बोरा बोकेर अमेरिकाबाट फर्किए नेपाली, स्कटल्यान्डसँग हार्‍यो नेपाल (भिडियो–समाचार)

प्रतिनिधिसभा बैठक स्थगित भएको छ।

सोमबार बसेको बैठकमा प्रतिपक्षी दलहरूले अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर बुधबार एक बजेसम्मका लागि स्थगित गरिएको हो। 

 भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान राख्दै विपक्षी दलहरूले वैशाख १३ गतेदेखि बैठक अवरोध गर्दै आइरहेका छन्।

000

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई-मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत सुरुवाती बिन्दुमा देखिएको विवाद समाधनबारे खोकानावासीका प्रतिनिधिहरूसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले ललितपुरको खोकना र बुङ्‍मतिवासीका प्रतिनिधिहरूसँग उक्त क्षेत्रमा देखिएका समस्या समाधानका उपायबारे सोमबार छलफल गरेका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनीहरूले खोकना र बुङ्‍मति विवाद समाधानका विकल्पबारे सुझाव दिएका थिए।

000

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक प्रेम चलाउनेमाथि भएको आक्रमणको मुद्दामा सर्वोच्च अदालतले मिसिल कागज मगाउने आदेश गरेको छ। 

चलाउनेमाथिको आक्रमणमा संलग्न योगेन्द्र रावलले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सोमबार न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले यस्तो आदेश गरेको हो। 

उपप्राध्यापक चलाउनेमाथि २०७७ सालमा त्रिवि परिसरमै मरणासन्न हुने गरी आक्रमण भएको थियो। 

000

काठमाडौं महानगरका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। 

साढे चार करोडभन्दा बढी रकम बराबर सम्पत्तिको स्रोत नखुलेको भन्दै उनीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको हाे। 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा महानगरका तत्कालीन इन्जिनियर कोइरीविरूद्ध मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

000

 अमेरिकाबाट डिपोर्ट गरिएका ३७जना नेपालीहरू बोरा बोकेर फर्किएका छन्। 

अध्यागमन कानुन उल्लंघन गरेको भन्दै अमेरिकाले देश निकाला गरेपछि उनीहरू नेपाल फर्किएका हुन्। 

अमेरिकाले चार्टर्ड विमानमार्फत् उनीहरूलाई काडमाडौं छाडेको थियो। 

योसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा आप्रवासन नीतिपछि डिपोर्ट हुने नेपालीको संख्या १६३ पुगेको छ। 

000
 
आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल स्कटल्यान्डसँग पराजित भएको छ। 

स्कटल्यान्डको डुन्डीमा आइतबार सम्पन्न खेलमा नेपाल दुई रनले पराजित भएको हो। 

सिरिजको पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई १ विकेटले पराजित गरेको थियो। 

जारी सिरिजमा नेपालले पहिलो हार व्यहोर्दा स्कटल्यान्डले भने लगातार दोस्रो जित निकालेको छ। 

सिरिजको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्ससँग मंगलबार खेल्नेछ। 

000

स्पेनलाई हराउँदै पोर्चुगलले यूइएफए नेशन्स लिगको उपाधि जितेको छ। 

गएराती भएको खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ५-३ ले हराउँदै पोर्चुगलले दोस्रोपटक नेशन्स लिगको उपाधि जितेको हो।

नियमित समय २-२ को बराबरीमा सकिपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। पेनाल्टी सुटआउटमा स्पेन चुकेपछि पाेर्चुगलले उपाधि जित्याे। 
 

प्रकाशित मिति: : 2025-06-09 18:58:00

प्रतिकृया दिनुहोस्