थालिन्।

गाँजाको बानी परिसकेको थियो प्राचीलाई। तर आफैं कमाएर छोरालाई पाल्नुपर्छ र अरू भरमा बस्नु हुँदैन भन्ने सोच उनमा थियो। त्यो सोचले उनले श्रीमानलाई बिर्सिइन्। र, केही समयपछि उनीहरू छुट्टिए। 

एकअर्कोसँग छुट्टिएपछि छोरालाई प्राचीले राखिन्। आफैंले कमाएर छोरालाई पाल्ने उनको हुटहुटी थियो। 

तर एकदिन उनीसहित छोरा पनि थला परे। बिरामी आमाछोरालाई भेट्न चाबहिलबाट सासू–ससूरा प्राचीको डेरा पुगे। 

अनि उनीहरूलाई लिएर आफ्नो डेरा फर्किए। 

दुई–चार दिनसम्म उनी चाबहिलमा बसिन्। त्यसपछि निको भएर आफ्नै कोठा फर्किइन् प्राची। छोराबिनै। 

डेढ वर्षको छोराले दूध पिउन छाडिसकेका थिए। उनलाई सासू–ससूराले भनेका थिए, ‘नातिलाई हामीसँगै राख्छौं। तिमीहरूले कमाउनतिर लागे। तिमीहरूले कमाउन सके हामीलाई ल्याएर देऊ तर बच्चा पठाउँदैनौं।’

उनले पनि सासूलाई भनेकी थिइन्, ‘म जति गर्न सक्छु गर्छु तर म तपाईंहरूको छोरासँग बस्न सक्दिनँ। मैले मेरो छोरासँग जतिखेर पनि भेट्न पाउँछु। तपाईंहरूले मलाई रोक्न सक्नुहुन्न।’

उनको कुरामा सासू–ससूराले पनि सहमति भए। 

छोरालाई सासू–ससूरासँग राखिदिएपछि प्राची खुल्ला भएकी थिइन्। 

अब उनलाई कसैको चिन्ता लिनुपर्ने थिएन। त्यसैले उनी साथीहरूसँगै बस्न थालिन्।

त्यसपछि सुरू भयो उनको ‘डेन्जर–एडिक्शन’।

गाँजा मात्र खाने उनी साथीहरूको संगतमा गोटी खाने भइन्। ‘अल्कोहल’ त उनको लागि पानीजस्तै थियो।

नशा दिने त्यो पिल्सले उनको दैनिकी नै बदलिसकेको थियो। र, उनको नाम पनि।

कुलतलमा लागेपछि उनको नाम प्राचीबाट ‘एनी’ भइदियो। त्यो उनको दुर्व्यसनी नाम थियो।

अरूबेला, आत्मनिर्भर हुनेपर्छ भनेर सोच्ने एनी नशालु पदार्थ खानका लागि मात्रै सोच्न थालिन्।

कुनैबेला छोराको लागि दुःख गर्ने एनीले छोरालाई नै बिर्सिन थालिन्। नशाको त्यो लतले।

एकदिन एनी घरमा थिइन्। गोटीको तालमा।

त्यतिबेला उनका साथीहरूले भने ‘ब्राउन’ खाइरहेका थिए। त्यो खाएर खाएर साथीहरू वाकेको देख्दा उनलाई लाग्थ्यो किन खाइरहेको होला ब्राउन सुगर।

त्योबेलासम्म एनीले ब्राउन सुगर खाएकी थिइनन्। तर, साथीहरूले दैनिकजसो सेवन गरेको देखिरहँदा उनको मनमा पनि कौल्तुहलता बढ्यो, त्यो ब्राउन सुगर चाख्ने।

‘ड्रग्स’को त्यो ‘क्रेभिङ’ले उनी न्यूरोड पुगिन्। त्यहीँका केटा साथीहरूसँग मिलेर उनले एक प्याकेट ब्राउन सुगर किनिन्। पाँच सय रुयैयाँमा। 

पहिलोपटक ब्राउन खाँदा उनलाई एउटा छुट्टै नशा लाग्यो। स्वर्गमा पुगेको जस्तो लाग्यो। उनले सारा संसारै भुलिन्।

त्यहीँबाट सुरू भएको थियो एनीको ‘ड्रग्स’ जिन्दगी।

खुसीको खोजीमा उनी सहर पसिन्। विवाह गरिन्। तर कतै खुसी भेटिनन्। खुसी र सन्तृष्टी एनी नशामा पाइन्। त्यसलाई उनले जिन्दगी सम्झिदिइन्।

चुरोटदेखि गाँजा र ब्राउन सुगर सबै खान थालिसकेकी थिइन् एनीले। जिन्दगीलाई सक्काउने मात्र सोचिरहन्थिन्। त्यसैले त उनी आफूले जे भेटाउँथिन्, त्यही खाइदिन्थिन्, बिना संकोच। 

साथीहरूको लैलैमा लागेरै ड्रग्ससम्म पुगेकी थिइन् एनी। त्यही साथीहरूसँग उनको भेटभाट हुनै छोड्यो। उनी एक्ली भइन्। त्यो एक्लोपना मेटाउन उनले धेरै रक्सी पिउन थालिन्।

साथीहरूसँग भेटभाट हुन छाडेपछि उनी बिरामीजस्तै बनेकी थिइन्।

नाकबाट सिँगान बगिरहनु, जिउ दुख्नु अनि अल्छि लागेर शरीर आलस्य भइरहने समस्या देखिन थालेको थियो उसमा।

तर एकदिन उनलाई भेट्न साथीहरू घरमै आइपुगे।

उनै साथीहरूको करकारले एनीले फेरि ब्राउन सुगर खान थालिन्। त्यो खाएपछि आफूमा देखिएको समस्या हराएजस्तो लाग्यो उनलाई। शरीर चलायनमान भयो।

आफूसँग भएको घटना उनले साथीहरूलाई सुनाइन्। त्यसपछि एनीले थाह पाइन् कि उनी ड्रग्सको ‘एडिग’ भइसकेकी रहेछिन्।

‘मैले जब साथीहरूलाई ब्राउन खाएर जिउ निको भयो भनेर सुनाए। त्यसपछि साथीहरूले मलाई एडिग भइसकेको बताए’, उनी भन्छिन्, ‘मभित्र देखिएको समस्या त ड्रग्सको सिकनेस पो रहिछ।’

नशाको आदत भइसकेको थाह पाएपछि उनले साथीहरूलाई ड्रग्स पाउने अड्डाबारे सोधिन्। साथीहरूले उनलाई ‘वीरगञ्ज’को ठेगाना दिए। 

‘ड्रग्स’को डिलर

ड्रग्स पाउने ठाउँ थाह पाउनेबित्तिकै उनी एक्लै वीरगञ्ज गइन्।

त्यहाँ पुग्नासाथ उनले रिक्सावालालाई अड्डाबारे सोधिन्। रिक्सावालाको सहयोगमा एनी डिलरसम्म पुगिन् अनि ड्रग्स किन्न सफल भइन्।

वीरगञ्ज पुगेपछि एनीलाई एउटा ‘आइडिया’ आयो। ड्रग्स किनेर बेच्ने।

पहिलोपटक उनले वीरगञ्जबाट ड्रग्स किनेर काठमाडौं लगिन्। आफूले खाइन् अनि साथीहरूलाई पनि बेच्न थालिन्।

उनी ‘डिल्लरै’ भइन्।

सुरु–सुरुमा उनले पाँच–दस ग्राम ब्राउन सुगर उठाइन्। तर, केही पैसा कमाउन थालेपछि उनले सयदेखि तीन सय ग्रामसम्म धुलो उठाउन थालिन्। 

त्यतिबेलासम्म एनीको जागिर गइसकेको थियो। उनी काम गरेरभन्दा धेरै पैसा ड्रग्स बेचेर कमाउँथिन्। 

उनले एक डोजको पाँच सय रुपैयाँ लिन्थिन्।

वीरगञ्जबाट ड्रग्स किनेर काठमाडौं ल्याउनू उनको दैनिकी जस्तो भइसकेको थियो। त्यो ड्रग्स उनी खाएर बेच्थिन्।

त्यतिबेला ड्रग्सको डिलर गरेर उनले १४–१५ लाख बैंकमा जम्मा पारेकी थिइन्।

उनलाई नपुग्दो केही थिएन। कहिलेकाहीँ छोरा भेट्न सास–ससूराकहाँ पनि पुग्थिन्।

तर कहिल्यै रातमा बसिनन्। किनकि उनमा डर थियो–उनको अवस्थाबारे परिवारले चाल पाउँला कि!

ड्रग्स बेचेर बचत गरेको पैसा उनले घरमा पनि दिन्थिन्। तर कहिल्यै आफू लतमा फसेको बताइनन्।

‘मैले आफ्नो परिवारलाई म एडिग हुँ भनेर कसरी भन्न सक्थें र?’, उनी सम्झिन्छिन्, ‘उहाँहरूले थाह पाउनुहुन्छ कि भनेर सधैं डराइरहन्थें। आफ्नो अवस्थाबारे परिवारलाई केही थाह नहोस् भन्ने चाहन्थें।’

आफ्नो अवस्थाको कारण उनी सधैं परिवारबाट भागिरहिन्। तर कहिलेपनि खाने छाड्ने सोच उनमा आएन। 

बरू, उनको कुलत बढ्दै गयो। 

ड्रग्सको डिलर बनिसक्दासमेत एनीले शरीरमा सुँइ घोच्ने गरेकी थिइनन्।

उनलाई सुँइ घोच्ने देखेर डर लाग्थ्यो। उनी सोच्ने गर्थिन्, ‘उनीहरू ट्यापे हुन्। धेरै बिग्रिको। तर म त्यस्तै होइन।’

उनको छेउमा सुइँ हान्ने केटाहरू आउँदा एनी भाग्ने गर्थिन्–लुकिहाल्थिन्।

उनलाई चिन्ने कयौं दुर्व्यसनी पुरुषहरूले एनीलाई लुटे पनि। किनकि एनी डिलर थिइन्। त्यही डरले एनी लुकी–लुकी ड्रग्स खाने गर्थिन्।

‘घर–बाहिर ताल्चा लगाएर झ्यालबाट छिरेर आवाज ननिकाली ड्रग्स खान्थें। त्यसो नगर्दा त मलाई केटाहरूले लुटिहाल्थ्यो। कयौं पटक त लुट्यो नि’, उनीसँग नमिठो अनुभव छ।

 उनले धेरै पटक डेरा सरिन्। र, कयौं पटक त होटल बसेरै पनि ड्रग्स खाइदिइन्। साथीहरूसँग आफ्नो ड्रग्स बचाउने उनको ‘निन्जा–टेकनिक’ थियो त्यो।

कहिले होटल त कहिले नयाँ डेरा सर्दासर्दै उनको भेट नयाँ साथीहरूसँग भयो। जो सुइँबाट नशा लिन माहिर थिए।

ती साथीले ब्राउनलाई उमालेर सुँइबाट शरीरमा नशा दिन्थे। पहिलोपटक साथीले त्यसरी नशा लिइरहेको देख्दा अनौठो लागेको थियो एनीलाई।

तर उनीभित्र पनि उत्सुकता जाग्यो। सुँइबाट नशा लिने। 

उनले पहिलोपटक एक एमएल ब्राउन सुगर उमालेर सुँइमा हालिन्। र, आफ्नो शरीरमा घोपिन्। 

सुँइबाट नशा लिँदा उनलाई झनै सन्तृष्टी मिल्यो। कहिल्यै नभएको आनन्द भएजस्तो लाग्यो। उनी सिरिजकै रमाउन थालिन्।

‘ब्राउन सुगरलाई उमालेर सुँइबाट हान्छ भन्ने थाहा थिएन मलाई। तर जब थाह पाए मैले पनि त्यसैगरी ब्राउनमा कागती निचोरेर पानीमा उमालें अनि शरीरमा घोचें। धेरै रमाइलो लाग्यो’, पहिलो डोजमै पल्किसकेकी थिइन् एनी।

ब्राउन सुगरबाट ‘एममल’ हान्न थालिसकेपछि उनी ‘जम्बी’जस्तै भइन्। ड्रग्स किनेर बेच्ने कुरा उनको दिमाखबाट हरायो।

‘एमपल हान्न थालेपछि मेरो सबै होश उडेको थियो। ड्रग्स किनेर आफूपनि खाने र बेच्नुपर्छ भन्ने व्यवस्था दिमाखमै आएन’, उनी भन्छिन्, ‘त्यो खाएर म जम्बी जस्तै भएँ। टाउँको भुइँमा गाँडिएकोजस्तो हुन्थ्यो। केही गर्ने जाँगर नै लाग्दैनथियो।’

ब्राउन सुगरको प्रयोग गर्दासम्म उनीसँग पैसा हुन्थ्यो। चिटिक्क भएर हिँड्थिन्। तर जबदेखि एमपलको प्रयोग गर्न थालिन्। त्यसपछि उनी बेहोसी हुँदै गइन्। फोहोरी बनिन्।

नुहाउनै डराउँथिन्।

‘ब्राउन खाँदासम्म म सफा भएर हिँड्थें तर एमपलको प्रयोगले मलाई फोहोरी बनायो। नुहाउनै डर लाग्थ्यो’, उनलाई पानीको ‘फोबिया’ भएको थियो।

एमपलको प्रयोगले उनलाई फोहोरी मात्र बनाएन। कंगाल पनि बनाइदियो। 

ब्राउन सुगरबाट एमपलको प्रयोग गर्न थालेपछि उनले डिलरको काम छोडिसकेकी थिइन्।

दिनमा ३० एमएलसम्म उनले एमपल हान्ने गर्थिन्। आफूले बैंकमा राखेको सबै पैसा पनि सक्काइन्।

एक डोजको लागि उनी सडकको गल्ली–गल्लीमा भौतारिन थालिन्। फोहोर टिप्ने र बाटाका कुकुर एनीका लागि साथी बने।

‘सुँइ हान्न थालेपछि मेरो दुनियाँ नै बदलियो। मान्छेभन्दा धेरै पशु मेरा साथी बने’, बिएल नेपाली सेवासँग उनले भनिन्, ‘मेरो जिन्दगी पत्तुर भइसकेको थियो।’

उनले कयौं रात सडकका पेटीमै बिताइन्। महिनाको २५ दिन त उनी सोह्रखुट्टेको चौकीमा बिताउँथिन्।

उनी सोच्ने गर्थिन्, ‘सडकमा सुत्दा पुलिसले समातेर जेलमा थुनिदियोस् जस्तो लाग्थ्यो। कमसेकम जेलभित्र पानीले भिजाउँदैथियो।’
प्रहरीको नजरमा उनी पटके थिइन्।

पटक–पटक चौकी पुगिरहन उनलाई पुलिसले देख्नासाथ ‘ट्यापिनी’भनेर चौकी लगिहाल्थे। प्रहरीको लागि त उनी ‘भिआईपी’जस्तै थिइन्।

उनको डेरा पनि त्यहाँबाट नजिकै थियो। ठमेल, क्षेत्रपाटीलगायत लैनचोर एनीको एडिक्शन एरिया थियो।

एनीसँग न काम थियो न त पैसा नै। तर उनलाई आफ्नो डोज पुर्याउनै थियो। त्यसैले उनी ‘ओएसटी’ खान थालिन्। 

उनी पैसा नहुँदा ओएसटी खान्थिन्। तर पैसा हुनासाथ शरीरमा सँुइले घोचिहाल्थिन्।

ओएसटी खाँदाखाँदै उनको डोज बढीसकेको थियो।

७५ एमएल ओएसटी खान थालिसकेकी थिइन् एनीले। त्योसँगै उनी गाँजा र ३–४ प्याकेट पिल्स खाइदिन्थिन्।

नशा कम गराउनका लागि दिदिने गरिन्थ्यो, ओएसटी। तर उनले त्योसँगै पिल्सहरू खाइरहेको ओएसटी दिइरहेका काउन्सेलरहरूले थाह पाए। त्यसपछि उनलाई तीन पटकको पालोमा ओएसटी दिनै छोडियो।

‘मैले बाहिर पनि ड्रग्स खाइरहेको कुरा थाहा पाएपछि मलाई तीन चोटीको पालामा ओएसटी दिनै छाडिएको थियो। मभित्र सुध्रिने छाँटकाँट देखिएको थिएन’, उनी भन्छिन्, ‘सुध्रिने भएमात्र ओएसटीमा आउनु भनेर निकालियो।’

उनले औषधिको रुपमा खाइने औषधिलाई नै दुरुप्रयोग गरेकी थिइन्। 

उनले डोजको रुपमा खाइरहेको ओएसटी पाउनै छाडेपछि पोखरीमा पौडी रहेको माछालाई पानी बाहिर निकालिएकोजस्तो महसुस भयो उनलाई। त्यसपछि उनी एक डोजको लागि पनि तड्पिन थालिन्। 

एक रुपैयाँको महत्व

एनीको डोज यतिधेरै बढीसकेको थियो कि एकदिन पनि नखाँदा उनी बेहास हुन्थिन्।

एमपलले उनलाई यतिधेरै नाजुक बनाइसकेको थियो कि दिनरातै चाल पाउन छाडिसकेकी थिइन्। नशाको स्वादमा डुबिसकेकी एनीले खाना खान समेत बिर्सिइन्।

उनलाई चाहिन्थ्यो त मात्र एक डोज। जसको खोजीमा उनी दिनभर भोतारिहन्थिन्।

एकदिन उनी नशा खान नपाएर तड्पिरहेकी थिइन्। उनले चाबहिलमा रहेकी सासूलाई फोन गरेर भनिन्, ‘आमा, मैले ड्रग्स खान्छु। त्यो खानु पाइनँ भने मेरो शरीरमा किराहरू दौडिन्छ। त्यो नखाइकन म बाँच्न सक्दिनँ। मलाई हजार रुपैयाँ दिनून आमा।!

त्योबेला एनीले पहिलोपटक आफ्नो असलियत बताएकी थिइन् सासूलाई। त्यहीपनि सिकनेसको अवस्थामा। 

उनको सासू–ससुरालाई थाह थिएन कि एनी कुलतमा छिन् भनेर। तर शंका गरेका थिए, बुहारी केही त पक्कै खान्छे भनेर।

उनको बोल्ने तरिकादेखि हाउभाउ नै बदलिसकेको थियो। एनी सासू–ससुराअगाडि नै छोटो कपडा लगाएर हिड्न्थिन्।

नशाले उनको लाज–शरम पचाइसकेको थियो।

सासूलाई बुहारीको अवस्था थाह पाएपछि उनी एनीको डेरा पुगिन्। उनलाई हजार रुपैयाँ दिएर सम्झाइन्। 

एनीले पनि आफूले लागुऔषध खान छोड्ने भन्दै सासूलाई आश्वासन दिइन्। तर सासू घर फर्किनासाथ उनले हजार रुपैयाँको एमपल किनेर नसामा हान्न थालिन्।

तर उनको नसा सुँइ नै छिरिन्। उनको शरीरका सबै नसा फुल्लिसकेको थियो।

शरीरमा सुँइ नछिरेपछि उनले रगतसरीको एमपल खाइदिइन्। बिना हिचकीचाहट।

विगतलाई ती दिनहरू सम्झदा अहिले झस्किने गर्छिन् एनी।

‘त्यो दिन सम्झदा अहिले डर लाग्छ। तर मैले कयौं पटक आफ्नो रगत खाएकी छु’, एनी भन्छिन्, ‘कोठाको भित्तामा टाँसेको पत्रिकामा मेरो रगतको छिट्टाहरू थिए।’

सासूसँग मागेको हजार रूपैयाँले त्यो त उनले जसोतसो कटाइन्। 

तर भोलिपल्ट।

उनलाई बान्ता मात्र भइरहेको थियो।  

बिहानदेखि केही नखाएको कारण उनी थला परिरहेकी थिइन्। उनलाई नशाको तलतल लागिरहेको थियो। 

त्यसैले उनी एमपलको लागि हातमा एक बोतल तेजाब बोकेर ‘डल्लु’तिर लागिन्। 

त्यतिबेला त्यो क्षेत्रमा ड्रग्सको बिगबिगी नै थियो। 

‘म खान नपाएर पूरै छटपटिरहेकी थिएँ। मलाई जसरी हुन्छ, डोज पूरा गर्नेथियो। त्यसैले डिलरहरूलाई उधारेमा एमपल माग्छु भनेर डल्लुतिर निस्किएँ। दियो भने ठिकै छ होइन भने त्यही तेजाब हालेर मर्छु भन्ने सोच थियो’, भावुक हुँदै उनले भनिन्, ‘तर तेजाब मेरो हातमा कसरी आयो त्यो थाह छैन। मलाई जिन्दगी कयौं त्यस्ता क्षणहरू यादै छैन।’

तेजाबलाई निलो प्लास्टिकमा बेरिर उनी डेराबाट जाँदै थिइन्। तर धोबीचौरको ओरालो आइपुगेपछि एक्कासी कागहरूको बथानले उनलाई घेर्ने थाल्यो। 

आध्यात्मिक कुरामा विश्वास गर्ने उनको मनमा चिसो पस्यो। कागले ‘डिलर’कहाँ नजाऊ भनेर खबर ल्याएजस्तो लाग्यो एनीलाई।

कागको भीडलाई सन्देश सम्झिएर उनी धोबीचौरबाट घर फर्किइन्। 

बान्ता गर्दागर्दै उनको पेट–घाँटी पोलिरहेको थियो। तर उनको साथमा पैसा थिएन। 

पैसाको नाउँमा मात्र एक रूपैयाँ थियो। 

उनको घर नजिकै एक जना रिक्सा चालक थिए। उनै चालकसँग उनले एक रुपैयाँ मागिरहेकी थिइन्। त्यतिबेलै सासू आइपुगिन्। 

सासूले एनीको हर्कतबारे सोधिन्। उनले ‘कुल्फी’ खानका लागि एक रूपैयाँ मागेको बताइन्। 

बुहारीको अवस्था देखेर निराशिएकी सासूलाई एनीलाई पैसा दिइन्। उनले दुई रूपैयाँको कुल्फी किनेर खाइन्। 

कुल्फी खाइरहेकी बुहारीलाई सासूले सोधिन्, ‘तँ सुध्रिने होइन? तेरो लागि मैले दाइहरू ल्याइदिएको छु।’ 

सासूको कुरा सुनेर एनीले पनि रमाउँदै भनिन्, ‘हो, आमा म सुध्रिन्छु।’

उनले खुसी हुँदै अस्पताल जाने हो भनेर सासूसँग आएका दाइहरूलाई सोधिन्। त्योबेला उनलाई ‘सुधार केन्द्र’बारे थाहै थिएन। 

सुधार गृहका दाइले सुध्रिने भनेर सोध्दा उनले भनेकी थिइन्, ‘हो, कसम दाइ म सुध्रिन्छु।’ 

एनीको कुरा सुनेर ती दाइले आफ्नो एकपट्टीको ठुलो खुट्टा देखाउँदै भने, ‘बहिनी, तिमी सुध्रिएनौं भने मेरोजस्तो खुट्टा सानो र ठुलो हुन्छ।’

एनी तयार थिइन् सुधार केन्द्र जानका लागि। 

बिहानदेखि नशा खान नपाएकी उनले ती दाइसँग आफ्नो समस्या बताइन्। ती दाइले पनि उनलाई एकदिनको डोज किनिदिए। 

सासूसहित एनी आफ्नो डेराको सामान बोकेर चाबहिल पुगिन्। त्यहाँ पुग्नासाथ उनले नशा गरिन् अनि पुक्लुक्कै सुतिन्।

‘म सुत्दा मेरो सासू–ससुरा श्वास निकालेर बोल्नुहुन्थ्यो ताकि म नउठोस् भनेर। उहाँहरू भन्नुहुन्थ्यो कि म उठे भने मेरो शरीरमा किराहरू चल्न थाल्छ र म रुन थाल्छु’, सासू–ससुराले बुहारीलाई गरेको प्रेम थियो त्यो। 

एनीलाई सुधार केन्द्र पठाउने तयारी हुँदै थियो। सासूले एनीलाई नुहाउन लगाइन्। 

एनी नुहाउन मानिन्। तर सासूले ‘तेरो दबाई ल्याइदिएको छु’ भनेपछि उनी नुहाइन्। 

बुहारीलाई सुधार केन्द्र पठाउनअघि सासूले खसीको मासु र भात पकाइदिएकी थिइन्। तर एनीलाई खानामा कुनै चासो नै थिएन। 

त्यहीपनि सासूको करकारले उनले दही भात र खर्बुजा खाइन्। डोज पुर्याइन् अनि रिह्याब सेन्टर गइन्। 

‘रिह्याब’ले सुधारेको जीवन

वि.स २०११ सालमा उनी ललितपुरको रिह्याब पुगेकी थिइन्।

पहिलोपटक सुधार केन्द्र पुग्दा उनलाई रमाइलो लाग्यो।

रह्याबमा नाचगानको कार्यक्रम पनि चलिरहेको थियो। 

ठुलो आँगन अनि फूलैफूलले भरिएको बगैंचा। उनको झनै दंग परिन्। 

उनले जिन्दगीमा पहिलोपटक त्यतिधेरै फूल देखेकी थिइन्। मनमनै उनले सोचिन्, ‘यो ठाउँ राम्रो छ। म अब यहीँ बस्छु।’

उनी खुसी हुँदै रिह्याब बसन तयार भइन्। 

तर भोलिपल्टदेखि नै उनी छटपटाउन थालिन्। त्यसपछि के–के भयो? उसैलाई राम्रोसँग याद छैन। 

११–१२ दिनसम्म रिह्याबमा बस्दा उनलाई मात्र एउटा कुराको याद थियो। उनलाई दिनदिनै चिसो पानीमा डुबाएर निकालिन्थ्यो। 

उनी उठेर हिँड्न खोज्थिन् तर तीन–चार जनाले फेरि समातिहाल्थ्यो। हात–खुट्टा समातेर राख्थ्यो। 

‘अब हातखुट्टा बाँधेन भने त कहीँ नभएको बल आउँदो रहेछ। त्यसैले मलाई उहाँहरूले समातेर राख्नुहुन्थ्यो’, रिह्याब बस्दाको अनुभव उनले सुनाइन्। 

धेरै समय हात–खुट्टा बाँधेको कारण उनको शरीर सुन्निएको थियो। आफ्नो अनुहार देख्दा आफैं तर्सिन्थिन् एनी। 

उनी रिह्याब बस्न थालेको दुई साता हुँदै थियो। उनको चेत पनि फर्किदैं थियो। 
अरूले ड्रग्स खाएर हाँसेर हिडेको सम्झदा उनलाई पनि नशाको ‘क्रेभिङ’ हुन्थ्यो। तर जब उनले ड्रग्सले दिएको यातनाबारे बुझ्दै गइन्।

तबदेखि उनले नशा नगर्ने कसमै खाइन्। 

‘ड्रग्स खान नपाउँदा म धेरै छटपटिन्थें। खाना खान मन लाग्दैन थियो। ट्वाइलेट पनि आउँदै थियो। ती कुराहरू सम्झदा मलाई नशा देखेर घिन लाग्न थाल्यो’, उनी भन्छिन्, ‘मलाई आफैंमा ग्लानी महसुस हुन थाल्यो। त्यसपछि मैले महिल्यै नशा नगर्ने वाचा आफैंसँग गरें।’

नशा गर्न छोडेपछि उनमा भोक बढ्न थालेको थियो। उनले बुझिसकेकी थिइन्, आफ्नो भोक र निन्द्राको महत्व। 

अब उनलाई भोक र निन्द्रा प्यारो लाग्न थाल्यो। 

‘अन्तर्राष्ट्रिय ड्रग्स’ दिवस थियो त्यो दिन। 

सुधार गृहका सञ्चालकले घरबाट परिवार आउने बताउँदै उनीहरूलाई चित्र कोर्न लगाए। अर्थपूर्ण चित्र। 

एनी उत्साहित भइन्, आफूले कोरेको चित्र परिवारलाई देखाउने सोचेर। 

धरानकी एउटी केटीसँग राम्रो सम्बन्ध थियो एनी। त्यसैले उनीहरू दुई जना साथी बने। र, चित्र कोरे। 

‘हामी एडिक्शनमा फसेकोदेखि सुध्रिसकेको दृश्य कोरेका थियौं चित्रमा। एकदमै अर्थपूर्ण थियो चित्र। हामी धेरै उत्साहित र खुसी थियौं परिवारलाई देखाउन पाउँछौं भनेर’, उनी सुनाउँछिन्, ‘तर हाम्रो सपना पूरा भएन।’

त्यो दिन रिह्याब परिवार आएनन्। 

एनी धेरै दुःखी भइन्। उनलाई रिह्याब बस्ने रहर पनि हरायो। 

रिह्याबमा उनको ‘झार गोड्नुपर्ने, ‘कुखुरालाई दान र औषधि खुवाउनुपर्ने’, र ‘बगैंचा सफा गर्ने’ काम थियो। 

त्यो काम आफूले घरमै गर्नसक्ने उनको सोच थियो। त्यसैले उनले रिह्याबबाट भाग्ने योजना बुनिन्। 

‘हिजोको दिनमा मैले ती कामहरू त गरेकै थिएँ नि। त्यति काम मैले घरमै बसेर पनि गर्न सक्छु नि। मलाई परिवारसँग पनि भेट्न दिइएन’, उनी भन्छिन्, ‘मैले ड्रग्स मात्र नखाने हो। त्यो अब म कहिल्यै खादिनँ।’

उनी रिह्याबबाट भाग्ने भन्दाभन्दै ‘किचनको ड्यूटी’मा परेकी थिइन्। 

रिह्याब बसेर एनी मोटाएकी पनि थिइन्। दुब्ली एनीको शरीर पूरै बदलिएको थियो। 

तर उनलाई अब रिह्याब छोड्नु नै थियो। त्यसका लागि उनले रिह्याबकी विश्वासिली दिदीलाई आफ्नो कुरामा फसाइन्। 

उनै दिदीसँग सुधार केन्द्रको पर्खाल नाघेर बाहिरिन सफल भइन् एनी। 

सुधार केन्द्रबाट भागेर एकान्तकुनाबाट ट्यासी चढेर उनी सोह्रखुट्टे गइन्। आफ्नो पुराना साथीहरूको डेरातिर। 

त्यहाँ पुगेर उनले साथीलाई ट्याक्सी भाडा मागिन्। तर पैसा दिएनन्। 

बरू, उनीहरूले हान्नका लागि तयार पारिरहेको सामान एनीलाई दिन थाले। 

‘म चाहिँ साथीहरू सम्झिएर गएँ तर उनीहरूले मलाई नाटक गर्यो भन्दै सामान हान्न दिए। त्यो देखेर मलाई नरमाइलो लाग्यो’, उनी भन्छिन्, ‘त्यसपछि मसँगै रिह्याबबाट भाग्नुभएको दिदी चाबहिलतिर गयौं।’

रिह्याब बसेको ४५ दिनपछि उनी घर पुगिन्। बेलुकाको ८ बजे। 

त्योबेलासम्म उनका सासू–ससुरा सुतिसकेका थिए। उनले सासूलाई उठाएर ट्याक्सी भाडा तिराइन्। 

‘मैले आमालाई आफू सुध्रिएर रिह्याबबाट भागेको र मेरो शरीरमा किरा चल्न छाडेको सुनाएँ। अब रिह्याब नजाने पनि बताएँ। आमा मान्नुभयो तर बुबा रिसाउनुभयो’, उनले भनिन्, ‘बुबाले विश्वास गर्नुभएको थिएन। म सुध्रिसकेको थिएँ भनेर। त्यसैले उहाँले कराइरहनुभयो।’

रिह्याबबाट भागेर आएको भोलिपल्टै। 

ससुराले सुधार केन्द्रका मान्छेलाई बोलाउने धम्की दिए। 

बुबाको धम्की सुनेर एनी आफूसँग आएकी दिदीसँगै भागेर झापा पुगिन्। तर झापामा उनको मन अडिएन। 

फेरि उनी काठमाडौं आइन्। 

बुबाआमासँग बस्न थालिन्। उनलाई ड्रग्स खाने मन थिएन।

एनी निस्लठ्ठजस्ती भएकी थिइन्। कोहीसँग नबोल्ने। सधैं गुपचुप बस्थिन्। बुबाआमा र छोरासँग बोल्न समेत डराउँथिन्। 

उनी ७–८ महिनासम्म बुबाआमासित बसिन्। त्योबेलासम्म उनको काम थियो, छोरालाई स्कूल पुर्याउने अनि घर फर्काउने। 

चारभित्तामा बसिरहँदा उनी आजित भइसकेकी थिइन्। काम गरेर आत्मनिर्भर बन्न चाहन्थिन्। 

भर्खरै, उनी २५ वर्ष हुँदै थिइन्।  एनीलाई मेकअप गर्न मन लाग्थ्यो तर कमाइ थिएन। 

त्यसैमाथि चुरोटको आदत। 

सासू–ससुरालाई मात्र कत्ति दुःख दिने? जबकी श्रीमानसँग कुनै सम्बन्ध नै थिएन। 

उनले काम खोज्न थालिन्। 

कुनैबेला आफूजस्तै आएर सुध्रिएका साथीभाइले उनलाई काम पनि मिलाइदिए, ‘डिआइसी’ अर्थात् सुरक्षित भएर सुइँको प्रयोग गर्न दिइने ठाउँमा। 

उनले काम गर्न थालिन्। चाबहिलबाट लाजिम्पाट पुग्नाका लागि उनलाई दिनको २० रूपैयाँ भाडा दिन्थिन् सासूले। 

बिहानै खाना खाएर उनी काममा निस्कन्थिन्। दिनभरि कामैमा व्यस्त हुन्थिन्। 

उनको काम ड्रग्स यूजरसँगै थियो। 

त्यहाँ काम गर्न थालेको ५–६ महिना हुँदै थियो। उनलाई काम गर्ने रहर पनि हराउन थाल्यो। 

तलबै नहुने। खाजा खाने पैसा समेत हुँदैनथियो उनीसँग। त्यो काम गर्दा उनलाई निकै समस्या हुन थाल्यो। 

त्यही काम गर्दा एक जना साथी भेट्याइन् एनीले। 

उसैले एनीलाई एकदिन बसन्तपुर लगिन्। त्यहाँ पूर्व लागुऔषध प्रयोगकर्ताहरू समूहसँग भेट्याइन्।

खासमा, एकअर्कोलाई सहयोग गर्ने ठाउँ थियो रहेछ त्यो। 

त्यही नै उनको लागि जिन्दगीको सबैभन्दा उचित समय बन्यो। 

एनी चिया पिउँदै बसिरहेकी थिइन् एक्लै। त्यहीबेला एक जना दाइ आएर उनको नाम सोध्न थाले। 

‘रिकवरि’ हो भन्दै प्रश्न सोधे। उनले पनि सहजै उत्तर फर्काइन्, ‘हो, म रिकवरि नै होे’। 

उनीबीच कुराकानी बढ्न थाल्यो। उनै दाइले पहिलोपटक एनीलाई लागुऔषध प्रयोगकर्ताहरूको ‘गोपनियता’को कार्यक्रमबारे जानकारी गराए। 

त्यो कार्यक्रममा जान थालेपछि उनले डिआइसीको काम छोडिन्।

ड्रग्स यूजरसँग काम गर्दैगर्दा उनलाई पनि कुनैबेला नशा गर्ने रहर लाग्थ्यो। त्यसैपनि उनी त्यहाँ काम गर्न दिकदार थिइन्। 

‘ड्रग्स यूजरलाई सिरिन्ज बाँड्नुपर्थ्याे। त्यो देख्दा मलाई पनि फेरि खाइदिने रहर पलाउँथ्यो। त्यसैले म त्यो काममा खुसी थिइनँ’, उनी सुनाउँछिन्, ‘तर गोपनियताको कार्यक्रमा म धेरै खुसी थिएँ। त्यहाँ उक्स यूजरहरूले आफ्नो भोगाइहरूबारे सेयर गर्नुहुन्थ्यो। त्यो कुराहरूले मोटिभेट गराउँथ्यो।’

एनीले गोपनियताको एक घण्टाको कार्यक्रममा तलबै नपाएपनि केही नयाँ कुरा सिक्ने मौका पाइन्। अहिलेसम्म उनी त्यो ‘मिटिङ’मा सहभागी हुने गर्छिन्। 

परिवारको अविश्वास

जब एनी एक घण्टाको कार्यक्रममा सधैंजसो जान थालिन्। तब उनमा सकारात्मक सोचहरू पनि बढ्न थाल्यो। उनले अगाडि बढ्न सिकिन्। 

गोपनियताको कार्यक्रममा जानअघि उनी आफैं अन्योलमा थिइन्, जिन्दगीमा कसरी अगाडि बढ्ने? तर उनको त्यो विस्तारै दूर हुन थाल्यो। 

कुलतको दलदलबाट उस्किएपछि जिन्दगी जिउनै गाह्रो भएको उनको अनुभव छ। 

एनीका अनुसार दुर्व्यसनी जीवनभन्दा साधारण जिन्दगी धेरै कठिन छ। 

‘नशाको तालमा होश हुँदैन थियो। आफूलाई गाह्रो भएको पनि चाल पाइँदैनथियो। सडकको पेटी–पेटीमा सुत्दापनि लाज हुँदैन थियो। कसैको मतलबै लाग्दैन थियो’, उनको अनुभव छ, ‘तर नशामुक्त जीवन बाँच्दा पल–पलमा कठिनाइ हुँदो रहिछ।’

८ वर्षसम्म नशालाई जिन्दगी जिउने आधार बनाइरसकेकी एनीलाई साधारण जीवन जिउँदा धेरै समस्याहरूको सामना गर्नुपर्यो। तर उनको लागि सारथी बनिदिएको थियो, त्यो एक घण्टाको कार्यक्रम। 

वर्तमान अवस्थामा भोगेका अनुभवहरूलाई उनी कार्यक्रममा सुनाउँथिन्। र, अरूको अनुभवहरू पनि सुन्थिन्। उनी प्रेरित हुन्थिन्। 

सायद, त्यो एक घण्टाको कार्यक्रम हुन्थेन भने एनी पनि अहिले राम्रोसित रिकवरि हुन्थिनन् होला!

एनीले नशा खान छोडेको ७ महिना भइसकेको थियो। तर परिवारलाई उनीमाथि विश्वासै थिएन। 

एनीको आँखा रातो देख्दा ससुराले नातिलाई आमाको मुख सुँघ्न लगाउँथे। त्यो सुन्दा उनलाई नमज्जा लाग्थ्यो। उनी आफैंसँग प्रश्न गर्थिन्, ‘मैले नशा गर्न छाडिसकें। त्यहीपनि परिवारले किन अविश्वास गरिरहेको छ?’
आफूले गल्ती गरेको कुरा उनले पनि स्वीकारेकी थिइन्। तर सधैं एउटै कुरा कोट्याइरहँदा दिकदार भइसकेकी थिइन् एनी। 

अब उनी एक्लै डेरा लिएर बस्न चाहिन्थन्। आत्मनिर्भर बन्न खोज्दैथिइन्। 

‘आमाबुबाले मलाई माया गर्नुहुन्थ्यो तर सधैं किचकिच हुँदा तनाव लाग्छ नि। त्यसैले मैले आफैं छुट्टिने निधो गरें’, उनी भन्छिन्, ‘मैले कार्यक्रममा चिनेका धेरैजना दाइ–साथीहरू पनि हुनुहुन्थ्यो। उहाँहरूसँग सहयोग मागेर भएपनि कोठाभाडा तिर्छु भन्ने सोच आएको थियो।’

एक छाक नखाएपनि छुट्टै कोठा लिएर बस्ने उनको योजना थियो। त्यही कुरालाई उनले सासूलाई सुनाइन्। 

बुहारीको कुरा सुनेर सासूले उनलाई छुट्टिएर बस्न अनुमति दिइन्। साथमा भाँडाकुँडा र सिरक–डसना दिएर पठाइन्। जुन सामान आमाले एनीको पुरानो डेराबाट ल्याएकी थिइन्। 

आमाले दिएको सामानलाई अंश सम्झिएर उनी रुँदै–रुँदै बिदा भइन्। अनि हाडीगाउँमा कोठा लिएर बस्न थालिन्। 

‘आमाबुबासँग छुट्टिे मेरो बाध्यता थियो। उहाँहरूले मलाई धेरै माया गर्नुहुन्थ्यो। मलाई हत्तपत्त घरबाहिर पनि निस्किन दिनु हुँदैन थियो। तर मलाई लाइफमा केही गर्नुथियो। त्यसैले छुट्टिएर बस्ने निधो गरें’, भक्कानिएर रुँदै उनले भनिन्, ‘आमाले मलाई अंश दिएर बिदाइ गर्नुभएको थियो।’

श्रीमानसँग मेरो कुनैपनि नाता नरहेपनि उहाँहरूले मलाई धेरै साथ दिनुभयो। नशामुक्त थिइन्। एक्लै बस्न थालिन्। उनको संघर्षका दिनहरू फेरि सुरु भयो। 

एनीको काम थिएन। तर कोठाभाडा महिनाको सात सय तिर्नुपथ्यो। 

आफूले चिनेका साथीभाइहरूसँग ५–१० रूपैयाँ सहयोग मागेर उनले जसोतसो कोठाभाडा तिर्थिन्। तर भोकै हुन्थिन्। 

एक छाक खाँदा उनी दुई दिन भोको पेट सुत्थिन्। कयौं रात उनले रुँदै कटाइन्। 

तर कहिल्यै हार मानिन्। किनकि उनको मनमा एउटा जूनुन थियो, ‘जत्ति दुःख भएपनि जिन्दगीमा केही गर्नुछ।’

उनी कामको खोजीमा थिइन्। तर कामै पाइरहेकी थिइनन्। न हातमा सीप थियो न त पढाइ नै। पढे–लेखेका मान्छे त बेरोजगार बसिरहेको सहरमा उनको लागि काम पाउनु झनै मुश्किल थियो।

कामको खोजीमा भौतारिरहेकी एनीले ललितपुरमा काम पाइन्। नगरपालिकाको ‘डिआइसी’मा। उनकै साथीभाइको सहयोगमा। 

साताको एकदिन काममा जाँदा महिनाको एक हजार पाँच सय तलब थियो। उनले खुसीका साथ काम गर्न थालिन्। 

प्रायजसो काठमाडौंबाट हिँड्दै उनी ललितपुर काम गर्न पुग्थिन्। लागुऔषध प्रयोगकर्ताहरूको रगत जाँच्नु त्यहाँको काम थियो। 

उनको काम चाहिँ रगत जचाउँन चाहने प्रयोगकर्ताहरूलाई नगरपालिका पुर्याउनु थियो। 

त्यही संस्थामा अन्य महिलाहरूले भने मान्छेको नामको सूची बनाएर अनि बिल काटेर एनीलेभन्दा धेरै कमाउँथे। त्यो देख्दा उनमा पनि पढ्ने हुटहुटी जाग्यो। 

तर कसरी पढ्ने? कमाइ थिएन। 

उनले पढ्नका लागि ठमेलको एक ‘बार’मा काम गर्न थालिन्। एनीलाई चिनेका साथीहरूले त्यहाँ वेइटरको काममा लगाइदिएका थिए। 

उनको सोच थियो, बिहान पढ्ने अनि बेलुका काम गर्ने। 

तर उनले कामै गर्न सकिनन्। 

‘बार’मा आएका ग्राहकहरूसँग रक्सी पिउनुपथ्यो। पानीलाई ‘वाइन’ भनेर ढाँट्नुपथ्यो। पूरै रोइला नै गर्नुपथ्यो। 

तर त्यो काम उनले गर्न सकिनन्। किनकि उनको सुरुवाती रिकवरि थियो। 

‘रक्सी खानुपथ्यो। रक्सी नपिउँदा तलबै दिइँदैनथियो। मेरो रिकवरि भइरहेको थियो। त्यसैले मैले रक्सी पिइनँ। यदी पिएको भए मेरो रिकवरि बिग्रिन्थ्यो’, उनी भन्छिनु, ‘रक्सी नखाएको कारण मैले तलबै पाइनँ।’

जति–पियो उत्तिकै पैसा कमाइन्थ्यो। तर उनले रक्सी पिइनन्। पैसा कमाइनन्। 

वेइटरको काम गरेर डेरा फर्किदा आधी रात भइसक्थ्यो। घरबेटीले ढोका बन्द गरिदिन्थ्यो। 

उनको सुताइ त्यही पुरानो अड्डा अर्थात् ‘वीर अस्पताल’को भुँइमा हुन्थ्यो। अस्पताल छेउमा सुत्दा उनलाई आफू दुर्व्यसनी होकि जस्तो पनि लाग्थ्यो। 

किनकि नशाको मातमा उनले कयौं रात वीर अस्पतालमा बिताएकी थिइन्। ती कुराहरू सम्झिएर अझैपनि झस्किन्छिन् एनी। 

‘लागुऔषध खाएर मैले धेरै रात अस्पतालमा बिताएकी थिएँ। तर बारमा काम गर्दापनि त्यही अस्पतालमा सुत्नुपर्यो। मेरो पहिलाको जस्तो जिन्दगी भयो’, उनले भनिन्, ‘मलाई धेरै नरमाइलो लाग्यो।’

दिनहुँजसो अस्पतालको बसाइँ भएपछि उनले बारको काम छोडिन्। १५ दिनसम्म काम गरेकी उनले एक रूपैयाँ पनि पाइनन्। 

‘मैले ग्राहकहरू पनि ल्याउन सकिनँ। सामान पनि बेच्न सकिनँ। त्यसैले एक पैसा पनि पाइनँ’, उनको बताइन्। 
बारको काम छोडेपनि उनीसँग डिआइसीको काम थियो। महिनाको १५ सयले नै उनले आफ्नो खर्च उठाइरहेकी थिइन्। 

तर उनले गाडी कहिल्यै चढिनन्। हिँडेर काममा जान्थिन् अनि हिँडेरै घर फर्किन्थिन्। 

गाडीभाडामा लाग्ने खर्चले उनी आफूलाई चाहिने सामान किन्थिन्। 

‘पैसा धेरै थिएन। किन गाडी भाडामा सक्काउनुजस्तो लाग्थ्यो। त्यसैले लखरलखर हिड्थें। त्यसरी मेरो रिकवरिको समय पनि बढ्दै गयो’, एनीले सुनाइन्।

टेम्पो चालिका 

पहिलो प्रयासमा सुध्रिएकी एनीको रिकवरि समय पनि लम्बिदैं थियो। उनले भक्तपुरको एक महिला सुधार केन्द्रमा काम पाइन्।

त्यो काम पनि उनलाई चिनेका दाइले दिलाइदिएका थिए। 

महिला सुधार केन्द्रमा काम पाएपछि उनको भाग्य खुल्यो। उनी खुसी हुँदै–हुँदै काठमाडौं छोडेर भक्तपुर गइन्। 

उनको काम रिह्याबमा थियो अनि बसाइँ पनि उत्तै। 
खेतै–खेतको बिचमा थियो रिह्याब। सानो–चिटिक्क परेको। 

उनको काम भने लागुऔषध प्रयोगकर्ता बहिनीहरूलाई हेरचाह गर्नुथियो। जुन कामलाई उनले राम्रोसित गरिरहेकी थिइन्। 

दुर्व्यसनीहरूलाई सुधार्न पाउँदा उनी खुसी थिइन्। रिह्याबमा उनले खान–बस्नसहित तलब पाइरहेकी थिइन्। केही कुराको चिन्ता थिएन। 

बिन्दास, चलिरहेको थियो, एनीको जिन्दगी। 

तर एकदिन एकाबिहानै उनलाई घरबाट फोन आयो। 

त्यतिबेला दुर्व्यसनीहरूलाई योगा गराइरहेकी एनीलाई सासूले फोनमा भनेकी थिइन्, ‘तेरो छोराको दुर्घटना भयो। घर आइहाल!’

७ वर्षको छोरालाई मोटरसाइकलले हानेको थाहा पाएर उनी अत्तालिदैं चाबहिलको ‘ओम हस्पिटल’ पुगिन्। त्यहाँ उनले छोराको टाउकोमा सेतो पट्टी बाँधेको देखिन्। 

छोराको अवस्था देखेर एनी बौलाहजस्तै भइन्। रिसको झोकमा उनले अस्पतलाका कर्मचारीलाई भित्तामा ढकाल्दिइन्। 

चिच्याएर–रुन थालिन्। तर टोलका अंकलहरूले एनीलाई सम्झाएर भनेका थिए, ‘चिन्ता लिनु पर्देन। बाबुलाई केही भएको छैन। तिमी होशमा आउनुपर्छ।’

त्यसपछि एनीको रिस पनि शान्त भयो। नशाको जिवन त्यागेर सुध्रिएपछि उनको रिसको ज्वाला फुटेको पहिलोपटक थियो त्यो। 

हड्डी फुटेर दिमाखमा रगत पसेको थियो छोराको। त्यसैले छोरालाई केही समय अस्पतालमै भर्ना गर्नुपर्यो। 

उनी पनि छोरासँगै अस्पतालमा बसिन्। 

दुर्व्यसनी भएर बच्चालाई हेरचाह गर्न नपाएकी एनीले अस्पतालमा भने खूबै स्याहारिन् छोरालाई। 

अस्पतालमा बस्दाखेरि एनीले आफूले खाने पिल्स देखेकी थिइन्। छोराको औषधि झोलामा। 

त्यहीबेला उनले पहिलोपटक थाह पाएकी थिइन्, आफूले खाने औषधि त अप्रेशन गर्दा प्रयोग गरिने रहिछ। जसलाई उनी महँगीमा किन्थिन्, त्यो सामान त्यति महँगो नहुँदो रहेछ। 

छोराको उपचार सकिएपछि उनमा फेरि सोच आयो, ‘यसरी हुँदैन। अब मैले पैसा कमाउनैपर्छ।’

रिह्याबमा काम गर्दागर्दै उनले फेरि अर्को ‘डिआइसी’मा काम पाइन्। खान–बस्न सित्तैमा। महिनाको तलब पाँच हजार। 
डिआइसीमा काम गर्न सहज थियो। त्यहाँको काम भनेको लागुऔषध प्रयोगकर्ताहरूलाई सुँइ बाँड्ने अनि ओएसटी औषधि खुवाउने। 

अनुदानमा चलिरहेको थियो डिआइसी। तर अनुदान सकिएपछि उनी फेरि कामविहीन हुन थालिन्। 

त्योभन्दा अगाडि डिआइसीमा महिला दुर्व्यसनीहरूका लागि एउटा अवसर आयो। 

ब्यूटी पार्लर सिकाउने, टेम्पो सिकाउनेलगायतका तालिम दिने भयो। उनले टेम्पो सिक्ने रहर गरिन्। 

ड्राइभर बन्ने रहरले तालिम सिकेकी उनी महिना दिनमै राम्रो टेम्पो चलाउन सक्ने भइन्। उनले प्रमाण पत्र पनि लिइन्। 

टेम्पो चलाउनसक्ने भएपछि उनमा झनै आत्मविश्वास बढ्यो। पैसा कमाउने। 

‘मलाई छोरा पाल्नुथियो। महिनाको ३–४ हजार कमाएर पुग्दैन थियो। त्यसैले मैले मात्र पैसा कमाउनुपर्छ भनेर सोच्न थालें’, परिवारको जिम्मेवारी उठाउने चाहना थियो उनमा।

दिनभरि उनी टेम्पो चलाउँथिन् अनि रातमा डिआइसीमा बस्थिन्। त्यतिबेला उनले रिह्याबको काम भने छोडिसकेकी थिइन्। 

टेम्पो चलाउन माहिर थिइन् एनी। तर बिडम्बना, उनीसँग ‘लाइसेन्स’ नै थिएन। नपढेको कारण उनले लाइसेन्स निकाल्नै सकिनन्। 

‘मैले दुई पटकसम्म लाइसेन्स निकाल्न कोसिस गरें तर सकिनँ। पढेको थिइनँ। त्यसैले लिखित परीक्षा दिनै सकिनँ’, उनी भन्छिन्, ‘पढ्न नपाएकोले म धेरै पछुताउनु पर्यो।’

लाइसेन्स निकाल्न असफल भएपछि उनी रुँदै फर्किइन्। तर, उनलाई गुरुले हिम्मत दिए, ‘तिमी रुनु पर्दैन। मलाई थाह छ कि तिमीले टेम्पो चलाउन सक्छौं भनेर। लाइसेन्स नभएपनि तिमी टेम्पो चलाउन थालिहाल्।’

त्यतिबेला नखिपोटदेखि न्यूरोडसम्मको रुट थियो टेम्पोको। उनलाई गुरुले टेम्पो चलाउन आदेश दिइसकेका थिए। 

तर एनीको मनमा लाइसेन्स नभएको कारण डर थियो, ‘यदी फसें भने..!’

लाइसेन्स नभएपनि गुरुले नै टेम्पो दिएर चलाउन लगाएपछि उनमा आत्मविश्वास बढेको थियो।  

‘जबसम्म रिक्स लिइँदैन, तबसम्म सफल भइँदैन’ भनेर गोपनियताको कार्यक्रमले सिकाएको थियो। त्यसैले उनले पनि जोखिम लिने निधो गरिन्। 

पहिलो दिन। 

नखिपोटबाट टेम्पो निकालेकी थिइन् एनीले। सातोबाटो पुग्दा टेम्पो भरियो। 

आफ्नो टेम्पोमा ग्राहकहरू भरिँदा पनि उनी दोधार थिइन्। टेम्पो चलाउनु कि नचलाउनु!

तर भगवानको नाम जमेर उनले स्ट्रेरिङ घुमाइन्। 

सादोबाटो–कोटेश्वर–नयाँ बानेश्वर हुँदै उनले सबै ग्राहकलाई उनीहरूको गन्तव्यसम्म पुर्याइन्। 

र, न्यूरोड आइपुगेपछि लामो श्वास फेरिन् अनि चुरोट तानिन्। 

‘मैले एक रुटमा २ सय चानचुन कमाएकी थिएँ। म धेरै खुसी भएँ। डरै बिना टेम्पो चलाउन सक्ने रहेछु भनेर जोश आएको थियो’, उनमा आत्मविश्वास बढेको थियो। 

न्यूरोडमा ग्राहक कुरिरहेको उनको टेम्पो फेरि भरियो। त्यहाँबाट चढेका सबै ग्राहकहरू सादोबाटोमा ओर्लिए। 

सादोबाटोबाट उनले टेम्पो ग्यारेजमा लगिन्। उनलाई देखेर गुरु खुसी भए। गुरुले एनीको प्रशंसा गरे। 

टेम्पो चलाएको पहिलो दिन। उनले चार सय रुपैयाँ कमाइन्। त्यो दिन भने गुरुले एनीबाट पैसा लिइनन्। 
भोलिपल्ट। 

उनी बिहानैदेखि टेम्पो चलाउन थालिन्। दिनको ६ रुट चलाउनुपथ्यो अनि २५ सय रूपैयाँ गुरुलाई दिनुपथ्यो। 

तर दुर्भाग्यवश। 

उनले टेम्पोबाट सोचेजस्तो पैसा कमाउनै सकिनन्। गुरुलाई दिने २५ सय पैसा कमाउन पनि हाम्मेहाम्मे भयो। 

टेम्पो चलाएर खाना खाने र चुरोट किन्ने पैसा पनि बचेन उनीसित। 

एक त कमाइ पनि थिएन। साथमा लाइसेन्स पनि थिएन। निकै तनावमा थिइन् उनी। 

तर जसोतसो एक महिना टेम्पो चलाइन्। 

नशा खान छाडेपछि उनी विदेशिएकी आमाको सम्पर्कमा पनि आएकी थिइन्। उनलाई आमाले मोबाइल किन्ने पैसा पठाइदिइन्। 

एकदिन न्यूरोटमा मान्छे कुरिरहेकी एनीको टेम्पो ग्राहकले भरिए। 

उनी ग्राहकहरूलाई उनीहरूको गन्तव्यतिर पुर्याउँदै थिइन्। तर कतिखेर उनको मोबाइल चोरी भएछ। उसैलाई थाह भएन। 

एक रुपैयाँ कमाइ थिएन। त्यसमाथि १४ हजारको मोबाइल हरायो। उनी धेरै दुःखी भइन्। 

उनलाई लाइसेन्स निकाल्दिने भनेर सादोबाटोतिर यातायातमा काम गर्ने एक जना दाइले आश्वासन दिएका थिए। 

एनीले लाइसेन्स निकाल्न भनेर १३ हजार रूपैयाँ दिएकी थिइन् ती दाइलाई। तर पैसा दिएपछि ती दाइ नै गायब भए। 

एनी सबैतिरबाट ठगिएकी थिइन्। 

त्यहीपनि उनले टेम्पो चलाइरहेकी थिइन्। तर फेरि एकदिन उनीसित अप्रिय घटना घट्यो। 

ग्यार्कोको ओकालो जाँदाजाँदै टेम्पोको ब्याट्री सक्कियो। टेम्पोले उकालो तानेन। 

उनले ग्यारेजमा फोन गरेर मिस्त्रीलाई बोलाइन्। तर एक घण्टासम्म मिस्त्री आएनन्। 

उनले एक घण्टासम्म खुट्टाले थिचेर ब्रेक लगाइरहिन्। उनको अवस्था नाजुक भयो।

त्यसपछि उनले टेम्पो नचलाउने निधो गरिन्। र, कहिल्यै त्यो ठाउँमा फर्किएर गइनन्।

विदेशको सपना टुटेपछि ‘रिह्याब’

टेम्पो चलाउन छोडेपनि एनीले डिआइसीको काम गरिरहेकी थिइन्। तर त्यहाँको पनि प्रोजेक्ट सकिनेबेला हुँदै थियो। 

तर प्रोजेक्ट सकिनअघि नै उनलाई महिला सुधार केन्द्रमा काम गर्ने अफर आयो। 

रिह्याबमा उनले रातको ड्यूटी गर्नुपथ्यो। 

त्यतिबेला महिलाहरूमध्ये राम्रोसित सुध्रिएकी एनी नै थिइन्। त्यसैले महिला सुधारमा काम गर्ने अवसर एनीले पाइरहिन्। 

‘त्यतिबेला धेरै केटीहरू सुध्रिएका थिएनन्। औंलामा गन्न सक्ने थिए। त्यसमा पनि धेरैजसोले रिह्याबमा काम गर्न चासो देखाउँदैथियो। त्यसैले म सबैको नजरमा परें’, उनी सम्झिन्छिन्, ‘मलाई जस्तो भएपनि काम गर्नुथियो।’ 

उनी रातमा रिह्याबमा काम गर्थिन्। दिउँसो ‘ओएसटी’को कार्यालयमा। जहाँ एनी दुर्व्यसनी हुँदा औषधि खान पुग्थिन्। 

त्यहाँ उनलाई चिनेका साथीभाइले काम लगाइदिएका थिए। 

बिहानको ८ बजेदेखि दिउँसोको २ बजेसम्म उनी ओएसटीमा हुन्थिन्। ड्रग्स यूजरलाई औषधि दिने अनि कार्यालयको सरसफाई गर्ने एनीको काम थियो। 

दिनरात काम गर्न थालेपछि उनलाई पैसाको अभाव हुन छाड्यो। उनले घरमा पनि दुई–चार पैसा हेर्न थालिन्। 

२०७२ सालको महाभूकम्प गयो। 

एनीकी आमा खाडीबाट नेपाल फर्किइन्। 

१२ वर्षको उमेरमा परिवारबाट टाढिएकी एनीले १७ वर्षपछि आमालाई भेटेकी थिइन्। 

आमालाई भेटेपछि उनी धेरै खुसी भइन्। आमालाई विदेश नपठाउने संकल्प आफैंसित गरिन्। 

‘अब बुझ्ने भइसकेकी थिएँ। त्यसैले अब आमालाई विदेश नपठाउने सोचें’, उनी भन्छिन्, ‘आमालाई म आफैं पाल्न सक्छु भन्ने हिम्मत मभित्र थियो।’

उनले आमालाई विदेश जान दिइनन्। 

‘डे–नाइट’ काम गरेर उनी मार्सिक साढे ११ हजार कमाउन थालिसकेकी थिइन्। त्यो पैसाले खान–बस्न पुग्थ्यो। 

उनले दिन–रात काम गर्न थालेको एक वर्ष हुँदै थियो। उनले रिह्याब र ओएसटीको काम पनि छोडिदिइन्। 

अब उनी आफ्नै बलबुलतामा रिह्याब खोल्न चाहन्थिन्। 

आफूजस्ता दुर्व्यसनीमा फसेका महिलाहरूलाई सुधार्ने सपना बुनेकी एनी आफ्नो योजना सासूआमा र आमालाई सुनाइन्। 

दुबैजना आमाले उनको कुरामा साथ दिइन्। र, एनीलाई रिह्याब स्थापना गर्नका लागि पैसा दिए। 

सासू र आमाले दिएको पैसाले उनले नागार्जुनमा दुई रोपनी जग्गा भाडामा लिइन्। 

र, २०७३ सालमा ‘साहारा वीमेल फाउण्डेशन’ नाम सुधार केन्द्र सञ्चालन गर्न थालिन्। 

खासमा, रिह्याब सेन्टर चलाउने उनको सोचाइ थिएन। 

तर विदेश जाने सपना पूरा नभएपछि उनले नेपालमै बसेर दुर्व्यसनी महिलालाई सुधार्ने दृढ लिएकी थिइन्। 

ससुराले उनलाई मलेसिया पठाउने चाहन्थे। तर उनको रोजाइ थिएन मलेसिया। 

एनीका श्रीमान पनि मलेसिया गएका थिएन। नेपाल रित्तै फर्किए। त्यहीकारण पनि मलेसियाप्रति उनको मोह थिएन। 

तर उनी विदेश चाहिँ जान चाहन्थिन्। नेपाल बस्ने रहरै थिएन। उनी सोच्थिन्, ‘विदेश गएपछि नेपाल फर्किदिनँ। उत्तै सेन्टल हुन्छु।’

मलेसिया नजाने भएपछि एनीले ‘साइप्रस’ जाने तरखर गरिन्।  

उनले आफ्नो नामलगायत साधारण शब्दहरूलाई उच्चारण गर्न अंग्रेजीमा सिकिन्। 

अन्तर्वार्तामा उनी पास भइन्। 

विदेश जाने पक्का थियो। पैसा पनि जम्मा भइसकेको थियो। उनी विदेश जाने तयारीमा थिइन्। 

तर दुर्भाग्यवश, स्वास्थ्य परीक्षणमा एनी फेल भइन्। उनमा ‘हेपटाइटिस–सी’ देखियो। 

मेडिकल फेल भएपछि विदेश जाने एनीको सपना सिसाझैं टुक्रियो। कहिल्यै नजोडिने गरी। 

उनी फेरि दुःखी भइन्। जिन्दगी देखेर हताश भइन्। उनलाई ‘ड्रग्स’ खाऊ कि जस्तो पनि लाग्यो। 

तर उनले छोरा र आमाको अनुहार सम्झिइन्। अनि सोचिन्, ‘हैन, मैले छोरा र आमाको लागि भएपनि खानु हुँदैन। केही गर्नेपर्छ।’

आफू देखापरेको रोगलाई जँचाउन उनी काठमाडौंका कयौं अस्पताल ध्याइन्। तर सबै अस्पतालको रिर्पोटले एनीलाई ‘हेपटाइटिस–सी’ देखायो। 

कहिल्यै विदेश जान नपाउने भएपछि उनी तन–मनबाट टुटिन्। भक्कानिएर रुन्थिन्। 

तर केही सीप नलागेपछि उनले सत्यलाई स्वीकारिन्। र, नेपालमै केही गर्छु भनेर कम्मर कसिन्। 

एनीसँग कुनै सीप थिएन। न कुनै कामको अनुभव। थियो त त्यही दुर्व्यसनीको अनुभव। 

त्यही अनुभवलाई लिएर उनले रिह्याब खोल्ने निधो गरेकी थिइन्। 

नेपालमै रिह्याब खोल्ने पक्का भएपछि उनी ८ वर्षअघि आफ्नो जन्मभूमि सिक्किम   पुगेकी थिइन्। कार्यक्रमको सिलसिलामा। 

सिक्किममा उनले आफ्नो बुबालाई भेटिन्। तर बुबाबाट उनले कुनै माया पाइनन्। 

बरू, उल्टै बुबाले एनीलाई भने, ‘तेरो, आमाजस्तै नबस्। श्रीमानसँग छुटेपनि अर्को बिहे गरेर बस्। छोरा हुर्केर गइहाल्छ। तेरो भाइहरूलाई पनि सम्झाएर मलाई फोन नगर्नु भन्। मलाई नभेट्नु भन्दे। तेरी कान्छी आमा रिसाउँछे।’
बुबाले दिएको त्यही आर्शीवाद लिएर उनी नेपाल फर्किइन्। अनि आफ्नै रिह्याब सेन्टर खोलिन्। 

अहिले आमा एनीसँगै बस्छिन्। उनका भाइहरूलाई आमाको कुनै वास्ता छैन। 

तर एनीले आमालाई कुनै कुराको कमी हुन दिएकी छैनन्। छोराहरूले दिने माया पनि एनीले दिइरहेकी छिन् आमालाई।

अहिले आमा र छोराको साथ पाएर खुसी छिन् एनी तर अझैपनि विगतमा आफूले पाएको धोका सम्झिएर भक्कानिएर रुने गर्छिन्। 

प्रेमममा धोका 

रिह्याब खोल्ने योजना बनाइरहँदा उनी कसैको प्रेममा थिइन्। उनै प्रेमीले एनीलाई प्रोत्साहित पनि गरेका थिए रिह्याब चलाउन। 

तर उसैले एनीलाई फसाइदिए। एनीको विश्वास तोडिदिए। 

ती प्रेमीको कारण एनी ‘डिप्रेशन’को सिकारै भइन्। 

श्रीमानसँग छुटेर एनी एक्ली थिइन्। उनलाई कसैको साथ चाहिएको थियो। उनले साथ पनि पाइन्। तर देखावटी। 

एनीले आफूलाईभन्दा धेरै प्रेम र विश्वास गरेको मान्छे नै विश्वासघात गरे।

उनको प्रेमीको दुई वटी श्रीमती रहेछ। जबकी उनले एनीसित विवाह नगरेको भनेर झुठ बोलेका थिए। 

आफूले माया गरेको मान्छेले विवाह गरिसकेको भनेर एनीले प्रेम सम्बन्धमा बसिसकेपछि मात्र पाएकी थिइन्। त्यहीपनि एनीले प्रेमीलाई माया गर्न छोडिनन्। 

प्रेमकी छोरीलाई उनले आमाजसरी प्रेम गइन्। कत्ति वर्ष उनले आफैंले हुर्काइन्। स्याहारिन्। जति उनले आफ्नै छोरालाई गरेकी थिइनन्। 

‘उसले मसँग बोलेको कुरा सबै झुठो रहेछ। त्यहीपनि माया गरिरहें। उसको तरुनी भएकी छोरीलाई माया गरें। आफैं स्याहारें। नानीसँग मेरो केही गुनासो छैन। तर उसले कहिल्यै बुझेन’, विगत सम्झिएर रुन्छिन् एनी। 

उनले सबैभन्दा धेरै माया गरेको मान्छे अहिले भागिसकेका छन्। उनलाई जिन्दगीभर कहिल्यै निको नहुने चोट दिएर। 

‘मलाई सधैं आफ्नो मान्छेले नै धोका थियो। सानो परिवारले चोट दिएर भागेर विवाह गरें तर बिहेपछि पनि दुःख मात्र पाएँ। त्यो कुराले भाग्दाभाग्दै आज यहाँसम्म आइपुगें’, गहभरिका आँसु पुछ्दै उनी भन्छिन्, ‘मन हो रुन्छ तर अहिले मलाई आनन्द लाग्छ।’

अहिले उनको छोरा २१ वर्ष पुगिसकेका छन्। छोरा उनको साथीजस्तै हुन्। आमाको हरेक सुखदुःखमा साथ दिइरहेका छन् छोराले। 
उनलाई छोराको कुनै चिन्ता छैन। चिन्ता छ त मात्र आफ्नी आमाको। 

‘म कति समय बाँच्छु थाह छैन तर जति बाँच्छु। आमालाई धेरै खुसी दिन चाहन्छु’, उनी भन्छिन्, ‘कुनैबेला आमालाई मैले कराएँ होला तर अहिले मलाई सबैभन्दा धेरै माया आमाकै लाग्छ।’

अहिले छोरीको काम देखेर निकै खुसी छिन् आमा। आमाको मुहारमा खुसी देख्दा झनै हर्षित छिन् एनी। 

कुनैबेला मागेर खाने अवस्थामा पुगेकी एनी अहिले अरूलाई दिएर खाइरहेकी छिन्। 

हुनत उनीसित धेरै पैसा छैन। न त घर–जग्गा नै छ। त्यहीपनि अहिले धेरै खुसी र सन्तृष्टी छिन्। तर कहिलेकाहीँ भने रुने गर्छिन्। 

विगतमा उनी आफूले पाएको दुःख अनि संघर्ष देखेर रुन्थिन् तर अहिले उनी आफूले पाएको खुसी देखेर रुन्छिन्। 

प्रकाशित मिति: : 2025-06-10 19:00:00

प्रतिकृया दिनुहोस्