नयाँ प्रविधिको प्रयोगले मकै खेतीमा सुधार, देखिएन रोग

दाङमा नयाँ प्रविधिको प्रयोग गरेर गरिएको मकै खेतीमा सुधार देखिएको छ। किसानहरूले गरेको मकै खेतीमा सुधार देखिएको हो।

नयाँ प्रविधिको प्रयोगबाट गरिएको खेतीमा कुनै पनि रोगको प्रकोप देखिएको छैन। तर परम्परागत रूपमा गरिएको मकै खेतीमा भने रोग–किराले क्षति पुर्‍याएकाे छ। 

तुलसीपुर–८ की लोककुमारी गिरीले ६ कठ्ठा खेतमा नयाँ प्रविधिबाट मकै खेती गरेकी छन्। उनले आफ्नो मकै खेतिमा कुनै पनि रोगको प्रकोप नदेखिएको बताइन्। तर छिमेकीले लगाएको मकै बारीमा रोग किराको प्रकोपले मकैका बोट सुकेका छन्। 

नयाँ प्रविधिमा लाइनमा प्राविधिक यन्त्रको प्रयोग गरेर मकै रोपिने गरिन्छ भने दुईपटक गोडमेल गर्ने गरिन्छ। परम्परागत शैलीमा भने हलोको सियोमा मकै रोप्ने र एकपटक गोडमेल गर्ने गरिन्छ। तुलसीपुरभित्र करिब ३५ सय हेक्टर क्षेत्रफलमा विभिन्न प्रजातिका मकै खेती गरिएको छ। ती मध्ये परीक्षणकारूपमा यो वर्ष नयाँ प्रविधिको प्रयोग गरेर मकै खेती गरिएको छ। 

तुलसीपुर उपमहानगरपालिका कृषि शाखाका प्रमुख धनराज गौतमले ३५ सय हेक्टर क्षेत्रफलमध्ये तीस प्रतिशत क्षेत्रफलमा मकै खेतीमा रोग किराको प्रकोप देखिएको बताएका छन्। किसानहरूले मकै खेती गर्नेक्रममा माटोको उपचार र मकै खेतीमा परम्परागत शैलीका कारण रोग किराको प्रकोप देखिएको गौतमले जानकारी दिएका छन्।

तुलसीपुर उपमहानगरपालिकाको वडा–१, २, ८ वडामा सबैभन्दा बढी मकै खेतीमा क्षति पुगेको छ। साना किसान परियोजना दाङका संयोजक सुधा मिश्रले यो वर्ष परीक्षणका रूपमा खेती गरिएको र परीक्षणकै क्रममा गरिएको खेतीमा उत्पादन बढी र रोग किरा कम देखिएकाले आगामी वर्षदेखि व्यवसायिकरूपमा उत्पादनका लागि अघि बढाइने बताएका छन्। 

परियोजनाले किसानहरूका लागि प्रविधियुक्त मेसिन उपलब्ध गराउँदै आएको छ। निरीक्षणका क्रममा पुगेका तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले नयाँ प्रविधिका प्रयोगका साथै रैथाने प्रजातिको मकैको बिउँ रोप्ने कार्यलाई समेत प्रोत्साहन गरिने बताएका छन्।

प्रकाशित मिति: : 2022-08-17 07:49:00

प्रतिकृया दिनुहोस्