ड्रग्स’लाई जिन्दगी बाँच्ने ‘बुटी’ बनाइसकेका दिनेश केसीलाई आमाले त्यो कुलतबाट निकाल्न हजार प्रयास गरिन्। तर, सकिनन्। आजीवन उनले छोराको स्याहार गरिन्। तर, आमाको त्यो प्रेम कहिल्यै बुझेनन्, दिनेशले। बरू, सधैं बाआमालाई ठगिरहे।
कुलतमा फसेका छोराको हर्कतबाट आजित थिइन् आमा। त्यही पीरले उनी थला परिन् र, सदाका लागि संसारबाट बिदा भइन्। आर्यघाटको त्यो किनारमा आमाको ज्यान जलिरहेको थियो। दिनेश भने नशाको धुनमा रमाइरहेका थिए।
आर्यघाटमा आमाको लाश जलिरहेको थियो। धुँवा बनेर जन्म दिने आमा उडिँरहेकी थिइन्, कहिल्यै नफर्किनेगरी।
‘नशा’को धुँवाले धमिलिएका दिनेशलाई त्यो पुत्ताइरहेको चिताले कत्ति पनि गिज्याएन बरु उनी थप डोज खोजिरहेका थिए।
घरका कान्छा छोरा हुन्, दिनेश। कान्छो, उसै पनि पुल्पुलिएको सन्तान हुन्छन्। उदयपुरका दिनेशभन्दा अघि एक जना दिदी र दाइ छन्। सानैदेखि पुल्पिुलिएर हुर्किएका उनलाई केही कुराको कमी थिएन।
अरूको देखासिकीमा रूची राख्ने उनी जे चाहन्थे, त्यही पाउँथे। यही कारणले गर्दा उनमा सानैदेखिको त्यो लाडप्यार अन्तत: दिनेशको जीवन सम्हाल्नै नसक्नेगरी झाँगियो।
‘रिस्की’ काममा रमाउने दिनेश सोच्ने गर्थे, ‘मैले गर्न नसक्ने काम केही छैन, अरूले गर्न नसकेको काम म गरेर देखाउँछु।’
आफूलाई सबैभन्दा सर्वश्रेष्ठ ठान्ने उनको भ्रम स्कुलमा पनि उसैगरी मौलायो। त्यसमा पनि अझ उट्पट्याङ कुरमा।
स्कुलमा साथीहरूले चुरोट तानेको देख्दा उनी कल्पिन्थे, ‘यिनीहरूले भन्दा म झनै बबालसँग चुरोट तान्नसक्छु।’
स्कुलका साथीहरू चुरोटको धुवाँ मुख र नाकबाट उडाइरहेको देख्दा उनलाई लाग्थ्यो कि, ‘उनीहरू हिरो भइरहेका छन्। त्यो भन्दा ठुलो हिरो मै बन्दिन्छु।’
नभन्दै उनले साथीहरूको संगतमा लागेर चुरोट तान्न लागे।
चुरोटको त्यो सर्को एउटा लामो कुलतको सुरुवात बनिदियो।
चुरोटबाट सुरु गरेको उनले गाँजा तान्ने पनि थाले। त्यो हुँदाहुँदै उनले ‘ट्याबलेट’ (गोटी)को पनि सेवन गर्न सुरु गरे।
‘चुरोटको धुँवा उडाएर कुलतमा फस्न थालेको मैले कहिलेदेखि गोटी हान्न थालें पत्तै भएन’, उनी सम्झन्छन्।
कक्षा- ७ पढ्दै गर्दा कुलतको दुनियाँ पाइला टेकेका दिनेश १७ वर्षकै उमेरमा ‘ड्रग्स एडिक्ट’ भए। उनको पढाइमा भन्दा धेरै ध्यान ड्रग्सको त्यो नशामा थियो। त्यही ‘एडिक्सन’को कारण उनी कक्षा– ८ मा ‘फेल’ भए।
लागुऔषधको सेवन गर्ने लत लागेका उनका लागि बहाना बन्यो, ‘फेल’। त्यसपछि उनी झनै कुलतको दलदलमा डुक्न थाले। ‘मैले अलिकति पनि दु:ख सहन सक्दिनँ थिएँ। फेल भएपछि झनै औषधिको प्रयोग गर्न थालेँ’, उनले बिएल नेपाली सेवालाई भने, ‘त्यसपछि शरीरलाई सुइँले पनि घोच्न थालेँ।’
कक्षा– ८ मा फेल भएपछि उनले अबदेखि स्कुलको आँगनमा नटेक्ने निधो गरे। उनलाई लागेको थियो, ‘बाँच्नका लागि पढ्न जरुरी छैन।’
छोराको नपढ्ने निर्णयलाई बाआमाले पनि स्वीकारे। र, कपडा पसल सम्हाल्न लगाए। ‘हाम्रो टेलरिङको पसल थियो। मैले त्यही काम गर्न थालेँ’, उनले भने।
दिनभरि पसलमा बसेपनि उनको सोच बने, गोटी र गाँजामा हुन्थ्यो। एकदिनको डोज पुर्याउनका लागि उनी भौतारिरहन्थ्यो। तर, जताबाट भएपनि उनले त्यो डोज चाहिँ पूरा गरेरै छाड्थ्यो।
कुलतलाई आफ्नो जीन्दगी बनाइसकेका दिनेशलाई ड्रग्स किन्नका लागि पैसा चाहिन्थ्यो। त्यसलाई उनलाई ‘चोर’ पनि बनायो।
घरबाट पैसा चोर्ने भए। पसलहरूमा पनि चोरी गर्न थाले।
लागुऔषधको प्रयोग गरेर छँटाहा भएका दिनेशले आफ्नो घरमात्र लुटेनन्, छिमेकीहरू दैलो फुटाउन पनि पछि परेनन्।
‘मलाई केही कुराको मतलब थिएन, मात्र चाहिन्थ्यो त ड्रग्स’, विगत कोट्याउँदै उनले भने, ‘मलाई त्योबेला चोरी सामान्य काम लाग्थ्यो।’
लागुऔषधमा लागेर परिवारबाट टाढा भएका उनी साथीहरूको संगतमा रमाउन थाले। पढाइ छाडेका, बेरोजगारी भएका र चुरोट तान्ने केटाहरूलाई उनले आफ्नो साथी बनाए। जसलाई दिनेशले आफूजस्तै बन्न प्रोत्साहन गर्थे। साथीहरूलाई उनी ड्रग्सको सेवन गर्न सुझाइरहन्थे।
दिनेशको कुरा मानेर साथीहरू पनि रमाउँथे। साथीहरू रमाइरहेको देख्दा दिनेश पनि खुसी हुँदै आफैँमा गर्व गर्थे, ‘मैले यति जना मेरो साथीहरूलाई खुसी बनाउन सकेको रहिछु।’
उनीहरूबीच ड्रग्स खाने योजना त बन्थ्यो तर कसरी किन्ने? काम कसैले गरेका थिएनन्। त्यसको लागि पैसा चोर्नु पर्थ्याे। त्यो कामको लागि सधैं दिनेश न अगाडि सर्थे। ‘ड्रग्स किनेर खाने कुरा भएपनि पैसा कसैले ल्याएनन्, त्यसैले म आफैँ पैसा चोरेर ल्याउँथेँ’, उनले भने।
परिवारभन्दा साथीहरूलाई नजिक बनाएका उनी कहिलेकाहिँ मात्र घर जान्थे। त्यही पनि ड्रग्सको तलतलमा पैसा चोर्न। ‘मलाई घर जाने मन लाग्दैन तर पैसा चोर्नका लागि मात्र बाआमाको घर जान्थेँ’, आमाले दराजमा राखेको पैसा आफैँले चोरेर सक्काएको बताउँदै दिनेश भन्छन्, ‘आमाले राखेको ब्यागको हजार–हजार रुपैयाँको मुठ्ठा मैले नै सिध्याएँ।’
गाउँमा उनी यतिधेरै चर्चित थिए कि, छिमेकीको घरबाट पैसा हराउँदा पनि उनी नै दोषी हुन्थे। नहोस् पनि कसरी? दिनेशले पसलको पैसा चोरेर पसल बेच्न बाध्य बनाएको थियो।
‘फलाना’को छोरा ‘चोर’ हो भनेर गाउँमा पूरै हल्ला फैलिसकेको थियो। त्यही कारणले गर्दा दिनेशका बाआमाले उनलाई विदेश पठाउने निर्णय गरे। आमाबुबाको कुरामा सहमति जनाउँदै उनी बुबासँग ‘मेडिकल’ गर्न अस्पताल पुगे।
बुबाले मेडिकल गराएर पैसा तिरे। तर, दिनेशले अस्पतालका कर्मचारीलाई बिन्ती बिसाउँदै भने, ‘सर, मलाई विदेश जाने मन छैन। प्लिज मलाई विदेश नपठाउनुस्। मेरो उमेर सानै छ भनेर मेरो बुबालाई भनिदिनुस्। बरू, मेडिकलको पैसा फिर्ता नदिनुस्।’ ती कर्मचारीले बुबालाई त्यही कुरा सुनाए, जुन दिनेशले सिकाएका थिए।
छोरा विदेश नजाने भएपछि बुबाले उनलाई काठमाडौं पठाउने सोच बनाए। र, गाउँकै चिनेका एक दाइकहाँ काम गर्न उनीहरू राजधानी छिरे। २०७३ सालमा काठमाडौँ पसेका उनीहरू गौशलाको एक ‘गेस्ट हाउस’मा बसे।
‘मेरो ग्याङमा एउटा भाइ थियो, ऊ मसँग धेरै मिल्थ्यो। तर भाइ मेरो ड्रग्सको पछि थियो। उसको माग मैले पूरा गरिदिन्थें’, उनी भन्छन्, ‘त्यसैले मैले उसलाई फकाएर काठमाडौं ल्याएको थिएँ।’
कामको सिलसिलामा काठमाडौं आएका दिनेश त्यो रात पूरै नशामा थिए। उनीसँग भएको सबै ड्रग्स सकियो। तर, भाइलाई ड्रग्स नखाएको सङ्केत दिए।
‘मलाई ड्रग्स सबैभन्दा धेरै चाहिन्थ्यो। मैलेभन्दा धेरै भाइले ड्रग्स खाएर मलाई जित्छ भन्ने डरले मैले सबै ड्रग्स खाइदिएँ’, होटलमा घटेको त्यो सुनाउँदै उनले भने, ‘मलाई भाइसँग हार्ने मनै थिएन।’
गाउँबाट काठमाडौँ पसेका उनले कोटेश्वरमा जुत्ता पसलमा काम पाए। कर्मचारीहरूको रेखदेख गर्नु नै दिनेशको मुख्य काम थियो। त्यसबापत उनले मासिक तलब पाउँथे।
तर, एकदिनको लागि बाँच्न संघर्ष गर्ने दिनेशको लागि त्यो मुश्किलको काम थियो। किनकि उनलाई आफूले सेवन गरिरहेको औषधि हरेक दिन नै खानुपर्थ्यो।
‘मलाई त्यहाँ चित्त बुझेन, त्यसपछि कामै छोडिदिएँ’, उनले बताए।
जेल जीवन
६ महिना काठमाडौँमा बसेका उनले लागुऔषधबारे एउटा कुरा पत्ता लगाए। गाउँमा सस्तो मूल्यमा बिक्री हुने ड्रग्सको मूल्य काठमाडौंमा महँगो पर्दो रहेछ। त्यसैको फाइदा उठाएर उनी गाउँ छिरे।
एडिक्ट दिनेश अब ‘डिलर’ भइसकेका थिए।
बोर्डरबाट किनेर ल्याएको ड्रग्स काठमाडौंमा बेच्न थाले।
‘बोर्डरबाट ५ सय रुपैयाँ किनेर ल्याएको सामान मैले ५ हजारमा बेच्थेँ। मैले पैसा कमाउन थालिसको थिएँ। मलाई ड्रग्स खानको लागि पैसाको अभाव थिएन’, ठगेर कमाएको पैसाले आफूले पुग्दो ड्रग्स किनेर राखेको बताउँदै उनले भने, ‘मेरो अगाडि धेरै ड्रग्स हुँदा मलाई खूबै रमाइलो लाग्थ्यो।’
बोर्डर पार गरेर ड्रग्स ओसारपसार गरेर जीविका चलाइरहेका थिए, दिनेशले। लागुऔषध ओसारपसारमा रमाइरहेका उनले एक दिन तिनै भाइसँग बोर्डर पार गरे। आफूले बोक्न सक्ने औषधि किनेर ल्याए। तर, रातको १० बजे उनीहरूको पुलिसको नजरमा परे।
‘त्यो माघको महिना थियो। भाइ र म सामान बोकेर आउँदै थियौं, पुलिसले हामीलाई समातेर खोजतलास गर्यो’, लागुऔषध बोकिरहेको बेला प्रहरीले समातेको कुरा स्मरण गर्दै उनले भने, ‘मैले भाइलाई चिमोटेर भाग्ने इशारा गरें तर भाइ भाग्नै मानेन। त्यसपछि म एक्लै दौडिएँ।’
त्यो रात पुलिसले समात्न खोज्दा उनले पहिलोपटक आत्मग्लानी महशुस गरे। उनले आफैंलाई धिक्कारे ‘मैले गलत गरिरहेछु। त्यसैले पुलिसले मलाई समात्न खोज्यो।’
पुलिसको चंगुलबाट भागेका दिनेशले बुबालाई फोन गर्दै भने, ‘बुबा मलाई बिनाकारण साथीको कारण पुलिसले गिरफ्तार गर्न खोज्यो। म काठमाडौं जान्छु बुबा। मलाई उतै पठाइदिनू।’
छोराको रुन्चे स्वरले बहकिएका बुबाले उनलाई काठमाडौं पठाउने योजना बुने। अनि रातको ३ बजे नै उनले छोरालाई गाडीमा चढाएर सहर पठाए। तर, आफ्नो हर्कतदेखि कहाँ चेतेका थिए र, दिनेशले? काठमाडौं जानुको सट्टा उनी आफूसँग भएको ३५०० रुपैयाँ बोकेर बोर्डर छिरे।
‘मन लोभी भएर होकि किन हो म काठमाडौं नगएर बोर्डर छिरेर सामान बोकेर सहर गएँ’, उनले भने, ‘साथीहरूलाई ड्रग्सको पाटी दिएँ।’
सहरमा बनाएका साथीहरूसँग ड्रग्स सेवन गरेर सडकमा भौतारिँदै सडकमा हिँडिरहेका थिए, दिनेश। त्यतिकैमा उनी तीनकुनेको एक ‘बिजुली पोल’मा ठोक्किए र, त्यही निदाए।
आँखा खुल्दा उनी पुलिस चौकीमा थिए।
‘म कसरी त्यहाँ पुगेँ थाहा छैन तर म जेलभित्र थिएँ’, उनी भन्छन्, ‘बोर्डरमा समातिएका भाइले मेरो बारेमा सबै कुरा भनेछ। त्यही आधारमा पुलिसले मलाई जेलमा थुनेर राख्यो।’
जेलको एक अँध्यारो कुनामा २० दिनसम्म बिताएपछि उनलाई गाउँबाट आएका बुबाले छुट्टाए।
र, फेरि बुबाले उनलाई गाउँ लगेर गए। आफूले गरेका हर्कतको कारण दिनेश गाउँ बदनाम थिए। त्यसैले उनलाई माया गर्ने उनको बाआमा मात्र थिए। तर, उनी विशेषगरी आफ्नी आमाको नजिक थिए। ‘मलाई सबैभन्दा धेरै माया आमाको लाग्थ्यो, थाहा छैन किन?’ उनले आमालाई सम्झिए।
परिवारलाई रुवाएर आफ्नो नशामा रमाइरहेका थिए, उनी। घरमा कोही बिरामी हुँदा समेत उनी बेवास्ता गरिदिन्थे। एकदिन उनी चुरोट किन्न पसल गए। त्यहीँ दोकानमा उनले टेबलमुनि राखिरहेको पैसा देखे। आफ्नो डोज पुग्ने पैसा देखेर मनमनै लोभिएका दिनेशले पसले नभएको फाइदा उठाउँदै पैसा चोरेर भागे।
‘पसलको पैसा देखेर मलाई के भो थाहा छैन तर त्यो पैसा चोरेर भागेँ’, लागुऔषधको प्रयोगले आफूलाई चोर बनाएको गुनासो गर्दै उनले भने, ‘म अगाडि भागिरहेको थिए, पछाडिबाट गाउँलेहरू चोर-चोर भन्दै मलाई पछाइरहेका थिए।’
गाउँलेहरूको त्यो एक हुलले पछ्याइरहेको देखेर डराएर भागेका दिनेश घर पुगेर सुते। त्यहीबेला उनलाई बुबाले रुँदै फोन गरे, ‘बाबु, तैंले पसलको पैसा चोरेर भागिस् रे? तँलाई हाम्रो माया लाग्दैन। हामीलाई कति दुख दिन्छस् छोरा?’ बुबाको कुरा सुनेर रिसाएका दिनेशले जवाफ फर्काउँदै भने, ‘मैले तपाईंहरूलाई धेरै दुःख दिएछु, अब दिन्नँ। बरु, म मर्छु।’
आफ्नो बासँग बोलेको त्यो शब्द उनको लागि मात्र एक बहाना थियो। आफ्नो शरीरलाई थाम्न नसक्ने उनले कसरी गर्न सक्थ्यो र, आत्महत्या? बुबालाई धम्की दिएर निदाएका उनी ब्यूझिँदा पुलिसको घेरामा थिए। उनले गरेको गल्तिका कारण उनी पुनः जेल पुगे।
२०७४ सालमा दोस्रो पटक जेलमा बस्दा उनले बाआमालाई धेरै सम्झिए। आफूले आमाबुबालाई दिएको दुःख सम्झदा उनी धरधरी रुन्थे। आफैँसँग कुलतको बाटो त्याग्ने बाचा गर्थे। तर, त्यो मात्र क्षणिक भइदियो।
दुई वर्ष जेलमा कैद भएर पनि उनी सुध्रिएनन्।
जेलबाट छुटेका उनी फेरि गाँउ फर्के। गाउँ डुलेर दिनभरि नशाको झ्यापमा रहनुको नै उनको दैनिकी थियो। दुई पल्ट जेल परेका कान्छा छोराको त्यो अवस्था देखेर आमा थला परिन्। छोराकै सुर्ता लिएर बिरामी भएकी आमालाई क्यान्सर देखियो।
‘मलाई थाहा थियो, आमा मेरै कारण बिरामी हुनुभयो तर मलाई त्यो कुराको कुनै मतलब नै लाग्दैन थियो। मलाई सुत्दा र उठ्दा नै त्यही नशा चाहिन्थ्यो। त्यसैले त म बिहानको डोज पुर्याउनका लागि लागि सुत्नुअघि सिरानीमा ड्रग्स राखेर सुत्थेँ’, उनले विगत कोट्याए।
आमाको अवस्था दिनदिनै बिग्रिँदै गएका दिनेशले बुझिसकेका थिए। उनलाई लागिसकेको थियो, अब आमा बाँच्ने छैनन्।
आमा घरमा सिकिस्तै थिइन् भने उता दिनेशका दाइ विवाह गर्ने तयारीमा थिए। उनी विवाह गरेर युरोपमै पलायन हुन चाहन्थे। दाइको विवाहको दिन घरका सबै सदस्य दुलही लिन गए। तर, दिनेश भने आमाको स्याहार गर्ने निहुँ बनाउँदै घरमै बसे।
‘गाउँमा हाम्रो घर बन्दै थियो। दाइको बिहे हुँदै थियो यता आमा बिरामी थिइन्। सबै कुरा भइरहेको थियो तर मेरो ध्यान भने ड्रग्सको डोज कसरी पुर्याउने भन्ने सोचमा हुन्थ्यो।’
दाइको विवाहको भोलिपल्ट।
सदाझैँ सिरानीमा राखेर सुतेको ड्रग्सको डोज लिएर उठेका थिए, दिनेश। त्यहीबेला उनले मान्छे रोइरहेको आवाज सुनेर ढोका बाहिर निस्किए। उनको अगाडि आमाको शव थियो।
बा र दाइसँगै छिमेकीहरु पनि रोइरहेका थिए। तर दिनेश भने अन्योलमा परे।
‘बिहान उठ्न बित्तिकै गोटी खाएको कारण म पूरै नशामा थिएँ। मलाई केही थाहा थिएन घरमा के हुँदैछ भनेर। मलाई लागिरहेको थियो, सबैजनाले मलाई झुक्याइरहेको छ’, उनी सुनाउँछन्,‘सबै जना रोइरहेका थिए तर मेरो आँखाबाट आँसु खसेन।’
आमाको पार्थिव शरीर जलाउन आर्यघाटको किनारमा रुवाबासी चलिरहेको थियो। तर, दिनेश भने झर्को मान्दै ड्रग्सलाई सम्झिरहेका थिए।
‘म यतिसम्म नशामा डुबिसकेको रहेछु कि फुकालिएको आमाको कपडाबाट मैले ड्रग्स खानको पैसा चोरिरहेको थिएँ। मैले पुजारीलाई समेत छिटो मन्त्र पढेर काम सक्काउन भनेको थिएँ। किनकि मलाई आर्यघाटमा झर्को लागिरहेको थियो’, स्वर्गीय आमालाई सम्झदै उनले भने, ‘उता आमा लाश जलिरहेको थियो, यता म कुनामा बसेर ड्रग्सको नशामा डुबिरहेका थिएँ।’
आमाको निधनपछि बुबाले उनलाई काठमाडौँ ल्याए। त्यसपछि राजधानीकै एक सुधार केन्द्रमा बुबाले उनलाई राखिदिए। सुधारगृह बस्नु उनको रहर नभई बाध्यता थियो। गाउँमा बस्ने उनको अवस्था पनि थिएन। त्यसैले उनले सुधार केन्द्रमा बस्ने निर्णय गरे।
पहिलोपल्ट सुधार केन्द्र छिरेका दिनेशले नशा त्याग्ने निधो गरे। नभन्दै उनले दुई वर्ष त्यहाँ बसुञ्जेल कुनै नशा गरेनन्। तर, सुधार गृहबाट निस्किने बित्तिकै उनले गोटी खान सुरु गरे।
‘मैले नशा छोडिसकेको थिएँ तर सुधार केन्द्रबाट निस्किएपछि मेरो साथीहरुले ड्रग्स लिएको देखें र मैले मेरो अगाडि तिमीहरु ड्रग्स खान्छौं भन्दै मैले त्यो सबै ड्रग्स खाएँ। सुरुमा त कस्तै लागेन तर पछि आफैं देखेर रिस उठ्यो। किनकि मेरो दुई वर्ष खेर गएको थियो’, सुधार केन्द्र बसेर पनि सुध्रिएका थिएनन्, दिनेश।
आफूले गरेको हर्कत देखेर आफैँसँग दिग्दारिएका दिनेश रुन थाले। र, आफू बसेको सुधार केन्द्रमा लागुऔषधबारे ‘केस म्यानेजर’का रुपमा काम गर्ने पवन श्रेष्ठलाई फोन गरे।
अनि रुँदै भने, ‘दाइ मलाई कुलतबाट छुट्याइदिनुस। होइन भने म बाँच्दिनँ।’
...त्यसपछि बदलियो दिनेशको कथा
दिनेशको दुःख देखेर भावुक भएका पवनले उनलाई आफूले सञ्चालन गरिरहेको सुधार केन्द्र ‘फ्रिडम फाउण्डेशन’मा ल्याए। त्यही संस्थाबाट आफूलाई नयाँ जीवन दिने उनले अठोट गरे।
‘मैले आफैँसँग वाचा गरेको थिएँ कि अब कुलत त्याग्छु भनेर त्यसैले म सुध्रिँदै गएँ’, उनले भने, ‘ड्रग्सको सट्टामा मैले खाना र फलफूल खान थालेँ।’
कुनैबेला ड्रग्सको नशामा झल्लु दिनेश अहिले यही संस्थाका विश्वासिलो पात्र बनेका छन्।
दुई वर्षदेखि उनी ड्रग्सबिना नै बाँचिरहेका छन्। बिहानको मिरमिरे उज्यालोमा उठ्ने उनी आफैं योगा गर्छन् र अरुलाई पनि गराउँछन्। त्यतिमात्र होइन उनले कुलतमा फसेर आएका नयाँ साथीहरुलाई पनि उनी नशा त्याग्न लगाउँछन्।
एक दशक बढी ड्रग्सको नशामा डुबेका उनी युवाहरुलाई भन्न चाहन्छन्, ‘डग्सले कसैलाई राम्रो बनाउँदैन। त्यसैले यसको सेवन टाढै बस्नुपर्छ। यो नशाले आफ्नो आफन्त सबैलाई टाढा बनाउँछ। तर, कोही व्यक्ति यो कुलतमा फसेको छ भने उसलाई सुधार केन्द्रमा राख्नैपर्छ।’
भिडियाे :